
३
“सुनाइहालूँ त ? के तपाईं साँच्ची नै सुन्न चाहनुहुन्छ ?”
मैले फेरि पनि चाहना दोहोर्याएँ । ऊ एक मिनेट चूप लाग्यो, अनि दुवै हातले आफ्नो अनुहारको पसीना पुछ्यो र आफ्नो कथा भन्न शुरु गरिहाल्यो ।
“सुनाउनु नै छ त शुरुदेखि नै सुनाउँछु ! मैले विवाह किन गरेँ र विवाहभन्दा पहिले मेरो जीवन कस्तो थियो भन्ने पनि त बताउनुपर्ला ।
बिहे हुनुभन्दा अगाडि मेरो जीवन पनि सामान्य मान्छेहरूको जस्तै नै थियो – हाम्रो वर्गका अन्य व्यक्तिहरूको जस्तै । म एक विर्तावाल हुँ र विश्वविद्यालयको स्नातक पनि हुँ । अनि म कुलीनवर्गको सर्दार पनि थिएँ । विवाहभन्दा अगाडि मेरो समय पनि त्यसरी नै बित्नेगर्थ्यो जसरी अरु व्यक्तिहरूको बित्छ- अर्थात् व्यसनहरूमा । आफ्नो वर्गका सबै व्यक्तिहरू जस्तै म पनि यसैलाई नै जीवनको सही बाटो ठान्नेगर्थे । आफूलाई म ज्यादै असल र शिष्ट ठान्थे । म ती मान्छेहरूमध्येको थिइनँ जो आइमाईहरूको सतीत्व डगाउनमा आनन्द मान्छन् । मेरो रूचि पनि नराम्रो थिएन र दुर्व्यसनहरूलाई पनि मैले आफ्नो जीवनको लक्ष्य बनाइनँ , जस्तो कि ती दिनहरूमा अधिकांश मानिसहरू गर्नेगर्थे । हुन त म पनि मोजमज्जा र सुखभोग गर्थे, तर ज्यादै शिष्ट र मर्यादित तरीकाले । म आफ्नो स्वास्थ्यको पनि खूब हेरविचार गर्थे । म ती आइमाईहरूबाट टाढै रहन्थे जसबाट बच्चा जन्मने डर रहन्थ्यो, किनभने यसबाट त मेरो जिम्मेदारी बढ्ने सम्भावना हुन्थ्यो । मैले आफूलाई कसैको प्रेम-पाशमा पनि बाँधिन दिइनँ । कुरा के त भने यसबाट पनि बच्चा जन्मने सम्भावना थियो र कसैसँग गहिरो प्रेममा फस्ने पनि डर थियो । तर म यी सबैबाट टाढै रहेँ । यसैलाई मैले नैतिक मात्र ठान्नेगरेको होइन, अझ यसको गर्व पनि गर्नेगर्थे ।”
यति भनेर ऊ रोकियो । अनि उसको मुखबाट फेरि अनौठो आवाज आयो । यो त उसको आदत नै थियो भन्ने भान पर्दथ्यो । उसलाई कुनै नयाँ कुराको सम्झना भएर आउँदाखेरि जहिले पनि उसको मुखबाट यस्तो आवाज निस्कन्थ्यो ।
“यो नै सबभन्दा घृणित कुरा पनि हो ।” – उसले एकाएक चिच्याएर भन्यो ।
-“शारीरिक सुखभोगमा कुनै नराम्रो कुरा हुँदैन, पतन शारीरिक क्रियामा हुँदैन । पतन … वास्तविक पतन त त्यतिखेर नै हुन्छ जब कोही पुरुष कुनै आइमाईसित सुत्छ, तर उसप्रतिको आफ्नो नैतिक जिम्मेदारी चाहिं भुसुक्कै बिर्सन पुग्छ । यस्तो नैतिक जिम्मेदारीबाट आफूलाई मुक्त राख्न सक्नुलाई म आफ्नो एउटा ठूलो गुण नै ठान्नेगर्थे । एकपल्ट एउटी आइमाई मलाई प्रेम गर्न लागी । उसले आफूलाई नै मेरो अगाडि सुम्पिदिई । तर मैले उसलाई पैसा दिन समेत बिर्से । निकै लामो समयसम्म मेरो अन्तरात्मामा यो कुरा एउटा ठूलो भार बनेर रहेको थियो भन्ने मलाई अझै पनि सम्झना छ । आखिर पैसा पठाइदिएपछि मात्र मेरो मनलाई शान्ति मिल्यो । यसरी उसप्रति आफ्नो नैतिक जिम्मेदीरीबाट मैले मुक्ति-पाएको थिएँ । तपाईं यसरी मेरो हाँमा हाँ नमिलाउनोस् न !” – ऊ एकाएक करायो । – “तपाईंलाई भन्दा बढ्ता मलाई थाहा छ । सबै लोग्नेमान्छेहरू एकै ड्याङका मूला त हुन् नि ! सके तपाईं अरुभन्दा केही बेग्लै हुनुहुन्छ होला ! असलभन्दा असल मान्छेको विचार पनि त्यस्तै हुन्छ जस्तो त्यस बेला मेरो थियो । तर यसले के नाप्छ र ? माफ गर्नुहोला है !”- उसले भन्यो । – “तर गाँठी कुरा के हो भने यो ज्यादै भयानक छ ! अति डरलाग्दो छ ! ऊफ, अति भयङ्गर छ !”
“कुन कुरा ?”
“भ्रमजालको त्यो गुजुल्टो जसमा नै हामी अल्मलिएर बाँचिरहेका हुन्छौँ । आइमाईहरूको सम्बन्धमा र आइमाईहरूसँग हाम्रो जुन सम्बन्ध हुन्छ त्यसको बारेमा म बताउँदै छु । यस विषयमा म स्थिर भएर कुरै गर्न सक्तिनँ । त्यो मान्छेले भनेजस्तो मेरो जीवनमा त्यो निर्णायक घडी आयो भन्ने कुराले अवश्य पनि होइन, बरु कुन कुराले भने त्यस घटनापछि मेरो आँखाको पट्टी खुलेको छ र हरेक कुरा अब म अर्कै रुपमा देख्नेगर्छु । सबै कुरा उल्टिसकेको छ !”
उसले चुरोट सल्कायो, घुँडामा कुहिनो टेकाएर अगिल्तिर झुक्यो र आफ्नो कथा भन्न थाल्यो ।
अँध्यारोमा उसको अनुहार म देखिरहेको थिइनँ । तर रेलगाडीको छकछक आवाजमा पनि मलाई उसको स्वर तिक्खर र ज्यादै आकर्षक लागिरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमेर- एक घोडाको कथा ७
१५ असार २०८३, सोमबार 








