गोठालो

सोह्र दिन यतादेखि पूर्वबाट घामले डढेर खैरो भइसकेको स्तपीमैदानबाट , पटपट फुटेको सेतो नुनढिके फाँटबाट तातो हावा बग्दै आइरहेको थियो ।

जमीन डढेर कालो भयो, झारपात पनि ओइलाएर पहेँलिए मूलबाटोको हाराहारीमा ठाउँ ठाउँमा खनेर बनाइएका कुवाहरूको मलपानी समेत सुकेर गयो। अन्नका बालाहरू कुप्रे बूढो जस्तै गरी ओइलाएर निहुरिए ।

दोपहरतिर सुनसान गाउँमा काँसका घण्टाहरूको घनघन आवाज गुन्जायमान भयो ।

असाध्य गर्मी थियो । वातावरण सुनसान थियो । कठबारको हाराहारीमा तन्किरहेको बाटोमा मात्न यदाकदा गोडा चालिएको सुनिन्थ्यो , बुंग धूलो उडेको देखिन्थ्यो , अनि बढाहरूको बैसाखीले उबडखाबड बाटोमा टकटक गरेर बाटो पहिल्याएको अनुभव हुन्थ्यो।

घण्टी बजाएर गाउँ सभाको मिटिंग डाकिएको थियो। गोठालोको नियुक्ति सम्बन्धी एउटा मात्रै प्रश्न विषयसूचिमा समावेश गरिएको थियो।

ग्राम सोभियतमा गुनगुनको आवाज व्याप्त थियो। चुरोट खाएको धुवाँ कोठाभरि मडराइरहेको थियो।

अध्यक्ष चाहिँ ठुटो शिशाकलमले टेबुलमा टकटक गर्दै थिए।
“नागरिक हो। बूढा गोठालाले गाईवस्तुको हेरचाह गर्ने इन्कार गरे। तलब ज्यार्दै नै थोरै भयो रे! कार्यकारिणी समितिको तर्फबाट हामी ग्रिगोरी फ्रोलोभलाई उनको ठाउँमा भर्ना गर्ने सुझाव राख्छौं। उ यसै ठाउँमा जन्मेको हो, टुहुरो पनि छ र यंग-कम्युनिष्ट पनि हो… । तपाईंहरूलाई थाहै छ, उसका बाबु जुत्ता सिएर जीविका चलाउँथे। अब उसको आफ्नो भन्नु एउटी बहिनी मात्रै छ, तर जीविकाको निम्ति आयस्ताको बाटो भने केही पनि छैन। नागरिक हो, मलाई विश्वास छ, तपाईंहरूले उसको घरको अवस्था बुझिदिनु हुने छ र आफ्ना गाईवस्तुहरूको रेखदेख गर्ने गोठालोको पदमा उसको नियुक्ति स्वीकार -गर्नु हुने छ! ”

बूढा नेस्तेरोभलाई यो कुरा सही नसक्नु भयो र पुठ्ठा बंग्याएर हल्लाउँदै उ कराउन थाल्यो

“हामीलाई यो स्वीकार छैन… । गाईवस्तुको बथान निकै ठूलो छ। उ गोठालो बनी के खाला ? गाउँ नजीक राम्रो चरन पनि छैन। गाईवस्तुहरूलाई चराउन धेरै टाढासम्म लैजानु पर्ने छ। तर उसले भने यस कामको कुनै भेउ नै पाएको छैन। उसको जिम्मा लगाउने हो भने त शरदसम्ममा बाछाहरू आधि पनि बाँकी रहने छैनन्‌ । ”

बेला मौकामा चिप्लो घस्न चलाक घट्टे बूढो इग्नातले गुलाबी छेड हान्दै मीठो सुरीलो नाके स्वर झिकेर भन्यो –

“हामी गोठालो त… कार्यकारिणी समितिको सल्लाह बेगर पनि खोजिहालौंला । हाम्रै मात्र, चासोको कुरा हो यो! यस्तो भरपर्दो र पाको मान्छेलाई नै गोठालो बनाउनु पर्छ । जसले गाईवस्तुको राम्रो हेरचाह गर्ने जान्या छ…।”
“ठीक भन्नु भो, बूढाबा…।”
“नागरिक हो, बढो मान्छेलाई गोठालोमा नियुक्ति गरियो भने त बाछाहरू झन्‌ बढी हराउने डर हुन्छ …..।”

अध्यक्षले दृढतापूर्वक भन्न शुरू गरे।- “अहिले समय अर्कै छ। जताततै लुटेरा र चोरहरू छ्यापछ्यापती छन्‌ .. .। ”

शब्द तौली तौलीकन उनी बोलिरहेका थिए कोठाको पछिल्लो हिस्साबाट कसैले उनको समर्थन गरेको पनि सुनियो –

“हो, बूढो मान्छे काम लाग्दैन …। याद राख्नोस्‌, यी गाई मात्न होइनन्‌, छिटै नै ब्याउने बाछीहरू हुन्‌ । तिनको हेरचाह गर्ने कुक्कुर जस्तो दौडधूप गर्ने सक्ने हुनु पर्छ। गाईको बथान तितर-बितर भयो भने बूढो गोठालोले गर्नै के सक्छ र? दौडदादौड्दै बूढाका आन्द्रभुँडी- चुँडिएर बाहिर निस्कने , छ्न्‌…..।”

कोठामा हाँसोको लहर चल्यो। अनि पछिल्तिरबाट चेपारे बुढा इग्नातले सुस्त-सुस्त भनेको सुनियो –

“कम्युनिष्टहरूलाई सरोकार भएको कुरा होइन यो…। यो त भगवानसित प्रार्थना गर्ने कुरा हो। जथवा-तथवा गरेर हुने हो र? ..”-चेपारे र कपटी घट्टे बूढो आफ्नो खुइलिएको कृपाल मुसार्न थाल्यो ।
यत्तिकैमा अध्यक्षले दुढतासाथ कड्केर भने-

“महाशय , नचाहिँदो गन्थन रोक्नोस्‌ –.। यस्तो बेकारको बकबास गर्नेलाई मिटिंगबाट गलहत्याइदिने छु। ”

एकाबिहानै, जुन बेला घरका चिमनी र धुवाँकशहरूबाट धुवाँको कालो मुस्लो फोहोरमा लथपथिएको कपासको भुवा जस्तै, उडिरहेको थियो र चोकमा निकै तलसम्म नै धुवाँको चँदुवा लागिरहेको थियो, ग्रिगोरीले ‘एक सय पचास वटा जति गाईवस्तुहरूको बथान गाउँको माझबाट धपाउँदै खैरो र उजाड पहाडतर्फ लिएर गयो ।

खरो गिलहरीका दुलैदुलाले गर्दा स्तपीमैदान खटेराको पाप्रो लागे जस्तै छियाछिया परेको देखिन्थ्यो । गिलहरीहरू सतक भएर लामो लामो स्वर निकाल्दै कराइरहेका थिए। खोल्सातिर निश्चल उम्रिरहेका घाँसहरूको माझबाट बकुलाहरू सेता प्वाँख चम्काउँदै भुर्र उडेर गएका देखिए ।

गाईवस्तुको बथान शान्त थियो। बाछाबाछीहरूका दुई फ्याँकमा फाटेका खुरहरूले, जमीनको उबडखाबड सतहमा टेक्दा दर्के पानी पर्दाखेरि जस्तै गरी टप टप आवाज आउँथ्यो ।

ग्रिगोरीको संगसंगै उसकी बहिनी दुन्या पनि हिँडिरहेकी थिई – गोठालोकी संगिनी जस्तै । उसका आँखा र ओंठहरूमा मात्र होइन, घामले डढेका र चायाको दाग परेका गालाहरूमा समेत मृदुमुस्कान छाएको थियो । साँच्चै भन्ने हो भने उसको तनमन साराका सारा नै मुस्कुराइरहेको थियो, किनकि उसले यस संसारमा जम्माजम्मी सत्रौं वसन्त मात्न देखेकी थिई। थाहा भएकै कुरा हो, सत्र वर्षको उमेरमा के दाजुको मलिन अनुहार, के हिड्दाहिंड्दै बाटोको छेउछाउमा उम्रिरहेका नरकटको ,पात झटपट, चपाउने लम्कन्ने बाछाको चाल सबै कुरा ज्यादै मनमोहक लाग्छ। कहाँसम्म भने भखरै बितेको दुई दिनदेखि नै पेटमा रोटीको एक टुक्रासम्म पनि नपरेको कुरा समेत हाँसउठ्दो लाग्छ।

तर ग्रिगोरी चाहिँ म्लान देखिन्थ्यो। झुल्लो टोपीमुन्तिर उसको निधार ठाडो र चाउरिएर मुजा परेको थियो र आँखा चाहिँ कति थकित देखिन्थे भने मानौं उसले आफ्नो उन्नाइस वर्षको जीवनभन्दा निकै बढी बाँच्नु परेको होस्‌ ।

गाईवस्तुको बथान बाटोको किनारैकिनार तितर-बितर भएर अगाडि बढ्दै थियो। पछि परेका बाछाहरूलाई सुसेलेर छिटो हिंड्ने इशारा गर्दै ग्रिगोरीले आफ्नी बहिनीतर्फ फर्केर भन्यो…

“दुन्या, हेर्‌ त, शरदसम्ममा केही अन्नपात बटुलिने छ र शहरमा जान सकिने छ। म मजदूर विभागमा भर्ना हुँला, र तँलाई पनि कतैतिर लगाइदिउँला . . .। सके तँ पनि पढ्नमा नै लाग्लिस्‌ .. .। शहरमा , दुन्या , किताबहरू पनि प्रशस्तै पाइन्छन्‌ र रोटी पनि शुद्ध गहूँको खान पाइन्छ, हाम्रो जस्तो ढुँटो मिसाइएको होइन ! ”

“तर शहर जाने पैसा कहाँबाट पाउने नि? ”

“कस्ती लाटी हँ तँत…। हामीले बीस पूड(पूड-पुरानो रूसी तौल जून करीब १६ कीलोग्रामको बराबर हुन्छ। – अनु०) अन्न पाउने छौं। के यो पैसा होइन र ? .. एक पूडको एक रूबलको दरले बेचौँला । प्रति थोरबहुत बाजरा र गुइँठा पनि त छँदै छ नि बेच्नलाई ! ”

ग्रिगोरी बाटोको माझमा अडियो र धूलोमा कोर्राको मूठले कोरेर हिसाब गर्ने थाल्यो ।

“ग्रीशा !(ग्रीशा – ग्रिगोरीको स्नेहवाचक रूप । -अनु०) आज हामी के खाऔंला” हँ? हामीसंग रोटी त एक टुक्रो पनि छैन…। ”

“मेरो झोलामा सुकेको केक एक टुक्रा बाँकी छ।”

“आज त त्यो खाऔँला ! भोलि के खाने नि?”

“भोलि गाउँबाट पीठो लिएर कोही न कोही आइहाल्ला …। अध्यक्षले वचन दिया छन्‌ !”

मध्यान्हको घामले पोलिरहेको थियो। ग्रिगोरीले लगाइराखेको सनपाटको कमीज पसीनाले निथ्रुक्क॒ भिजिसकेको थियो र पिठ्यूँमा च्यापच्याप टाँसिंदै थियो ।

गाईवस्तुहरूको बथान बेचैन भएर सुस्तसुस्त अगाडि जाँदै थियो। झिंगा र डाँसहरू भन्किएर बाछाहरूलाई डँस्दै थिए र उखरमाउलो हावामा गाईवस्तुहरूको ब्याँब्याँ र झिंगा र डाँसहरूको भुनभुन गुन्जिरहेको थियो ।

साँझपख , घाम डुब्नुभन्दा केही अगाडि , गाईवस्तुको बथान खर्कको गोठमा पुर्याइयो। नजिकै एउटा पोखरी र खरको छाप्रो थियो जुन झरीवर्षाले गर्दा आधा मक्किइसकेको थियो ।

ग्रिगोरीले गाईवस्तुको बथान वरिपरि एक चक्कर लगायो, अनि दौडेर गोठको मूलढोकामा पुग्यो र गजबार हालिएको ढोका खोल्यो । अनि उसले एक एक गर्दै बाछाहरूलाई ढोकाको कालो चौकोसभित्र हुल्दै गिन्ती गर्यो।

तलाउको पछिल्तिर केराउँको एउटा बडेमाको गेडा जस्तै पडिरहेको थुम्कोमाथि उनीहरूले एउटा नयाँ छाप्रो बनाए। त्यसको भित्ता गोबरले लिपियो र ग्रिगोरीले नरकटले त्यसमा छाना छायो।

अर्को दिन अध्यक्ष घोडामा चढेर त्यहाँ आए। उनले आधा पूड मकैको पीठो र एक बोरा बाजरा पनि ल्याइदिएका थिए। सियाँलमा बसेर उनले चुरोट सल्काए र त्यसको सर्को तान्दै भने-

“ग्रिगोरी, तिमी जानिफकार केटा हौ । गाईवस्तुको बथानको राम्रो हेरचाह गर्नु ! शरदमा हामी जिल्लाको सदरमुकाममा जाऔला । हुन सक्यो भने त्यहाँबाट तिमी जसरी भए पनि कतैतिर पढ्न जाऔँला .. .। त्यहाँ जन शिक्षा विभागमा एक जना मेरा चिनजानका मान्छे छन्‌। उनले तिमीलाई सक्दो मदत गर्ने छन्‌…। ”

ग्रिगोरीको अनुहार खुशीले रातोपीरो देखियो । अध्यक्षलाई बिदा गर्दाखेरि उसले घोडाको रकाब समातिदियो र हात पनि बेसरी मिच्यो। अनि निकै बेरसम्म घोडाको टाप मुन्तिरबाट उडेको धुलोको लहराउँदो मुस्लोलाई आँखाले पछ्याइरह्यो ।

सुक्खा स्तपीमैदान , जुन सूर्योदय र सुर्यास्तको बेला सुकेनासले ग्रस्त भएर चम्किलो देखिन्थ्यो, मध्यान्हमा चाहिं गर्मीले गुम्सेर हपहप हुन्थ्यो। उत्तानो परेर पल्टिरहेको ग्रिगोरी डाँडातर्फ हेरिरहेको थियो जुन नीलो आकाशमा फैलिँदै गइरहेको धमिलो कुहिरोले ढाकिएको थियो । उसलाई के भान परिरहेको थियो भने स्तपीमैदान पनि जिउँदो प्राणी हो र अनगिन्ती गाउँ , बस्ती र शहरहरूको बोझ बोक्नु पर्दा उसलाई ठूलो सकस भइरहेको छ। माटोले पनि लामो लामो सास फेरिरहेको जस्तो उसलाई लागिरहेको थियो र चट्टानका बाक्ला पत्रहरू मुनि तल कतै अर्कै प्रकारको जीवन्‌, स्पन्दित र उद्वेलित भइरहेको होला भन्ने उ ठान्दै थियो जुन जीवनको बारेमा उसलाई थाहापत्तो नै पनि नहुन सक्छ।

दिउँसोको चम्किलो उज्यालोमा समेत उसलाई साह्रै उकुस-मुकुस भइरहेको थियो ।

उसले नापेर नाप्नै नसकिने डाँडाहरूतफै नजर दौडायो गर्मीको रापले थर्किरहेको हावाको कम्पमान लहरलाई ताकिरह्यो र भेडाको बथानले कुल्चेर फोहोर पारिरहेको खैरो घाँसमा दृष्टि दियो । पाउरोटीबाट काटिएको एक टुक्रा रोटी जस्तै संसारबाट उ पनि एकदमै अलग्याइएको छ भन्ने उसले मनमनै बिचार गर्यो।

शनिश्चरवारका दिन साँझपख ग्रिगोरीले गाईवस्तुको बथानलाई सधैं जस्तो गोठमा हुल्यो। छाप्रोभित्र दुन्याले आगो बालि सकेकी थिई र कोदोको फाँडो पकाउन लागिरहेकी थिई । बनपालुगोको सागको पनि अमिलो बास्ना आइरहेको थियो ।

ग्रिगोरी अगेनोनेरै बस्यो र कोर्राको मूठले अगेनोमा ह्वास्स गन्हाउने गुइँठालाई ठोस्न थाल्यो ।

“ग्रीशाकाको बाछो त बिरामी परे जस्तो छ।”- उसले बिस्तारै भन्यो । – “उसलाई खबर गर्न पाए हुन्थ्यो,..।”

“म नै गाउँ पुगेर आउँ कि? ”-दुन्याले बेवास्ताको स्वरमा सोधी ।

“हैन, तिमीले जानु पर्दैन। एकलै त मलाई गाईवस्तुको हेरचाह गर्ने गाह्रै पर्ला..।” उ मुस्कुरायो र फेरि थप्यो-
“मानिसहरूलाई भेट्ने मन लाग्यो होला । हैन? ”

“हो, प्यारा ग्रीशा! अलि नियास्रो लागिरहेछ। हामी यहाँ स्तपीमैदानमा बस्न आएको पनि एक महीना बितिसक्यो र एक पटक मात्रै एक जना मान्छेलाई यहाँ भेट्न पाइयो । गर्मी यामभरि नै यसरी यहाँ बस्ने हो भने त कुरा गर्नसम्म पनि बिर्सन सकिन्छ… .। ”

“अलि धैयै गर, दुन्या ! शरदमा त हामी शहर गइहाल्ने छौं। हामी दुबै जना स्कूलमा भर्ना होऔंला । पढाइ सकिएपछि फेरि हामी यहाँ फर्कौला र वैज्ञानिक तरीकाले खेतीपाती गर्न थालौंला। यहाँ त अहिले जताततै अन्धकारैअन्धकार छ र मानिसहरू सुतिरहेका छन्‌ .. .। सबै अनपढ र अज्ञानी छ्न्‌ र किताबहरू पनि छैनन्‌ . . .। ”

“हामीलाई पनि त स्कूलमा भर्ना नगर्ने सक्छन्‌ …। हामी पनि त सबै जस्तो अशिक्षित नै छौं…।”

“अवश्य भर्ना गर्ने छन्‌ ! गाउँमै छँदा हिउँदमा मैले लेनिनको एउटा किताब पढेको थिएँ जुन पार्टी एकाईका सेक्रेटरीसंग थियो। त्यसमा के भनिएको छ भने सर्वहारावर्गले नै शासन गर्नु पर्छ। शिक्षाको बारेमा पनि त्यसमा लेखिएको छ। गरीब गुरूवाहरूलाई नै पढाउनु पर्छ भन्ने कुरा त्यसमा छ। ”

ग्रिगोरी घुँडा टेकेर उठ्यो र सूर्यास्तको तामा जस्तै चम्किलो प्रकाश उसका गालाहरूमा प्रतिबिम्बित भयो ।

“हाम्रो गणतन्त्रको शासन गर्ने हामीले लेखपढ गने जान्नै पर्छ। शहरहरूमा शासन मजदूरहरूले आफ्नो हातमा लिएका छन्‌ । हामीकहाँ गाउँमा भने अध्यक्ष नै धनी किसान छन्‌ र कैयन्‌ गाउँघरका अध्यक्षहरू पनि धनीमानीहरू नै छ्न्‌….।”

“ग्रीशा, तिमीले पढुन्जेलसम्म म भुइँ लिपुँला, लुगा धोउँला , भाँडा माजुँला र केही पैसा कमाउँला…।”

गुइँठाहरू धुँवा निकाल्दै धपधप बलिरहेका थिए र बीचबीचमा ज्वाला पनि निकाल्दै थिए। स्तपीमैदान्‌मा सन्नाटा छाएको थियो र वातावरण नै सुसुप्त थियो ।