अध्याय सात
तेस्रो रात
आकाशमा नयाँ जून उदाएको थियो र अर्धचन्द्रको मृदु किरण खोस्तोमेरको जिउमा परिरहेको थियो । ऊ तबेलाको माझमा उभिएको थियो । सबै घोडाहरू उसको वरिपरि झुम्मिरहेका थिए ।
“म न ईश्वरको थिएँ, न त जर्सापकै थिएँ, बरु अस्तबलको नाइकेको पो थिएँ । यसको विस्मयकारी परिणाम के भयो भने मेरो तेज चाल, जुन कुनै पनि घोडाको सबभन्दा ठूलो गुण मानिन्छ, मेरो निर्वासनको कारण बन्यो । टाटेपाङरे घोडाले आफ्नो कथा जारी राख्दै भन्यो । “कुनै एक दिन लेबेदलाई कसरत गराइँदैथियो । अस्तबलको नाइके चेस्मेन्काबाट फर्केर आएको थियो र मलाई उसले घोडादौडको मैदानमा लिएर गयो ।लेबेद हाम्रै बगलबाट पार भएर गयो । त्यो दगुर्न त राम्रो नै दगुर्थ्यो, तर स्वाँग ज्यादा पार्थ्यो । फेरि उसले त्यस किसिमबाट दगुर्न पनि जानेको थिएन जुन मैले खूब अभ्यास गरेर सिकिसकेको थिएँ । मेरो एक टाँग जस्तै जसै भुइँमा पर्थ्यो, अर्को टाँग तुरुन्त उठिहाल्थ्यो । यसले गर्दा अलिकति पनि परिश्रम खेर जादैनथ्यो र पाइला पाइलामा जिउ अगिल्तिर मात्रै बढ्दैरहन्थ्यो । लेबेद हाम्रो छेबैबाट अगाडि गयो । म पनि घोडदौडको मैदानतर्फ लम्किए र नाइकेले पनि मलाई रोक्न कोशिश गरेन । ‘मेरो टाटेपाङरेको बलबर्कत दाँजेरै हेरौं त ?’-उसले भन्यो । अर्को बाजि जब लेबेद फेरि मेरो हाराहारीमा आइपुग्यो, उसले लगाम खुकुलो पारिदियो । लेबेदको गति निकै तीव्र भैसकेको थियो, त्यसैले पहिलो चक्करमा म केही पछि परें । परन्तु दोस्रो चक्करमा चाहिँ तेज गतिले दगुर्दै म उसको गाडीसम्म नै पुगें, अनि सँगसँगै दगुर्न थाले र आखिर मैले उसलाई उछिनिहालें । एकपल्ट फेरि दौड गराइयो । यसको नतीजा पनि त्यस्तै निस्कियो । मेरो दौड निकै तेज थियो । यसले गर्दा सब नै डराए र मलाई कतै टाढा लगेर बेचिदिने फैसला गरियो, ताकि मेरो खोजखबर नै कसैले लिन नपाओस् । जर्सापसम्म यो कुरा पुग्यो भने ठूलो काण्ड मच्चिनेछ ! उनीहरू भन्दै थिए । मलाई कुनै एक घोडाव्यापारीको हातमा बेचियो र तीनघोडे र बग्गीको मूली घोडाको ठाउँमा मलाई जोतियो । घोडाव्यापारीको साथमा पनि म धेरै लामो समयसम्म रहिनँ । उसले एक जना यस्तो हुस्सारको हातमा मलाई बेचिदियो जो घोडाकै खोजमा निस्केको थियो । मप्रति कति निर्मम र अन्यापूर्ण व्यवहार गरिएको थियो भने जब मलाई खोनोभोबाट बाहिर लैजान थालियो र मलाई त्यहाँ जे जति चीजहरू प्यारा र आफन्त लाग्थे ती सबैबाट सदासर्वदाको लागि विमुख तुल्याइयो, त्यतिखेर पनि मलाई पटक्कै दु:ख लागेन । पुराना साथिभाइहरूसँग उठबस गर्न नै अब मेरो निम्ति असह्य भैसकेको थियो । उनीहरूले प्रेम, प्रतिष्ठा र स्वतन्त्रता- सबै कुरा पाएका थिए । मेरो पुर्परोमा भने सासको धुक्धुकी बाँकी रहुन्जेलसम्म नै कडा परिश्रम र तिरस्कार मात्र लेखिएको थियो । किन ? यो सब केका लागि ? किन रे भने म टाटेपाङरे थिएँ । यसै कारण नै मलाई अरु नै कसैको सम्पत्ति बनाइदिएका थिए ।”
त्यस राति खोल्स्तोमेरले त्यसभन्दा बढ्ता अरु केही भन्न सकेन । तबेलामा एउटा यस्तो घटना घट्न गएको थियो जसले गर्दा सबै घोडाहरू उत्तेजित हुन पुगेका थिए । कुप्चीखा नाउँकी घोडी, जसले पेट बोकिराखेकी थिई, बडो ध्यानपूर्वक टाटेपाङरे घोडाको कथा सुन्दैथिई । परन्तु एकाएक ऊ फनक्क घुमी र बिस्तार-बिस्तार कटेरोतर्फ लागी । त्यहाँ पुग्नासाथ उसले अति तिख्खर स्वरमा चित्कार गरी । सबै घोडाहरूको ध्यान उतैतर्फ आकृष्ट भैहाल्यो । उनीहरूले के देखे भने त्यहाँ त्यो घोडी कहिले भुइँमा लडीबुडी खेल्थी, कहिले चाहि छटपटाउँदै जुरुक्क उठ्थी
र त्यसपछि फेरि गुडुँल्किन पुग्थी । बूढी घोडीहरूले त उसको हालत बुझिहाले, तर तरुना बछ्नेडाहरू चाहिं बिघ्नै हड्बडाए र हिजडा टाटेपाङरे घोडालाई जहाँको त्यहीँ छोडेर व्यथाले छट्पटाइरहेकी घोडीको वरिपरि झम्मिन पुगे । बिहानपख त्यहाँ एउटा अर्को बछेडो आफ्ना लड्खडाउँदा खुट्टाहरूको भरमा उभिइरहेको देखा पन्यो । नेस्तेरले तबेलाको नाइकेलाई डाक्यो । उुले घोडी र बछेडालाई अस्तबलमा लिएर गयो । नेस्तेरले बाँकी सबै घोडाहरूलाई धपाउँदै बाहिर निकाल्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।