
१८
“हो, म कुरा गर्दा बहकिनेगर्छु । -ऊ भन्दैथियो ।-“मैले कैयौँ दिनसम्म घोत्लिएर यी कुराहरूमा मगज लडाएँ र अब धेरै कुरामा मेरो धारणा नै फेरिइसकेको छ । आफ्नो विचार अरुहरूलाई पनि सुनाउने इच्छा ममा जागेर आउँछ । अँ, हामी शहरमा बस्न थाल्यौं । दुःखी मान्छेहरूलाई शहरतिर जीवन बिताउनु नै सजिलो पर्छ । शहरतिर मान्छे कथंकदाचित् शय वर्षसम्म नै बाँच्यो भने पनि ऊ उहिले नै मरिसकेको थियो र उसबाट कुहिगन्ध आउन थालिसकेको छ भन्ने समेत अत्तोपत्तो हुँदैन । आफ्नो बारेमा सोचविचार गर्ने त उसलाई फुर्सद नै हुँदैन । सबै नै व्यस्त रहन्छन्- कामकाज, सामाजिक सम्बन्ध, स्वास्थ्य, सन्चोबिसन्चो र उनीहरूको शिक्षा-दीक्षा ! कहिले कसैलाई पाहुना डाक्नुपर्ने हुन्छ त कहिले चाहिं आफू नै कसैकहाँ पाहुना बन्न जानुपर्ने हुन्छ । कहिले केही हे कहिले केही सुन्नु पनि पर्ने हुन्छ । शहरमा जहिलेसुकै पनि प्रख्यात व्यक्तिहरूको आगमन भइ नै रहन्छ र उनीहरूप्रति बेवास्ता गरेर बस्न पनि सकिन्न । आज यस बच्चाको वा उस बच्चाको उपचार गराउनुपर्ने हुन्छ भने भोलि शिक्षक, ट्युसन-माष्टर र सुसारेधाईको समस्याले पिर्दछ । अनि जीवन चाहिं भित्रभित्रै खोक्रो परिसकेको हुन्छ । हाम्रो जिन्दगी पनि यस्तै किसिमले बितेर जान थाल्यो र सँगसँगै रहँदा-बस्दा पहिले जुन क्लेश अनुभव हुनेगर्थ्यो त्यो पनि कम भयो । फेरि शुरु-शुरुमा त हामी नयाँ शहरतिर परिचित हुन र आफ्नो नयाँ डेराको चाँजोपाँजो मिलाउनमा नै व्यस्त रहयौं । यो काम ज्यादै रुचिकर पनि थियो । यसबाहेक हामी बेला-बेलामा शहरबाट गाउँ त गाउँबाट शहर पनि आउने-जाने गर्दैरहन्थ्यौं ।
पहिलो हिउँद त यसरी नै काटियो । तर दोस्रो हिउँदमा एउटा यस्तो सानो घटना घट्यो जुन हेर्दा त नगण्य र मामूली नै प्रतीत हुन्थ्यो, तर पछि जुन घटना घट्न पुग्यो त्यससँग त्यसको सोझै सम्बन्ध थियो ।
मेरी पत्नी जहिले पनि अस्वस्थ रहन्थी । डाक्टरहरूले उसलाई बच्चा जन्माउने अनुमति दिएनन् । उनीहरूले त उसलाई गर्भ नै नरहने एउटा जुक्ति पनि सिकाइदिए । मलाई चाहिं यो कुरा ज्यादै नै घृणित लाग्यो । मैले त्यसलाई आलटाल गर्ने निकै प्रयत्न गरेँ, तर मेरी पत्नी भने बुझ्नु न सुझ्नु आफ्नै कुरामा मात्र ढीपी लिएर बस्न लागी । आखिर मैले हार मान्नैपर्यो । जब सुंगुरले झैँ बच्चा जन्माउने एउटा प्रयोजन पनि जीवनबाट हटाइयो त हाम्रो जीवन अझ बढी घृणित र पाशविक हुन पुग्यो ।
खेतीवाल र ज्यामीहरूको लागि बच्चाको जरुरत रहन्छ । केटाकेटीहरूको पालन-पोषण गर्नु र उनीहरूलाई हुर्काउनु जतिसुकै गाह्रो पर्ने भए तापनि उनीहरूलाई बालबच्चाहरूको खाँचो रहन्छ । तसर्थ उनीहरूको वैवाहिक सम्बन्धको औचित्य पनि पुष्टि हुन जान्छ । परन्तु हामी बालबच्चा भएका मानिसहरूलाई फेरि बच्चाहरूको जरुरत पर्दैन । बच्चाको कारणले गर्दा एकातिर हाम्रो चिन्ता बढ्छ भने अर्कोतिर चाहिं खर्च पनि बढ्छ । हामी चाहौं वा नचाहौं, उनीहरू हाम्रो श्रीसम्पत्तिका हकदार बन्न पुग्छन् । उनीहरू हाम्रो जीवनमा बित्थामा भार बन्न पुग्छन् । उनीहरू हाम्रो जीवनको कुनै औचित्य नै रहन जाँदैनन् । कि त हामी कृत्रिम जुक्तिहरूको प्रयोग गरेर बच्चा नै नजन्मने उपाय गर्छौं, कि त भने हाम्रो हेलचक्राइँको कारणले गर्दा मात्र दुर्भाग्यवश बच्चा जन्मेको हो भन्ने सोच्न पुग्छौं । यो कतिसम्म घिनलाग्दो कुरा हो ! यस्तो कुराको औचित्य नै हुन सक्तैन । परन्तु हामी नैतिक दृष्टिले कतिसम्म तल खसिसकेका छौँ भने हामी उचित के हो ? र अनुचित के हो ? भनेर विचार गर्नुपर्ने समेत कुनै आवश्यकता देख्दैनौं । अचेल शिक्षित भनाउँदा अधिकांश मान्छेहरूको जीवन नै यस्तै व्यभिचारले भरिपूर्ण हुन्छ, किन्तु यसको लागि उनीहरूको सोमतमा अलिकति पनि ठेस लाग्दैन ।
फेरि हाम्रो समाजमा सोमत छँदा पनि छैन भने त ठेस लागोस् पनि कसरी र् ? हो, लोकमतलाई वा फौजदारी ऐनकानूनलाई नै सोमत मान्ने हो भने चाहिं कुरा अर्कैँ हो । परन्तु यहाँ त न पहिलेको, न त दोस्रोको नै उल्लंघन हुन्छ । लोकमतले कुनै आपत्ति जनाउँदैन, किनभने सबका सब नै यस्तै गर्छन् । साँच्चै भन्ने हो भने मारिया पाभ्लोभ्ना र इभान जाखारिच समेत यस्तै गर्छन् । के त हामी हरिकङ्गालहरूलाई जन्माउँदैजाऔं अथवा समाजमा हाम्रो उठबससम्म पनि समाप्त भएर जाओस् ? जहाँसम्म फौजदारी ऐनकानूनको प्रश्न छ, त्यससँग पनि हिच्किउनुपर्ने अथवा तर्सिहाल्नुपर्ने कुनै कारण छैन । सिर्फ वेश्यावृत्तिमा लागेका केटीहरू र सिपाहीहरूका घरकुरुवा स्वास्नीहरू मात्रै आफ्ना नवजात शिशुहरूलाई इनारमा वा पोखरीमा फाल्न लैजान्छौ । निश्चय नै पनि तिनलाई कैदखानामा जाकिदिनुपर्छ । किन्तु हाम्रो त कुरै अर्को हुन्छ । हामी त सब काम यथासमयमा नै सोचविचार गरेर निकै सफार्इका साथ सम्पन्न गर्छौँ ।
एवं रीतले हामीले अरु दुई वर्ष बितायौं । ती बदमाशहरूले जुन उपाय वताएका थिए त्यसको प्रभाव पनि देखा परिहाल्यो । मेरी पत्नी पहिलेको दाँजोमा बढी स्वस्थ र रातो देखिन लागी, मानौं ग्रीष्मयामको अन्तिम सौन्दर्य फक्रिएको हो कि त भने झैँ । यो कुरा उसले पनि बोध गर्ने भैहाली र उसले आफ्नो श्रृङ्गारपटारमा समेत विशेष ध्यान दिन थाली । उसको सौन्दर्य यस्तो हाँक समान थियो जसले सबैलाई मुग्ध पारिदिन्थ्यो । उसको उमेर भर्खर तीस वर्ष पुगेको थियो- शरीरबाट यौवन टप्किरहेको थियो, स्वभाव अलि उत्ताउलो थियो र गर्भ रहला भन्ने पनि कुनै चिन्ता थिएन । उसको रुपलावण्यले नै मोहनी लगाइहाल्थ्यो । जतिखेर ऊ पुरुषको माझबाट अगाडि लम्कन्थी, त्यस बेला त ऊ सबैका आँखाको तारो नै बन्न पुगेकी हुन्थी । ऊ त त्यसताका दाना ख्वाएर र बुरुस लगाएर ताजा पारिएको यस्तो घोडा जस्तै थिई जसलाई साजबाजले सिँगारिएको होस् र जसको लगाम अलि होलो पनि पारिएको होस् ! अझ उसमा त कुनै किसिमको लगाम समेत लगाइएको थिएन । हामीकहाँ सयकडा उनान्सय आइमाईहरू यसरी नै त कुनै नियन्त्रणमा राखिएको हुँदैनन् । म यस कुराको अनुभव गर्दैथिएँ र मलाई मनमा ठूलो डर पनि लागिरहेको थियो ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमेर- एक घोडाको कथा ६
१५ असार २०८३, सोमबार 








