खण्ड २

परिच्छेद १७

राजकुमार आन्द्रेइ घोडामा चढीचढी तोपखानासँगै अड्दै त्यो तोपको धूवाँ हेर्न लाग्यो, जुन तोपबाट गोला बर्सेको थियो । उसले त्यो सम्पूर्ण विशाल क्षेत्रमा आफ्नो नजर दौडायो । उसले यति मात्र देख्यो, केही समय अगिसम्म फ्रान्सेली सैनिकहरूको निश्चल र निश्चेष्ट समूह अहिले चलफिर गर्न लागेको थियो र बायाँतिर वास्तवमा नै तोपखाना थियो । र, त्यसमाथि अझै पनि धूवाँ मडारिइरहेको थियो । दुई जना फ्रान्सेली, जो सम्भवत: सहायक जर्नेल थिए, पहाडमा घोडा सर्पट दौडाउँदै गइरहेका थिए । पहाडको फेदीमा सायद अगाडिको पड्क्तिको सेनालाई बलियो तुल्याउने हेतुले सानोसानो भागमा भए पनि स्पष्ट रूपमा देखिने सैन्य दलअगाडि बढिरहेको थियो । पहिलो तोपको धूवाँ हराउन नपाउँदै अर्को तोप पड्केको आवाज आयो र त्यसको धूवाँ पनि माथिमाथि मडारिन थाल्यो । सूचना पनि आयो- लडाइँ सुरु भइसकेको थियो । राजकुमार आन्द्रेइले आफ्नो घोडा मोड्यो र बग्रातिओनलाई फेला पार्न ग्रुन्थतिर फर्काएर सर्पट दौडाउन लाग्यो । आफूपछाडि उसले छिटोछिटो ढयाँङढयाँङ गर्दै तोप पड्केको ठूल्ठूलो आवाज सुनिरहेको थियो । यो स्पष्ट थियो कि हाम्रोतर्फबाट पनि प्रत्याक्रमण सुरु भएको थियो । सन्देशबाहकसँग भेट भएर कुराकानी भएको ठाउँ, आधारस्थलबाट ढ्याँङढ्याँङ बन्दुक पड्केको आवाज सुनिइरहेको थियो ।

लेमारुआ भर्खरै बोनापार्टको क्रोधपूर्ण पत्र लिएर आइपुगेको थियो र आफ्नो गल्ती सुधार गर्न उत्सुक तर अपमानित मुराटले तत्काल आफ्नो सेनालाई मध्यभागका साथै दायाँबायाँ दुवै किनारतिर यस आशाले हमला गर्न पठायो कि रात पर्नु र सम्राट्‌ आउनुभन्दा पहिले नै उसले आफ्नोअगाडि उपस्थित यो सानो सेनालाई पूर्णरूपमा नष्ट गर्न सकोस्‌ ।

“लडाइँ सुरु भएकै हो ! भयो नै” राजकुमार आन्द्रेइले सोच्यो । उसको मुटुको धड्कन बढेको थियो । “तर मेरो तुलोन कहाँ छ ? र कसरी मेरोसामु आउँछ ?”

प्रन्ध मिनेट पहिले जाउलो खाँदै र भोट्का पिउँदै गरेका तिनै फौजी कम्पनीहरू बीच छिर्दा प्रत्येक ठाउँमा उसले फुर्तीसाथ पढ्क्तिबद्ध भएर उभिएका र बन्दुक समातिरहेका सिपाहीहरूलाई देख्यो । ती सबैका अनुहारमा त्यस्तै उत्साहपूर्ण भाव थियो, जुन भावले उसको आफ्नै मन आल्हादित गरिरहेको थियो । “यो कुरा पक्कै रहेछ, लडाइँ सुरु भएकै हो । लडाइँ आफैमा एउटा भयावह स्थितिको द्योतक भए तापनि त्यत्तिकै रमाइलो पनि छ,”

युद्धरत प्रत्येक सिपाही र प्रत्येक अफिसरको अन्तरमनमा यही मात्र भावना खेलिरहेजस्तो लाग्थ्यो ।” “वास्तवमा मुखले नबोले पनि मनले उत्तीहरू यहीँ कुरा बोलीरहेका थिए ।
यतिन्जेलसम्म बनाइएको किल्लाबन्दीसम्म पुग्नुभन्दापहिले ग्रीष्मको नरमाइलो मौसमको सन्धिप्रकाशमा आफैतिर आइरहेको घोडसेनाको डफ्फाको सबभन्दा अगाडि कोजाकसेनाले लगाउने ठूलो कोट लगाएको, भेँडाको छालाको टोपी लगाएको र सेतो रङको घोडा चढेर आइरहेको व्यक्ति, राजकुमार बग्रातिओन थियो । राजकुमार आन्द्रेइ ऊ नआइपुगुन्जेल पर्खेर बाटैमा रोकियो । आफ्नै सानमा आफ्नो घोडामा आरुढ राजकुमार बग्रातिओनले पनि राजकुमार आन्द्रेइलाई देखेर चिनेपछि तर्फ टाउको निहुरायो । राजकुमार आन्द्रेइले आफूले देखेका कुरा बताइरहँदा राजकुमार बग्रातिओन एकतासले अगाडितिर मात्र हेरिरहेथ्यो ।

“लडाइँ सुरु भयो, र भइसक्यो” भन्ने भावना राजकुमार बग्रातिओनको कठोर र फुस्रो अनुहारमा स्पष्ट रूपमा झल्किन्थ्यो । त्यो कसरी भने उसको अनुहार अर्धनिद्रित र आलस्यपूर्ण थियो, र उसका आँखा अर्धबन्द थिए । राजकुमार आन्द्रेइले आफ्ना व्याकुल र जिज्ञासापूर्ण आँखाले त्यो शान्त र अति धीर अनुहारलाई नियालिरहेको थियो- त्यो यस कारणले कि बग्रातिओन यस बखत, यस क्षणमा के सोचिरहेको होला भन्ने जिज्ञासाले यो मनोविकाररहित र शान्त मनमा केही कुरा लुकेको त छैन ?” उसलाई हेर्दैखेरि राजकुमार आन्द्रेइले आफ्नो मनमा कुरा खेलायो । राजकुमार बग्रातिओनले, राजकुमार आन्द्रेइले भनेका कुरामा सहमति जनाएका सङ्केतस्वरूप आफ्नो शिर भझुकायो र भन्यो, “असाध्यै राम्रो, एकदम ठीक ।” उसको अभिव्यन्जना र उसको भाषा यस्तो थियो कि यहाँ भए गरेका कुरा, जो उसलाई एक-एक गरेर जानकारी दिइएको छ, उसले पूर्वकल्पना गरेबमोजिम नै घटित भएका छन्‌ । तत्पश्चात्‌ राजकुमार आन्द्रेइ पनि घोडा दौडाउँदा फुलेको स्वास फेर्दै छिटोछिटो बोल्यो । राजकुमार बग्रातिओन आफ्नो पूर्वीय उच्चारणमा विशेष रूपमा यसरी विस्तारै बोल्दै थियो मानौँ उसले यो बताउन चाहन्थ्यो कि आत्तिनु पर्ने स्थिति केही छैन । तैपनि उसले आफ्नो घोडालाई डुलकी चालमा अगि बढाउँदै तुसिनको तोपखानातर्फ लाग्यो । राजकुमार आन्द्रेइ पनि आफ्नो सेनामेनासहित उसको पछाडि लाग्यो । राजकुमार बग्रातिओनको डफ्फामा, उसका अनुचर गणको अफिसर, उसको निजी सहायक जेरकोभ, एक जना अर्दली-अफिसर, राम्रो घोडामा चढेको अङ्ग्रेजी डयुटीअफिसर र सैनिक अदालतको सरकारी वकील, जसले जिज्ञासाबस लडाइँको समयमा उपस्थित हुने अनुरोध गरेको थियो, थिए । हल्का मुस्कान छर्दै र यताउति हेर्दै थलथले अनुहार:भएको अग्लो खालको सरकारी वकील, जसले ठूलो कोट लगाएको थियो, एउटा अफिसर पनि थियो, जो कोजाक, हुस्सार र सहायक-अफिसरको बीचमा कुनै एक जना अफिसरको मालसामान बोकिरहेको घोडाको काठीमा बसेर घ्याचध्याच जोल्टिङ खाइरहेथ्यो , एउटा अपूर्व उदाहरणस्वरूप प्रस्तुत भइरहेथ्यो ।

“उसलाई लडाइँ भएको दृश्य हेर्न मन लागेको छ,” जेरखोभले सरकारी वकीलतर्फ इसारा गर्दै बोल्कोन्स्कीलाई भन्यो । “तर उसले छातीमा पसिना काढिरहेछ ।”

“भैगो, खेलवाड धेरै भयो,” असैनिक सरकारी वकीलले, मन प्रसन्न, सोझो तर अति चातर्यपूर्ण मुस्कानका साथ जेरखोभको खिल्ली उडाएको, आफूलाई मजा लागेजस्तो भावमा भन्यो । तर ऊ जति सोझो थियो त्योभन्दा पनि आफूलाई बढी सोझो देखाउने प्रयासमा थियो ।

“राजकुमार हजूर, यो त ज्यादै रमाइलो कुरा भएको छ,” ड्युटी अफिसरले फ्रान्सेली भाषामा भन्यो (फ्रान्सेली भाषामा राजकुमारलाई सम्बोधन गर्दा हजूर शब्द पनि थप्नु पर्छ भन्ने उसलाई थाहा थियो तर विचराले सही उच्चारण गर्न सकिरहेको हुँदैनथ्यो)।

ठीक यसैबेला उनीहरू तुसिनको तोपखानानजिक पुगेका थिए र त्यसैबेला तोपको एउटा गोला उनीहरूकै अगाडि खसेर ढ्याम्म पड्क्यो ।

“यो के झरेको हो, हँ ?” सरकारी वकीलले नजानिदो किसिमले मुस्कुराउँदै सोध्यो ।

“फ्रान्सेली मालपुवा भनेको यही हो,” जेरखोभले जवाफ दियो ।

“ए, उनीहरूले आक्रमण गर्ने हतियार यही हो ? सरकारी वकीलले सोध्यो । “यो त ज्यादै डरलाग्दो रहेछ, हो ।”

ऊ खुसीले फुल्न लागेजस्तो देखियो । उसले आफ्नो कुरा पूरा गर्न पनि नपाउँदै अप्रत्याशित रूपमा एउटा भयङ्कर गर्जनयुक्त आवाज आयो, जो कुनै तरल पदार्थमा मिश्चित भएर विलीन भयो । सरकारी वकील दाहिनेतिरबाट पछिपछि आइरहेको कोजाकका साथै उसको घोडा पनि धरतीमा लम्पसार भए । जेरखोभ र ड्युटी अफिसर घोडाको काठीमा घोप्टिँदै त्यहाँबाट अन्तै लागे । सरकारी वकील रोकियो र जिज्ञासापूर्वक कोजाकलाई हेर्न थाल्यो । कोजाकको प्राण उडिसकेको थियो तर घोडाको शरीरमा अझैकेही सास बाँकी थियो ।

राजकुमार बग्रातिओनले आँखा आधा चिम्म गर्दै यताउति हेर्यो र त्यहाँ भएको गड्बडीको कारण बुझेपछि यति दुःखमनाउका साथ अनुहार चिम्स्यायो मानौँ उसले यो भनिरहेको होस्‌….“यस्तो जाबो कुरामा ध्यान दिनु उचित छैन ।”

उसले एउटा कुशल घोडसवारले जस्तै आफ्नो घोडा रोक्यो, अलिकति झुक्यो र आफ्नो लुगामा अल्झेको तरबार ठीकठाक पार्यो । उसको पुरानो खालको तरबार आज भोलिको चलनचल्तीमा आउने तरबारजस्तो थिएन । राजकुमार आन्द्रेइलाई इटालीमा आफूले सुभोरोभलाई दिएको तरबारको स्मरण भयो । र, त्यस क्षणमा उसको यो स्मरण आनन्ददायक र मिठासपूर्ण थियो । उनीहरू त्यही तोपखानानजिकै पुगे, जहाँ उभिएर राजकुमार आन्द्रेदले युद्धक्षेत्ररको निरीक्षण गरेको थियो ।

“यो कम्पनी कसको हो ?” राजकुमार बग्रातिओनले युद्धसाम्रग्री लादिएको बहानामा उभिएको एक जना तोपची (तोप चलाउने मान्छे)लाई सोध्यो ।

“उसले सोध्यो, यो कम्पनी कसको हो ? तर उसको सोधाइको आशय थियो, “तिमीहरू कतै डराइरहेका त छैनौ ?” तोपचालकले यो कुरा बुझेको थियो ।

“हजूर, यो कम्पनी कप्तान तुसिनको हो,” रातो कपाल भएको र अनुहारभरि चाउरी भएको तोपचालकले सलाम ठोक्दै प्रसन्न मुद्रामा चिच्याउँदै जवाफ दियो ।

“ठीक छ, ठीक छ,” बग्रातिओन केही विचार गर्दै भुत्भुतायो र तोपगाडीहरूको नजिकैबाट आफ्नो घोडा अन्तिम तोप भएतिर बढाएर लग्यो ।

जब ऊ अन्तिम तोप भएठाउँमा पुग्यो, ठीक त्यहीबेला उसको र उसको अनुचर गणको कान नै फुटाउलाजस्तो गर्दै तोप पडक्यो र, तोपको चारैतिर फैलिएको धूवाँबाट तोप समाउँदै ती तोपलाई छिटोछिटो पूर्वस्थानमा लगिरहेका तोपचालकहरू देखिए । चौडा काँध भएको भीमकाय एक नम्बरको तोपचालक तोप सफा गर्ने लुँडो हातमा लिँदै तोपको चक्कातिर लम्क्यो ।’ दुई नम्बरको तोपचालक कामिरहेको हातले तोपमा गोला भर्दै थियो । पुड्को र कुप्रो खालको अफिसर अर्थात्‌ कप्तान तुसिन, जसको ध्यान जर्नेलतर्फ गएको थिएन, तोपको पछिल्लो भागबाट ठोक्कर खाँदै अगाडितिर दगुर्यो र आफ्ना सानासाना हातले आँखा छोप्दै अगाडितिर हेर्न लाग्यो ।

“दुई धर्काजति अरू बढाऊ, अनि ठीक हुन्छ,” उसले मसिनो स्वरमा भन्यो, जुन स्वर उसको शरीरको डिलडालसँग मेल नखाए पनि उसले मेल ख्वाउंने प्रयास गर्दै थियो । अर्को तोपमा गोला भर,” उसले झर्कोलाग्दो शब्दमा भन्यो । “मेडभेदेभ, ठोक ।” “ठोक भन्या ।” बग्रातिओनले तुसिनलाई भन्यो, र ऊ फौजीहरूको सलामीजस्तो नगरेर आशीर्वाद ,दिने पादरीहरूले जस्तै आफ्ना तीनओटा औँला उचालेर शिरको टोपीसम्म पुर्याउँदै जर्नेल भए ठाउँसम्म पुग्यो । हुन त तुसिनका तोपले उपत्यकासम्म गोला बर्षाउनु पर्ने थियो, तर उसले थुप्रै सङ्ख्यामा जम्मा भएका फरान्सेलीहरूमाथि सेनग्रावेन गाउँमा आगो लगाइरहेको थियो, जुन गाउँ उनीहरूको ठीकअगाडि देखिइरहेको थियो ।

तुसिनलाई कहाँ, कसरी र कसका विरुद्ध गोला बर्साउने भनेर कसैले पनि आदेश दिएको थिएन । आफूले असाध्यै सम्मान गर्ने व्यक्ति सा मेजर जाखारचेन्कोसँग सरसल्लाह गरेर सेनग्रावेन गाउँमा नै आगो लगाउन उचित ठानेर उसले त्यही गर्ने निर्णय गर्यो । “बिलकुल ठीक,” तुसिनको रिपोर्ट सुनेपछि ब्रगातिओनले भन्यो र आफ्नोअगाडि देखिएको सम्पूर्ण युद्धक्षेत्र निर्वाध रूपले निरीक्षण गर्न लाग्यो । फ्रान्सेलीहरू दाहिनेतिर धेरै नजिक बढिसकेका थिए । किभ रेजिमेन्ट भएको पहाडको तलतिरको खुला क्षेत्र, जहाँ नदी बगिरहेको थियो, बाट मुटु नै हल्लाउने बन्दुकका गोलीको आवाज सुनिइरहेको थियो ! अनुचर्‌ गणको अफिसरले बग्रातिओनको ध्यान दाहिनेतर्फ आकर्षित गर्यो, जहाँनिर धेरैअगाडि र घोडासेनाको पछाडि फान्सेलीसेनाको विशाल डफ्फा हाम्रो सेनामाथि आक्रमण गर्ने हेतुले अगाडि बढिरहेको थियो । निकटवर्ती घना जङ्गलका कारण बायाँतिरको दृश्य राम्रोसँग देखिएको थिएन । राजकुमार बग्रातिओनले केन्द्रमा रहेका दुई बटालियनलाई’ दाहिने किनारका सेनालाई सहयोग गर्न जाने आदेश दियो । तर अनुचरगणको अफिसरले यसो गर्दा अर्थात्‌ केन्द्रका दुई वटालियनलाई यहाँबाट पठाउँदा तोपखाना असुरक्षित हुन्छ भनेर साहसपूर्वक राजकुमार बग्रातिओलाई भन्यो । , राजकुमार बग्रातिओनले केही नबोलेर अनुचरगणको अफिसरतर्फ मलीन नजर लगाउँदै हेर्यो । उसलाई अनुचरगणको अफिसरको कुरा तर्कसंगत लागेको हुँदा यस विषयमा कुनै जवाफ दिनु पर्नेजस्तो लागेन । तर ठीक त्यहीबेला तलतिरको खुलाक्षेत्रमा तैनाथ रेजिमेन्ट कमाण्डरको सहायक, आफ्नो घोडा सर्पट दौडाउँदै आइपुग्यो र, उसले कमाण्डरको तर्फबाट यो खबर दियो कि “फान्सेलीहरूको विशाल सेना हामीहरूमाथि आइलाग्दैछन्‌ अनि हाम्रो रेजिमेन्ट भद्रगोल अवस्थामा छ र दुस्मन हाम्रो किभ ग्रिनेडियर रेजिमेन्टतर्फ सर्दैछ ।” राजकुमार बग्रातिओनले सहमति र स्वीकारोक्ति स्वरूप टाउको निहुर्यायो । ऊ घोडालाई कदम-कदम अगाडि लग्दै दाहिनेतर्फ बढ्यो र फ्रान्सेलीहरू माथि आक्रमण गर्नू भन्ने आदेश दिएर घोडचढी सेनासमक्ष एक जना सहयोगी अफिसरलाई पठायो । तर यो अफिसर आधा घन्टापछि यस्तो खबर लिएर फिर्ता आयो- कि घोडसेनाको कमाण्डर पहिले नै खाल्डोपछाडि भुइँतिर सरिसकेको थियो किनभने उसको सेनामाथि भयङ्कर ठूलो गोलाबारी भइरहेको थियो- उसका सेना अनाहक रूपमा मारिइरहेका थिए, त्यसकारण उसले आफ्ना केही निसानबाजहरूलाई घोडाबाट ओर्लेर जङ्गगलतर्फ जाने आदेश दिएको थियो ।

“धेरै राम्रो भयो,” बग्रातिओनले भन्यो ।

उ तोपखानाबाट फर्किरहँदा बायाँतिरको जङ्गलबाट गोली चलेको आवाज सुनिँदै थियो । तर बायाँ किनार धेरै टाढा भएको र उ त्यहाँ समयमा नै पुग्न नसक्ने भएको हुँदा राजकुमार बग्रातिओनले वरिष्ठ जर्नेल (जुन जर्नेलले ब्राउनाउमा उसलाई कुतुजोभको अगाडि कवाज खेलाएको थियो)लाई जेरखोभमार्फत्‌ भन्न पठायो कि ऊ जतिसक्दो छिटो खुला चउरमा फर्कोस्‌ किनभने दायाँ किनारमा अवस्थित सेनाले धेरै लामो समयसम्म शत्रुको हमलाका विरुद्ध आफ्नो सेनाको प्रतिरक्षा गर्न सक्ने स्थितिमा हुने छैन । तुसिन र उसको वटालियनलाई रक्षा गर्ने बटालियनतर्फ कसैको पनि ध्यान गएन । राजकुमार आन्द्रेइले राजकुमार बग्रातिओन र उसका कमान्डिङ अफिसरहरूसँग भएको कुराकानी ध्यानपूर्वक सुनिरहेको थियो । तर ऊ यसकारण दिक्क भएको थियो कि राजकुमार बग्रातिओनले कुनै किसिमको विशेष आदेश दिएको थिएन । तर उसले बाध्यता, आवश्यकता, संजोग र सैन्यसहयोगीहरूका इच्छानुसार सबैथोक भइरहेको छ भनेर देखाउने प्रयास गरिरहेको थियो; जो वास्तवमा भइरहेथ्यो । यो उसको ठाडो आदेशमा नभए तापनि उसकै मनसायबमोजिम भइरहेको थियो र राजकुमार आन्द्रेइलाई कस्तो लाग्यो भने, जे भइरहेछ त्यो संयोगवस भइरहेछ र यसमा वरिष्ठ कमान्डरको कुनै हात छैन तर बग्रातिओनले आफ्नो व्यक्तिगत चातुर्यता देखाउने प्रयास गरेका कारण उसको उपस्थिति अति महत्त्वपूर्ण हुन गएको थियो । उसको अगाडि मुख देखाउन आउने सैन्यसञ्चालकहरू शिर निहुराउँथे । उनीहरू एक शब्द बोल्न सक्तैनथे । सिपाहीहरूजस्तै अफिसरहरूले पनि प्रसन्न मुद्रामा उसलाई अभिवादन गर्थे । उसको उपस्थितिमा उनीहरू प्रसन्न देखिन्थे र आफ्नो रणकौशल र साहस प्रदर्शन गर्न तँछाडमछाड गरिरहेका हुन्थे ।