२८ साउन २०७५ (१३ अगस्त २०१८)
वास्तवमा आफ्ना आमा बाबुको आहार बिहारमा आमूल परिवर्तन ल्याउने उद्देश्यले हाम्रो बानीमा वरिवर्तन ल्याउने उद्देश्यले सेवाले प्रयत्न गरेको कति हो कति भयो । उनको भनाइ रात्रिको भोजन पश्चात्को लामो फाष्टिङ चाहिन्छ । साँझको खाना चारपाँच बजे खाएर बिहानको आठ नौ गर्नुपर्दछ । पन्ध्र घण्टा भोकै बस्न अभ्यस्त भएपछि मात्र शरीरमा राम्रो हुन्छ । रोगहरु वशमा आउँछन् ।
भोको बस्ने विषय मलाई सबैभन्दा अप्रिय र डरलाग्दो कुरा लाग्छ । जहाँ जाँदा पनि बेस्सरी खाने प्रयत्न गर्छु भरे भोलि के कस्तो होला भनेर तर अब घरमै त्यो कठोर ब्रत पालन गर्नुपर्ने भो । सेवाले कुन शास्त्र पढिन् थाहा छैन तर उनी हामीलाई बदल्न चाहन्छिन् । हाम्रो स्वास्थ्य यसरी सुधार्न चाहन्छिन् ।
त्यस्तो गू्रएल पिएँ, मरिच–दालचिनी के के मसला मिश्रित चिया पिएँ र स्टडीमा पुगेँ । उस्तै सुनसान छ । हिजोका असरल्ल पोका पुस्तक भुइँभरि छन् । वास्तवमा मैले लक्ष्मण श्रीमलको बारेमा लेख्नु छ । दार्जीलिङका लक्ष्मण श्रीमल एक सफल नाटककार जसको देहान्त भएका चार महीना बिते । सिलिगुडीमा रहेका उनका सुपुत्र संजीवले चिठी पठाएका थिए, मुक्ति दाइले सम्पर्क गराइदिनुभएको । उहाँको पुस्तक खोजेँ, छैन । सन २०१७ को हिउँदमा सिलिगुडीको भेटमा दाइले हस्ताक्षर गरेर मलाई दिनुभएको कफ्र्यू कतै भेटिनँ । अरु उपाय छैन । मुक्ति दाइलाई सुनाउँदा उहाँले भन्नु भो— मैले नाटक सञ्चयन नामको मेरो पुस्तक ज्वाइँ युवराज घिमिरेलाई उपहार दिएँ । वास्तवमा यो मेरो पुस्तक नभएर लक्ष्मण श्रीमल दाइले सम्पादन गर्नु भएको भारतीय नेपाली स्रष्टाहरुका अनेक नाटकहरुको संकलित ग्रन्थ होे । उताबाट लिनु होला तर कसरी लिनु ? यस्तो बन्दाबन्दी छ, फोन ग¥यो भने आजदेखि भन्न थाल्योः विदेशबाट आएका र कोरोना रोगको शंका लागेका व्यक्ति अनिवार्य रुपल क्वारेन्टाइनमा बसौँ । आफू पनि बसौँ र अरुलाई पनि बसाऔँ ।
माथि आएर एकछिन् लेखेपछि दुई पाना विस्कुट र दबाई पानी उमालेर खाएँ । आज मेसेन्जरमा झन धेरै क्लिप आउन थाले । तर आजका अलिक ख्याल ठठ्ठा र उटपट्याङका ज्यादा छन्, धेरैजसो महिलालाई परम्परागत दृष्टिकोणले हेरेर अलिकति हास्य पात्र बनाउने, घोचपेच गर्ने खालका । नेपालीका त्यस्ता क्लिप छैनन्, हिन्दीका जो मलाई मन पर्दैनन् ।
बालबालिका संलग्न एउटा हिन्दीको बडो राम्रो गेय टुक्रा आयो ।
भाइ या बेहना है सब को ये कहना है
सारे देशको कहना है
सबको घर मे रहना है
बहुत बडा संकट आया है
यसका अगर इलाज नही
जीवन वचना है मनमानी
कभी आज नहीं
यस्तो एउटा सामान्य सूचना र जानकारीलाई सुन्दर स्वरमा एक बालकले गाएका छन्; लोकलय र संगीत आकर्षक छ । वरिपरि सारा सुनसान देखाउँछ । निर्जन जस्तै । ससाना नानीहरु घरभित्र उफ्रिरहेका छन् ।
त्यसपछि तेजपुर आसामका ज्ञानबहादुर क्षेत्रीले हिजै आग्रह गर्नु भएको एउटा कुरा सम्झेँ— मैले सरका निकै भूमिका पढिसकेँ । हालै पढेकामध्ये हिटलर एण्ड द ज्यूजको र जङ्गबहादुरको जीवन यात्राको । मलाई यस्ता खालका आफ्ना केही भूमिका पठाइदिनु होला ।
यस्ता श्रद्धालु पाठक एवम् स्रष्टा जसको प्रेमले गर्दा मैले केही भूमिका खोज्ने प्रयत्न गरेँ । आज बिहान त्यसपछि म डेस्कटपमा बसेँ र २०६४ सालभरिमा मैले लेखेका भूमिकाको फाइल खोलेँ । त्यसमा रहेछन् ९४ वटा अनि तीमध्ये निम्न ११ वटा भूमिका मैले छानेँ र पीडीएफ गर्न थालेँ—
१) धर्मेन्द्रविक्रम नेम्बाङ्ग— भीरैभीरको रङ्ग (कवितासंग्रह)
२) डा. धु्रवचन्द्र गौतम— जर्मनीः एउटा नयाँ आँगनमा टेक्ता (यात्रा विवरण)
३) जगदीश घिमिरे— अन्तर्मनको यात्रा (संस्मरण)
४) जनकलाल शर्मा— मेरो निबन्ध अधुरै रह्यो (निबन्धसंग्रह)
५) कृष्णचन्द्र सिंहबारे—समय सुनामी (निबन्धसंग्रह)
६) माया ठकुरी— आमा जानुहोस (कथासंग्रह)
७) मुकेश मल्ल— उत्तरआधुनिक कला (कलासिद्धान्त÷विचार)
८) पद्मावती— मौन स्वीकृति (कथासंग्रह)
९) गणेश रसिक— दश गजामा उभिएर (संस्मरण)
१०) सीमा आभास — साँझको संघारबाट (कवितासंग्रह)
११) विश्वासदीप तिगेला— गृहयुद्धका पीडा (यात्रा संस्मरण)
पठाइसक्ता ज्ञानबहादुरले पठाउनु भएको एउटा भिडियो क्लिप आइपुग्यो । कसले रचेको थाहा भएन तर छन्दमा राम्ररी गाउने क्षमता भएका कवि रहेछन्— केही पङ्क्ति यहाँ राख्न चाहन्छु ः
नाता इष्ट र मित्रका नजिकमा राख्तैछु क्यै गन्थन
दिन निकै व्यतीत भएपछि स्नान गरेँ । अब वस्त्र फुकाल्न काम्नु पर्दैन । १८–२० डिग्री पुग्यो । सोलर हिटरमा राम्ररी पानी तातिन्छ ।
आज बाहिर घुम्न नजाने, क्वारेन्टाइनमै बिताउने निश्चय ग¥यौँ । सम्धी अभि सरले फोन गरेर उताको क्वारेन्टाइन खबर सुनाउनु भयो । हामीले भर्खरै तीन पुस्तक उपहार गरेका हौँ सम्झनाको सागरमा केही दिन अनि मेरो प्रथम बेलायत यात्रा अञ्जनाको स्मृतिलोकको यात्रा । यी तीनवटै भर्खरका प्रकाशन हुन् । ती पढ्दै गरेको प्रशंसापूर्ण वाणीमा भन्नुभयो— हामी घरै छौँ, खतरा बढ्दै छ, अब बाहिर ननिस्कौँ होला ।
हामीले पनि पिटिक्कै पाखा ननिस्कने निर्णय गरेका छौँ भनी प्रत्युत्तर गरेँ ।
अनि खाजामा झरेँ, मैले सातु र पानी । सेवाले जाँगर चलाएर, पकौडा पकाइछन् दुई तीन भेराइटि ती पनि चाखेर फेरि माथि चढेँ ।
एकछिनमा गुवाहाटीबाट लीलबहादुर सरको फोन आयो । मधुरो स्वर छ भाइवर उठाएँ—
हेलो…
नमस्कार छ सर म हिजोदेखि नै गरौँ भन्थे त्यतिकै भएछ । यहाँ त पूरा क्वारेन्टाइनको बास छ, ब्लकेट, बन्दी ।
यता पनि त्यस्तै छ एकदम कडा । कोहीसँग जोगाजोग छैन । फोनमा मात्रै । आज हाम्रो घरमा बस्ने दुई तीन जना दर्बाजा खोलेर गल्लीमा पुगेका रहेछन । पुलिसले एकदम डंडा लगाएछ र सुम्लासँग फर्के । सारा सुनसान छ ।
यता पनि त्यस्तै छ सर ।
अनि मेरो बसाइँ छापिँदै छ कि छैन होला तपाईंले साझामा बुझिदिनु होस् ।
त्यसको लागि कोरोना मात्र ठिक होस् न म उहीँ गइहाल्छु ।
ब्रह्मपुत्रको छेउछाउ पनि सकिएको छ, मानिसहरु माग्दैछन्, मैले कहाँबाट दिने ?
म सबै गरौँला, कोरोना समाप्त होस् सर ।
यस्तै बात गर्यौँ । उहाँलाई सधैँ आफ्नो प्रकाशनको चिन्ता हुनु स्वाभाविक हो ।
यति गरिसक्ता हाम्रो सन्ध्या भ्रमणको समय भो । निस्कियौँ तीनै जना । सडक सुनसान छ तर पनि कताकति टीयूको पछिल्तिरबाट शिव मन्दिर पुग्यौँ । फेरि त्यहाँदेखि तल परीक्षा नियन्त्रणतिर गयौँ । बीचबाट खेतैखेत झर्ने एक गोरेटो पक्रेर खेत हिँड्दै तल भर्यौँ, फेरि माथि चढ्यौँ । अनि त्रिविको साइन्स डिपार्टमेन्ट पुग्यौँ । पुस्तकालय पुग्यौँ । जाकिर हुसेन गार्डेन पुष्पले भरिएको छ, गुलाब फुल्न तयार छन् तर फलामको बारमा पाँच हजारको रङ दल्न सकेको छैन संस्थाले र सारा बार खैरो फुस्रो स्याल रङको देखिन्छ । अलिकति शरम हुनुपर्ने यस्तो सुन्दर बगानका प्राण लिनेहरु यहीँ छन् । मीठो जागिर खाइरहेका । काठमाडौँ उपत्याकाका सबैजसो काग यहाँका अग्ला मसलाका बोट वरिपरि भेला भएका रहेछन्— कराउने, उड्ने, बस्ने, बेगिने एकप्रकार पक्षीहरुकै कोलाहल छ ।
हिँड्दै अंग्रेजी शिक्षा विभागतिर पुग्यौँ । मास्तिर जंगल छिचोल्यौँ र ट्याङ्लाचोक जाने मार्ग एकछिन् हिँडेर चोकैमा पुग्यौँ ।
कति हिँडिएछ नानी आज ?
हिजोभन्दा अलिक धेरै बुबा साढे सातहजार स्टेप पुग्यो । घर पुग्दा पूरा हुन्छ ।
चोकमा जम्मा दुई दोकान खुला थिए— औषधीको गीताञ्जली र खाद्य सामानको मिन्ट मार्केट ।
मार्केटको मुखैमा सिक्रेले भेटेर नमस्कार ग¥यो । त्यो थापेर भित्र पस्यौँ । अलिकति सर्दाम किन्यौँ— गहूँको चामल, तेल, केकहरु यस्तै केके जाति । बलिष्ठ आङको दोकाने भाइले भन्यो— “हाम्रो बाग्लुङ सुरक्षित थियो । तर आजदेखि नेपालमा कोरोनाको पेसेन्ट मेरै बाग्लुङको परेछ । बाहिरी देशबाट आएर यही ट्याङ्ला चोकमा कि चाँदनी चोकमा कसको घरमा चारपाँच दिन बसेर बाग्लुङ गएछ । ह्वाँ पुगेसि पोजिटिव देखिएछ ।”
अरु दुई तीन जना वरिपरि थिए । साँच्चै हो जस्तो गरेर भयभीत अनुहारले उसलाई हेरे । “छिटो गरौँ सरहरु, आमालाई अरु केके ?” शायद केश फुलेर सेतै देख्ता अञ्जनालाई आमा सम्बोधन गर्छ मिठो स्वरमा मलाई भन्छ “बुबा” स्फुर्ति छ उसमा । यही नजिकैको त्रिविमा अंग्रेजी पढाउने प्रा.डा. अञ्जना भट्टराई वस्ती हुन् भन्ने चिनेको भए उनलाई “मेडम” भन्थ्यो होला । मलाई “सर” भन्थ्यो होला ।
“मलाई यति मात्रै बाबु ! बिल जोड्नोस्,” उनले भनिन् ।
“तपाईंहरुलाई केके छिटो गरौँ; अहिले पुलिस आएर बन्द गराउन खोज्छ ।” अर्का ग्राहकलाई भन्यो ।
किन भाइ ?
ह्याँ किन रक्सी राख्या, बन्द गर भन्छ ।
अनि त्यसपछि के भो ?
मैले पनि यो बिक्रीको लागि होइन, “नट फर सेल, स्याम्पल मात्रै” भिनिदिएँ ।
ठीक त्यसैबोल एउटा पातले आएर उसलाई भन्यो— दाइ मलाई एक क्वाटर ।
के ? दोकाने सोध्छ
“ऊ त्यो स्यानिटाइजर,” पातले भन्छ ।
उसले अखबारमा बेरेर एक क्वाटर दियो, पैसा लियो ।
हामी पनि निस्कियौँ । प्रवेशद्वारमा डम्बे बसिरहेकै थियो । उसले मलाई फेरि नमस्कार ग¥यो । के छ भाइ खबर ? मैले सोधेँ ।
राम्रै छ सर तर कामदाम सारा बन्दभयो । खाने पिउने केही छैन ।
कुमार खै नि ?
ऊ घर गैसक्यो ।
“गारो छ, दालचामल किन्नै तिमीहरुलाई मुश्किल भो” सान्तवना थपेँ र सोचेँ एकसय रुप्या दिनु प¥यो । दुई किलो चामलले दुई छाक खान्छन्। यसका परिवारले ।
गोर्खेले पनि सलोट ठोक्यो र भन्यो, “सर, अभरै प¥यौँ । यो कोरोनामा अलिकति स्यानिटाइजर दबाइ किनौँ भनेको सर, डम्बे र मैले ।” (स्यानिटाइजरको अर्थ रक्सी थियो ।)
“ए भाइ आज पैसा सकेछु मैले”, भन्दै निस्केँ र घर आयौँ ।
घरमा आएर हेर्दा एउटा नयाँ पोष्टले पर्खिरहेको थियो ।
दिनदिनका डाक्टर छन्; छिनछिनका विज्ञ छन्,
सन्त, महन्त, संन्यासी, जोगिनी सबै कोरोना ज्ञाता र उपदेशक भएका तर जनजीवन आक्रान्त छ ।
त्यो समाचारलेउ भन्यो— आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका परीक्षणले एउटामा पोजेटिव देखाएको छ । यो पाँचौँ केश हो, यो पनि काठमाडौँ उपत्यकाभन्दा बाहिरको केश छ । अहिलेलाई यो चाहिँ २२ वर्षीया महिला हुनुहुन्छ । जो चाहिँ बेल्जियमबाट कतार हुँदै आउनु भएको थियो, १७ मार्चमा चैत्र ४ गते । त्तच्टछद्द नं. को फ्लाइटबाट । उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । वहाँको स्थिति अहिले सामान्य छ । यसरी हेर्दा एउटा थप केश भेटिएको सन्दर्भमा हिसाब अझ बढी हामीले टेष्टको दायरा बढाउनु पर्ने छ र क्वारेन्टाइनमा बस्ने कुरालाई अझ अनिवार्य गर्नु पर्दछ ।
हामीलाई प्रदेशका विभिन्न पालिकाबाट खबर आइरहन्छ— यहाँ यस्तो व्यक्ति क्वारेन्टाइनमा घरभित्र बस्नु नै यस रोगबाट टाढा रहने उपाय हो । त्यस्तो केही थाहा भएमा केही समस्या परेमा हामीलाई भर्चुएली दुईटा टोल फ्री नम्बर १११५ र ११३३ मा सम्पर्क गरिदिनु होला, आजलाई धन्यवाद ।
यो स्वास्थ्य र जनसंख्या मन्त्रालयको विज्ञप्ति सुनेर हामी निकै निराश जस्ता भयौँ र भोलिदेखि अब घुम्न कतै पनि ननिस्कने भन्ने सल्लाह गर्यौँ ।
साँझ निकै ढलेको थियो । चराहरु शान्त भैसकेका थिए, कुखुराहरु शान्त भइसकेका थिए । एउटा क्लिपले भाइ रमण घिमिरेको कविता लिएर आयो— यस्तोः
हाम्रो नियति लड्नु हो र लडेर जित्नु हो
हामी बुहानसँग लड्यौँ हामी हारेनौँ
यतिबेला कोरोनासित लडिरहेका छौँ
हामीलाई थाहा छ, जित हाम्रै हुन्छ
इतिहासले भन्छ विजय वीरकै हुन्छ, कायरको होइन
कोरोना कायर हो त्यसैले यसको अन्त्य निश्चित छ
त्यसको लागि तपाई हामीले नेपाल सरकारको आग्रह अनुसार घरमै बसौँ, सोसल डिस्ट्यान्स मेन्टेन गरौँ । हात धुने बानी बसालौँ र आफूमा कोरोनाको कुनै लक्षण देखिएमा स्वास्थ्य चौकीमा गएर चेक जाँच गरौँ, विमार नलुकाऔँ ।
धामी–झाँक्री, पण्डित–ज्योतिषी, बुढीबजू झारफुके कोरोनाको पितृ बुझाउनेहरु घर घरमा निस्के । इण्डियामा झन् कस्तो भयो होला । यहीँ थामिनसक्नु परिस्थिति छ कसरी नियन्त्रण गर्ने होला । भारत सरकारले एक सूचना जारी ग¥यो, सो उडेर नेपाल आइपुग्यो जो निम्न अनुसार छः
ग्रूप के सभी सम्माननीय सदस्यों सूचित किया जाता है कि अभि केन्द्र सरकारद्वारा कोरोना वायरस से सम्बन्धी कोइ भी पोष्ट को दण्डनीय अपराध घोषित कर दिया गया है । कोरोना सिर्फ सरकार एजेंसी ही पोष्ट कर सकती है । गलत पोष्ट या मैसेज करने पर ग्रुप एडमिन सहित पुरे ग्रुप के सदस्यों पर कानून के अन्तर्गत मुकद्दमा पंजीकृत कर कार्यवाही की जाएगी, इडसिलिए ध्यान रखेँ, सतर्क रहेँ, सुरक्षित रहे ।
रविनायक, प्रमुख सचिव
गृह मन्त्रालय भारत सरकार
आज अलिक चिन्ता बढ्दै छ । मन अलिक धर्मराउँछ । एउटा गरीब राष्ट्रका जनता अचेत छन् । सरकार हावादारी पार्टीका हल्लामा छ; कतै कुनै आशा छैन । अलिकति पनि यद्यपि केही गरिहेर्दैछ । भारतमा कडा छ त्यहाँ पनि अशिक्षित अचेत मूढहरुको गोलो नै छ । गाह्रो छ । शिक्षित सभ्य मुलुक फ्रान्स स्पेन बेलायतले समेत कोरोनाको सामु घुँडा टेके हाम्रो के कुरा !
आज भर्खरै स्पेनकी राजकुरमारीको कोरोना रोगले देहान्त भयो भन्ने खबर आयो । स्पेनका राजा फिलिपकी भतिजी शुक्रबारको दिन राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको कारण मृत्यु भयो । उनी संसारकै राजपरिवारकी प्रथम सदस्य हुन् । जसको देहान्त कोरोनाको कारणले भएको छ ।
त्यसैगरी थप सूचना आयो— प्रिन्स चाल्स ड्युक अव् वेल्स र प्रिन्स अल्वर्ट सेकेन्ड अफ मोनाको दुवै राजकुमारमा पनि पोजिटिव् भेटिएको छ ।
विश्वलाई यो ठूलो चेतावनी थियो । बेलुका अब सुत्न झरौँ भन्दैगर्दा एउटा पोष्ट आयो अचानक फ्रान्सको । जसमा एक नेपाली युवकले आत्तिएर प्रार्थना गर्यो— सेन्ट्रल हेलो म नमस्ते म विकास शाही । म अहिले फ्रान्सको युद्धभूमि (कोरोनाको युद्धभूमि) पेरिसमा छु । पछाडि देख्नुहुन्छ ठडिएको आइफिल टावर । म अहिले दसबाह्र दिन भो बन्धक भएर यो भित्र बसेको । यस्तो खतरा छ जस्तो हिजो मात्रै फ्रान्समा उनन्चालीस सय जनामा नयाँ संक्रमण भो । १६ सय जना मरिसके, ३९ हजार जना पुराना संक्रमित छन् । मरेपछि लास उठाउने मान्छे पाइँदैन । लठ्ठीले घोचेर फाल्ने, यस्तो ड्यान्जर अवस्था छ । मरेकालाई घरमा लास लिन पनि आउँदैन, कतिलाई लिने लास दिनमा छ सहे सातसहे मरिरा छन्— तपाईंहरुलाई परेको छैन, नपरेपछि इजी लाग्यो होला ।
किन त अहिले हाम्रो हस्पिटल भनेकै घर हो । हामीले घरमै बस्नुपर्ने हुन्छ, बाहिर जानुहुँदैन । एक नम्बरमा नेपाली दाजु भाइहरुलाई म यही सन्देश दिन चाहन्छु । म जहिले पनि यही झ्यालमा आएर लाइभ दिने गर्दछु । यो नेपालीहरुलाई चाहिँ जानकारी दिने कल्ले भन्दा ठूलो मान्छेले हो, सेलिब्रिटिहरुले, प्रधान मन्त्रीले हो । पत्रकारहरुले दिने हो । हाम्रो नेपालमा चाहिँ धेरै जनालाई जानकारी छैन । नेपालीलाई त्यति धेरै मात्रामा जानकारी दिएजस्तो लाग्दैन मलाई । यता इण्डिया, फ्रान्स, युएस र यूके जस्ता देशका प्रधानमन्त्रीले हप्तामा दुई चोटि भिडियोमा लाइव आएर भन्दै हुन्छन् । नेपालका प्रधानमन्त्रीले फेसबुकमा फोटो हाल्दिनुहुन्छ त्यो कल्ले हेर्ने ? हाम्रोमा जानकारी एकदम कम भयो । जनताहरु आफैँले जानकारी लिन खोज्नु पर्यो । बिबिसी, सीएनएन, गुगल विश्वासिलो मिडिया हेरेर खबर लिनु पर्यो । यस्तो खतरा छ । फ्रान्सको त नर्मल हो, इटालीको कुरा गरौँ, त्यहाँ असी हजारको हाराहारीमा छ, स्पेनको त्यस्तै छ दिनको सातसात सयको दरले मरिरहेको छ स्पेनको मान्छे । नयाँ संक्रमण मात्रै एक दिनमा छ हजार भन्दा बढी फ्रान्समा पनि हिजो ३९ सय भन्दा धेरै संक्रमण भएको छ । मैले तपाईंहरुलाई किन यो जानकारी दिँदैछु भने म यस्तो ठाउँमा पनि सुरक्षित छु, तपाईंहरु त अझ सुरक्षित ठाउँमा हुनुहुन्छ, कमसेकम दशदेखि पन्ध्र दिनसम्म होम कवारेन्टाइनमा बस्नु होला घरैमा सुरक्षित हुन्छ ।
कतिपयलाई क्वारेन्टाइन भनेको पनि बुझाउन सक्या छैन । क्वारेन्टाइन भनेको घरैमा बस्ने नयाँ मान्छेसँगको कन्ट्याक्टमा नआउने हो। यहाँको मान्छेलाई किन यस्तो भो भन्नु होला कारण के हो भने याँको मान्छेले सुरुमा लापर्वाही गर्यो । आ के फरक पर्छ चल्ता है भन्ने गर्यो । म देखिरा छु । १०—१२ दिन पहिलासम्म लक डाउन नहुँदासम्म चाहिँ मास्क नलाई मजाले हिँडिराको हुन्थे हामी पनि १०–१२ दिन पहिलेसम्म लकडाउन नहुँदासम्म त्यसै गर्थ्यौं ।
आजको दिन यसरी बितेपछि रातको पहिलो प्रहर आरम्भ भएपछि मनमा केही निराशा र केही आतङ्क भरिएपछि सुत्न झर्ने योजनामा थिएँ । आजदेखि हिँड्न छोडेर घरैमा गरेको एक्सरसाइज सम्झेँ । त्यसैबेला चितवनदेखि भाइ गोपीको फोन आयो— दाजु एउटा गजल गायन पठाएका छु, सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ । यो भैरहवाका रुद्र ज्ञवालीको रचना हो । यो २०६२ सालको माओवादी संकट बाँकी हुँदै उनले रचेको एक यथार्थ कुरा थियो । त्यो रात हामी छ जना पाल्पाको एउटा घरमा सँगै बसेका थियौँ ।
मैले एउटा लेख लेखेँ यहाँ फर्केर सँगै बसौँ यो रात, पछि मेरो पुस्तकको नाम रह्यो सँगै बसौँ यो रात, साझा प्रकाशनबाट त्यो छापियो २०३४ मा ।
युट्युब खोलेर त्यो गजल सुनेँ, हेरेँ, कस्तो प्रभावकारी छ । माओवादी सेना यता नेपाल आर्मी उता लड्दै गरेको राज । एक योद्धा कसरी आफ्नो प्रेम र कर्तव्य बीच चिरिएको हुन्छ, चुँडिएको हुन्छ, आज पनि ठीक त्यस्तै छ, एकातिर महामारी छ, अर्कातिर परदेश, असहाय नेपाली घरघरमा । रुद्रको गजल यसप्रकारः
सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ
छुटेपछि यो साथ अन्तिम बन्न सक्छ ।
थोरै छ रात धेरै कुरा छ गर्न बाँकी
गर्नु सँगै यो बात अन्तिम बन्न सक्छ
छुटेपछि यो साथ अन्तिम बन्न सक्छ ।
आऔँ पिऔँ पिलाऔँ प्याला नयनहरुका
बेहोसीको यो मात अन्तिम बन्न सक्छ
छुटेपछि यो साथ अन्तिम बन्न सक्छ ।
बाँकी कुनै नराखी शंका अनि गुनासो
खुल्नु पनि यो आखिर अन्तिम बन्न सक्छ
छुटेपछि यो साथ अन्तिम बन्नसक्छ ।
छोटो छ जिन्दगानी कस्को के भरोसा
मिल्नु पनि यी हात अन्तिम बन्न सक्छ
छुटेपछि यो साथ अन्तिम बन्न सक्छ ।
सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ ।
(स्रष्टा बराल रामले गाएको यो गजल नेपाली गजल संग्रह २०७६ अवश्य सुन्नु हुन सबैमा प्रार्थना गर्दै आजको रातलाई स्वागत गर्न चाहन्छु । यसको भिडियो र नेपालको दशवर्षे माओवादी युद्ध, जनताले भोगेको संकट, जीवनको नश्वरता यस्ता गजल लेखनु, यस्तरी गजल गाउनु, यसरी सजाउनु धन्य छ भैरहवाका भाइ रुद्र ज्ञवालीलाई) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।