

जनक कार्की
यो दृश्य कारागारको हो । जहाँ चारजना कैदीहरू भौतिक दूरी बनाएर बसिरहेका छन् । यो कोरोना कालको समय भएकोले कैदीहरूलाई मास्क अनिवार्य छ । मुस्किलले हावा र घामको किरण प्रवेश गर्ने चार दिवार पनि कोरोना भाइरस छिर्ला भन्ने चिन्ता जेलरलाई भएकोले नै मास्क अनिवार्य भएको होला ।
एकजना कैदीले कोठाको भित्तामा केही लेखेर सकाएको छ । जसमा यस्तो लेखिएको छ ।
`यो विश्व महामारीमा
जसोतसो रोगबाट त बचेँ
तर
भोकको बन्दुकले
खाली पेटमै प्रहार गर्यो
र
ठाउँको ठाउँ ढलेँ !´
भित्तामा लेखिएका यी शब्दहरूले तीनैजना कैदीको मन छोयो र भन्न थाले सामूहिक आवाजमा, `वाह ! कविज्यू क्या लेख्नुभयो ।´
यत्तिकैमा अर्को कैदीले भन्न थाल्यो, `सरकारले जनतालाई महिनौँदेखि क्वारेन्टाइनमा राखिरहेको छ । जेलभन्दा गजबको एकान्तबास त संसारमै छैन होला है ?´
अरू कैदीले हो मा हो मिलाए ।
एउटा कैदीले भन्न थाल्यो, `तर टाइमपास नहुने यार यो जेलमा ।´
अर्को कैदीले भन्न थाल्यो, `आजको टाइमपास गराउने जिम्मा मेरो तर यसमा साथ र समर्थन सबैको चाहिन्छ ।´
सबैले एक स्वरमा भने, `हुन्छ । पूर्ण समर्थन छ ।´
`अब गर्ने चाहिँ के भने बाहिरदेखि भित्रको यात्राको सविस्तार व्याख्या हो । घरदेखि जेलसम्मको यात्रा कसरी भयो भन्ने कुरा बताउने पालैपालो ।´
`हुन्छ, राम्रो आइडिया,´ एकै स्वरमा आवाज आयो ।
कैदीहरू आ-आफ्नो जेल यात्रा सुनाउनलाई तयार भएर बसे ।
कैदी नं. ३२५
कोरोनाले देशमा ताल्चा मारेको थियो । कार्यालय बन्द, पाठशाला बन्द, यातायात बन्द तर खान बन्द थिएन । हामी जस्तो ज्यालामजदुरी गरेर खानेहरूलाई निकै समस्या हुँदै थियो । गाउँ जान पनि सार्वजनिक यातायात बन्द, हिँडेर जान सक्ने दूरी थिएन । नौ वर्षदेखि यही शहरमा सपनाको बेलुन उडाउन आएको थिएँ । जिन्दगीभर दुःख, आँसु, समस्या, पीडाको भारी बोक्दा बोक्दै आजित भएर शहर त छिरेँ तर भनेजस्तो काम पाइएन । अनि राजी भएँ जिन्दगीको थप भार बोक्न र भरिया बनेर जीविकोपार्जन गर्न थालेँ । हुन त एकपटक विदेशको हावाले साउदीको भुङ्ग्रोमा लगेर नपछारेको पनि होइन । भनेजस्तो काम भएन, न त तलब नै, बिरामी परेर छ महिनामै फर्किएको थिएँ । ऋणको भारी पनि त्यहीँ बेलादेखि झन् गह्रुँगो भयो ।
सरकार निषेधाज्ञालाई रबरलाई जस्तो तन्काइरहेको थियो । गरिबलाई राहत बाँड्ने काम पनि निष्पक्ष भएन । एकदुईपटक दश किलो चामलको थैलो, एउटा नुनको पोको, आधा लिटरको तेल र दुईवटा साबुन नपाएको पनि होइन । सरकार हात धोइराख्न भन्थ्यो तर हाम्रो भोक धोइदिने कोही भएन । सरकार मुखमा मास्क लगाएर हिँड्न भन्थ्यो तर मुखलाई मास्कले छेक्दैमा भोक नलाग्ने होइन रहेछ । शहरको एउटा छिँडीमा मुस्किलले एउटा खाट अटाउने कोठाको भाँडा नतिरेको दुई महिना भइसकेको थियो । सुरुसुरुमा अलिअलि राहत, अलिअलि पैँचो गरेर गुजारा चलाइयो ।
तीन दिन भएको थियो, पेटले अन्नको गेडो नपाएको । सरकार कोरोना पोजिटिभले मर्ने कुरा गर्दा, म भोकले मर्ने अवस्थामा पुगिसकेको थिएँ । एकदिन साँझपख कोठा नजिकैको मैदानमा गाई मरेको देखेँ । त्यो गाईलाई योभन्दा पहिला पनि देखेको थिएँ । बिचरा मजस्तै भोको भएर होला प्लास्टिक पनि घाँस जस्तै मीठो मानेर खान्थ्यो । नेपाल हिन्दू धर्मावलम्बीहरूको वर्चस्व भएको ठाउँ हो तर पनि गौमाता यसरी भोकै हिँड्दा खुवाउने विरलै हुन्थे । अलि धार्मिक देखिनेले जय लक्ष्मी माता भन्दै ढोगेर जान्थे ।
बिचरालाई ढोग होइन, घाँस चाहिएको थियो, कुँडो चाहिएको थियो । यो व्यथा कसले बुझोस् । म कहिलेकाही सोच्थेँ, कति पापी होलान् ती मानिसहरू जसले दूध आउञ्जेल थुन चुसिरहे तर जब गाई थारो भयो, उनीहरूलाई गाई घाँडो भयो । अनि गोठबाट निकालेर सडकछाप बनाइदिए । गाईले मीठो खान कि लक्ष्मी पूजा आउन पर्थ्यो कि श्राद्ध । बाँकी दिन गाई भोकै हुन्थ्यो । जब घरमा चोखो पूजाआजा हुन्थ्यो त्यही गाईको मुत्रले चोखिन्थे । गाई तेरो जिन्दगी क्या जिन्दगी ! भोको गाईको दूध चुसे, पिसाब चुसे तर गाईलाई खुवाउने विरलै भए । आज अचानक यो गाई कसरी मर्यो ? मलाई चिन्ता लाग्यो । पक्कै मजस्तो भोकाएर त होइन ? शहर बन्द भएपछि त केराको बोक्रा, प्लास्टिक, सडेका पाउरोटी पनि पाइँदैनथ्यो कुडादानमा । म झसङ्ग भएँ, म पनि तीन दिनदेखि भोको छु । मेरो नियति पनि यही गाईको जस्तै हुनेवाला थियो ।
घरमा भर्खरै तोतेबोली बोल्दै गरेको छोरो, दु:खको आक्रमणले तरुनीमै बुढी जस्तै देखिएकी श्रीमतीको धेरै याद आयो । उनीहरूको एकएक गाँस मैबाट चल्छ । मै मरे कसले खुआउला ? मनमा अनेक चिन्ता भयो । मरेको गाईलाई हेरेँ, साच्चिकै गौमाताझैँ लाग्यो । मलाई यस्तो लाग्यो, आज यी गौमाता मलाई बचाउन आफूलाई मारेकी हुन् । मलाई यही गौमाताको मासु खाएर जिउन पर्छ भन्ने लाग्यो । गौमाताले पनि मलाई यही भनेको जस्तो लाग्यो । मलाई लाग्यो जिउँदो हुँदासम्म त कसैले ख्याल नगरेको यो गौमातालाई मरेपछि झन् कसले वास्ता गर्ला ? कसले व्यवस्थापन गर्ला गौमाताको यो मृत शरीरलाई । झन् गौमाता गनाएर सिनो हुनपर्छ । गौमाताले मलाई सिनो हुनबाट बचाइदेऊ भन्ने आग्रह गरे जस्तो लाग्यो । मैले सोच्न त सोचेँ तर कसरी खाने गाईको मासु । फेरि सम्झिएँ, साउदीमा कतिपटक खान नपाउँदा अरबीले दिएको बिफ बिर्यानी त खाएकै हो । केही हुन्न म खान्छु भन्ने लाग्यो । यो मेरो र गाई दुवैको कल्याण हो जस्तो लाग्यो । कोठामा दौडिएर गएर हतियार लिएर आएँ । मरेको गाईलाई काट्न थालेँ । काट्न मात्र के थालेको थिएँ । एकजना त्यतैका टोलबासीले देखेर पूरै टोलबासीलाई उठाएर ल्याएछन् । मलाई गाईको हत्या गर्ने, गाईको मासु खाने पशु भनेर बुट बजार्नसम्म बजारे। प्रहरीलाई बोलाएर मैले गाईको हत्या गरेको आरोप लगाए । अनि आज यहाँ छु । गाई हत्याको अभियोगमा सजाय काट्दै ।
कैदीको जेल यात्राको वर्णन सुनेर तीनैजना भावुक भए । त्यसपछि अर्को कैदीले आफ्नो कथा सुनाउन थाल्यो ।
कैदी नं. २७८
दुई वर्षदेखि यही शहरमा बसेर एकजना सम्पन्न परिवारको गाडी चलाएर जिन्दगी बिताइरहेको थिएँ । जिन्दगीको यो यात्रामा आफ्नै जिन्दगीलाई चलाउन नसकेको एक चालक, जसले अरूको जिन्दगीलाई सुरक्षित साथ चलाउने जिम्मा लिएको थिएँ । निषेधाज्ञाले गर्दा सबै कुरा ठप्प थियो । मैले गाडी चलाउन पनि परेको थिएन । गाडी चलाउन नपरेपछि साहुले मलाई एकदिन बोलाएर यो बन्दको निश्चित छैन । तिमी काम गर्न आउनु पर्दैन भोलिबाट भनेर जागिरबाट निकालिदिए । म त्यही घरमा बस्दै आएको थिएँ । कोठाबाट पनि निकालिएँ । नौ दिनको हिसाबकिताब थियो, चुक्ता गरिदिएँ । मसँग पाँच हजार दुई सय सत्तरी रुपैयाँ, ओढ्ने ओछ्याउने कपडा र आफ्ना दुईचारवटा कपडाबाहेक केही थिएन । साहुसँग अनुनयविनय गरेँ तर उनीहरूले मलाई राख्न चाहेनन्। धनी र गरिबको फरक यही रहेछ सायद । उनीहरू हामीलाई काम पर्दासम्म मात्र प्रयोग गर्दा रहेछन् । अवसरवादी पो हुँदा रहेछन् ।
मसँग नयाँ कोठा लिने पैसा थिएन । गाउँमा बाउआमा मात्रै हुनुहुन्थ्यो । उहाँहरूको हालत पनि खराब थियो । एक हप्तासम्म शहरको पाटीपौवामा सुतेर बिताएँ । मलाई किनकिन मेरो दिमागमा आफ्नो साहु देखेर अधिक घृणा पलायो र बदलाको भावना आयो । एक रात म साहुको घरमा गएँ । साहुको छोरा पाँच वर्षको थियो। आँगनमा खेल्दै थियो । मसँग खुब झ्याम्मिन्थ्यो । साहुसाहुनी दुवै अफिसमा व्यस्त हुने भएकाले प्रायः मसँग खेल्ने गर्थ्यो । मैले एउटा डेरी मिल्क पनि लिएर गएको थिएँ । उसलाई बोलाएँ, ऊ खुरुक्क आयो। डेरी मिल्क हातमा थमाइदिएँ । उसले खुसी हुँदै लियो । साहुसाहुनी भित्र थिए । मैले बच्चालाई जाऔँ घुम्न भनेको खुरुक्क मान्यो अनि लिएर गएँ र केही दिनदेखि म सुतिरहेको पाटीमा पुर्याएँ । साहुलाई फोन गरेर तेरो छोरा मेरो किडन्यापमा परेको छ । छोरा चाहन्छस् भने पैसा लिएर आइज भनेँ । दश लाख रुपैयाँ मेरो डिमान्ड थियो । एकघन्टामा उसले मैले भनेको ठाउँमा पैसा लिएर आयो, पैसा दियो अनि छोरा लियो । पैसाको ब्याग समाएर फर्किनँ लाग्दा पछाडिबाट डन्डाको प्रहार भयो । उसले प्रहरी पनि साथमै लिएर आएको रहेछ । मलाई किडन्यापको अपराधमा जेल चलान भयो ।
दोस्रो कैदीको जेल यात्रा संस्मरण सुनिसकेपछि, अब पालो तेस्रोको ।
कैदी नं. ५३२
मेरो पेसा केही पनि थिएन किनभने जुन पेशामा म आबद्ध थिएँ, त्यसलाई पेशा भनिँदैन्थ्यो । धेरैचोटि मलाई के गर्छौभन्दा लेख्छु भन्थेँ । सबै हाँस्थे, ओके ठीकै छ लेख्छौ तर काम के गर्छौ भन्थे । लेख्नुलाई पेसा नमानिने देशमा म जो थिएँ ! देश अनुसारको भेष, मेरो एउटा उपन्यास पनि प्रकाशित छ । निकै चर्चित पनि भयो तर कमाइ शून्य । प्रकाशकले दश प्रतिशत रोयल्टी दिन्छु भनेर छापेको थियो तर रोयल्टी माग्न जाँदा किताब बिकेकै छैन भनेर फर्काउँथ्यो। कानुनी लडाइँ लड्न मसँग कुनै लिखित एग्रिमेन्ट पनि गरिएको थिएन । जीविकोपार्जन गर्न मैले एउटा पत्रिकामा काम गर्न थालेँ। कोरोनाले पत्रिका छापिन पनि बन्द भयो । मसँग न कोठाभाडा तिर्न पैसा रह्यो, न त खानको लागि । म निकै फ्रस्टेट थिएँ । मैले फेसबुकमा सरकारविरोधी आवाजहरू पोस्ट गर्न थालेँ। काठमाडौँको गल्लीगल्लीमा रातभर भित्तामा सरकार विरोधी कविता लेखेँ ।
लकडाउनले सुनसान भएको काठमाडौँ गल्लीहरू रातमा भूतको अड्डाजस्तै थिए ।
मैले भित्तामा प्रधानमन्त्री जस्तो देखिने कार्टुन बनाएँ । प्रधानमन्त्री जस्तो देखिने कार्टुनको आँखामा चस्माको ठाउँमा मास्क लगाइदिएँ । अनि तलपट्टि एउटा कविता लेखेँः
`प्रिय देशको अभिभावक
हेर्न सक्दैनौ होला
भोकले मरिरहेका जनताको शव
त्यसैले आँखामा मास्क लगाएर बस !´
सिंहदरबारको भित्ताभित्तामा पिसाब गर्दिन्थेँ अनि त्यहाँका भित्तालाई पनि कविताले ढाकिदिन्थेँ ।
`यही देशमा कुनै समय थियो रे, राजा जसले प्रजाको घरको धुरीबाट धुवाँ निस्किएपछि मात्र खाना खान बस्थे रे, अहिलेका छन् यस्ता शासक, जसले आर्यघाटबाट जनताको लाशको धुवाँ हेरेर मात्रा खाना खान्छन् ।´
मेरा भित्ते कविता जनताले धेरै मन पराउन थाले। सामाजिक सञ्जालमा फोटो खिचेर हाल्ने क्रम बढदै गयो । मेरा कविता भाइरल हुन थाले । सरकारले देशद्रोही कविता लेख्ने कविलाई समाउनका लागि एक लाखको इनाम तोक्यो । सरकारद्वारा भित्ते कवि कुनै गुप्तचर र विदेशीद्वारा सञ्चालित भनेर भ्रम फैलाइएको थियो ।
काठमाडौँमा सरकारविरोधी कविता लेख्ने क्रम रोकिएन । एक रात म भित्तामा कविता लेख्दै थिएँ, रङ्गे हात पुलिसले पक्ड्यो । `बल्ल आज फेला पर्यो भन्दै´ पुलिसले भ्यानमा कोच्यो । पछि यो कुनै गुप्तचर जासुस हो, जसले देशको सद्भाव बिगारेको भन्ने झुठो आरोप लगाएर देशद्रोहको केसमा मलाई जेल चलान भयो ।
तेस्रो कैदीको जेल यात्रा वर्णन सुनेपछि अब पालो अन्तिम कैदीको ।
कैदी नं. ४६०
फुटपाथमा कपडा बेचेर दालभात तरकारीको जोहो गर्थेँ । निषेधाज्ञाले सङ्कलन गरिएको केही पैसा पनि तुरिन थाल्यो । घरमा त्यति नै बेला दु:खद् घटना घट्यो । छोरीले सेनिटाइजर पिएपछि संसारलाई छोडेर गइन् । रेडियो टिभीमा सेनिटाइजर लगाउनु भन्ने विज्ञापनको प्रभावले छोरीको काँचो दिमागमा खै कस्तो असर गर्यो ! मान्छेलाई संकट यसरी आइपर्ने रहेछ, त्यति नै बेला छिमेकीले छोरीको बिमा गरेको भए पैसा आउने थियो । केही राहत मिल्ने थियो भनेर मलाई भनेका थिए तर पैसाले छोरीको कमीलाई के कम गर्न सक्थ्यो र ? तर पनि पैसा पाएको भए त हामी त बाँच्न सक्थ्यौँ भन्ने कुरा दिमागमा आयो, अर्को दिन छिमेकी भाइले आएर कोरोनाको बिमा गर्नोस्, मात्र एक हजारमा, कोरोना लागिहाल्यो भने एक लाख पाउनुहुन्छ उपचारको लागि भन्न थाल्यो। मैले छोरीको अन्नप्राशनमा बनाइदिएको सिक्री बेचिदिएँ । त्यसले बुढाबुढीको बिमा गरिदिएँ । नभन्दै एक महिनापछि हामीलाई कोरोना पोजिटिभ भयो । हामीले दुई लाख पायौँ । दुवै निको पनि भयौँ। यो त गज्जबको चिज रहेछ भनेर मैले चिनेजानेका मान्छेलाई बिमा गराइदिन्छु, कोरोना भयो भने पैसा आधाआधा बाँड्ने कुरामा सहमति गराएँ। म सङ्क्रमित भएको कुरा मैले कसैलाई भनिनँ अनि म बिमा गर्दिनेको सम्पर्कमा गएँ कोरोना सार्दिनलाई । मैले बिमा गर्दिएकामध्ये सात जनालाई कोरोना पोजिटिभ भयो । अनि बिमाबाट आएको पैसा आधाआधा बाँड्यौँ । एकदिन एकजना वृद्धलाई पनि कोरोना पोजिटिभ भयो । मैले नै बिमा गराइदिएको थिएँ । ऊ मर्यो । खै कसरी यो कुराबारे सबैलाई थाहा भयो, मलाई प्रहरीले लिएर गयो । मलाई जालसाजी गरेको आरोपमा जेल चलान गरियो ।
कैदीहरूको जेल यात्रा वृत्तान्त सुनेर आजको दिन सजिलै बित्यो । कारागारमा बेलुकाको खाना खाने घण्टी बज्यो । चारैजना खाना खानको लागि मेसतर्फ लागे । चारै जनाले खासखुस गर्दै थिए, `जे होस् रोगले मरिएला नमरिएला तर जेलमा भोकले मरिन्न ।´
तानसेन, पाल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

