१ वैशाख २०७७ साल नववर्ष (१३ अप्रिल २०२०)

आजको कोरोना भाइरसको अपडेटः
कोरोना केश— १८ लाख ४८ हजार
देहान्त— १ लाख १३ हजार
निको भएका — ४ लाख २२ हजार
मृत्युहरु
अमेरिका २१ हजार ९५६
स्पेन १७ हजार ११३
इटाली १९ हजार ८९९
फ्रान्स १४ हजार ३९३
जर्मनी ३ हजार ११
बेलायत १० हजार ६१२
चीन ३ हजार ३३९

यसरी चीनबाट आरम्भ भएको कोरोना जीवाणु रोग आज चीनमा धेरै तल झरेको देखिन्छ । यी तथ्याङ्क प्रत्येक रात १२ बजे फेरिन्छ भनिएको छ— गुगलले दिन्छ । यो चाहिँ सम्पूर्ण केश कति, नयाँ कति, कुल मृत्यु कति, नयाँ थाप कति, निको भएका कति, सक्रिय कति, सिरियस कति, परीक्षण गरिएका कति सबैको तथ्याङ्कका आधारमा श्रेणी निर्धारित हुन्छ । नेपालको हेर्दा— १२ जना बिरामी आज थपिएका ३ निको हुने क्रममा देखाउँछ ।

नववर्षको प्रथम बिहान भनौँ कि प्रातः कालको तीन बजे उठेँ, माथि चढेँ र चिया बनाएँ अनि बसेर कोरोना भाइरसका विषयमा यही ३० गते राति १२ बजे बदलिएको तथ्याङ्क हेरेँ । अमेरिकामा मात्र ज्यादा उर्लेको छ । त्यहाँको स्वतन्त्रताले हुनुपर्छ । नेपालको कुरा यो कोरोना सञ्चालकले नसुनोस् आजसम्म सुरक्षितै छ । एक जना निको भएर फर्के, अरु ११ उक्सिन बल गर्दैछन्, हे प्रभु ! नव वर्षदेखि यो महाव्यधि यो निर्दोष मुलुकमा निर्मूलै पारिदिनोस् । एकजना स्याङ्जाका मल्ल हिजो बेलायतमा बितेको खबर आएको छ ।

हेरेँ— पाँच–सात जनाका ह्याप्पी न्यू इयर आएका रहेछन् । फर्काउन मन लागेन र यसै छोडेँ । विराटनगरका गोकुल अधिकारीको एक राम्रो शुभकामना कवितांश आएछ । त्यसबाट आजको दिन र नयाँ वर्ष आरम्भ गर्न चाहन्छुः

कुनै युद्ध फुकेर जितिँदो रहेछ
कुनै युद्ध झुकेर जितिँदो रहेछ
कोरोना विरुद्धको यो युद्ध
घरभित्रै लुकेर जितिँदो रहेछ ।
घरलाई नै सबैभन्दा सुरक्षित अस्पताल ठान्नुहोस् र कोरोना मुक्त हुनुहोस् ।
नयाँ वर्ष २०७७ को हार्दिक मङ्गलमय शुभकामना ।

त्यसपछि म अनुवाद सन्दर्भग्रन्थको निर्माणमा लाग्ने सोचमा थिएँ । तीस जति लेख तयार छन् । अन्तिम सम्पादन गर्नुछ, यही कोरोना कालमा सिध्याउँछु होला । मैले सम्पादन गरिसकेका रचना यस प्रकार छन्—

अनुवाद साहित्यमा नेपाली महिला अनुवादक साहित्यकारहरुको योगदान— प्रा. डा. उषा ठाकुर

अनुवादका समसामयिक सिद्धान्तहरु— बलराम अधिकारी

नेपाल बाल साहित्य र अनुवाद— महेश पौड्याल

विश्वका स्थापित अनुवाद जर्नलहरुः एक विहंगम दृष्टि— डा. नवराज न्यौपाने

नेपाली साहित्यमा अंग्रेजी अनुवादको परम्परा— प्रा. डा. कृष्णचन्द्र शर्मा

तर बीचमै एउटा फोन आयो, बालिकाको । इलामकी बालिका थपलिया एक सक्रिय कवि हुन् उनको कवितासंग्रह भर्खरै आएको छ । उनले छोटो वार्तापछि एउटा प्रस्तावना राखिन्- सर, म शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याजको अनुवाद गर्दैछु, सरले सम्पादन गरिदिनु हुन्छ कि ?

यो ता एकदम कठिन काम हो । नेपाली निबन्धहरुमा कठिनाइको दृष्टिले ती । गहन विचार र उच्चकोटीको शैली भएका तीन निबन्धकार हुन्— महाकवि देवकोटा, कृष्णचन्द्रसिंह प्रधान र शंकर लामिछाने । प्रत्येकका दुई दुई निबन्ध अनुवाद परेका छन् मैले गरेको सेलेक्टेड नेपाली एसेजमा । मलाई कम्ति मुस्किल परेन । ती २५ निबन्ध तयार गर्न ।

त्यस्तो दुर्गम स्थान (पान्थर) मा बसेर साथसङ्गतको अभावमा यी उच्चकोटीका निबन्ध अनुवाद गर्न सम्भव होला के बैनी ? गर्दा त राम्रो हुन्छ तर कठिनाइको चाहिँ आकलन गर्नू, आफैँले परीक्षण गरेर हेर्नू, बाहिर बौद्धिक समाज छ त्यसले भोलि अवश्य जाँच्नेछ भन्ठान्नू ।

त्यस्तै वार्ता गरियो । नव वर्षका शुभकामनादि बग्न थाले रेडिमेड चित्रमा, कर्ममा, शब्दमा केही फोन तर धेरै थिएनन् । मान्छेको सातो पुत्लो उडेको छ । यस्ता शुभकामनामा आशा र विश्वास छैन । तर लामो परम्परा छ त्यसमाथि डिजिटलि झन सरल छ झिलिमिलिको मात्रै आदान–प्रदान छ शब्दहीन ।

अञ्जना र मैले आफ्ना आदरणीय गुरु अभि सरलाई र जयराज सरलाई मात्र नववर्षको कामना ग¥यौँ । शिशिर सरलाई विस्मृतिले ढाकेको छ, डीपी सरले बिदा लिइहाल्नुभो, इन्द्र विलाश गुरु शिथिल हुनुभो । मेरा श्रद्देय कमलराज अधिकारी गुरु हुनुहुन्थ्यो तर सम्पर्कमा हुनुहुन्छ । अरु आउने शिष्यले, लेखकले सम्झिन्छन् । तर अब गुणरत्नमालाको हो कि ? एक श्लोक सम्झिन्छु—

जबतक धनको लाउँछ धारो
तबतक सबले मान्छ पियारो
धन सकियो जव जहान विराना
तत्व बुझेपछि संसार छ टूना

पिताजी गाउनुहुन्थ्यो । आउँदो असारमा उहाँ बितेको २१ वर्ष हुन्छन् तर सधैँ साथमा हुनुहुन्छ । यसपालि जसरी पनि उहाँको स्मृतिग्रन्थ निकाल्ने प्रतीज्ञा छ ।

स्वार्थ लिनेदिनेले त्यस्तो ठान्छन् । शक्तिमा चढेका बेला परिपरि दियाहरु बल्छन् । तर मलाई त्यस्तो छैन । त्यस्तो लाग्दैन । सबै बराबरी कृत्रिम र औपचारिक सम्बन्धहरु पुराना पात झरेझैँ झरिरहुन् । प्रेमले जोडिएका सधैँ जोडिएर रहिरहुन् । वास्तवमा ऐलेको जगत् बिस्तारै एकान्तिक हुँदै गएको जीवन र समय कति मूल्यवान छ । म सारा समय सारा शक्ति लगाएर सारा सिर्जना र चिन्तनमा खन्याउन पाउँछु, पाइरहेको छु । म अन्तर्हृदयले यही नै गर्न चाहन्छु । यसबेला अन्य सबै कुरा व्यर्थ लाग्छन्; व्यर्थ छन् ।

कोरोनाले मानिस आक्रान्त र आक्रोसित छन् । सरकारले गरेको होला भन्ठान्छन् तर सरकारले गरेको ता होइन तर सरकारको जडता र भ्रष्टाचारी शक्ति चम्केको यो समयमा मानिस ठान्छन् हाम्रा सारा कष्टको कारण यिनै हुन् । कोरोना भए पनि नभए पनि सत्तासीनहरुको प्रथम लक्ष भ्रष्टाचार हो, त्यसलाई बलियो पार्न आवश्यक गुण्डागर्दी ।

हिजो ओली महोदयको वक्तव्य आएछ पछि थाहा पाएँ । केपी ओलीले घरघरमा किन बत्ती बाल्नु भनेका थिए कारण बुझिनँ । भर्खरै बुझियो भारतमा मोदीले यसैगरी बत्ती बाल्न र थाल ठटाउन लगाएका रहेछन् । त्यो केवल मूर्खता थियो । तर यो संकट यति कठिन हुने थिएन होला लाखौँ नेपालीले घर छोडेर अन्य मुलुक जानु नपरेको भए । माओवादीको सशस्त्र संघर्षभरि भय र त्रासले जिउ जोगाउन गारो भएर उनीहरु बाहिर भागे । त्यो सकिएको पनि यतिका वर्ष बिते— अनेक सरकार आए–गए तर तिनैले रोमिट्यान्सको लागि युवा युवती संसारभरि पठाइरहेछन् । देशभित्र सुखका दिन आउँदा दुवैतिर रोएर कट्छन्, दुख पर्दा पनि त्यसैगरी । यस्तो संकटको एक यूएइबाट एसवी तामाङको चैत्र ३० गते आएको रचना (गायन) यस्तो छः

गाई त बाँध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन
गरीबको चमेली बोल्दिने कोइ छैन
गरीबको बोल्दिने कोइ छैन कोइ छैन
गरीबको चमेली …
रातो भाले धुरीमा करायो करायो
गरीबको चमेली निसाफै हरायो
गरीबको निसाफै हरायो हरायो
गरीबको…

त्यसपछि आयो हङ्कङका दाजु गुरुङको एक गीति रचना जसले पुराना विकृति पखालौँ भन्छ
आज आकाश धूमिल छ । बादल एकपत्र छ क्यार त्यसलाई छिचोलेर आउने उज्यालो कम्ति मात्रै ।

अनि कान्तिपुर आयो । एउटा विशेष लेख रहेछ शरच्चन्द्र वस्तीको— बेमौसमी बाजा शीर्षकमा । अञ्जनाले सस्वर वाचन गरिन्, मैले सुनेँ । अत्यन्तै सफल सो रचना आजको एक उत्तम कोसेली ।

त्यसपछि लीलबहादुर छेत्री सरलाई गुवाहाटी फोन गरेँ । ज्येष्ठ नागरिक एक्लो अनुभव सुनाउनु हुन्छ । आदरणीय जेष्ठ नागरिक भन्ने लाग्छ गरिरहन्छु । त्यसैले आज गरेँ—

नमस्कार— सरलाई नववर्षको शुभकामना के भनौँ यसै सम्झन मन लागेर ।

म पनि तपाईंलाई सम्झिरहेको थिएँ त्यता कस्तो छ ?

यहाँ बन्दाबन्दी छ, निसासोमा छौँ सर ।

यहाँ त्यस्तै कडा छ नि । हेर्नोस्, यही वैशाख नववर्ष पारेर विहू पर्व हुन्छ, बहाग बिहु भन्छ, धेरै ठूलो पर्व, त्यताको दशैँ तिहारझैँ । अब त्यो नहुने भो । मुख्यमन्त्रीले भनिसको यसपालि घरभित्रै मान्नु होला ।

स्कूल कलेज सब बन् छन् । प्राइभेट स्कूल कलेजले ता घरघरै पनि पढाइदिँदैछन्, पीडिएफ कम्प्युटरमा हेर्छन् तर सरकारीको बिजोग छ ।

कहाँ कहाँ के के नयाँ कुरा आयो त्यो हाम्रो पप्पुलाई थाहा हुन्छ, ऊ हेर्छ । इम्पोर्टेन्ट भए मलाई सुनाउँछ । म ता त्यो चलाउन पनि जान्दिनँ ।

अब यो कोरोना समाप्त भइदिए दिमाग शान्त हुन्थ्यो होला । अलिक बन्धन जस्तो हुँदैछ । अनि तीनवटा कुरा पूरा गर्नुछ— तपाईंलाई मेरा नाटकहरु जिम्मा लगाउने, मेरो अन्तर्वार्ता जिम्मा लगाउने, मेरो अनि तेस्रो निबन्धको संग्रह । तपाईंले मलाई बेलाबेला घचघच्याउँदै गर्नोस् नत्र म भूल्दछु ।
आजको वार्ता यत्ति नै ग¥यौँ ।

त्यसपछि ता बाँकी दैनिकीमा प्रवेश गरेँ— अनुवाद सन्दर्भग्रन्थको पठन ।

मानिसको सरकारप्रतिको वितृष्णा पनि बढ्दै छ । त्यसो त अहिलेको सामाजिक सञ्जालको अति स्वतन्त्रताले पनि त्यस्तो पारेको होला तर सरकारमा बस्नेहरु चरित्र गुमाएका र स्वार्थपिण्ड मात्र देखिएका छन् । आज सबै कर्म सकेपछि हिरा भट्टको एक रचना आयो काल महिमाको प्यारोडि जस्तो माल महिमा

माल महिमा

नाङ्गो आङ र भोक, रोग, गरीबी आतङ्क जान्दैन त्यो,
चाँडै फर्किनु पर्छ गाउँ घरमा हो सत्य मान्दैन त्यो ।
मिच्दै हिँड्दछ राज्यका नियम वा कानून टेर्दैन त्यो,
आयो भोट लग्यो लुट्यो शहरमा फर्केर हेर्दैन त्यो ।।

कुर्सीका र विमान भोट सितको सम्बन्ध तोड्दैन त्यो,
नातावाद सधैँ रुचाउँछ डगी सिद्धान्त मोड्दैन त्यो ।
मात्रै ताक्छ भुरा बलि तर ठूला माछा समाउन्न त्यो,
आयो भोट लग्यो लुट्यो शहरमा सामीप्य चाहन्न त्यो ।

ल्याएमा नून्, तेल, चामल, पीठो सन्देश पर्खन्न त्यो,
आएमा सुनको विमान नभमा त्रिनेत्र चिम्लन्छ त्यो ।
गोहीकासरिको विराट मुखको प्रारूप टेर्दैन त्यो,
आयो भोट लग्यो लुट्यो शहरमा फर्केर हेर्दैन त्यो ।।

बाँधी हात पुलुक्क हेर्छ घरको हत्या बलात्कार त्यो,
हाहाकारसँगै रुचाउँछ सधँै चित्कार चित्कार त्यो ।
दोसल्लासित नै टीका वदनको टीका लगाउन्न त्यो,
आयो भोट लग्यो लुट्यो शहरमा सामीप्य चाहन्न त्यो ।।

तारे होटलका सिवाय नमिठो खाना रुचाउन्न त्यो,
बिर्स्यो साग र सिस्नु गुन्दु्रक ढिँडो गै गाउँमा छुन्न त्यो ।
औँठा स्वस्तिक छापको जुनभरि क्वै गीत गाउन्न त्यो
आयो भोट लग्यो लुट्यो शहरमा फर्केर आउन्न त्यो ।।
आयो भोट लग्यो लुट्यो शहरमा फर्केर आउन्न त्यो ।