चैत्र २८, २०७६ (अप्रिल २०, २०२०)

आज राति साढे नौमा सुत्न तल झरेको थिएँ । दुई घण्टा नबित्तै ब्यूँझायो । साँझैदेखि केही लेखौँला भन्ने थियो शायद त्यसैले मलाई ब्यूँझायो । उठेर बसेँ । बाहिर गएर आएँ, तातो पानी खाँएँ तर मनमा केही विम्बहरु घुम्न छोडेनन् । यो कोरोनाले कहाँकहाँको भय बोकेर ल्याएको छ । सबै खुला छन्, सबै बन्द । कोही भेट्न बोल्न नमिल्ने, आउन जान प्रत्यक्षता निषेध छ यद्यपि परोक्षमा सँगै छौँ यस्तोमा । यतिखेर कुनै संकट आइलागे के हुन्छ ? मानिसलाई संकट आइरहेका छन्, ऊ भोग्दै छ त्यसो त । कतै कोही सहारा नै नहुने रहेछ । यो कल्पना डरलाग्दो हुँदै गयो र एक कविता लेखेँ । त्यसपछि मन शान्त भयो, निद्रा ओर्लियो । कहिले कहीँ यस्तै हुन्छ । केही शब्दमा भावमा व्यक्त गरेपछि मनको कोलाहल रित्तिन्छ अनि अरस्तुले भनेझैँ विरेचन हुन्छ सो कविता यसप्रकार छः

अन्तिम रात त होइन यो रात
दिनको मौनता गएर
रातको एकानितकतामा
मिसिएपछि पनि
हुन्छन् अगणित दीपहरु जलिरहेका
यो निरवतादेखि
किन डराइरहेका छौ
हे मित्र !
अन्तिम ता होइन यो रात

जब जगत्
तिमीसित बोल्न आउनेछैन
स्वजन आफन्त छिमेकी
कोटी भेट्न आउने छैन
अनि सम्झ
ती सारा अस्ताएका छन्
दिवा प्रकाशमा चन्द्रमा नदेखिएझैँ गरी
निविड अन्धकारमा सूर्य प्रकाश
नदेखिएझैँ कतै
अब अन्तिम रात टाढा छैन
तै पनि तिमीसितै बोल्ने कोही ता हुनेछैन
कुनै निजी अस्पतालको
आइसोलेशन वार्डमा
नाइट ड्यूटि गर्दै
तिमीलाई नै पर्खिरहेकी परिचारिका
भयभीत मुद्राको मुखलाई ढाकेर
टाढै उभिएकी हुनेछिन्
स्टूलमाथि एउटा गार्ड
अरु सारा सुनसान
“मृतात्माले मलाई लगे पनि
मेरी सानी नानीलाई केही नहोस् भे प्रभु !
नानी फुल्याइरहेका प्यारा
उनलाई पनि केही नहोस्”
त्यसबेला तिमीले
घण्टाघरमा बजेको मध्यरात सुनौला
त्यसपछि ता
भेन्टिलेटर फुकालेको थाहा पाउने छैनौ
बाकसमा सुताएको पनि थाहा पाउने छैनौ
अहिलेसम्म ता बोल्दै गर न मित्र
अन्तिम ता होइन यो रात

२८ चैत्र २०७६
कीर्तिपुर

आज बिहान अलिकति ढिला भो तर पनि ४:३० मा चियाको पानी पकाउन थालेको थिएँ । दुई घण्टा जति समय अर्पेर एक कार्य गरेँ जसअन्तर्गत दुई कविता पर्दछन्— सर्वप्रथम डायरीमा ड्रगेनब्रुड्टका दुईवटा कविताको अनुवाद फाइनल गरेर सारेँ— अनि मेरो एक कविता सारेँ ।

त्यसपछि अमेरिकाबाट डा. दुर्गा दाहालको फोन आयो । एकछिन बोल्यौँ । उनले आफ्नो कविता मलाई दिन नभ्याएको गुनासो गरे र पिडिएफको कुरा पनि । आज उनका ६० वटा कविताको शीर्षक छ, अनुभवका अनुभूतिहरु; त्यो पिडिएफमा आइपुग्यो । दुर्गा दाहाल एक भावना, चिन्तन र सम्वेदना भएका स्रष्टा रहेछन् । हाम्रो पत्यक्ष भेट नभएको ता ४५ वर्ष भयो, दमक क्याम्पस छोडेदेखि तर उनमा अर्को परिपक्वता र निखार पनि आएको रहेछ । पूर्वीय अध्यात्म चिन्तनले भिजेको उनको कवितासंग्रह राष्ट्र बन्दनाबाट शुरु हुन्छ ।

मैले आफ्नो कुरा र प्रतिज्ञा सुनाएँ— संघ–संगठन राजनीति हाम्रा लागि हानिकर हुन्छन् । एकचित्तले बसौँ, पढौँ, लेखौँ भनेँ । कम्तीमा वर्षको दुई पुस्तक निकाल्ने मेरो योजना सुनाएँ । अन्त्यमा उनले आफ्नो कृति पीडिएफमा पढिदिने आग्रह गर्दै छिटै हार्डकपी पनि उपलब्ध गराउँछु भनेर रोकिए । उनले दुई कृति तयार पारेका रहेछन् नेपालीमा अनुभवका अनुभूतिहरु जसमा ६० लघु कविता छन् । अन्तिम कविता छ अन्त्येष्टि । त्यो पुस्तक छापिदिएको ६ महिना भयो अंग्रेजीको एक समानन्तर संग्रह थियो, त्यसकै भावानुवाद ‘सेन्सेसन्ज अव् द सौल’ (अंग्रेजी) थियो । मैले भूमिका लेखी पठाएँ तर पुस्तक आउनुभन्दा पहिल्यै एक विद्वान् मित्रको स्वर्गवास भयो । कवि दाहालको प्रथम (नेपाली) कविता यस अनुसार छः

ढोगेर ईश्वरको पाऊ
स्पर्श गरेर माता–पिता र गुरुको चरण
सबै चराचरलाई मानेर ईश्वरीय अंश
गर्दैछु म विनम्र वन्दना

पहाड अविचल भएर उभिन सिकायो
रुख अग्लँदै अग्लँदै ठडिन सिकायो
बगेर नदी नथाक्न सिकायो
उदाएर सूर्य परोपकार सिकायो

मान्छेको सफा र शुभ्र मनले सधैँ सधैँ हाँस्न सिकायो
बाँच्न सिकायो, संसारका सबै मान्छेलाई मेरो वन्दना छ ।

सर्वत्र घोर सुनसान छ । छ्याङ्ग उज्यालो छ आकाश । आज र भोलि दुई दिन जनतालाई आआफ्ना जिल्ला फर्किन दिने निर्णय गर्‍यो भन्थे सरकारले तर एक क्षणमै चर्को विरोध आयो र सो बदर गरियो । लज्जास्पद छ सबैतिर । आज एकदिन म अरुन्धती रायलाई अर्पण गर्ने सोचमा थिएँ । अघि शुरुमै उनको अन्तर्वार्ता राखिएको थियो । फेरि अर्को प्रवचन फेला पारेँ, एक मित्रले पठाएको जसको शुरुको वाक्य छ— अमेरिकी शैलीको जीवन पद्धति दीगो छैन किनभने अमेरिकाले अमेरिकाभन्दा बाहिर अर्को पनि विश्व छ भन्ने कुरालाई स्वीकार गर्दैनः यसमा उनको भाषण र एक कडा विचार छ । एउटा स्वतन्त्र बौद्धिकको कसरी अहिलेका दम्भी महाशक्तिलाई पनि उसका भूगोलतिर औँल्याउने क्षमता र साहस पाल्दछन्, देखाउनु थियो । तर यस्तो समयमा केही चीनका पक्षधर कोही अमेरिकातर्फ विभाजित भई युद्ध गर्दैछन् । कोरानाले भने सबैलाई टोकेर मार्दैछ । मलाई यो विषय गौण लाग्यो र पछिलाई थन्क्याएँ ।

गत वर्षको आषाढ १२ का दिन मलाई अनेकौँले ह्याप्पी बर्थ डे लेखेका थिए । यो फेसबुकले उत्पन्न गरेको भ्रान्तिले छोएर मैले एक निबन्ध लेखेको थिएँ । असारे झरीको एक साँझ त्यसैमा लेखेको छु— मेरो वास्तविक जन्म दिन ता आज थियो चैत्र २८ गतेका दिन आजदेखि ६६ वर्ष आयु अज्ञातलाई चढाएर म ६७ मा प्रवेश गर्दैछु ।

तर कोरोना कहालीले होला घर परिवार साथीभाइ सबैले बिर्सेछन् मेरो बड्डे कहिले थियो भन्ने कुरा । धन्य एक जनाले सम्झेको रहेछ । गंगा अभिलाषी बुटवल । साहित्यकार ती बहिनीले प्रथम शुभकामना चढाउँदै फोन गरिन्, एकछिन बोल्यौँ । निकै समय व्यतीत भएपछि अरुण खत्री नदीले फेसबुकमा लेखे । पुग्यो यो वर्षलाई त्यत्ति नै होला । मलाई पनि यो विषयको प्रचार हल्ला बन्दै मन पर्दैन । आफ्नो उमेर व्यतीत हुन्छ कता खुसी हुनु ? गोप्यता राम्रै भएको छ ।

आज पनि कोरोनाको सैद्धान्तिक कुरा आदि, आँकडा र आरोप–प्रत्यारोपतिर म गइनँ । समाज सबै जोगिए मात्रै सबै व्यक्ति जोगिने नत्र सबै नष्ट हुने, कत्रो महाव्याधि अरु पनि आउँथे सार्स, इबोला, डेंगु यस्तै केके तर तिनले विश्व आतंकित गराएका थिएनन्, यो मात्रै एक सर्वनाशी जब्बर निस्केछ । कुरा पनि गर्नु नहुने । हाम्रा जनताको गरीबी र अशिक्षाको कारण सबै यो संहारको मुखमा पुग्दैछौँ । भनौँ भने के भन्ने विद्या बुद्धि विवेक सम्पदा र विज्ञानले भरिपूर्ण अति उन्नत देशहरु— अमेरिका, स्पेन, फ्रान्स, बेलायत आदि पनि भकाभकी लडे, लड्दैछन् । यो मानिसको धुत्र्याइँ र अदम्य अभिमानलाई बशीभूत गर्न आएको अज्ञात तत्व हुनुपर्छ ।
०००

आजका मुख्य दैनिकीमा मेरो श्रीलङ्का यात्राको पठन आरम्भ गरेँ, त्यसैलाई अघि बढाइहेको छु । पठन लेखनको सन्दर्भमा आसामका सञ्जीव उपाध्यायले पत्र लेख्तै गत महिना मैले त्रिवि कीर्तिपुरमा प्रस्तुत गरेको मेरो कार्यपत्र फाइनल कपी मागे, गुवाहाटीका डा. खगेनले कोरोनाको हाल एकछिन बताए, चितवनका केदार सरले भने— आसामका साथीभाइलाई सरले आग्रह गरिदिनोस् कि मेरो कवितासंग्रह हिन्दीमा अनुवाद गराउन पाए हुन्थ्यो । मैले भनेँ- सम्पर्क गरेर खबर गरौँला, कोरोनाभरि कुरा नराखौँ । भगवती बस्नेत बहिनीलाई फोन गरेर सुनाएँ— तपाईंले लिनुभएको अन्तर्वार्ता पुस्तकमा आउँछ बहिनी, फलाहारीजीले सुनाए— सम्झनाको सागरका चार अंकमा कुन कहाँ पुगे प्रतिक्रिया के छ । आज हरिभाइले पाँचौँ गर्दिए राम्रो हुने; जसमा १८ छन् ।

एकछिन बिसाएको समयमा युनिकोडामा टाइप गरेँ— अन्तिम ता होइन यो रात मेरो कविता अनि अभि सरलाई पठाएँ— उहाँले पढेर उत्तर लेख्नुभो— अन्तिम होइन यो रातले उजागर गरेको चेतना यथार्थ चित्रण कोरोनाको । आज बिहान यस्तै निको भएर निस्केकी बूढीले गीत गाएको र सबैले ताली हानेको देखेँ । यो भयानक हो सर, ग्रीक ट्र्याजेडीका पात्र जस्तो भएर मान्छे लड्दैछन् । तर मान्छेको जय हुनेछ । कोरोना हारेको पहिलो सङ्केत नै यस्तै कवितामा परिणत गर्नु हो । सर, कविता जोडदार भएको छ ।

फेरि कुमार सरलाई सुनाएँ, ‘भयङ्कर’ मात्र भन्नुभयो । आफ्नो गाउँघर लम्जुङ पुगेकी अनितालाई सुनाएँ; उनले एउटा छोटो टिप्पणी लेखिन्— कविता त्रासमय छ । कविता जे जस्तो रचे पनि लेखक मन कहिल्यै नडगोस् है सर ।

यस्तैमा दिन जाँदो रहेछ । कुनै सिर्जनाको विषय र भेटघाटसँग लहसिँदै । यस्तै कुराको उल्लेखले डायरी पूरा हुँदोरहेछ । यी ससाना घटनामै ठूलो इतिहास हुन्छ जस्तो लाग्छ । लेखकको मनोभाव पनि । यति गर्दा पनि कति कुरा छुट्ने रहेछ । हिजो बेलुकीको ज्ञानबहादुरजीसितको वार्तामा सुकरातको डायरीभित्र अभिघात सिद्धान्त र मायिक यथार्थका दृष्टान्त भएका, ती विषयलाई एक सैद्धान्तिक लेखसहित आकार दिने कुरा भए । अब आज के हुन्छ विचार गरौँ । आज अरु धेरै हुँदैन होला । एउटा कुरा उल्लेख्य छ— सेवाले ल्याएको भिडियो हेरेर रामदेवको व्यायाम गर्न थालेको तीन दिन भो । तर अब यो गर्न सकिँदैन होला । ज्यादै तमाशा छ एकैचोटि हड्डी बङ्ग्याउला कि भाँच्ला कि जस्तो छ ।

सन्ध्यापख एउटा छन्दमा एक रचना आयो, विद्वान् भाइ डा. देवी नेपालको । यस्ता रचनामा नवीन सन्देश वा कथ्य त धेरै हुँदैन कलाशिल्प गहिरो हुन्छ । नेपालका अब्बल कविहरु कोरोना कविता लेख्तै छन् । गायनले नै यस्ता रचनालाई जीवन्त बनाउँछन, सुनौसुनौ लाग्ने पार्छः निस्कन्न भो बाहिर, गायन सरु गुरागाईः संयोजक मुरारी गुरागाईं ।

कोरोना अब मृत्युबाहक बनी संसार घुम्दै छनि
आओ मानव हो म बाहिर बसी पर्खन्छु भन्दै छनि
नाता मानवता छ गाँस्नु नजिकै आएर पर्ख्योस् तर
धेरै गर्नुछ काम यो भुवनमा निस्कन्न भो बाहिर ।

मान्छेले धरती सबै चुमिसक्यो आकाश नै चुम्छ रे
पानीमा पनि गाउँ नै बनिसके त्यो चन्द्रमा घुम्छ रे
धर्तीमा सब जीव राख्छ वशमा हार्दैन मान्छे अब
कोरोना पनि जित्न सक्छ सजिलै निस्कन्न भो बाहिर ।

पृथ्वीमा कति सुन्दथ्यौ प्रलयका गाथाहरु सर्वदा
व्याधिले अनि युद्धले युगयुगै ढाल्दै गरेका कथा
जस्ता चाल चलोस् न यो प्रकृतिले हार्दैन मन्छे तर
धेरै सुन्नु छ नि कथा प्रलयका निस्कन्न भो बाहिर

जस्ले इन्द्रिय दिन्छ ती दशवटै त्यो हो महामानव
आँखाको जसले परिस्थिति बुझ्यो त्यो हो सही बौद्धिक
साँच्चै मृत्यु बनेर आउँछ यहाँ फोस्रो अहङ्कार त
धेरै बाँच्नु छ आज मानव बनी निस्कन्न भो बाहिर

मान्छेले युग फेर्न सक्छ क्षणमा साँच्चै चितायो भने
नौलो सिर्जन गर्न सक्छ भवमा विज्ञानले लाग्यो भने
हारेको इतिहास छैन नरले हारिन्छ निस्के तर
मैले मृत्यु विषाणु जित्नु छ यहाँ निस्कन्न भो बाहिर
०००