साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोना डायरी खण्ड ३८

Chovar Blues Mobile Size

२०७७ साल कार्तिक ६ गते (२२ अक्टोबर २०२०)

धेरै दिनदेखि म सात्रबारे सोच्तै थिएँ । अध्ययन पनि गर्दै थिएँ । उहिलेदेखि आजसम्ममा कतिपल्ट पढियो तर प्रत्येक पल्ट एउटा पातलो पत्र खुल्यो फेरि छोपिदियो अर्को पत्रले । आफ्नो अध्ययनले ज्ञानले कति देख्छ, त्यति मात्र उघाउने रहेछ । जति माथिमाथि पुग्यो त्यति परपरसम्म देखिने रहेछ । त्यसैले वायुमण्डल पनि उचाइ अनुसारको तह र गुण भिन्न हुँदै जान्छन्, जति माथि चढ्यो त्यति परपरसम्म देखिँदै जान्छ तर आफ्ना पैतालाको जमिन पनि आफूदेखि टाढाटाढा हुँदै जाँदो रहेछ ।

वाङ झिउहाङले रचेको स्टर्क टावर चढ्दा भन्ने एक चिनियाँ लघु कविता यस्तो छः

डाँडा पारि धेरै टाढा
झलमल्ल घाम लागेकै छ
पीत नदी धेरै टाढाको समुद्रतिर बहन्छ
राम्ररी दृश्य हेर्ने भए
अर्को तला चढ्नुहोस्

अघि इन्द्रबहादुर राईको विपना कतिपयमा सात्रको सन्दर्भ उठ्यो । भविता र रहितता उहाँको अनुवाद रहेछ सात्रका बिइङ एण्ड नोथिङनेश शीर्षकको ।

sagarmani mobile size

विइङ्ग एण्ड नोथिङनेश सात्रले लेखेको ६०० पृष्ठको एक क्लासिक ग्रन्थ रहेछ— विचारको, नव चिन्तनको । सात्रबारे अलिकति ताना शर्मा ग्रन्थमा पनि पढ्यौँ तर थोरै परिचय मात्र थियो । सात्रबारे मास्टर्स कोर्शमा पढ्यौँ— त्यो भवसागर पौरिन मुस्किल थियो । शिक्षा लिनेदिने क्रममा व्यक्तिसत्ताले कसरी चेतना वा ज्ञान ग्रहण गर्दछ, कसरी मानिसले चेतना वा सुमार्ग लिन्छ भन्ने विश्लेषण गर्ने क्रममा पूर्वीय शिक्षा सारसँग पाश्चात्यको तुलना गर्नु पर्थ्यो । शिक्षा भन्नासाथ चेतनाको स्तरमा परिवर्तनको कुरा हुँदो रहेछ ।

पश्चिमी चेतनाको कुरा गर्दा शिक्षाको सन्दर्भमा अस्तित्ववादीमा आएर अडिन्थ्यौँ । अस्तित्ववादीहरू (तीन जना) मध्ये सात्रको ज्यादा चर्चा हुन्थ्यो । मानिस आफैँ आफ्नो भाग्यको निर्माता हो भन्ने उक्ति कण्ठ पा-यौँ, परीक्षामा लेख्यौँ । विद्यार्थीलाई त्यही पढाउँछौँ, त्यही सोध्छौँ, त्यही लेख्छन्, पास हुन्छन् । अहिले बुझ्दै लाँदा, यो एक जनाको मात्र वाणी होइन रहेछ— सुकरातले भने, महावीरले, मार्टिन हाइडेगरले, शब्दान्तरमा सात्रले, महात्मा गान्धीले पनि । एउटा सार हो तर अस्तित्ववादीले दोहोरा कुरा जस्तो लाग्छ ।

सात्रका शब्द मात्रै अलिक भिन्न थिए तर उनले शब्दान्तरमा त्यही कुरा भने— मानिस अर्थोक केही होइन रहेछ तर आफैँले आफूलाई जे बनाउँछ त्यही मात्रै ।
मानव बचाइको र अस्तित्वको स्थितिबारे मात्रै उनले चिन्ता गरे । सानैमा भएको पिताको देहावशानले आफ्नो बाल्यकालमै दुःख उपेक्षा ओसा-यो । दुई वर्षे सात्र काखी च्यापेर आमा मावल गइन्, उतै बसिन्, उतैबाट अर्कासित हिँडिन् । सात्रले त्यसरी घोर वञ्चनाको बाल्यकाल बिताउनु प-यो । असाधारण प्रतिभायुक्त तर बिग्रेको बालकझैँ बाल्यकाल थियो । त्यो परित्यक्त स्थितिमा पढाइ र लेखाइ मात्र उनका ‘जुम्ल्याहा मित्र’ थिए । उनले आफ्नो शिक्षा बढाउँदै लगेर विश्वविद्यालयमा प्रवेश लिए । त्यहीँ उनले आफूभन्दा तीन वर्ष जेठी सिमन दी बुभार नामक दिदी भेटे । तर बिस्तारै तिनीहरू नजिकिए, जोडिए र नफुक्लिने भए अनि विवाह नगरे पनि सँगै जीवन बिताए । नारीवादी चिन्तनकी अद्वितीय अग्रणी र समर्पित अस्तित्ववादी सात्र ।

सन् १९४४ देखि दोस्रो विश्वयुद्ध चल्यो । जर्मनीले फ्रान्स कब्जा ग-यो । प्रत्येक युवाको निमित्त सैन्य सेवा अनिवार्य भयो । सात्र पनि गए बन्दुक पड्काउन । त्यो भयप्रद र हिंसापूर्ण स्थिति प्रत्यक्ष देखे, भोगे । त्यसले उनको जीवन दर्शन नै बदल्यो । त्यो भन्दा पहिले विद्यालयमा पढाए त्यो भन्दा पहिले जर्मनी गएर अनुसन्धान गरे । त्यहाँ उनले दुई महान् विद्वानका दर्शनमाथि अध्ययन गरे । ती हुन् एडमण्ड हुसर्ल र मार्टिन हाइडेगर । उच्च शिक्षाका द्यौरालीमा भेट्नै पर्ने यी महापुरुषहरू मानव चेतनालाई नवीकरण भइरहनु पर्दछ भन्दछन् ।

मार्टिन हाइेगरका विद्यमान ज्ञानशास्त्र (चिन्तनप्रणाली), भाष्य–शास्त्र, अस्तित्ववादमा नवीनता जोडे । त्यस्तै थिए, एडमण्ड हुसर्ल । उनले फिनोमिनोलोजी भन्ने एउटा शास्त्रको नयाँ हाँगालाई जन्माए । जसलाई ज्ञानशास्त्र भन्नुपर्छ । उनको खोजीले भन्छ— हाम्रा सबै ज्ञानका सीमाहरूको निर्धारण ट्रान्सिडेन्टल कन्सस्नेसले गर्दछ । विश्व–चिन्तनप्रतिको समग्र चेतनले गर्दछ ।

अर्का विद्वान् एडमण्ड हुसर्ल चाहिँ ज्ञानशास्त्र (फिनोमिनोलोजी) का मुख्य संस्थापक हुन् । उनी बीसौँ शताब्दीका प्रभावशाली चिन्तकमा गनिन्छन् । उनको सिद्धान्तलाई उद्धृत नगरी आजका भाषाविज्ञान, समाजशास्त्र, मनोविज्ञान कुनै शाखा पुष्टि हुँदैनन् ।

यस्ता विद्वान्का नव चिन्तनबारे जर्मनीमा अध्ययन गरेर फर्किएपछि सात्रले ज्ञानशास्त्रमाथि डुबेर चिन्तन गर्न लागे । ज्ञानशास्त्रको तात्पर्य हुन्छ— मानव चेतना । चेतना केहो ? कसरी बन्छ ? भन्नेबारे अध्ययन गर्दै त्यसैमाथि निरन्तर प्रकाश पार्न लागे । कल्पना पनि चेतनाले निर्माण गर्दछ । उनले दुई कृति कल्पनामाथि लेखे, एउटा आत्म–सचेतता (सेल्फ कन्सस्निस) माथि अनि अर्को एउटा संवेगमाथि ।

नौ महीना युद्धबन्दी बनाइएका सात्र फ्रान्स फर्के र पढाउन थाले । जर्मनको फ्रान्सेली भूमि कब्जाको विरोध गर्ने गुप्त समूहमा लागे । यसै बेला हो उनले विइङ एण्ड नोथिङनेस लेखेका । दोस्रो महायुद्ध पश्चात लेखेरै बाँच्ने, जीविका चलाउने निश्चय गरेर उनले शिक्षण व्यवसाय त्यागे । अब हाम्रो चिन्तनको बौद्धिक अडान हुनुपर्छ भन्ने विश्वासमा अडिए । सन्तुलित त्यसपछि नाटकमा लागे । विचार चरित्र र प्लटको संयोजन प्रस्तुत गर्ने आठ नाटक रचे । उत्तम हास्य प्रतिभा भएका सात्रका कुनै नाटक नेपालीमा आएका छैनन् ।

सँगसँगै आख्यान पनि लेखे । द थ्री रोडस् टु फ्रिडम शीर्षक भित्रै तीन कृति छन् । उनी प्रायशः वाममार्गी दलका पक्षमा थिए ।

पछि सन् १९८० देखि सात्र दर्शनतिरै फिरे, क्रिटिक अव् डाइलेक्टिकल रिजन (द्वन्द्वात्मक तर्कको आलोचना) लेखे । शुरुको उनको अस्तित्ववादी दर्शनले मानिसको बचाइलाई व्यर्थतासँग जोडेका थिए । त्यसलाई एउटा ‘युजलेस प्यासन’ (व्यर्थको तृष्णा) भनेका थिए । मानिसले व्यर्थै अर्थहीन स्वतन्त्रताको चाहना राख्छ भनेका थिए । यही कुरा बिइङ एण्ड नोथिङनेसमा प्रकट गरे र सात्रको त्यही दर्शन बुझ्दछन् धेरैले ।

तर युद्धोत्तर कालमा सात्र्रको जीवन दर्शन बढी आशावादी धारतिर ढल्किएको थियो । यद्यपि उनी सदा विवादास्पद, कन्ट्रोभर्सिअल रहे ।

सात्रका आख्यानमा युद्धपूर्वको नोजिया एउटा आयो डायरी जस्तो छ । शुरुमा व्यक्तिगत स्वतन्त्रताका कुरा लेखे, युद्धअघि सामाजिक दायित्वपट्टि फर्के । शिक्षण पेशमा रहुन्जेल टाइ भिरेनन् बुर्जुआ क्लास हुइन्छ भनेर । पछि थालेका चार ठेली उपन्यासमा तीन मात्र पूरा गरे ।

सात्रका सबै कृति अंग्रेजीमा उपलब्ध छन् । नेपालीमा छैनन् । सात्रलाई पढ्न पनि नाटकमा एउटा, उपन्यासमा अर्कै र दर्शनमा अझै अर्कै व्यक्तिझैँ गरी हेर्नु पर्दछ । त्यस्तो उनको सिर्जनामा पनि दर्शनको गहिरो प्रभाव पाइन्छ । अघिदेखि मैले रुचाएका सात्रका केही भनाइको यहाँ उद्धरण प्रस्तुत गर्न चाहन्छु ।

मानव स्वतन्त्र बन्न अभिशप्त छ, किनभने एकपल्ट संसारमा पठाइएपछि आफूले गरेका प्रत्येक कर्मको निम्ति ऊ आफैँ जिम्मेवार हुन्छ । जीवनलाई कस्तो अर्थ दिने हो त्यो तिम्रै जिम्माको कुरा ।

“कसरी जिउनु भन्नेबाहेक प्रत्येक कुराको हिसाब किताब छ । जीवनको अप्रायोरी कुनै अर्थ छैन, यसलाई अर्थ दिने तपाईंकै काम, अनि मूल्य भनेको पनि केही होइन, तपाईंले छानेको अर्थ मात्रै ।” यस्ता कुरा त धेरै छन् ।

युनभर्सिटी अभ कोलोराडोकी ह्याजेल अव वार्नेसको अनुवाद बिइङ एण्ड नोथिङनेस पढेँ । ठूलो छ पुस्तक— लामो भूमिकाबाहेक ६३० पृष्ठको । यसको उपशीर्षक आधुनिक अस्तित्ववादको मुख्य पुस्तक भन्ने दिइएको छ ।

अस्तित्ववादलाई पहिलो ठूलो आन्दोलनको रुपमा फ्रान्सले चिनायो । आज यो विश्वदर्शनमा, विश्वविचारमा, साहित्यमा सबैतिर पुगेको छ । समालोचनाको पनि एउटा शाखा अस्तित्ववाद भएको छ ।

पहिलोपल्ट अस्तित्ववादको प्रस्तावना आउँदा कत्रो होहल्ला भयो । यसलाई अड्याउन कत्रो कठिनाइ । विलियम जेम्स नामक एक विद्वानले भने शुरुमा यो “सिद्धान्तले आफ्नो जीवनको क्लासिक चरण” पार गरेर आयो । ‘क्लासिक चरण’ भनेको शुरुको ऐतिहासिक अवस्था हो । उनको विचारमा कुनै पनि नवीन सिद्धान्त आएपछि (ल्याएपछि) शुरुमा एब्सर्ड भनेर आक्रमण गरिन्छ, त्यसपछि मात्रै यो ठिकै हो भनी स्वीकार गरिन्छ, तर यो सर्वविदित र महत्वहीन भन्ने मूल्याङ्कन गरिन्छ, अन्त्यमा आएर अति महत्वपूर्ण रुपमा हेरिन्छ कतिसम्म भने यसका विरोधी वा बैरीहरू यो मैले नै आविष्कार गरेको हुँ भन्न थाल्दछन् ।
सात्रले यस्तो भोगे । मैले पनि ठीक यस्तै भोगेँ । उत्तरआधुनिकतावादी सिद्धान्तहरुको प्रस्तावना ल्याउँदा साहित्यमा र समालोचना दर्शनमा त्यसको प्रस्तावना गर्दा ढुङ्गमुढा गर्ने प्रतिरोधीहरू आए । त्यसपछि यो कुनै नौलो कुरा होइन भनेझैँ गर्न लागे, तेस्रो चरणमा यो बुझ्ने थाल्ने प्रणेता नै मै हुँ भन्न थाले । उत्तरआधुनिकता भित्रको डायास्पोरा सिद्धान्तका दावेदार जन्मेका छन्, जसलाई २०६० सालदेखि मैले यो देशको मलमाटोमा हुर्काएँ । अरु पनि छन्— एक दर्जन नयाँ विचारको प्रस्तावना गर्दै बुझाउँदै आएँ । हिजोका डरलाग्दा प्रतिरोधी वाममार्गी र यथास्थितिवादीहरू आज फ्रन्टलाइनमा ढुकिरहेछन्; त्यो मैले गरेको हुँ भन्नलाई ।

शुरुमा सात्रको अस्तित्ववाद भन्नु नै फ्रान्सलाई जर्मनले निलेको आक्रोश हो भने अथवा युद्धोत्तरकालको डिष्ट्रेस भने तर त्यो मात्र होइन । गहिरो त्यता फर्केर हेर्नैपर्ने दर्शन तत्व पनि रहेछ यसमा ।

सुदृढ दार्शनिक दृष्टिकोण र त्यसैको कलाले भिजेको लेखनले एउटा केन्द्र निर्माण गरेकाले सात्र बीसौँ शताब्दीका अप्रतीम केन्द्र रहे । पचहत्तर वर्षको उमेर (सन् १९८०) मा उनको देहान्त भयो यद्यपि उनको चिन्तन आजैको जस्तो लाग्छ । नित्य रहने जस्तो लाग्छ । यस्तो नवीन दर्शनले हेर्दा हो त्यस्तै रहेछ संसार भनेजस्तो लाग्छ । आजसम्म त्यो कुरा कसैले किन थाहा पाएनछ जस्तो लाग्छ । यस्तै हो ज्ञानशास्त्र, यस्तै हो ज्ञानको नयाँ–यात्रा, नवीनता थप्तै थप्तै लाने कुरा । समयले थप्छ, समयले मेटाउँछ तर हामीभित्र सदाको असन्तुष्टि र सदाको तिर्खा जागिरहनुपर्छ ।

त्यसो त यो अचानक एकैचोटि मात्रै उनैले खनेर निकालेको ता थिएन । अघि सन्दर्भ जोडेँ, उनले अध्ययन गरेका दुई जर्मन विद्वान्का चेतनामा उनले केही देखे, दुई वर्ष (१९३७–१९३९) जर्मनी गएर पढ्दा । त्यही झुलो चकमक जोडेर हिर्काउँदा उनले झिल्का निकालेका हुन् । हुसर्लको ‘स्वतन्त्र, पूर्ण इन्टन्शनल कन्सस्निस’ अनि मार्टिन हाइडेगरको अस्तित्ववाद मिलाएर सोच्ता सात्रको अस्तित्ववादले जन्म लिएको हो । तर अघिल्लाले सोच्ने प्रेरणा मात्र दिएका थिए सात्रको भिन्न पूर्ण र मौलिक थियो । युद्धपूर्व सोचिएका अस्तित्ववादी दर्शन निराशाको शून्यवादतिर ढल्केको थियो, युद्धोत्तर कालको, परिपक्व अवस्थाको सोचाइ आशावादी भयो ।

आधुनिक साहित्यको जग नै सात्रको सोचाइले बनिएको छ । नेपालीमा पारिजात, बीपी कोइराला, विजय मल्लहरूले यसको प्रयोग गरे । ईश्वरप्रतिको भरोसा हट्ने तर्कले एक नवीन विश्वको ढोका खोल्यो । मानिस स्वतन्त्र बाँच्न बाध्य छ, सारा अथोरिटीबाट ईश्वरको नियन्त्रणबाट, सबैतिरबाट मुक्त भएपछि कस्तो हुन्छ ! तर यो उपहार होइन, यो स्वतन्त्रता एक अभिशाप हो, “कन्डेम्ड टु बी फ्री” अर्थात् स्वतन्त्र बाँच्न दण्डित ।

पछि गएर उनले “अस्तित्ववाद नै मानवतावाद हो” भन्ने प्रमाणित गर्दै लेखे । उनका द रोड्स् टु फ्रिडम शीर्षक उपन्यासका शृङ्खलामा त्यही केन्द्रीय तत्त्व छ ।
आख्यान, निबन्ध, नाटक, दर्शन यस्तो बहुमुखी प्रतिभा । बीसौँ शताब्दीका सर्वाधिक भिन्न र अति प्रतिष्ठित । त्यसैले सात्रलाई सन् १९६४ को साहित्य तर्फको नोबल पुरस्कार प्रदान गरियो । परन्तु उनले सो ग्रहण गर्न अस्वीकार गरे । नोबल स्थापनाको ६४ वर्षमा प्रथम अस्वीकृति थियो त्यो— त्यो विशाल धनराशी, त्यो अकल्पनीय प्रशस्ती, सम्मान र गुणगान । त्यस यता नोबल पुरस्कारको इतिहासमा पुरस्कार अस्वीकार गर्ने निस्पृह भावका ऋषि सात्रको तुलनामा अर्को कोही छैन । नेपालमा यस्तो झन् कोही छैन । सानो ठूलो जत्रो भए पनि पुरस्कारमाथि आक्रमण गर्न तत्पर हाम्रा स्रष्टाहरू बढ्दै छन्, बरु जनविवेकले तिनीहरूलाई वञ्चित गराउँछ यसपालिका प्रश्रितलाई जसरी ।

सात्रको अस्वीकृति वा बहिष्कार सुनेपछि स्वेडिश एकेडेमीले एउटा विज्ञप्ति निकाल्यो । यो वर्षको साहित्य तर्फको नोबल पुरस्कार स्वेडिश एकेडेमीले फ्रान्सेली लेखक जाँ पौल सात्रलाई उनको सघन विचार एवम् स्वतन्त्रताको भाव भरिएका र सत्याण्वेषण परिणामलाई उनले हाम्रो युगलाई प्रभाव पार्ने गरी दिएकोमा प्रदान गरिन्छ ।

त्यसका साथै एउटा तथ्य पनि खुलेको छ । स्रष्टा सात्रले यो पुरस्कार अस्वीकार गरी यसलाई ग्रहण गर्न नचाहेको कुरा पनि प्रष्ट्याएका छन् । तर उनले यसलाई अस्वीकार गरेको तथ्यले यस पुरस्कारको वैधतामाथि कुनै प्रभाव पार्ने छैन । यो स्थितिमा चाहिँ एकेडेमीले पुरस्कार वितरण समारोहको आयोजना गर्ने छैन ।
त्यसपछि २३ अक्टुबर १९६४ का दिन सात्रले पनि एक विज्ञप्ति प्रकाशित गरे— मेरो निर्णयले एक काण्ड उत्पन्न ग-यो यसमा म खेद गर्दछु । एकेडेमीको निर्णय अपरिवर्तनीय छ भन्ने थाहा पाएपछि म भन्छु— मेरो अस्वीकृति स्वेडिश एकेडेमीलाई निन्दा गर्ने उद्देश्यले भएको थिएन । तर यो निर्णय मेरा निजी र अब्जेक्टिव भएका कारणले लिइएको थियो ।”

प्रतिक्रिया
Loading...