१६ चैत्र २०७६ (मार्च २८, २०२०)
आज अलिक अबेला भो । पाँचबजे मात्र उठियो । अलिकति हिजोको कुरा सम्झेँ— एउटा पोष्टले भन्दैछ— चीनको गल्तीले यो सारा महामारी भएको हो । अर्काेमा त्यसको प्रतिवाद पनि छ— अमेरिकाले यो रोग सा¥यो ।
यो ता विश्वस्तरका साँडेले आआफ्नो सिङ भाँचेर शान्त हुने प्रक्रिया जस्तो रहेछ ।
तर आज पनि पक्षी गाउँदै छैनन् । कुकुर छन्, काग छन् । अरु महासुनसान छ, यन्त्रको कर्कशता अब सुनिँदैन । सातदिनको लकडाउन पश्चात् काठमाडौँ वरिपरिका सारा डाँडाकाँडा कति सफा स्वच्छ, सुन्दर औ हरियालीयुक्त छन्, (त्यस्तो भ्रान्ति उत्पन्न हुन्छ) । धुँवा धूलो छैन तल सम्म शहरका घर गन्ती गर्न सकिने भएको देखिन्छ । सारा उड्ने गुड्ने कुरा अनि कारखाना बन्द भएर हो र ?
संकटापन्न स्थिति छ, टाढा रहेका परिवारजन, सदस्यजन, स्वजन आफन्त, चिनारुमा मन पुग्छ । अतुल छोरो छ अष्ट्रेलियामा । त्यस्तो महत्वकांक्षी युवा, एउटी नातिनी पढ्न पुगेकी छन् अष्ट्रेलिया । त्यहाँ अरु छन्, अनेक छन्— कस्तो होला । अमेरिका क्यानाडा धेरै छन्— भाइ बुहारी, भान्जाभान्जी, बहिनी, छोरी, अरु स्वजन, क्यानाडाकी ठूल्छोरी परिवार— कति हो कति । कसैलाई कुनै संकटले नछोओस् । लेख्न बस्छु फेरि व्यर्थमा मन उड्छ सम्हालेर ल्याउँछु फेरि अस्थिर हुन्छ । बीस वर्ष सम्मको कठोर यातनागृहमा मानिसले कसरी जीवन यापन गरे होलान्— नेल्सन मण्डेलादिले जब कुनै सूचनाको साधन स्रोत केही थिएन । अहिले जगत घरघडी आँखैमा छ, कानैमा छ र पनि यस्तो हुँदा आफू बन्धित छु भन्ने लाग्दो रहेछ ।
आफ्नै छोरी ऋचा विश्वकैंककी जागिरे भइन् र वाशिङ्गटन गइन् । कोरोनाको महाव्याधि फैलिनुभन्दा दुई हप्ता पहिले केन्द्रीय कार्यालयले वाशिङ्गटन बोलायो । हामी खुशी भयौँ । आफ्नै क्षमता र प्रतिभाले छोरी त्यहाँ पुगिन् अमेरिकाले बोलाएर जागिर त्यता सरुवा गर्नु कत्रो सौभाग्य थियो भन्ने भयो । ज्वाइँ अजित पनि एक महीना पश्चात् जाने निश्चय थियो । तर छोरी पुग्नासाथ विश्वमै महाव्याधि अकल्पनीय गतिले आकासिन थाल्यो । मन चिन्तित छ ।
अब हामीलाई चिन्तित बनायो— के होला कसो होला । हवाइमार्ग सारा बन्द भए । अमेरिका दोस्रो प्रभावित देश भयो, न्यूयोर्क पनि त्यस्तै । हाम्रै अफिसमा पनि मान्छे भेला हुन छाडे । त्यसो त अर्काे सानो छोरो छ— विश्रुत २०–२१ को युवा । अमेरिकी छात्रवृत्ति पाएर पढ्दैछ । रातदिन मन जान्छ, कस्तो गर्दै होला । फोन गरेपछि बूढो मान्छे जसरी बोल्छ— ठूलोबा यहाँ राम्रो छ, अन्लाइन क्लास हुँदैछ, खान बस्न पाइन्छ । अनि एकदिनलाई मन शान्त हुन्छ ।
बेलुकी ऋचासँग बोलेका थियौँ । उसको मनोबल सुदृढ छ । सधैँ अफिसको काम भिडियो कलमा । बेलुका उसले वरिपरि घुमेका, दिउँसो स्टोरमा लामो लाइन बसेर खाद्यान्न किनेका, १०—१५ दिनको बन्दोबस्त गरका कुरा लेखी । वाशिङ्गटनको कुन ठाउँ फूलैफूल बगान, सङलो पानी, चेरी फुलेर भुइँभरि— अञ्जनाले हेरेर लेखिन्— आहा घुमिरहौँ जस्तो ठाउँ, खोल्सो कति सुन्दर नानी ।
हो नि आमा, डम्बरटन ओक्स प्यालेस ।
मैले लेखेँ— यही ठाउँमा पहिलो विश्व राष्ट्रसंघको परिकल्पना गरिएको थियो, नानी एक सम्मेलन बोलाएका थिए त्यहाँ ।
बुबालाई कसरी सम्झना भयो नि ।
त्यसो त मैले अघि नै रानीतिशास्त्रमा पढेको थिएँ । पछि मन २००६ मा वाशिङ्गटन घुम्ने अवसर पनि पाएँ । यतिका वर्ष बिते । त्यो भ्रमणबारेको पुस्तक निकाल्न अझै भ्याएको छैन— अनि मनमनै कुँडिँए ।
अञ्जना— ए ऐतिहासिक रछ नानी ।
अँ— मेरो घर नजिकै छ, आमा, एक घण्टा ।
हिँड्दै छु आमा वरपरि । अरु ठाउँ चाहिँ केही थाहा छैन फेरि । कति राम्रो पार्क छ वरिपरि । हाम्रो देशमा पनि भइदिए कस्तो हुन्थ्यो ! त्यसो त टीयू पनि निकै राम्रो छ । यहाँ हेर्दा मलाई टियूकै सम्झना भयो ।
यसरी बिहानी शुरु ग¥यौ । ऋचाको उता बेलुकी थियो । त्यसपछि म स्टडीमा चढेँ र लेख्न थालेँ । चारैतिरबाट मेसेजको धारो छ । मानिसमा खुल्दुली, खल्बली र निराशा पनि केही तर फेरि अधिकांशहरु यो कसको लागि के हुँदैछ भन्ने थाहा नपाउने वर्ग छ । केवल फेसबुकमा बाँच्न सिक्तै ।
त्यसमाथि एउटा हिन्दी प्यारोडी सुने— जब जब कोही साबुन देखे मेरा दिवाना बोले— धोलो, धोलो, धोलो घर केही अन्दर रहना सावन लेके हात धोलो ।
इस वाइरस से बचना, घर में ही रहना इत्यादि ।
कोही पूजा गर्ने छन् कोरोना देवीको, कोही भजन कीर्तनमा छन्, कोही भने विश्वशान्तिको निमित्त यज्ञ गर्नेछन् । हिजो भारतीय र यूरोपियन मिसिएर एक ठाउँ त्र्यम्बकम् यजा महे सुुगन्धित् पुष्टि वद्र्धनम मन्त्रले हवन गर्दै थिए । एक जना हिन्दू धर्मावलम्वीको प्रवचन थियो— यसरी सबैभन्दा ठूलो अपराध मानव जातिबाटै भएको छ । गोमांस भक्षणले गर्दा, गोहत्याले गर्दा यस्तो हुन गएको हो । अर्का सन्तको प्रवचन थियो— मानिस प्रकृतिको लयमा मिल्न शाकाहारी बन्नु पर्ने मांशहारी भयो र यस्तो दुष्परिणाम भोग्दैछ । अर्काे एक खबर आयो— फलाना व्यक्तिले क्रिश्चियन धर्म लिनेलाई यस्तो रोग लाग्दैन भन्ने प्रवचन गरेको सुनेर गाउँलेहरुले उसैलाई ढुट्याएको सुनियो ।
यस प्रकारले यो बेलामा गाउँका सीधा साधा, निरक्षर, अन्धविश्वासीदेखि लिएर संसार हाँक्न सक्नेहरु सबै सबै आआफ्नै दृष्टिकोणका बन्दी छन् । कोही यसलाई सरकारले बुझ्ला जस्तो गर्छन् । अधिकांशलाई यो लक डाउन सरकारले जबर्जस्ती गराएको कुरा हो भन्ने छ । बेलाबेला भागेर लुकेर बाहिरबाट स्वदेश आउनेहरुले फैलाइरहेकाछन् । उनीहरु अज्ञानी छन् यसरी लुक्ता होला भन्ने छ, क्वारेन्टाइनबाट भाग्दा ठिक होला भन्ने छ । आफ्ना कारणले आफ्नो र अरुको ज्यान कसरी संकटमा पर्दैछ, कसरी महामारी बढ्दैछ, एक एक नागरिकको ज्यान खतरामा पार्ने अपराधी मैँ हुँ भन्ने ज्ञान छैन । यो खतराको संकेत छ ।
दिनभरि हिँडडुल बन्द छ । कोठामा बसेर खाने मात्र काम गरियो भने स्वास्थ्य बिग्रन्छ भनेर सेवाले हाम्रा उपवास जत्तिकै कडा गराएकी छन् । खानापिना एकदम नियन्त्रित थोरै र चुनिएको आइटम मात्र छ । आज बिहान एक मुठी मटर कोसा फुकालेर तिनका बोक्रा मिक्सीमा पिसेर तिनको झोल बनाएकी, हरियो झोलमा १०–१२ मटर दाना र तीनचार फुली काउली पनि मिसाएर उमालिसकेपछि तलबाट बेल बज्यो, अञ्जनाले बजाइछन् र म झरेँ । बिहान आधि माना हर्बल टी र दुई बटुका तातो पानी पिएको थिएँ ।
तल पुग्दा सेवा छोरीले ब्रेकफाष्ट तयार पारेकी रहिछन्— एक दानो इस्कुस उसिनेर मिक्सीमा मसिनो पारी दूधमा उमालेको, अंजना र मलाई सेता प्लाष्टिक बटुकामा दुईदुई डाडू अन्दाजले भाग लगाइन् ।
मैले भने— ‘आज मैले भिडियो क्लिपमा ओलिभर आस्कस् (फ)र मोर हेरेँ । नभन्दै हरेरै झरेको थिएँ । उन्नाइसौँ शताब्दीको बेलायतमा गरीब–खानामा पालिएका बालकको जिन्दगी कति भयावह थियो, खाने कुार थिएन । बिहान बेलुका दुई डाडू गु्रएल (खोले) थापेर खान्थे । कुर्सीमा पचासौँ गोरा केटा बसेका छन्; टेबलमा प्रत्येकको एक एक कपमा खोले । भोकले मुश्किल परेर ओलिभर नामक एक साहसी बालक उठ्यो, कप लिएर भान्से समक्ष पुगेर थाप्यो, ‘आइ वान्ट सम मोर प्लिज’ (मलाई अझै अलिकति खोले खान मन छ) भान्सेले उसलाई एक डाडू खोले विना अनुमति थप्न सकेन र माष्टरलाई सोध्न पुग्यो— ओलिभर आस्कस् फर मोर । त्यो सुनेर मास्टरले खे¥यो, “ओलिभर आस्क्स् फर मोर ?”
अनि भृकुटी खुम्च्याउँदै मिष्टर बम्बल (मास्टर) जुरुक्क उठ्यो, एकपल्ट दोहो¥यायो, “ओलिभर अझै थप्ने अरे ?” अनि ओलिभर ट्विष्टपट्टि हेर्दै हातको छडी उजायो तर ओलिभर त्यहाँबाट भागेर उफ्रेर काम्दै पर कता पुगिसकेको थियो । बम्बलले निकैबेर व्यर्थमा ओलिभर खेद्यो ।
हाम्रो परिवारमा अंग्रेजी विषय पढ्ने यो कथा सबैलाई थाहा छ । कहिलेकाहीँ ठट्टा गर्नु, जिस्कनु पर्दा, तिहुन तरकारी पातलो हुँदा म भन्ने गर्छु— आज ओलिभरको गु्रएल भएछ । आज पनि भनेँ— यो ग्रुएलले फाष्टिङलाई शमन गर्ला के नानी ?
यति प्रसङ्ग उठेपछि मलाई चाल्स डिकेन्सको सम्झनाले छोप्यो । उन्नाइसौँ शताब्दीको शुरुमा बेलायतको सामन्ती समाजको प्राचीन लय अनि त्यसले पेलिएको शोषित वर्गको कथा उनले लेखे । खासगरी बालश्रमको डरलाग्दो स्थितिका कृति छन् । अरु पनि छन् डरलाग्दा पक्षहरु । दुई वर्ष अघि बेलायत जाँदा हामीलाई घुमाउन यस्ता महान स्रष्टा चाल्स डिकेन्सका घरैमा लगे स्रष्टा भाइ विश्वासदीपले । स्वदेश फर्की आएपछि एउटा लेख लेखेँ— चार्ल्स डिकेन्स संग्रहालय भ्रमणको कथा र रनेन्द्र श्रेष्ठको लुना मासिकमा प्रकाशित भयो । सोही रचना यहाँ साभार गर्दछु ।

महान् स्रष्टा चार्ल्स डिकेन्सको घर पुगेर फर्केको रात

बेलायतको क्यान्टरबरी विश्वविद्यालयमा कार्यक्रम सम्पन्न गरेर घर फर्कियौँ । दिनभरिको व्यस्तताले होला आज राति कस्तो गहिरो निद्रामा परिएछ, बेहोस झैँ अजाख भएर लडियो । ब्यूँझँदा सबै उज्यालो भित्रै पोखिएको जस्तोमा एउटा शर्टले नपुग्ला जस्तो मौसममा आकाशले घुर्मैलो सिरक ओढिरहेको देखेँ । झ्यालबाट हेर्दा सीगल समुद्रतिर उडेका देखिन्छन्, क्याउँक्याउँ आवाज पनि सुनिन्छ नौलो, समुद्रै सम्याउने जस्तो ।
उठेर बसेँ— सारा सुनसान छ । बिस्तारै बतासले बोलेजस्तो सुन्छु । समुद्र कति टाढा होला ? उठेर एक्लै त्यता लाग्न पाए हुने । फेरि यो नौला ठाउँमा के कसो होला ! कार्यक्रमले गलेका विश्वासदीप परिवार त्यसपछि पनि आठबजेसम्म उठ्न नसकी लडिरहे । आशफोर्डस्थित नरउड गार्डेनको घर नं. ११ मा ।

आजका लागि चाल्स डिकेन्सको म्युजियम हेर्न जाने सल्लाह बनेको थियो । त्यसैले छिटै खाना सेवन गरी दुई गाडी यात्री दक्षिण पूर्वी बेलायतको आशफोर्ड टाउनबाट छुट्यौँ र उही पुरानो क्यान्टरबरी जाने मार्गलाई पछ्यायौँ । त्यही क्यान्टरवरी जहाँ अंग्रेजी साहित्यका पिता जेफ्रि चसरको म्युजियम छ । ठूलाठूला एकान्त जस्ता भूभाग नाघ्दै ब्रोडस्टीड भन्ने निकै परको शहरमा पुगेर एक किनारामा बिसायौँ । यी दुईवटा बाहनमा शीला स्टेइनर, सन्ध्या लिम्बू, अनिता थेबे, बलिहाङ, विश्वासदीप तिगेला र गोविन्दराज भट्टराई अटाएका थियौँ ।
गन्तव्यमा पुगी ठूलो पार्किङमा गाडी बिसाएर हेर्दा सडक ओरालो ओरालो लाग्यो । छानामा चिम्नी र गेबल भएका पुराना घरहरु, भित्तादेखि झुण्डिएका फूलका गमला तर सडक पूरै ढाकेर हिँड्ने रमिते दर्शक यात्रुहरु कमिलासरी यति मात्रै होइन । हिँड्दै हिँड्दै जाँदा त्यो बाटाको अन्त्य भयो र अचानक एउटा भीरका टुप्पामा पुगियो । डाँडाको शिरैशिर आँखाले देखिएसम्म ठूलो सडक छ, दुवैतिर अनि सिधै तल छ एउटा समुद्री बगर (सी वीच) अनि त्यसको अन्त्यसँग जोडिएको समुद्र । विशाल छ नीलो छ अनन्तदेखि छाल उठेर आउँदै किनारको बालुवामा पछारिँदै उतै फर्केर जाने जलराशीको साङ्गीतिक गति कति सुन्दर छ, भयावह पनि । आकाश छुनेगरी सेता मुस्ला उठ्छन् फेरि घुम्री परेर तल झर्छन् । सारा बगर ढाकेर नाचिरहेका सीगलका बथान भाग्न खोजेझैँ उड्दै थोरै आकाश वृत्तमा परिक्रमा गर्दै फेरि तल ओर्लिन्छन् । सेता घुर्मैला पखेटा देखिन्छन् क्याउँ क्याउँ स्वर सुनिन्छ । ती सर्वत्र छन् । घरघरका धुरीमा बसेका यी सेता कुुखुरा त्यतिकै छन् ।

सडकभरि मान्छे नै मान्छे त्यही समुद्रका छाल उठ्ने ठाउँ माथिको सडक परिपरि घुम्दैछन् । कोही अझ तल बगरमै झरेर बीचमा ठूलो माला बनाएका छन् । डाँडैडाँडा हँसिया वा खुर्पाजस्तो सकडकको परिपरि मानिसको धारो— कोही हिँडिरहेका, कोही उभिएका रमिते, कतै सडक ढाकेर टाँगिएका नाच्नेका पंडाल, कुनै गाउनेका, बीचबीचमा चटकेका, फेरि पिउने र खानेका कत्रो ठूलो उत्सव हो आज । साना नानीहरु कपडाका कोक्रामा रोखर ठेल्दै, हुर्केकालाई भुँडीमा नाम्लाले बाँधेर डो¥याउँदै, आइसक्रिमका सोली चाट्दै चटाउँदै; कफीका बट्टामा सोली गाडेर तीबाट सुक्र्याउँदै, हाँस्नेहरु, धुम्मिनेहरु, लठ्ठीसँग घस्रिनेहरु, बैशाखीमा सर्नेहरु अनि माइबेनी मेला दर्शनमा कत्रो हुल छ आज । प्यान्ट शर्ट र ज्वारीकोटमा छु । शीरमा टोपी छ चितवनका केदारसरले गतवर्ष उपहार गरेको । सबैसबै विनाटोपीका छन्, मलाई यो कुन पहाडे पो आएछ भनेर हेप्नेहुन् कि ?
यस्तो कोमल सूर्य पोखिएको डाँडाको डिलमा समुद्रको बतासले फुकिरहेको ठाउँमा गर्मी लागेर हो कि ? मान्छे एकसरो बस्त्रमा छन्, युवती, बहिनी र आमाहरु ता आधिसरोमा छन् । कुनैका शिरमा लामा बाल्टी घोप्ट्याएको जस्तो कुनैका शिरमा थाल राखेजस्तो, कुनै कराही टोपे, कुनै हाँडी टोपे, कुनै झुसे र लुर्के टोपीसँग देख्ता मलाई पनि ढुक्क भयो । यो बहुल जमातमा एक नेपाली टोपीको पनि सान रहन्छ होला ।
उँधो हेर्दा फ्राँन्ससँग जोडिएको समुद्रको नीलो तिरमिराउँदो तुवाँलो जस्तो आवरणभित्र लुकेको देखिन्छ । जाँदाजाँदै बाटा नजिकैका घर लहरमा जोडिएको एउटा घरका सामू पुगेर रोकियौँ । आजको गन्तव्य यहीँ थियो— चार्ल्स डिकेन्स हाउस् । आज जसको म्यूजियम हेर्न त्यहाँ पुग्यौँ तिनै चाल्स डिकेन्सबारे पनि अलिकति कुरा जोड्न चाहन्छु ।

चाल्स डिकेन्स उन्नाइसौँ शताब्दीका एक महान् अंग्रेजी उपन्यासकार हुन् । सन् १८१२ मा पोर्टस्माउथमा जन्मेका डिकेन्स आठ सन्तानमा माइला थिए । बाल्यकालमै त्यहाँबाट पितामाता केन्टको च्याटम भन्ने ठाउँमा (हामी पुगेको समुद्री किनारमा) बसाईं सरेकाले यहीँ नै उनको बाल्यकाल बित्यो ।
उनका पिताजी नित्य गरीबीमा थिए र परिवार धान्न नसकेर ऋणमा डुबे, तिर्न नसकेर सन् १८२४ मा झ्यालखाँदमा परे जुनबेला डिकेन्स १२ वर्षका थिए । अब उनी स्कूलबाट निस्किए र परिवार पाल्न जुत्ता पालिश गर्न थाले । यस अनुभवले उनको बालमनमा अत्यन्तै गहिरो मनोवैज्ञानिक चोट लाग्यो । ती दिनमा बालक डिकेन्सले अभाव र गरीवीको अकल्पनीय कष्ट खप्नु परेकाले उनले पछि जे लेखे बेलायतका शोषित पीडित मजदूर वर्गको दुःखको आवाज मात्र लेखे ।
पछि बुबा जेल मुक्त भए, छोरा पनि बल्ल स्कूल जान थाले । उनले शर्टह्याण्ड सिके र जागिर गर्दै पत्रकारिता पनि सिके । बिस्तारै कथा छपाउन लागे, आफ्नो नाम ‘बोज’ राखे र सन् १९३६ मा स्केचिज बाइ बोज नामक कथा संकलन निकाले । त्यही वर्ष उनले क्याथरिन होगार्थ नामक कन्यासित विवाह गरे, तिनी इभिनिङ क्रोनिक्लर (पत्रिका प्रकाशक) की पुत्री थिइन् । पछि १० जना सन्तान भएपछि तिनीहरुले सम्बन्ध विच्छेद गरे ।
त्यसपछि पिकविक पेपर्स नामक नामी पत्रिकामा लागे, पछि त्यहाँका लेखलाई पुस्तकमा निकाले । अनि त्यस सफलताले गर्दा उनी उपन्यासतिर लागे; छिट्टै नै पूर्णकालिक स्रष्टा र अति सफल उपन्यासकारमा गनिन थाले । उनका ओलिवर ट्विष्ट, निकोलास निकलबाई, प्रशिद्ध कृति हुन्— आज यी संसारभरिकै पाठ्यक्रममा छन्, नेपालमा पनि । उनले क्यानडा, इटाली, स्विटजरल्याण्डको भ्रमण गरी फर्केर डम्बे एण्ड सन्, ड्याभिड कपरफिल्ड, ब्लीक हाउस, लिटल डोरिट, अ टेल अव टु सिटिज र गे्रट एक्स्पेक्ेटशन्ज लेखे । यी विश्वप्रशिद्ध आख्यान हुन् । ड्याभिड कपरफिल्ड जीवनीपरक कृति हो भने अ टेल अव् टु सिटिज फ्रान्सेली राज्यक्रान्तिका पृष्ठभूमिलाई विषयवस्तु बनाएर लेखिएको ऐतिहासिक उपन्यास हो । यसमा फ्रान्सको डरलाग्दो अत्याचार बेलायतसम्म पुगेको छ । ‘टु सि प्लिज’ भनेर फ्रान्सको पेरिस र बेलायतका लण्डनका पृष्ठभूमि हुन् ।
जीवनको उत्तराद्र्धमा डिकेन्सले पारिश्रमिक लिएर रचना वाचन गर्न थाले, एक वर्षमा ४०० पटक गरेँ; त्यो अति नै भयो, जसले गर्दा उनको स्वास्थ्यमा प्रतिकुल प्रभाव पा¥यो । त्यसैबेला एलेन तर्नान (नायिका) सित पनि जोडिएका थिए, तर पार लागेन । एकदिन पाठ गर्दागर्दै उनी मूर्छा परे, ढले र फेरि उठेनन् । त्यसबेला ग्याड्स हिल भन्ने ठाउँमा घर थियो, त्यहीँ द मिष्ट्रि अव् एड्््विन डू«ड (उपन्यास) लेख्तै थिए त्यो अधूरै रह्यो । उनी आफ्नै घरमा सकिए र उनलाई वेष्टमिन्स्टर आबीको “पोएट्स् कर्नर” मा दफनाइयो । त्यहाँ लेखिएको छः उनी गरीबका पक्षधर थिए— पीडाका (सफरिङका) पनि अनि उत्पीडितका (अप्रेष्टका) उनको देहान्तले एक महानतम स्रष्टालाई बेलायतलगायत संसारले गुमाएको छ ।
यसरी चाल्र्स डिकेन्स सन् १८७० मा ५८ वर्षको उमेरमा बिदा भए । उनलाई आफ्नै र अरुको दुःखले छिट्टै लग्यो । उनले १६ उपन्यास केही उपन्यासिका, कथा, आख्यानेतर लेखन, निबन्ध छोडेर गएका छन् । सबै गरी ५० भन्दा बढी कृति प्रकाशित छन् ।
मेरो प्रत्येक यात्रामा साहित्यकारको दर्शन नै ठूलो महत्वको कुरा हुन्छ । पहिलो बेलायत यात्रामा शेक्सपियरको जन्मस्थल र अन्य म्यूजियम हेरेँ दोस्रोमा जोन कीट्स्, भर्जिनियाँ उल्फ र विशेषगरी महामना माक्र्सको समाधिस्थलको भ्रमण गरेँ । ती अविस्मरणीय कुरा रहेका छन् भने यसपालिको तेस्रो बेलायत यात्राको पहिलो भ्रमण रहेको छ चाल्र्स डिकेन्सको म्युजियम । यस बाहेकका मिल्टन, वर्डस्वर्थका संग्रहालय अनि अरु पाँच महत्त्वपूर्ण ठाउँ छन्, सबै मेरो तेस्रो बेलायत यात्रामा आउने छन्) विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित यो विशेष यात्रामा हामी दशजना समावेश थियौँ ।

समुद्र नजिक उभिएको डिकेन्स हाउसको सानो फलामे गेट खोलेर हामी बगैँचामा पस्यौँ, फूलबारी ढकमक्क थियो । विश्वास भाइ घरभित्र पसे, सबैको टिकेट काटेर ल्याए अनि हामी चाल्र्स डिकेन्स हाउस भित्रै पस्यौँ । विगत चालीस वर्षदेखिख पढेका पढाएका डिकेन्सको घरमा आउन पाउँदा भएको खुशी थामिनसक्नु थियो । बाहिरबाट हेर्दा समुद्रतिर फर्केको अग्लो दुईतले घरको बरण्डा फलामका पुराना बुट्टे ग्रिलले बनेको छ । माथि छानो बेलायती टायलको, सेतो भित्तो र ठूला सिंगा रुखजस्ता चिल्ला न चिल्ला खाँबा गाडेर काठैकाठले बनेको बरण्डा ठ्याक्कै इलाम धनकुटा वा तानसेनतिरको पुरानो घरजस्तो लाग्छ किनभने बरण्डाबाट लहरै झुण्डिएका गमलाभरि सदावाहर फूल देख्ता मलाई त्यस्तै लाग्यो । दार्जेलिङ–सिक्किमतिरको यस्तो पुष्पकला झन् कति धेरै आकर्षक हुन्छ !
प्रवेशद्वार भित्र एउटा पुष्प बाटिका छ ठिक्कको । दूबो, अन्य पुष्प डेकोरेटिव प्लान्टले ढाकेको, त्यहीँ टोप्रे ऐसेलु पाकेर कालै— कसैले खाँदैन कि क्या हो ? यसले भुँडी दुखाउँछ भन्थे तर आज बाटामा कति खाइयो !
हामी भित्र प्रवेश गरेर हेर्दा भुँइतलामा चार कोठा थिए— तीनवटामा डिकेन्ससित सम्बद्ध सामग्री थिए, एउटाबाट भ¥याङ । प्रवेशको दाहिनेतिर बैठक कोठा छ— खाटजस्तो बेञ्ची जस्तो चारजना बस्न मिल्ने घुम्रिएको । वरिपरि पुरानाखाले चार कुर्सी छन्— कलात्मक, एउटा सिसाको बक्साभित्र डिकेन्सका केही पाण्डुलिपि छन्, उता भित्तामा पनि भरी सजाइएका चिठ्ठीपत्र, नक्सा, चित्र र केही उनैका प्रकाशनका प्रथम संस्करणका नमूना छन् ।
दाहिने कोठाभित्र डिकेन्सका महत्त्वपूर्ण सामग्री थिए । ठूलो बाक्सामा राखेर सिसाले छोपेका, भित्ते दराजमा उसबेलाका भान्साका सामान र नङ काट्ने, लुगा सिउने, लेख्ने, गरगहनाका अलङ्कार, यस्तै यस्तै कुराहरु उसबेलाका नमूनाहरु थिए । ती हेर्‍यौँ, भित्तामा सजाएर सिसाले छोपेका उनका पाण्डुलिपिका पानाहरु उतापट्टि कलम कापी, उसबेलाका उनको जीवनसित जोडिएका हरेक आइटम— कस्तो दुर्लभ क्षण थियो आज ।
यसरी चाल्स डिकेन्स म्युजियमको भ्रमण अध्ययन सकेर पाखा निस्कियौँ र सडक किनारमा पुगेर समुद्रतिर दृष्टि लगायौँ । नीलो जलराशी उम्लिरहेको । अपराह्नको सूर्य टल्केर सारा टलपल–टलपल देखियो । तल्तिर हेर्‍यौँ— त्यहाँको (बीच) वालुवानीमा खैरो बालुवाभरि मानिस पल्टेका, पर्तिर छालसँग खेलेका, वरपर कुधेका बट्टा क्यान यस्तै केही कुरा हातमा बोकेर दौडिरहेका ।
तल ठूलो हावादार विश्रामघर थियो । त्यसैले हामीलाई बोलायो र हामी आकाशे सिँढी चढेर ओर्लियौँ । तल बालुवानीमा झ¥यौँ त्यहाँ नुहाइसकेर पल्टेकाहरु अनेक थिए । अलिकति वस्त्र धारण गरेका र नगरेकाहरु पनि थिए । समुद्रको छेउमा शरम पनि हराउँदो रहेछ क्यार ।
त्यो ठूलो विश्रामघर हेर्दा लाग्थ्यो समुद्रबाट पलाएको जस्तो । त्यसलाई ‘फोर्ड’ भनिन्छ । त्यो समुद्रबाटै उठेको घर कसरी समुद्रको जलराशी थुनेर त्यत्रो संरचना निर्माण गर्न सकेका होलान् । समुद्रको भँगालो छेके जसरी पर्खाल, माथि लगेर एउटा फुटबल मैदान जत्रो आँगन उठाएका छन् । त्यसमाथिका रङ्गिचङ्गी टेबल–कुर्सीमा बसेर समुद्रले हान्दाहान्दा सेतो चुनढुङ्गा मात्र टल्किने भीर देखिन्छ । त्यो भीरको फेदबाट हेर्दा माथिको डाँडाको बजार कस्तो विचित्रता बोकेको रमाइलो देखिएको थियो । मानिसहरु बगरभरि सलबल सलबल थिए— अनेक रंङका छालमा डुब्दै निस्केर बालुवामा मडारिएका, पानीमा चोबिएका, घाममा सेकिएका । त्यस्ता नाङ्गेहरु हाम्रो छेउमा नआऊ भन्न मन लागेको थियो तर बोली फुटेन र हामी फर्कियौँ डिकेन्स हाउसतिरै— त्यहीँ हाम्रा कार पार्किङ गर्दै थिए ।
अब त्यहाँदेखि बिदा भएर समुद्रको किनारै किनार चल्ने मार्गमाथि चढेर आशफोर्ड फर्कियौँ । त्यसको आनन्द सानो थिएन । ठूलाठूला फारमखेति, काटिएका गहुँबारी, चरनमा निहुरेका टाटे पाटे गाईबस्तु र सेता भेडा । गर्दागर्दै फ्रान्सतिर जाने समुद्रीद्वार भएको डोभरवीच पुग्यौँ । ती शोर्न क्लिफ नामक सेता भीरहरुको बयान ६७ वर्ष पहिले बेलायत जाने लैनसिंह बाङदेलले मुलुक बाहिर म (२०६७) पुस्तकमा यसरी समावेश गरेका छन्— हाम्रो देब्रे धजष्तभ अषिा देखिँदैछ— यो बेलायतको दक्षिण समुद्रको किनार होला । अलग–अलग पहाड जस्ता यी धजष्तभ अषिा हरु देखिन्छन् । यी सेता देखिन्छन् । छेउमा गएर त हेर्न पाइएन, परन्तु टाढाबाट हेर्दा अग्लो सेतो पृथ्वीको भित्तालाई मिलाएर पटपट काटी ताछेर झारे जस्तो देखिन्छ । यो ताछिएर झरेका सेतासेता भित्ता अग्लो होला किनभने यहाँबाट पनि त्यत्तिकै अग्लो देखिन्छ ।
आज पाइलट बेलुकीतिर आइदियो भने हामी भोलि सबेरै त लण्डन पोर्ट पुग्ने आशा गरेका छौँ कमसेकम क्याप्टेनको अन्दाज यही छ । हामी कलकत्तादेखि लण्डनसम्ममा ८००० माइल हिँडिसकेका छौँः (पृ ३०) ।
अघिल्ला यात्रामा मैले पनि गरेकै छु । भव्यता र सुन्दरता सिवाय त्यहाँ केही छैन । यहीँबाट निस्केर म फ्रान्स गएको थिएँ । बेलायत फर्केको थिएँ । फेरि त्यहीँबाट हुँदैहुँदै फोकस्टन पुगेको थिएँ । जहाँ उसबेला विश्वासदीप भाइको सरकारी आर्मी क्वाटर थियो— त्यो आज छैन । अन्तै सरेको छ निजी घर भएर आशफोर्ड भन्ने ठाउँमा ।
अबेला भइसकेको थियो । नेपाली राजदूतावासको निमन्त्रणा थियो । रात्रि भोज थियो । केही कार्यक्रम थियो तर आज समुद्री किनारले तानेर होला कसोकसो ढिला भइसकेको थियो । त्यसैले भाइहरुले आशफोर्ड स्टेशन पुगेर नै आफ्ना कारलाई पार्किङमा राखे र हामी लण्डन जाने ट्रेन चढेर त्यता लाग्यौँ ।
बाटाको दृष्य बयान गरिनसक्नु छ— हेर्दा मन आत्तिने चौरी छन्, त्यहाँ उनै गाई र भेडा छन्, सूर्यास्त हुने बेलासम्म उसैगरी चौरीहरुमा निहुरेका । कतिबेला यी गाउँतिर फर्केलान् ? कि यतै बास बस्छन् ? कुनै गोठ कतै देखिँदैन । कुनै गोठाला बेगरका छन् । जुल्फि काटेर मिलाएका वृक्षहरु, झाडी, बुट्यान सबै अनुशासनमा छन् । गहुँ बाली उठेपछिका नरुवा, जोतिएका सुनसान फाँटहरु । यो यामको लण्डनपथ परिपरि यस्तै यस्तो कस्तो एकरुप यो प्रकृति !
रेल–यात्रा अति शुखकर छ । मनमा आतेस छ । ढिला भएको ग्लानि पनि । बल्ल चेरिङ क्रस स्टेशन उत्रियौँ, लण्डनको मुटु जस्तो ठाउँ अनि त्यहाँबाट ट्युवमा छि¥यौँ र नटिङहिल गेट भन्ने स्टेशनमा उत्रियौँ । नेपाली दूतावासको गाडी प्रतीक्षामा थियो चढेर हामी दूतावास पुग्यौँ । त्यहाँ डा. दुवसुले हाम्रो स्वागत गर्नुभयो । पहिले मुरारीजीको पालामा पसेको भवन उही रहेछ, उस्तै चित्र सजावट, हल र सबै । तर आज भिन्न लूक दिने नयाँ, भव्य र आकर्षक देखियो । यसको ‘रिनोभेशन’ गरिएको ।
त्यहाँ दूतावासका कर्मचारी तथा अन्य नेपाली सज्जन हाम्रै प्रतीक्षामा थिए । नेपालबाट आएका सज्जनहरुमा खगेन्द्र संग्रौला, प्रा नोबल किशोर राई, तुलसी दिवस र मैले आतिथ्य ग्रहण ग¥यौँ ।
बेलायतमा रहेका नेपाली समाजको राम्रो प्रतिनिधित्व थियो । नेपाली साहित्य विकास परिषद् यु.के.देखि यताका अनेक साहित्यिक सांस्कृतिक संस्थाको प्रतिनिधित्व थियो ।
हामीले ता डिनर मात्र ठानेका थियौँ तर होइन, ठूलै साहित्यिक/सांस्कृतिक कार्यक्रम जुटाइदिएको रहेछ । राजदूतको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भयो । आफ्नै ठाउँका स्रष्टा विद्वान् डा. दुर्गाबहादुर सुवेदी भए पनि उहाँको ‘दुवसु’ नाम नेपाली साहित्यमा उच्च छ । बेलायती नेपाली समाजमा उहाँले गरेको योगदानको जनमानसले उच्च मूल्याङ्कन गर्दाेरहेछ । स्वयम् एक स्रष्टा विशेषगरी सम्वेदनशील कवि भएकाले उहाँको स्वागत मन्तव्य एक परिस्कृत एवम् विनयशील वक्ताको जस्तो लाग्यो । त्यसमाथि बेलायतको राम्रो अनुभव भएका र कुटनीतिक दक्षताले युक्त डा. सुवेदीको प्रस्तुति ज्यादै प्रभावकारी थियो । उहाँले आफ्नो बेलायत आगमन र संघर्ष, योगदान र त्यसको कदरको चर्चा गर्दै अबको नेपाली साहित्यले एउटा राम्रो आकार लिएको र यसले बौद्धिक र प्राज्ञिक पक्षको पनि स्थापना गर्न थालेको चर्चा गर्नुभयो । जुन कुरा मैले पनि हृदयङ्गम गर्दै भन्दै बोल्दै लेख्तै आएको छु । कार्यक्रम सक्ता एघार बज्यो । अब छिटै रात्रि रेल बन्द हुन्छ भन्न लागे । टाढा जानुछ । त्यसैले हतारहतार डिनर लियौँ र आत्तिँदै श्टेशनमा पुग्यौँ । नभन्दै अन्तिम रेल छुट्नलाई घ्यारघ्यार गर्दै थियो ।
घर (आशफोर्ड) पुग्दा रातको दुई बज्यो । तर मेरा आँखामा निद्रा ओर्लिएन । हेर्छु यता बेलायतमा ७०० वर्ष पुराना महाकवि जेफ्रि चसरदेखि हाल सन् २०१६ का नोबल विजयी सीमस हेनी सम्मको संग्रहालय छ । वर्डस्वर्थ, शेली, कीट्स्, मिल्टन, डिकेन्स, भर्जिनिया…कतिका दुई तीनवटा छन् । जहाँ बस्यो त्यही ठाउँलाई सरकारले फलानाको संग्रहालय भनेर त्यो घरको संरक्षण गर्दो रहेछ, लेखकका सरसामान सुरक्षित गरिदिन्छ, प्रदर्शित गर्दछ । चार्ल्स डिकेन्सको यो डिकेन्स हाउस मात्र होइन; लण्डन शहरभित्र अर्काे पनि संग्रहालय छ— ४८ डोटी स्ट्रीट भन्ने ठाउँमा । मेरो दोस्रो बेलायत यात्रामा मलाई विद्यार्थी लेखनाथले त्यो चार्ल्स डिकेन्स म्युजियममा घुमाएका थिए । चार्ल्स डिकेन्स ट्रष्टले सन् १९२५ देखि चलाएको यो म्युजियममा उनको ‘स्टडी’ छ, भुइँतलाको चिसामा कोइला बालेर पकाउने भान्सा छ, श्रीमतीको कोठा, डाइनिङ रुम, उनीहरुको पकाउने रुम, डिकेन्सको रातो कुशन चेयर अनि पाण्डुलिपि ।
प्रत्येक परिवेशबाट लेखकले पात्र जन्माउँछन् । ब्रोडस्ट्रीडस्थित चार्ल्स डिकेन्स हाउसको परिवेशले उनका ड्याभिड कपरफिल्डका पात्र जन्मायो । ओलिभर ट्विष्टका पात्र, ग्याड्सहित, (अर्काे घर) को परिवेशले जन्मायो । यसरी सभ्य समाजले स्रष्टा कलाकारको प्रत्येक कृयाकलापलाई, वस्तु र विचारलाई कत्रो सम्मान दिएर जोगाइराख्दछ; अनन्त कालसम्मको लागि । झन्डै आधा शताब्दीदेखि नेपाली साहित्यमा लागेको म जब आफ्नो भविष्य सम्झिन्छु, मलाई अचानक निराशाले छोप्न थाल्छ । किनभने हाम्रा देशमा सो संस्कारको स्थापना पनि हुन सकेन । हिजो मात्रै मैले विलियम वर्डश्वर्थको म्युजियम पुगेको फोटो देखेर दार्जीलिङका कवि मनप्रसाद सुब्बाले लेख्नुभो— भाइ, हाम्रोमा कहिले त्यस्तो दिन आउला । महाकवि देवकोटा, लेखनाथ, सम, सुधपा कसैको छैन, कतै पनि छैन…
हो कसैको छैन । सबै सबै भिल्लका देशमा मणि भएका छन्, हराएका छन् । सरकारहरु ढोँगी छन्, समाज अदूरदर्शी छ; स्रष्टाका सन्तानहरु सम्पत्तिप्रेमी छन्, कसले बचाइदिने सभ्यताका धरोहरहरुलाई !
निद्राले आँखा पोलेर शरीर लठ्ठिएपछि, विहानका सीगल कराउन थालेपछि बल्ल म बोहोस भएर लडेँ ।