दोस्रो विश्वयुद्धपश्चात् मानवका सोचाइ, चिन्तन र दर्शनका आयाममा परिवर्तन आउन थाले । मानव सभ्यता एकोहोरो आविष्कार र विध्वंशको उत्तेजना बोकेर सदा उम्लिरहने कि यस्तो राक्षसी उत्तेजनामा मानव चेतनाले रोक पनि लगाउने ? भन्ने प्रश्न उठ्यो अनि त्यसपछि हाम्रा साहित्यकलाका कर्मद्वारा विनाशक कर्मलाई हस्तक्षेप गर्ने चेतना पलायो ।
रामबहादुर पहाडीद्वारा अनुदित जङ्गबहादुरको जीवन यात्रा पढौँ । बर्दहाको जङ्गलमा सिकार खेल्न जाँदा राणा दरबारले कति प्राणीको हत्या गथ्र्यो, अथवा डा. देवी दुलालको उपन्यास चिफ कर्णेल गजराजसिंह थापा शीर्षक ऐतिहासिक उपन्यासमा यता नागार्जुनको घना जङ्गलमा बेलाबेला तिनै वीभत्स खेल देखिन्थे ।
तर विस्तारै चेतनामा परिवर्तन आउँदो रहेछ । हिजोको नेपाल सरकारले प्रवाह गरेको एक सूचना पढेँ— आखेटोपहार प्रदर्शन गर्न पाइने छैन, गरेमा दण्डित हुन्छ । ठूलाबडा मान्छेले बाघको छाला, हात्तीका दारा , मृगचर्म, ह्वेलका हड्डी, सर्पका कोट, सिंगा चरा आफ्ना बैठकमा गरेका प्रदर्शन अब के होलान् ।
सन् १९६० पछिको आयाम परिवर्तनले विश्वकला साहित्यमा अनेक नवीन दृष्टिकोण जन्माउन थाल्यो, साहित्यसँगै समालोचनामा पनि परिर्वतन आए । ती परिवर्तनको प्रथम दिशाबोधलाई मैले उत्तरआधुनिक विमर्श (२०६४) मा बुझाएको थिएँ । ती कुरा बुझाउने प्रयत्नमा लागेका दुई दशक नाघे ।
आज आफ्नै देशमा परिवृत्त र मानव परम्परालाई जोडेर पुनर्विचार गर्नुपर्ने दिन आएको छ; अब मानव अस्तित्वका लागि सचेत मानवकै तर्फबाट हस्तक्षेप आवश्यक भएको छ भन्ने मूल सन्देशलाई हामी बहुगुणित गराउन चाहन्छौँ । यो वैश्विक–सार्वत्रिक चेतनालाई नेपाली जीवनमा पनि भिजाउनुपर्छ भनेर हामी लागेका छौँ ।
क्याथलिन जोन्सको एउटा नवीनतम् लेखबाट पर्या–सिर्जना (इको राइटिङ) का केही मुख्य बुँदा साभार गरी विषयवस्तुलाई परिभाषित गर्ने प्रयत्न गर्दछु । प्रकृति लेखन विश्व–साहित्यकै मूल प्रवृत्ति थियो । संस्कृत, ग्रिसेलीपछिको अङ्ग्रेजी, जर्मन, फ्रान्सेली प्रत्येक भाषामा प्रकृति लेखनका प्रचुर दृष्टान्त छन् । नेपाली साहित्यमा पनि आधुनिक कालका देवकोटा, लेखनाथ, सिद्धिचरण गर्दै मुकुन्दशरणसम्मको प्रभाव सानो छैन । नेपाली गद्यमा अमर नेम्बाङ लिम्बू प्रथम साधक हुन् । उनको सम्झनाका तरेली नपढी त्यसको उत्कृष्टता बोध हुँदैन ।
विस्तारै नयाँ विश्व जागृत भएपछि यो लेखन कसैको लागि पारिस्थितिक (इकालोजिकल) भयो । पारिस्थितिकी भनेको विज्ञानको एउटा शाखा हो भने कसैका लागि वातावरणीय (इनभाइरोनमेन्टल) विषय बन्यो भने कसैका लागि जैववैज्ञानिक (वायोलोजिकल) । यी तीनवटै धार विज्ञानबाट पलाएका विज्ञानसँगै जोडिने पाटा हुन् । साहित्यले विज्ञान समर्थित मार्गमा हिँड्नु वा हिँडाउनु एक कठिन वा असम्भव लाग्ने कर्म हो । किनकि काव्य कविता वा सिर्जना भन्ने तङ्खव कल्पना प्रसून, कल्पना निर्मित एक स्वतन्त्र काल्पनिकी निर्माणको प्रक्रिया हो । यसमा स्वविवेक वा अन्तज्र्ञान नै ठूलो कुरा हुनेगर्छ तर अब आएर सहजज्ञान बस्ने ठाउँको पनि अलिक जिर्णोद्धार गर्ने बेला आएको छ । मानिसको सिर्जनात्मक चेत, सिर्जना कला र यसको अभ्यासलाई पनि अलिकति अर्जापेर नयाँ पाइन हाल्नुपरेको छ । हाम्रो सिर्जना कलामा अलिकति दिशा परिर्वतन चढाउनुपरेको छ ।
पर्यावरणीय वा परिवृत्तीय वा पारिस्थितिक लेखन भनेको सचेततापूर्वक गरिने सिर्जना हो । यसमा विज्ञानसम्मत तङ्खवलाई विज्ञापनजस्तो हुन नदिई नारा हुनबाट जोगाएर सुन्दर साहित्यमा अन्तर्घुलित गर्ने अभ्यास गर्नुपर्छ । त्यसका लागि विज्ञानका यी शाखाको आशय पनि बुझ्नुपर्छ ।
आज विश्व–साहित्यका भण्डारहरूमा आख्यान, आख्यानेतर गद्य, कविता, नाटक सबै विधामा यी नव तङ्खवको प्रवेश र प्रयोग पाइन्छ । भूदृश्यको प्रस्तुतिमा प्राकृतिक वनस्पति एवम् जीवको समावेशीकरणमा स्रष्टाहरू अलि संवेदनशील हुँदै आएका छन् । वास्वतमा यो कला भनेको दुई अस्तित्व अर्थात् मानव र मानवेतरलाई जीवित मानी समान व्यवहार गर्ने कुरा हो । केही आख्यानकारका दृष्टान्तः जोन स्टेनबेकको ग्रेप्स अब् राथ, जी जे बलार्डको द ड्राउन्ड वल्र्ड, कोम्र्याक ममक्कार्थी को द रोड आदि छन् ।
त्यसैगरी साइलेन्ट स्प्रिङजस्ता नन्–फिक्सन (आख्यानेतर गद्य) कृति छन् जसको चर्चा उत्तरआधुनिक विमर्शमा प्रस्तुत छ ।
पर्यावरणीय गद्य लेखनभित्र वातावरणीय विपत्ति (बाढी, पहिरो, खडेरी) आशाप्रद जलवायुका कथा, प्रकृतिप्रेमी परिवर्तन, पर्यावरणका अग्रणी–वीर आदि आउँछन् ।
तर पर्यावरणीय कविता अझै राम्ररी आइसकेका छैनन् भन्छन् विज्ञहरू किनभने हजारौँ वर्षदेखि प्रकृतिको रमणीय आनन्दका सुन्दर दृश्य वा स्थानको वर्णनलाई नै पर्या कविता भन्दै आयौँ तर हिजोका दिनमा कल्पनामा मात्रै प्राप्त हुने ती कुरा आजको यथार्थमा ती छैनन्, भत्किए, बिग्रिए, मेटाइए । ती स्वर्गहरू शान्त, सुन्दर आदर्श ग्राम्य चित्र कहाँ बाँकी छन् र ! हरिया जङ्गल, कुलकुल बग्ने स्वच्छ मूलधारा, परतिर उफ्रिरहेका खराया र मृगहरू, फलफूलले भरिएका जङ्गल स्वच्छ बतास आजको जलवायु परिवर्तन र ग्लोबल वार्मिङले लोप गरायो, ती स्वच्छता पुस्तकमा मात्रै छन् र कल्पना गर्न पनि मुस्किल पर्दै छ । मानव हस्तक्षेपले पृथ्वी कुरूप बन्दै छ त्यसैले अबको इको–पोएट्रीमा आवश्यक भय, त्रास, घृणा, अवसाद र चेतना मूल थिम बन्दै छन् । यस्ता परिवर्तित थिमहरू नबुझ्ने कवि स्रष्टा पुराना रुमानी चेतनाका प्रकृतिको गीत लेखिरहेछन् जसरी नारीको स्वतन्त्रता वा शक्तिको बाटो नसोची तिनको सौन्दर्यलाई योग्यता मानिरहन्छन् । पुराना रुमानी चेतनाका प्रकृतिको गीत लेखिरहेछन् जसरी नारीको स्वतन्त्रता वा शक्तिको बाटो नसोची तिनको सौन्दर्यलाई योग्यता मानिरहन्छन् ।
अबको इको–कविताले भावुकतामा चढेर पृथ्वी सिँगार्दैन, अब त मानवको पृथ्वी ग्रहसितका अन्तर्सम्बन्ध देखाउँछ । पर्यावरणसित हाम्रो सम्बन्ध जटिल हुन्छ । त्यसकारणले अबका इको–पोएटहरूका सोचाइ नयाँ हुँदै गएका छन् । अब यो स्वेच्छा वा मूडले मात्र हुँदैन, प्रकृतिले खपिरहेको प्रहार, विश्व–वातावरण र सम्भावित विनाशतिर उसको मन सचेत रहनुपर्छ । अबको इको–पोएट्री स्वेच्छाको तृप्ति खातिर गरिने कर्म होइन, यो यो पृथ्वी ग्रह रक्षा अभियानमा लाग्ने एक्टिभिष्ट जस्तो भए सामूहिक वाणी प्रकट गर्ने माध्यम पनि हो । नेपालमा धेरै अघि (२०५२ देखि) सरुभक्तको नेतृत्वमा पोखराबाट संरक्षण कविता आन्दोलन चल्यो । त्यसको योगदान ठूलो छ । अरू पनि अभियान छन् गाउँमा कविता अथवा उतातिरको चियाबारीमा कविता । यस्ता अभियानले मानवमा प्रकृति निर्मलताको भोक जगाउन थालेको सङ्केत गर्दछन् । अबको इको–पोएट्रीमा समवेत स्वर आवश्यक पर्दोरहेछ, सामूहिक अभियान छन् एक्टिभिजम् जस्तै । पाश्चात्य जगत्मै पञ्चमहाभूतलाई यसरी जीवित अस्तित्व मान्न थालेका छन्, सन् २०२१ को पृथ्वी दिवस (अर्थ डे) को निमित्त जेन योलेनले लेखेको कविता हेरौँ—
म भूमि हुँ
भूमि नै मै हो
घाँसको हरेक त्यान्द्रो
महुवाको प्रत्येक बोट
हिलाको प्रत्येक कण

प्रत्येक छेस्को, ढुङ्गो भन्नु
रक्त र मांसपेशी हो
त्वचा र अस्थि हो ।
अनि जसरी मलाई मेरो
प्रत्येक अंश चाहिन्छ
यो शरीर पूर्ण बनाउन
त्यसैगरी पृथ्वी चाहन्छिन्
तृण, शिला र वृक्ष पनि
अनि यहाँ प्रकृतितः पलाउने उद्भिदहरू
त्यसैकारण यो दिन मनाऔँ
त्यसैकारण विश्वभर हामी भन्छौँ
जीवनजस्तै सुदीर्घ
त्यतिकै व्याप्त त्यतिकै स्वतन्त्र
म पृथ्वी हुँ
अनि पृथ्वी भनेको मै हो ।

(स्रोतः योलेन, सन् १९३१ फन्तासी, बाल साहित्य, विज्ञान उपन्यासकी अमेरिकी स्रष्टा)
नेपाली साहित्यमा यस दिशाका उपलब्धिहरू थोरै छन् । सर्वप्रथम मोहन कोइरालाको महाकाव्य सिमसारका राजदूत (२०६४) मा चितवन क्षेत्रका पोखरी तलाउ पुर्ने र जोगाउनेमा सङ्घर्ष चल्छ । पुरेपछि त्यसले भयङ्कर विनाश निम्त्यायो । तर टड्कारा—दुई कवितामा र एक सिद्धान्तमा तीन विद्यावारिधि भए, दुई एमफिल अरू हुँदैछन् । पाठ्यक्रमतिर सचेतता बढ्दैछ । दुई कथा सङ्ग्रह भए—विजय हितान र डा. देवेन सापकोटाका, दुई उपन्यास आए सर्बजा, हंस र अनायोजित तेराखको नामक उपन्यास सर्बजा एक क्लासिक कृति हो, जहाँ वृक्ष–वनस्पति सचेत भएर जीवनलीलामा भाग लिन्छन् । यो एक अति शक्तिशाली प्रथम नेपाली उपन्यास हो । डा. सञ्जिव उप्रेतीको हंस र अनिता पन्थीको अनायोजित पनि क्रमशः पक्षी जगत् र यान्त्रिक विस्वका मनोविज्ञान हुन् । अरू पनि स्रष्टा लेखक हुनुहुन्छ, कवितामा अविनाश श्रेष्ठ, बाल–साहित्यमा डा. तारानिधि भट्टराई, यसपालि प्रकाशित भए— कवितामै कृष्ण बाउसे । अरू पनि कति बालसाहित्यकार यसतर्फ समर्पित हुनुहुन्छ तर हाम्रो दृष्टि छरिएर एकमुष्ठ नयाँ कुरा देख्न सकेको छैन अब जेल्टाल्ट (समग्रता हेर्ने) दृष्टि चाहिन्छ ।
भारतीय नेपाली साहित्यका विद्वान् भाइ देवचन्द्र सुब्बाले यही क्षेत्रमा प्रथम विद्यावारिधि आर्जन गरेका छन्, मुक्ति बरालका केही कृतिमा यो सचेतता प्रस्तुत छ । बाल साहित्यमा त अघिदेखि नै यो चेतना थियो । महाकविको ‘नटिप्नू हेर कोपिला, नछुनू पाप लाग्दछ’ एक क्लासिक उदाहरण हो । तर अहिलेको नेपाली विद्यालय पाठ्यक्रमबाट नैतिक शिक्षाभन्ने विषय नै उखेलेर फ्याँकिएकाले यस राष्ट्रलाई ठूलो नोक्सान भएको छ । हाम्रा शिशुहरू पशुप्राणी, वृक्ष–वनस्पति, पक्षीमा सबैप्रति प्रेम सद्भाव राख्नुपर्ने अनेक नीति कथाले पाप र धर्मको फलहरूको सानैदेखि दिने जुन माध्यम थियो त्यो उखेलिएको अवस्था छ । यसले गर्दा पर्यावरणीय चेतना भर्ने मस्तिष्क प्रतिदिन शुष्क र रिक्त हुँदै छन् । टाढा अपरिचित विश्वका प्राणी, वनस्पतिका नाम र चित्र देखाउने शिक्षा बढेको छ । ससाना नानीहरूलाई आफ्नो देशको भूगर्भीय ज्ञान दिने बाल यात्रासाहित्य अथवा चियाखेती चिनाउने दिलबहादुर थापाको सचित्र पुस्तक कसरी देशको माटो टेकेर पलाएका छन् ?
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अङ्ग्रेजी विभागका प्रमुख प्रा. जीवलाल सापकोटाले मानव कर्मले पर्यावरणमा हस्तक्षेप गरेपछि पृथ्वी कसरी जीवनहीन हुन जान्छ, मानिस कसरी असुरक्षित हुन्छ भन्ने विषयमा अन्तर्राट्रिय दृष्टान्तमा विद्यावारिधि गर्नुभयो । परिणामस्वरूप अहिले त्यो विभाग नै उहाँको नेतृत्वमा पर्यावरण अध्ययन अनुसन्धानको उर्वर स्थल बनेको छ । त्यसो त चालीस वर्षअघिको पाठ्यक्रममा विश्वपर्या साहित्यका पाठ राखी देशलाई प्रथम पाठ पढाउने प्रा. श्रीधर लोहनी लगातका अङ्ग्रेजी गुरुहरू अनि पछि इको कवितामा प्रथम विद्यावारिधि गर्ने प्रा. अमरराज जोशीहरूले आरम्भ गरेको लिगेसी आज अघि बढ्दै छ । नेपाली विभागको यतातिर दृष्टि पुगेको छैन।
यतिखेर साइ–फाइ (विज्ञान आख्यान) जस्तै क्लाइ–फाइ (जलवायु आख्यान) लेखिँदै छन् । कुनैमा समुद्रै सुकेको, कुनैमा उच्च भूमि डुबेको, कुनैमा अधिक तापले पृथ्वी डढेको, कुनैमा हिमशैल पोखिएर जगत् सकिएको, कुनैमा सौर्य–आँधीले सृष्टिको अन्त्य गराएको कल्पना आउँछन् । यताका दशकमा मानिसले प्रकृतिलाई आफ्नो चालमा चल्न दिन छोड्यो, त्यसैले पर्यावरणीय कारणले सन्त्रासहरू पलाउन थालेका छन् । राम्रो गरौँ भन्दा मानिसले नसुनेपछि पृथ्वी ग्रह विनाशै हुन सक्ने सन्त्रास देखाउँछन् । आजको प्रविधिले राक्षसी शक्ति आर्जन गरेको देख्ता ती लेखकले वा मानव कल्पनाले सिर्जेका भय पनि यथार्थ भएर घट्ने हुन् कि पनि लाग्छ ।
इकोफिक्सनभित्र पर्यावरणीय आख्यान, हरित आख्यान, प्रकृति–उन्मुख आख्यान आदि विभाजन छन् । खास गरी पर्यावरणीय समस्या र मानिस अनि परिवेश (पारिस्थितिकी) को सम्बन्धका कुरा आउँछन् । धेरै कथा त कल्पित भूमिमा रचिएका छन्, आखिर आख्यान भनेको फ्यान्ट्यासी (कल्पना) नै हो जुन यथार्थको नजिक हुन्छ, यथार्थकै सूक्ष्म वा बृहत् रूपमा हुन्छ ।
नेपाली सन्दर्भको कुरा गर्दा पर्यावरणीय साहित्य सिद्धान्तको बीजारोपण उत्तरआधुनिक विमर्श (२०६४) मा भयो । बेलायती परिवेशमा त्यही विधा पढेर त्यही कर्म गरेका स्रष्टा विजय हितानले नेपाली परिवेशका लागि पर्यावरणीय साहित्यमा खेल्न थालेको एक दशक नाघ्यो । आजभन्दा आठ वर्ष पहिले विश्व नेपाली साहित्य महासंघअन्तर्गत यो विषय शाखाको स्थपना गरी विजयले नेतृत्वको काँध थापे, हामीले घान हाल्यौँ, टेवा लगायौँ । बेलायतमा वार्षिक सम्मेलन सुरु भए फेरि कोरोनाकाल पस्यो र ती सम्मेलन भर्चुअल भए तापनि प्रकाशन, प्रतियोगिता, पुरस्कार आदि निरन्तर रहे ।
यो आठौँ वर्ष लागेपछि यसपालि पृथ्वी दिवसको नजिकै यो अन्तर्राष्ट्रिय सम्मेलन राख्यौँ । अब हामीसँग पर्या–साहित्य स्रष्टाको समूह पनि ठूलै हुन लागेछ । विजय भाइले अनेक जुक्ति र त्यागको बलले सदस्य जोड्दै छन् । यसपालिदेखि संस्थालाई अलिक ठूलो पार्ने र एउटा स्थायी कोष जम्मा गर्ने आकाङ्क्षाको पनि बीजारोपण गरेका छौँ ।
भारतीय नेपाली साहित्यअन्तर्गतका पर्या साहित्य विषयका अध्ययन अनुसन्धानको खोजी गरी त्यसको एक विहंगम चित्र बनाएर टाढादेखि कार्यपत्र प्रस्तुत गर्न आइपुग्ने श्री ज्ञानबहादुर छेत्री एक प्रथम अभियन्ता हुनहुन्छ । उहाँलाई अनेक धन्यवाद छ । उहाँको नवीन कृति निपठनमा सुकरातका पाइला यस्तै नव चेतनाको एक सङ्ग्रह वा परिचय पुस्तिका हो । यो सम्मेलनले देखाएको छ– पर्यावरण विषयमा विद्यावारिधि गर्ने नेपाली स्रष्टामध्ये सिक्किम विश्वविद्यालयका डा. देवचन्द्र सुब्बालाई यहाँ उपस्थित गराउन सकिएन । सिलिगुडीका पर्यावरण अभियन्ता भाइ श्री राजा पुनियानीको पनि यात्रा–जोग मिल्न सकेन ।
यसपालिको प्रस्तुत सम्मेलनले नेपाली साहित्य समग्रमा पर्यावरणीय सिर्जनाको स्वरूप कस्तो बन्दै छ भन्ने एउटा मोटामोटी खाका तयार भएको छ । यसले आउने अनुसन्धाता वा स्रष्टालाई ‘पूर्व–कार्यको स’ गर्न थाल्ने अध्ययनको प्रारमम्भिक रूपरेखा प्रस्तुत गर्ने छ । यसका लागि भारतीय नेपाली साहित्यतर्फ ती ज्ञानबहादुर छेत्री र नेपालतर्फ विजय हितान, डा. गीता त्रिपाठी, भुटानका प्रतिनिधि विद्वान् डा. शिवराज भट्टराईका अध्ययन मार्ग–निर्देशक प्रयत्न हुने छन् । यो गहिरो र सर्वाङ्गीण चित्र त होइन । यो विषय भर्खर टुसाउँदै छ, त्यसैले आजका लेखकलाई पर्यावरणीय साहित्यका प्रकार, ढाँचा, शैली र यसका समालोचनाबारे गोष्ठी सम्मेलन कार्यशालाको विस्तार आजको आवश्यकता छ किनभने वैज्ञानिक दृष्टिकोण र साहित्यिक शैलीको मिलान गाह्रो विषय हो । लेखक विषयमा बाँधिन्छ । वैज्ञानिक क्षेत्रको ज्ञान पुगेन भने त्यो सिर्जना अस्वाभाविक हुन्छ । अन्य लेखनझैँ मनको भावना प्रकाशनले पुग्दैन । विज्ञानतिर पनि पर्यावरण नवविकसित शाखा हो, साहित्यतिर त्यस्तै नयाँ ।
भारतीय नेपाली साहित्यमा उत्तरआधुनिक समालोचनाका आधारहरू (सन् २०२२) शीर्षक सिद्धान्त कृति लेखेर ज्ञानबहादुर छेत्रीले पूर्वमा आसामसम्म नवप्रकाश पु¥याउनुभयो । गतवर्ष त्यसले सिक्किमको तुलसीराम कश्यप पुरस्कार प्राप्त गर्नुभयो । त्यो ठूलो गौरवको कुरा हो । त्यसैगरी सम्बन्धित विषयको सैद्धान्तिक ज्ञान गहिरो भएका विद्वान् भाइ प्रा. देवेन सापकोटा आसाम क्षेत्रका प्रथम पर्या स्रस्टा हुनुहुन्छ । अघिल्लोपालि उहाँको शक्तिशाली कथासङ्ग्रह आयो भने यसपालि एक कवितासङ्ग्रह प्रकाशित गरी यो अमूल्य उपहार लिएर नेपाली चिन्तनको मूलभूयिमसम्म आइपुग्नुभयो, यो ठूलो कुरा छ । वास्तवमा उत्तरआधुनिक आयामका परिवर्तन मोडबारे ज्ञान नभएसम्म नयाँ बाटो हिँड्ने रहर पनि कृत्रिम हुनजान्छ । त्यसैले सबैले उत्तरआधुनिक देउरालीका सबै देवीदेवतालाई पाती चढाएपछि मात्र हाम्रो नवमार्गको यात्रा सहज र सर्वस्वीकार्य हुने छ ।
त्यसैगरी हाम्रा स्थापित स्रष्टा कवि श्री कृष्ण बाउसेलाई बधाई छ किनभने उहाँले एक नवीन पर्या कविता कृति लोकार्पण गराई यस सम्मेलनलाई नै सम्मानित गर्नुभयो । यस्ता कर्मले आगामी वर्षदेखि पर्या सिर्जना प्रकाशनको यो पर्व स्थापित हुने छ । नयाँ कविलाई यो एक आह्वान हो । एक मात्र विदुषी स्रष्टा जसले यो विषयमा विद्यावारिधि आर्जन गरिन् उनको अर्थात् डा. गीता त्रिपाठीको प्रस्तुतिले हामी हर्षित छौँ ।
आज विमोचित प्रत्येक कृतिको बराबर महङ्खव छ, सर्वाधिक महङ्खवको छ पर्या साहित्य सिद्धान्त र सिर्जना । यसले विश्वविद्यालयस्तरीय अध्येता शोधार्थी अनि यतातिरको अभिरुचि राख्ने पाठक स्रष्टाको निमित्त यो पुस्तक यस विषयको ठूलो वर्णमाला हुने छ ।
आजको सम्मेलन खातिर कार्यपत्र प्रस्तुतिका लागि भुटानको विश्वविद्यालयबाट उपस्थित भइदिने भाइ डा. शिवराज भट्टराईप्रति हामी आभारी छौँ । भारत आसामबाट प्रतिनिधित्व गर्नुहुने श्री ज्ञानबहादुर छेत्री तथा डा. देवेन सापकोटाद्वयले सिद्धान्त र सिर्जनाका कृति तयार पार्दै त्यहाँको नेपाली साहित्यमा यो नवीन् विषय चेतनाको दियो सल्काइरहनुभएको छ ।
नेपाली शोधार्थीहरूमध्ये प्रा. अमरराज कैनीले आजभन्दा बीस वर्ष अघि पर्यावरण र कवितामा विद्यावारिधि गरे, त्यसपछि जीवलाल सापकोटाले । उनीहरू दुवैजना अङ्ग्रेजी साहित्यका विद्वान् हुन् । डा. सापकोटाको सन्दर्भ भारतलगायत अनेक क्षेत्रको छ जहाँ अनेक हस्तक्षेपका कारण मानिसको पारम्परित जीवनमा ठूलो आघात छ । डा. कृष्णप्रसाद भण्डारी पनि अङ्ग्रेजीकै शोधार्थी हुन् । उनले ऋग्वेद पुगेर प्राचीन वातावरण सिद्धान्तको व्याख्या गरे । उनी मेरा यस विषयका प्रथम विद्यावारिधि शोधार्थी हुन् । आज धरानदेखि यहाँ आएर कार्यपत्र प्रस्तुत गर्नु सानो कुरा होइन ।
यसपटकको सम्मेलनले केही महङ्खवपूर्ण उपलब्धि स्थापित गरेको छ, ती हुन्ः–
क) यस विषयको व्यापक सम्मेलन
ख) कृति प्रकाशन/विमोचन
ग) कार्यपत्र प्रस्तुति र छलफल
घ) रचना वाचन/सम्मान
यस्ता कर्मले हामीलाई अब अघिको बाटाको रूपरेखा कोर्न बाध्य पार्दै छ । अब उप्रान्त एउटा ट्रस्ट बनाउने, पर्यावरण साहित्य र सिद्धान्तका कृति प्रकाशनमा लेखकलाई सहयोग गर्ने, यस विषयका एमफिल, पीएचडी शोधार्थीलाई केही सहयोग पु¥याउने यस्ता केही लक्ष्य राखेका छौँ । त्यसका साथै पर्या–साहित्यका कृतिको अनुवाद अघि बढाउने र नेपाल–भारतका स्रष्टाको बेलाबेला यस विषयको सम्मेलन, भेटघाट, गोष्ठी, आदन–प्रदान अघि बढाउने भन्ने लक्ष्य छ । यी हाम्रा परिकल्पना हुन् । तिनलाई यथार्थमा परिवर्तन गर्न त यहाँहरूकै साथ र सहयोग आवश्यक पर्ने छ । यसतर्फ हाम्रो कर्मलाई होस्टेमा हैँसे गर्ने साहित्य पोस्टका सम्पादक श्री अश्विनी कोइराला भाइ र त्यस परिवारप्रति हामी आभारी छौँ । सबैभन्दा ठूला हाम्रा अनुज अभियन्ता श्री विजय हितान कहिल्यै नथाकून् भन्ने प्राथर्ना गर्दछु । उनको अथक सङ्घर्ष, त्याग र समर्पणले यो विषयले सानो रूपरेखा स्थापित गर्न सफल हुँदै छ ।
तर पर्या–साहित्य भनेको विज्ञान र मानविकी (कला) को मिलन बिन्दु भएकाले विज्ञानका तीनवटा (माथि भनेका) शाखाको पनि अध्ययन गरौँ, तिनको र मानव समाजको अन्तर्सम्बन्धको अध्ययन गरौँ, नयाँ कुरा पढौँ, उत्तरआधुनिक आयामको अध्ययन गरौँ अनि मात्र नयाँ पाइला सार्थक हुने छन् । धन्यवाद !

२७ जेठ २०८० (१० जून २०२३)
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी
काठमाडौँ ।