विजय हितानलाई मैले निकै अघि बेलायतको फोक्सटोनमा भेटेँ । त्यो भेट केवल साहित्यिक उद्देश्यको थियो । हाम्रो त्यो भेटबारे मैले अनेकौँपल्ट जगत्लाई अवगत गराइसकेको छु । त्यसकारण त्यो प्रसङ्ग यहाँ दोहोर्‍याउनु आवश्यक लाग्दैन । विजय उनकै शब्दमा एक बेल्पाली (बेलायती नेपाली) अतीतका लाहुरे तर वर्तमानमा अत्यन्तै सक्रिय नेपाली साहित्य स्रष्टा तथा पर्यावरण साहित्यका संयोजक र अभियन्ता हुन् । उनीद्वारा लिखित र सम्पादित कृतिहरूले सो जनाउने गर्दछन् । हरेक वर्षका नयाँ साहित्यिक योजनालाई मूर्तरूप दिँदै उनी निरन्तर सक्रिय रहेका छन् ।

उत्तरआधुनिक कालले साहित्य सिर्जनाका एवम् समालोचनाका अनेक नव–धारा ल्याएको छ । विजयले नेपाली साहित्यको एक नवीनतम् (उत्तरआधुनिक) हाँगो पक्रेको कुरा, त्यसैलाई स्थापित गराउन समर्पित भएको कुरा अब सबैलाई अवगत भइसकेको छ । सन् २०२० लाई प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको प्रथम पर्यावरणीय सेमिनार यहाँ काठमाडौँमा गराउन पाएको भए विजयको यश कीर्ति ‘ब्लु प्लानेट’ अझै टाढा पुग्ने थियो । सो प्रस्तावलाई यथार्थ रूपले नेपाली आँगनमा गर्न कोभिड– १९ महामारीको कारणले असमर्थ भए पनि बेलायतमा आयोजित परोक्ष यथार्थवाद (भर्चुवल जुम) मा आधारित कार्यक्रम हामी सबै जुटेर सम्पन्न गराउन सक्यौँ । विजयद्वारा सम्पादित ‘स्वच्छन्द सुसेलीहरू भाग— २’ पनि सो प्रयत्नको साक्षी रहला, जो प्रकाशित भैसकेको छ ।

विजयको यो दोस्रो कथा सङ्ग्रह ‘ब्लू प्लानेट’ भित्रको शीर्षक कथा ‘ब्लू प्लानेट’ सबैभन्दा पहिला ‘नेपाली लिङ्क’ अनलाइनमा निस्कियो । नेपालमा पनि यो नवीन (इको) विषयलाई चिन्ता गर्नेहरूले निकै रुचाएर पढे । टिप्पणी गरे । विजयको यस कथाले वर्तमान विश्वमा बेलायतले नेतृत्व गरेको प्रकृति चिन्तनको एक विश्वव्यापी सन्देश सञ्जालबारे अलिकति जानकारी दिन्छ । डेभिड एटेन्बोरोले सन् २००१ मा निर्माण गरेको ‘ब्लू प्लानेट’ नामक नेचर डकुमेन्ट्री, त्यसपछि आएको ब्लू प्लानेट २, प्लानेट अर्थ, फ्रोजन प्लानेट प्रत्येकले पृथ्वीकै अस्तित्वको चिन्ता गरेका छन् । यिनकै योजक तत्त्व— जल, थल, नभ, तेज, आकाशको । यसले प्रेरित भई विश्वले नयाँ ज्ञानको ढोका खोल्दै छ । यस्तै अभियानबाट प्रेरित भई उठेकी बीस वर्षिया स्वेडिश युवती ग्रेटा थुन्बर्ग पनि यतिखेर विश्वप्रसिद्ध भएकी छन् । म सबै नयाँ चेतनाका लेखकलाई यो साइटमा प्रवेश गर्न अनुरोध गर्दछु । परम्परामा रमाइरहेकालाई झकझक्याउन मात्र सकिन्छ, ब्युँझाउन सकिन्न । यथास्थितिवादीहरू मकाएका हाँगामा पिङ थापेर मच्चाइरहेका छन् ।

इको–लेखन विषयको विश्वतरङ्गलाई बुझेर व्यापक प्रयोग गर्ने प्रथम नेपाली विजय नै हुन् । यसलाई एक साहित्यिक अभियानको रूपमा अघि बढाएर अनेक स्रष्टासम्म पुर्‍याउने व्यक्ति पनि उनै हुन् यद्यपि यसको फेदमा ‘उत्तरआधुनिक विमर्श’ लेख्ने म छु, त्यस कुरालाई उनले ससम्मान उल्लेख गरेका छन् । सो कृतिले यसअघिका हाम्रा आरम्भ बिन्दु केकस्ता छन्, अलिकति परिचय दिने छ । त्यसैले म उनकै साथमा रहेको छु ।

‘बेल्पाली साहित्य’ अघि बढ्दै अब त एक बलियो उपकेन्द्रमा परिणत भएको छ । प्रकाशोन्मुख ‘जगदम्बा नेपाली भाषा साहित्यको बृहत् इतिहास’ ले त्यो कुरा जनाउने छ । बेलायतमै बसेर डायास्पोरा साहित्यको सैद्धान्तिकरण गर्ने रक्ष राई र मिजास तेम्बे, युद्ध साहित्यको विधालाई बढाउने पनि रक्ष, नरेश, गणेशलगायत थुप्रै योद्धा–स्रष्टा पनि त्यहीँ छन्, पर्यावरणीय साहित्यका सर्जक चेतना पनि त्यहीँ । त्यसकारणले मूलधारीय नेपाली साहित्यले भुल्न नहुने एक शाखा बनेको छ बेलायत । अरू स्वतन्त्र रूपले अस्तित्वमा आएका नयाँ पुराना एक दर्जन साहित्यिक संस्था पनि त्यहीँ छन् ।

प्रकृति संरक्षण सन्देशको प्रवाह नेपालमा आंशिक छ, अल्प मात्रामा छ । विश्वविद्यालयमा अङ्ग्रेजी पाठ्यक्रमले मात्र पढाइरहेको छ । सृष्टि भएका सम्पूर्ण तत्त्वको अति प्रयोग, अनुचित प्रयोग, दुरूपयोग, त्यसले उत्पन्न गर्ने गडबडी, असन्तुलन; त्यसले उत्पन्न गर्ने विनाश–भय विविध रूपमा छन् । विजयले यसरी यस ‘ब्लु प्लानेट’ मा प्रत्येक कारक तत्त्वलाई थिम बनाएर बेग्लबेग्लै कथामा समावेश गरेका छन् । जस्तै पहिलो कथा ‘पँधेरीले लुकाएको अँध्यारो कथा’ मा पानीको कारणले भिन्न संस्कृतिको जीवन शैलीमा समाहित हुन नसक्नाले एक युवतीको नवविवाहित जीवन ध्वस्त भएको कथा छ । त्यसो त यसमा नेपाली जीवनका अरू धेरै पक्ष र पाटा छन्– मधेश/पहाडको सांस्कृतिक अनि प्राकृतिक अन्तर, त्यहाँको जीवन–शैलीको अन्तर, समग्रमा जन्मभूमि छाडेर नवीन कर्मभूमि खोज्दै अन्यत्र लाग्नुपर्ने नेपालीको नियति र त्यसले उत्पन्न गरेका पारिवारिक-सामाजिक विखण्डन । एउटा पानीको धारो मात्र नजिक भइदिएको भए अरू धेरै सङ्कट टर्ने थिए भन्नु जस्तो । पहाडका अधिकांश बुहारीले भोग्ने अनेक पीडामा एक यही हो नजिकमा पेय जल नहुनु, तिनका धारा कुवा स्रोत सुक्तै जानु ।

दोस्रा कथा ‘सहरले पन्छाएकी बुहारी’ मा पनि जलवायु प्रदूषणको प्रहार–भोक्ता एक नारी नै छन्, ती विदेशी युवती जसको नाम छ ग्रेटा थुन्बर्ग ‘थापा’ । विवाह गरेर काठमाडौँ परिवेशमा ल्याइएकी ग्रेटा यहाँको खपिनसक्नु, हेरिनसक्नु वातावरणले, फोहर मैलाले बिरामी परिन् । कारण छ प्रकृतिमा अति असन्तुलन र अति प्रदूषित वायुलाई पचाउन नसक्ने पश्चिमी शरीर ।

प्रा.डा. गोविन्दराज भट्टराई

अर्को कथा ‘कार्बन फुटप्रिन्ट र उत्सर्जित आशङ्का’ मा चाहिँ औद्योगिक मुलुकको सन्दर्भमा अथवा तिनका महानगरमा उत्पन्न जलवायु प्रदूषणलाई न्यून गर्ने एक नैतिक प्रेसर छ । कतै जाँदा प्रत्येक व्यक्तिले निजी साधन नलगी दुई जनामध्ये एकले लाने । बाटाको वायु प्रदूषणको मात्रा कम हुन्छ । तर प्रस्तुत कथामा त्यसो गरेर नारी–पात्रलाई लिफ्ट दिँदा पुरुषको घरमा (पत्नीको मनमा) सन्देह उत्पन्न हुन्छ । यसरी यस कथाभित्र पर्यावरण र नारीलाई जोडेर हेर्ने एक नवीन विषय छ– इको फेमिनिजम् । हामीले पनि त्यसरी प्रदूषक ग्यास उत्सर्जनको व्यवस्थापन गर्नुपर्दोरहेछ भन्ने चेतनाको सुन्दर कथा हो यो । साथै वायु प्रदूषण न्यूनीकरणको एक उपाय यस्तो रहेछ भन्ने दृष्टान्त पनि हो । यस्तो कुराको व्यवस्थापन कसरी गरिँदोरहेछ भन्नेबारे पनि हामीलाई ज्ञान हुने छ । लेखकले यहाँ कुशलतापूर्वक एक प्रेम–कथालाई पनि जोडेका छन् ।

अर्को ‘गहिरो पहिरो’मा बेथितिले विनाश गरेको जङ्गलका कारण पहिराले गाउँ बग्दो दृश्य देखाउने कथा हो । यसरी जलवायु परिवर्तनका कर्महरूमा मानिस आफैँ संलग्न छन् । त्यसले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि उत्पन्न गरेर मानिसलाई छोप्तै छन् ।

विजयका कथामा नारी सम्बन्ध र प्रेम नै एक ‘अण्डरकरेन्ट थिम’ (प्रच्छन्न मनोभाव) बनेर रहेको हुन्छ । प्रेम तत्त्व एउटा ‘लुब्रिकेन्ट’ तेल रहेछ जसले जुनसुकै पनि कथालाई नठोक्काई अघि सार्छ ।

‘बाग्मती ब्लूज’ शीर्षक कथाको पृष्ठभूमि काठमाडौँ, यसले भोगेको अति प्रदूषण, दुर्गन्ध र असह्य स्थितिमा सुधार ल्याउने प्रयत्न हुन् । भविष्यको सुन्दर स्थितिको कल्पना मिश्रित गरेका छन् । अन्त्यमा ‘इको डेटिङ’को एक दृष्टान्ततर्फ पाठकलाई सङ्केत गरेका छन् ।

कुनै कथा यथार्थ घटनामा आधारित छन् । दुइटा प्रत्यक्ष छन्, ‘गैँडालाई चार वर्ष’ र ‘पर्यावरण शहिद’ । अरू पनि यथार्थ स्थितिकै प्रतिविम्ब हुन् तर कल्पनाको प्रचूरताले नयाँ फ्लेवर मिसाइएका कुनै घटनासँग नजोडिएका ।

‘गैँडालाई चारवर्ष’ निकुञ्ज संरक्षक कमलजङ कुँवरले वन्यजन्तु संरक्षणार्थ गरेको संघर्ष, भोगेको जेलनेल र सुराकद्वारा अपराधी पक्रिने तरिकाजस्ता सत्य घटनामा आधारित कुरा छन् । कलमजङको उक्त कृति अङ्ग्रेजीमा अनुवाद गर्ने अभिभारा मलाई प्राप्त भएको थियो । अपराधीको अन्तर्राष्ट्रिय जालो छ जँहा नेपाल एक स्वर्णभूमि मानिन्छ । त्यसैले गर्दा गैँडा, हात्ती, बाघ, भालु, मृग, पाण्डा जस्ता दुर्लभ वन्य जीवजन्तुले पूरा आयु बाँच्न पाउँदैनन् । बेलाबेला इको–चेतनाका संवाहक मानव सदस्य पनि मारिन्छन् चोर शिकारीजस्तै । ‘पर्यावरण शहिद’ त्यस्तै यथार्थ घटनाको कथा हो । दिलीप महत्तो नामक एक पर्यावरणीय चेतनाका संवाहक नेपाली युवाको हत्या अपराधमा आधारित यो कथा लेखिएको छ । वनजङ्गल कब्जा गर्ने एक थरी, पानीका मालिक एकथरी, बालुवा बगर ढुङ्गाखानी कब्जा गर्ने एकथरी— मर्नेहरू निर्दोष र निरपराधहरू; सबै गुण्डा र तस्करले सञ्चालित छ यो देश । त्यसैले दिलीप महतोको प्राण लियो ।

प्रकृतिविरुद्ध जाने र प्रदूषणको खेती गरी खाने त बेलायत जस्ता उन्नत मुलुकमा पनि छन् । यही यथार्थ ‘प्रदूषणको अनुगमन’ कथामा घटेको पाइन्छ । लेखक आफैँ पनि एक अनुगमनकर्ता हुन् ।

’भुइँचालोले भत्काएको भट्टी‘ कथामा स्वैरकल्पनाको प्रचूर प्रयोग छ । यसले विजयको आख्यानकारिता शिल्प धेरै उच्च देखाउँछ । यो एकपल्ट छापिएको कथाले धेरै पाठक–प्रतिक्रिया पनि कमाएको थियो । यस्ता केही कथामा उनको प्रयोगशील स्रष्टाले धेरै नौला काम गरेको छ । सबै कथा सकारात्मक छन । सबै आफ्ना देशको दशा सम्झेर यसको पर्यावरणीय स्थिति सम्झेर लेखिएका छन् । एउटा कथा वृक्षारोपणमा छ, अर्को कथा पाण्डा संरक्षणमा । एक बघिनीको मलामी जान बेलायतदेखि नेपालमा आइपुग्ने पात्र उनै विजय हुन् । यता बाघ–बघिनी मार्ने र मर्ने काम निरन्तर छ । चितवन राष्ट्रिय निकुञ्जबीचको राजमार्गमा एक बघिनी रक्त आहालमा लडेकी समाचारमा पढदा मैले त्यतिखेर विजयको ‘बघिनीको शोकसभा’ कथा सम्झेँ । प्रस्तुत यस कथाले प्राणी जगत्प्रति हाम्रो करुणा र सह–अस्तित्वको खाँचो देखाउँछ भने अर्को एक कथामा बाढीको दुष्परिणाम छ । अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिसँग जोडिएको खाद्यान्न उत्पादन चक्र छ, तीसँग जोडिएका आहारा सिक्री पृथ्वी र मानवको स्वास्थ्य र आयु जोडिएको छ । मानिसका कृत्य नै उसको र समस्त पृथ्वीको आयु निर्धारक तत्त्व हुन् । मानव क्रियाकलापले प्राकृतिक सन्तुलन विपरीत बनायो भने उसको समाप्तिको राजमार्ग त्यही हुने छ । प्रत्येक त्यस्ता कर्मका परिणाम देखाउँदै विजयले बेग्लाबेग्लै कथामा उनेर यो सङ्ग्रह बनाएका छन् ।

विजय एक सफल कथाकार हुन् । उनले एक वैश्विक चेतना ल्याएर आफ्नै देशको परिस्थितिसँग जोड्दै देखाएका छन् । सिद्धान्तले जुन कुरा चिन्ताका विषय हुन् भन्छ ती आफ्नै देशमा व्याप्त भएको देखाउँछन् । चेतनाको अभावले अनि विभिन्न प्रकारका चोरीशिकारीले सरकारबाटै प्रोत्साहन पाउने, हुने, राजनीतिको हस्तक्षेपकारी भूमिकाले गर्दा, माओवादीको सञ्चालित लामो अराजक आतङ्कले गर्दा देशको स्थिरता भित्रैसम्म खल्बलियो । त्यसमाथि सरकारको नित्य अस्थिरताले गर्दा पर्यावरण संरक्षणतर्फ केही हुन सकेको छैन । विजयले यहाँ प्रस्तुत गरेका तिनै चिन्ताका दृष्टान्तले पाठकमा नौलो चेतना र स्रष्टाज्ञात जगाउँछन् ।

धेरै अघि बि. स. २०४० को दशकदेखि नेपालका अङ्ग्रेजी गुरुले पर्यावरण विनाशक चित्र बोकेका पाठहरू आई.ए., बी.ए.देखि एम.ए.सम्म समावेश गर्नुभयो, इको राइटिङ र इको क्रिटिसिजम सिकाउनुभयो; फेमिनिजम्, डायस्पोरा स्टडिजजस्ता नवीन चेतना सिकाउनुभयो । तर अङ्ग्रेजीमा पढेको पाठले सम्झाएको जगत् अर्कै हुँदोरहेछ, अरू देशका कुरा होलान् भनिन्छ, अमेजनका रेनफरेष्टको कुरा होला भनिन्छ । नेपाली पाठ्यक्रममा त्यस्तो नवचेतनाले ठाउँ पाएको छैन । नेपाली पाठ्यक्रममा विजयले लेखेका यस्ता नेपाली कथाले पनि स्थान पाउने हो भने अथवा अमर नेम्बाङ लिम्बूका इको–निबन्धले प्रवेश पाउने हो भने मात्रै नेपाली जगत्मा पनि पर्यावरणीय साहित्यको परिचय प्रवेश हुने थियो र त्यसका आधारमा पर्यावरणीय समालोचनाले पनि लेखनका सजिला (परिचित) उदाहरण दिन पाउँथ्यो होला । विश्वविद्यालयको सङ्ख्या सात पुग्यो तर यस्ता विश्वका नवीनतम् कलाचिन्तन हाम्रा पाठ्यक्रममा परेका छैनन् ।

विजयको पहिलो कथासङ्ग्रह ‘थकित पृथ्वी’ यस्तै थिममा थियो परन्तु त्यसमा कलातत्त्व अवश्य पातलो र कमजोर थियो । कतिमा स्वाभाविकता कृत्रिम र अलिक सिकारुको जस्तो थियो । ती दोष ‘ब्लु प्लानेट’मा हटेका छन् तर अझै पनि कताकति कलातत्त्व र कल्पनापक्षले विजय प्राप्त गर्न नसकेका कति कमजोर ठाउँ भेटिन्छन् । तर कथा लामा छन् । पर्याप्त तृप्तिकर । लघुकथाले नेपाली कथाको आदर्श रूपलाई बोन्साई ठुटामा परिणत गर्न लागेको बेला छ । यस्तो बेला विजयका लामा, तृप्तिकर कथा पढ्न पाउँदा मन प्रशन्न हुन्छ । तिनले सन्देशलाई पूर्ण रूपले प्रस्तुत गर्दछन् ।

भौगोलिक रूपले एक दूरभूमिमा बसे तापनि स्वदेशकै चिन्ताले गलेका विजयका कथाले भन्छ, एक डायास्पोरिक नागरिकबाट ‘ब्रेन–गेइन’ भएको उदाहरण यही हुने छ । उनी नेपालमै रहेका भए देशको यत्रो चिन्ता हुने थिएन, उनी नेपालमै बसेका भए यो नवीन ज्ञान आर्जन गर्न अवसर मिल्ने पनि थिएन ।

वर्तमान विश्व इको–राइटिङमा समर्पित छ, इको–चिन्तामा डुबेको छ । सन् २०१५ की नोबल विजयी अलेक्सिएभिचलाई पढौँ । उनले रुसको चेर्नोविल आणविक विष्फोट (सन १९८६) को भयावह चित्र विश्वसामु ल्याइन् र नोबल पुरस्कार प्राप्त गरिन् ।

हाम्रो वर्तमान विश्वपरिस्थिति कम भयावह छैन । अमेजनका जङ्गलदेखि गहिरा प्रशान्त सागर, अग्ला हिमशैलदेखि तलका तृण–भूमिहरू, समथर मैदान र मरुभूमिहरू प्रत्येकले परिवृत्तीय प्रणालीमा विखण्डन भोग्दै छन् । यस्ता अनेक दुष्कर्मको योगले शायद कोरोनाजस्ता ठूलाठूला काललाई प्रकृतिले जन्माइरहेछ ।

विजयको सिर्जना र ‘इको’प्रतिको समर्पण अझै अकासियोस्, म निरन्तर यही कामना गर्दछु । उनीबाट नेपाली सिर्जनाले र नेपाली जातिले ठूलो आशा गरेका छन् ।