(१)
अचम्मै परेका, भएका मलामी
फटाहा दिँदैथ्यो, चितामा सलामी।

(२)
छ कोही दिलैको, मझेरी कुनामा
पुजेकी छु मुरारी, बनेरै सुदामा।

(३)
अवस्य हुनुथ्यो, सुनौलो बिहानी
परेका पछौटे,अँधेरो किसानी।

(४)
हलुङ्गो बनायौ, सहारा दिँदैमा
समाती पछार्यौ, नदीको बीचैमा ।

(५)
बिरानो बनायौ, सराएर माया
निठूरी भएछौ, भगाएर छाया।

(६)
थियो जिन्दगी यो, रहेको निरासी
खुसी बाँड्न साटो, बनायौ उदासी।

(७)
बलेको दियो त्यो, लिएरै त आयौ,
दिलैमा छुवाई, मलाई जलायौ ।

(८)
धराको अवस्था, उँधो झन् छ झर्दै,
छ खुट्टा पसार्दै, छिमेकी ती सर्दै

(९)
किनारा लिएरै, निशाना छ झिक्दै
सिमाना लुकाई, जबर्जस्ती टिक्दै।

(१०)
अनेकौं ती रात्री, भिजेको सिरानी
अनौठो कुरो बस्दथ्यो प्राण धानी।

(११)
भरोसा गरेको, रुवाई सतायौ
पियारी छ मेरो, घरैमा बतायौ।

(१२)
लिएको छु आशा, सहारा हुनेछौ
भुलेको छु पीडा, परानी धुनेछौ।

(१३)
सुनेनौ कहिल्यै, मनैको विलौना
हरेक् रात भिज्थ्यो, सिरानी बिछौना।

(१४)
परेवा ती जोडी, बनायो उसैले
बहाना बनाई, उडायो कसैले।

(१५)
पियारा भनेरै, बुझाएँ जवानी
जलाई यसोरी, बनायौ खरानी।

(१६)
घरैको डिलैमा, युनानी निवासी
छ आफैँ विचारी, युगौंदेखि दासी।

(१७)
तिमी सम्झँदैमा, रुझेथ्यो सिरानी
नसुत्दा नसुत्दै, भएथ्यो बिहानी ।

(१८)
दयाको छ बोली, सुनिन्थ्यो सिपालु
सही अर्थमा ऊ, चिनिन्थ्यो विषालु।

(१९)
छँदैछन् धरामा, बिकासै पछौटे
बुझेमा स्वयंको, रहेको रखौटे ।

(२०)
सिकेका कुरा त्यो, सबैमा छ बाँड्नु,
सिकाउन खोज्दा, ती मौका नछाड्नु।

(२१)
यसोरी बढाऔँ, हितैको सितारा
अगाडि कहिल्यै, नआऊन् तगारा।

(२२)
इसारा दिएरै, सिमाना छ चर्दै
छिमेकी हुलाकी, समाचार छर्दै।

(२३)
निको कर्म गर्ने, बसाउनु बानी
हितैको ती भन्दा, घटाऊँ रिसानी।

(२४)
हटायौ अँधेरी, उजेली गराइ,
दियौ मान उस्तै, दिलैमा सराइ।

(२५)
तिमीसँग डुल्दै, बिताएँ जवानी
बनेको म मात्रै, नभुल्ने कहानी।

शर्मिला श्रेष्ठ
ललितपुर
हालः अमेरिका