शर्मिला श्रेष्ठ

पत्तै पाइनँ जन्मले वा कर्मले यसरी ठगिएँ
ठूलो हो वा सानो जात हो कुन आधारमा रोजिएँ।

मैले खोपेका मूर्ति देव बन्छन् मन्दिरमा पुगेसी
त्यै मन्दिरमा पस्न खोज्दा आफैँ तल्लो जात तोकिएँ।

बन्छन् मेरै हातले देवका मुकुट, पात्र तामाका
तर मैले छोको पानी चल्दैन भन्दै भाडा चोखिए।

दलित कथित नाम आ-आफैमा भेदभाव चर्को
कस्लाई दोष दिनु,आफैँ खनेको खाल्डोमा गाडिएँ।

गल्ति त पक्कै नै भयो होला भनिन्छ प्रेम अन्धो जो
चरक्क चर्कियो मन जब अछुत भनी मारिएँ।

ललितपुर
हालः अमेरिका