२५६६ ओैँ बुद्ध जयन्तीकाे पूर्व सन्ध्या पारेर २०७९ जेठ १ गते आइतवार टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक विधा टुक्का कविताकाे “अनन्त टुक्का यात्रा-४” अन्तर्गत “पशु अधिकार ” शीर्षकमा टुक्का कविताहरू सिर्जना गर्दै सम्पन्न भएकाे छ ।

प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र वरिष्ठ टुक्काकार तथा टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा २७ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।

अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले समाजमा दबाइएका र अन्यायमा पारिएका समुदायकाे पीडाहरू र सामाजिक विकृति, विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे अर्काे फरक कार्यक्रम “अनन्त टुक्का यात्रा” शुरु भएकाे भन्ने जानकारी गराउनु भएकाे थियाे ।

त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले नेपाली साहित्यमा नविनतम काव्यिक विधा टुक्का कविता ले अनन्त टुक्का यात्रा काे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उद्देश्य लिएर सञ्चालन हुँदै आएकाे र यसले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्‍याउदै जाने व्यहाेरा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा सहभागीहरूले पशु अधिकारकाे रक्षा तथा पशुहरू माथि भइरहेका हत्या हिंसा र अत्याचार राेकाैँ भन्ने आव्हान गर्दै चाेटिला टुक्काहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा मा विश्वभरिबाट सहभागी भई पशु अधिकार सम्बन्धी चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “पशु अधिकार” सम्बन्धी केही टुक्काहरू

[१]
१.
ईश्वरकाे सृष्टि हाैँ हामी प्राणी सबै समान
संसारकाे अधिकार उस्तै भन्ने कुरा जान।
२.
चाेट पर्दा हामीलाई झैँ पशुलाई नी हुन्छ
बाेल्न नसकेकाे मात्र तर भित्री मन रुन्छ ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास

[२]
१.
बोल्न सक्दैनन् र अव्यक्त भाव व्यक्त गर्दछन्
मान्छेका भोजनका लागि यिनै पशु मर्दछन् ।
२.
आफ्नो स्वार्थ पूरा गर्न मुक प्राणीको बलि दिने
छोडौँ अब यस्तो दानवता अरूको ज्यान लिने ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

[३]
१.
पशु नादान छ दिए खान्छ नदिए जबरजस्ती हुँदैन
रिसाउन जान्दछ तर कसैलाई भित्री आत्माले छुँदैन ।
२.
रहरले पालेको हुन्छ नि घिन मानेर के भयो
कुटे पनि नबोली रुन्छ सहेर नै जिन्दगी गयाे ।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड

[४]

हेला नगरौँ पशु भनी दिन्छ दुध हामीलाई जानी
रोगीको ओखती सबैको ज्यान बचाउने महान् ज्ञानी।

खान दिउँ हरियो घाँस काटी ल्याइ उनलाई
सम्मान गरी राखौँ है सँधै उनको गुनलाई।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया ।

[५]
१.
मन्दिर जान्छौ, देवता मान्छौ, ढुङ्गाको पुजन,
विवेकी मान्छे, प्राणीका राजा, अहिंसा बुझन।
२.
विवेक ज्ञानी,हामी अज्ञानी, बुझन भावना,
सन्तान एउटै, हत्या र हिंसा, नगर कामना।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[६]
१.
प्रकृतिले दिएको छ सबै जीवलाई, बराबर अधिकार
हेप्नु हुँदैन सर्वश्रेष्ठ प्राणी भई, अरू जीवलाई बेकार ।
२.
नगर पशुको हत्या जहिल्यै, उनिहरूको नि आत्मा हुन्छ
हिंसा र हेला सहि बस्नु पर्दा, भित्री मन त सबैको रुन्छ।
✍️ सुमिना तिमल्सिना
भक्तपुर ।

[७]

यी प्राणीहरुको बाँच्न पाउने, नैसर्गिक अधिकार,
त्यही निमुखा प्राणी माथिको, अमानवीय व्यभिचार।
✍️ प्रदीप के रिमाल
इटहरी, सुनसरी

[८]
१.
पशु होइनन् ती बुझे हाम्रा मित्र हुन्
लगाएका छन् मानवलाई धेरै गुन्।
२.
कति पशु त मानवभन्दा बुद्धिवान हुन्छन्
तिनका कति कर्तव्यले मान्छेको मन छुन्छन्।
✍️ दीपक ठटाल जलन
खरसाङ ।

[९]
१.
प्राणीहरूमा सर्वश्रेष्ठ खै कसरी भइस् ए मानिस ?
बलि दिँदै निर्दोष पशुको स्वयम् लाई श्रेष्ठ ठानिस ?
२.
मानिसको जस्तो छ रगत रातो मूक पशुको पनि,
सम्झन्नौ किन? पशुको अधिकार हाम्रै जस्तो हो भनि।
✍️ अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ्ग, भारत।

[१०]
१.
पृथ्वी सबको साझा अधिकार बराबर सुशिक्षा जानेर,
के पाइन्छ र अज्ञान त्यो जिउँदो प्राणीमा बञ्चरो हानेर।
२.
झारेर आँसु रुन्छ पशु त्यो वध गर्ने बेला,
खुशी हुन्छन् मानिस किलो मासु पारेर फेला।
✍️ अच्युत घिमिरे
भुटान

[११]

मान्छेले पापलाई धर्मको जामा पहिराई,
लगातार पशुको बलि चढायो दाजु भाइ।

चराचर जगतमा जिउने सबैको अधिकार,
पशुको बलि चढाई भन्छाै परम्परा अनुसार।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

[१२]
१.
मानव काे जस्तै पशुकाे नि मन हुन्छ,
मन्दिरमा बलि दिदा उस्काे आत्मा रुन्छ।
२.
बुझ्नु पर्छ मान्छेले पशुको पनि भावना,
सन्तानलाई झैँ माया गराै मेरो कामना।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१३]
१.
नगरौ हिंसा काटमार पशु माथी ,
बाँच्न पाउने अधिकार उस्को साथी ।
२.
पशुलाई पनि मानव झैँ व्यवहार गरौँ ,
प्रत्येक गाउँ समाजमा जन चेतना छरौँ ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[१४]
१.
पृथ्वीका पशु प्राणी सबै मानिसका साथी
संरक्षण गराैँ अन्याय नहाेस् तिनी माथी ।
२.
काट मार हत्या हिंसा गर्नु हुन्न पाप लाग्छ
आँसु बगेर श्राप लाग्छ दया र माया भाग्छ ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[१५]
१.
पशुले पनि जिउन यहाँ पाउनु पर्दछ
मानव किन दानव बनि संहार गर्दछ?
२.
देवतालाई दिएको बलि देखिन्न पाएको
बोको र राँगो देखिन्छ सधैँ मान्छेले खाएको।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[१६]
१.
ईश्वरकै सृष्टि हो सारा पशु मानव बराबरी ,
पशु वध गर्नेहरू धर्मच्युत हुन्छन् सरासरी।
२.
साझा धर्ती सबैको हो पशु मानिस समानता ,
अहंकार गर्छ मान्छेले पशुमा अमानवता।
✍️ बेदु न्यौपाने
भोजपुर हाल काठमाडौ

[१७]
पशुको हत्या गर्छ कस्तो केही नभनी,
मानिस सर्बश्रेष्ठ प्राणी भएर पनि।
✍️ लालिमाया थापा मगर
प्युठान ।

[१८]
१.
वेदीमा बलि चढायाै कति जाेखिम पारेर ,
जीवित पशु लडायाै अति जीवन मारेर ।
२.
हुँदैन धर्म मारेर ज्यान पन्छी र पशुको ,
गरेर कर्म जाेगाउँ प्राण निरीह अश्रुकाे ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[१९]
१.
प्राण उसको पनि हो, हुन्छ बाँच्ने रहर,
मारेर हाँस्दछ मान्छे, सिङ्गो गाउँ शहर।
२.
खानकै निम्ति मासु गर्दछन् थुप्रै बहाना,
एक भाइ अर्कोको कसरी बन्दछ खाना ?
✍️ वसन्त अनुभव
घोराही, दाङ

[२०]

मानवजाति सबै हामी बनौँ शाकाहारी,
चितुवा,बाघ,गिद्ध,स्याल बनून् मांसाहारी।
२.
पशु एक प्राणी हो नदिऔॅं दु:ख जानी-जानी,
आफै पाल्ने आफै ढाल्ने हामी कस्तो बेइमानी?
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[२१]
१.
अबोध पशु वध गरि गर्छ मान्छे भोजन,
इज्जत मान प्रतिष्ठाको अनि घट्छ ओजन ।
२.
प्रकृतिको वरदान हो प्राणी जगत सारा
पशु प्राणी जोगाउने लगाउँ सबले नारा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[२२]
१,
हामी प्राणी हरूमा हरेक हुन्छ जात,
सबैको आआफ्नो भाषाबाट हुन्छ बात।
२,
बाँच्न बचाउन नैसर्गिक अधिकार रहन्छ,
मर्दा दुखले सबैको आँखाबाट आँसु बहन्छ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा

[२३]

पशु माथि नगरौँ हत्या हिंसा कसैले ,
दया माया गरौँ जनावरको सबैले ।

निर्दयी नबनौँ मानव भएर पशु माथि,
बोल्न नसक्ने जनावरको आत्मा हुन्छ साथी ।
✍️भगवती दवाडी
दमक, झापा

[२४]
ईशकाे सृष्टिमा सबैका लागि बनेकाे छ आहार,
प्राणीमा श्रेष्ठ नर, मांस त्यागी बन्नु है शाकाहार ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[२५]

सबैको ज्यान प्राण उस्तै उस्तै त हुन
त्यसैले हेर्नुहाेस् सबैकाे राताे छ खुन ।
२.
आफूलाई जत्तिकै पशुलाई पनि धेरै माया गरौँ
यो संसारमा चारैतिर दया माया र प्रेमले भरौँ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं ।

[२६]
निर्दोष प्राणी पशु माथि हुन्छ सबैको अत्याचार
मान्छेको विवेक शून्य छ, हिंसात्मक गर्छ आहार।
✍️ जि कुमार गौतम
भद्रपुर -१ पृथिविनगर झापा

[२७]
१.
दया गरौँ पशु प्रति आफ्नै आत्मा ठानी,
चोट लाग्दा कति दुख्छ भन्ने कुरा जानी।
२.
बलिदिने भनेपछि हृदय रुन्छ पशुको पनि,
नसोचौँ कहिल्यै आहारा हुन् पशु मनुष्यको भनी।
✍️ काेकिला चाैधरी
बाँके ।