गाईजात्राको अवसर पारेर यही मिति २०७८ भाद्र ६ गते टुक्का कविताका प्रवर्तक तथा टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईँ को संयोजकत्वमा गाईजात्रा विशेष “टुक्का लेखन अभ्यास शृङ्खला १७” सम्पन्न भएको छ । उक्त अभ्यासमा आफ्नो महत्त्वपूर्ण सहभागिता जनाउँदै ७८ जना सर्जकहरूले सशक्त टुक्का लेखेर भरपुर साथ दिएका थिए ।
टुक्काकारहरूले गाईजात्रा विशेषमा समाजका विसङ्गति लगायत राजनीतिक उतारचढावमा समेत तिखो व्यङ्ग्य प्रहार गरेका छन् ।
टुक्का लेखनमा सहभागी सम्पूर्णमा समाजका अध्यक्ष ताराप्रसाद चापागाईँ तथा सचिव विमुन्स पौडेलले गाइजात्रा विशेषको शुभकामना साथै टुक्काकारहरूको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
अभ्यासको क्रममा सङ्कलन गरिएका उत्कृष्ट टुक्काहरू
१.
आउँदै जाँदै गर्छ हरेक वर्ष गाईजात्रा,
बढ्दो रहेछ झन् देशमा गाईजात्राको मात्रा ।
२.
दुई हरफ सयौँपल्ट लेख्दा पनि,
जानिनछु लेख्न गाइजात्रा नै छ नि ।
रचना शर्मा प्रतीक्षा
ललितपुर
१.
झोले झ्याम्टे चुल्ठे मुन्द्रे युवाहरूको मात्रा,
बुढाखाडा देखाउँदैछन् कुर्सीमाथि जात्रा !
२.
विकास गर्ने काम छाडी कुर्सी हाक्ने दाउ,
गाईजात्रे नेता यिनको साह्रै सस्तो भाउ ।
नवशीला
बेलबारी -२, लालभित्ती, मोरङ
हाल- गोदावारी, ललितपुर
१.
हाम्रा देशका नेताहरू हुँदै गए कस्ता,
तलतिर बगाइदिई माथि खोजौँ जस्ता ।
२.
गाईजात्रे पाराले बिग्रिसक्यो देश,
नेता बनी खानुभन्दा यसै छ बेस ।
नानीबाबा अधिकारी
कलङ्की
१.
मृत आत्मालाई सम्झिएर गर्दै छु म यात्रा,
परम्परा जोगाउन निकाल्दै छु गाईजात्रा ।
२.
भुतप्रेत बनी दुःख नदिऊन् भनी,
उनीहरूकै सिको गर्दै छु म पनि ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत“
पनौती-३,काभ्रे
१.
जनता मरे रोग र भोकले भयो गाईजात्रा,
नेता सबै सुखसयलमा मोज, मस्ती र यात्रा ।
२.
पहुँच र पावरको दुरुपयोग भयो,
हत्याराले मुख लुकायो सोझो जेल गयो ।
ताराप्रसाद चापागाईँ
धुनिबेँसी न.पा. ९ धादिङ
१.
जताततै जात्रैजात्रा मात्रै केलाई गाइजात्रा कुर्नु,
नेताका कर्तुत देख्दा लाग्छ कहिले यिनलाई पुर्नु ।
२.
देश भयो बेहाल चारैतिर देखिन्छ गाइजात्रा,
युवा तिम्रो काँधमा जिम्मेवारी नरोके है त्यो यात्रा ।
राजेशराज गड्तौला
रतुवामाई-१०, मोरङ्ग
हाल – प्रवास
१.
देशले हाँसेर गाइजात्रा मनायो,
मरेकाहरूको सम्झनाले सतायो ।
२.
गौमाताको जात्रा किन बनाए,
मृतलाई बिर्सिने चल्ती चलाए ।
विमुन्स पौडेल, पोखरा
१.
कहिले सङ्लो कहिले धमिलो जिन्दगीको यात्रा ,
शब्दको झटारो हान्नलाई आयो है गाईजात्रा ।
२
जसरी नि चाहिएको छ नेतालाई भोट ,
पर्न सम्म परेको छ जनतालाई चोट ।
अम्बिका गिरी, विराटनगर
१
नेपालमा पाइन छाड्यो शुद्ध तोरीतेल,
उद्योगधन्दा राम्रै चल्छ राजनीति खेल ।
२
भाँडो सानु भुँडी ठूलो लुकी-लुकी खाने,
गिलो दिशा लाग्यो भने विदेशमा जाने ।
होमप्रसाद न्यौपाने
धरान,सुनसरी
१.
हुन त सधैँ भइरहेकै निरन्तर मेरो देशमा गाईजात्रा,
अब मनाउन सक्नुपर्छ तिथिमिति संस्कार मिलाएर मात्रा ।
२.
तन्त्रको नाममा अध्यादेश चलखेल भाँडभैलोको जात्रा सहरमा,
त्यसैमा कोरोना पाजीको बिगबिगी गाईजात्रा चाड महाकहरमा ।
शर्मिला श्रेष्ठ
भैँसेपाटी,ललितपुर
१.
म सधैँ सत्तामा रहे चुला-चुलामा लाइन,
पुरुषलाई ह्विस्की र महिलालाई वाइन ।
२.
मापसे नगर्नेलाई सधैँभरि दिनुपर्छ जुस,
विश्वास गरेको भए भदौपछिको महिना पुस ।
३.
बादलमाथि नै च्याउ खेती गर,
टुँडीखेलमा तेल र पानी भर ।
लक्ष्मी घिमिरे दाहाल, झापा
१.
बुख्याँचाको सास पनि पलाएछ आज,
बाँदरको बथानले चलाएछ राज ।
२.
दवाई किन्न नपाएर गुनासो भो ठूलो,
बजेट सके चपाएर निलिदिए धुलो ।
३.
यस्ता नेता मन्त्रीलाई औसर खत्रा आउने,
देखाएर गाईजात्रा लुँड्याइ घिच्न पाउने ।
रामकृष्ण दुवाडी, पोखरा ।
१.
गाई मारेर गधा पोसे फुस्केपछि मात्रा
कलाकारले दर्साउँछन् व्यङ्ग्यात्मक जात्रा ।
२.
गाइजात्रामा हाम्रो संस्कृति झल्किन्छ है मनाउनुपर्छ
मूल्यवान् छ परम्परा मृत आत्माले वैतरणी तर्छ ।
इश्वरी अधिकारी, लमजुङ्ग
१.
पहिलेदेखि चलिआएको हो नि गाइजात्रा,
नेताहरू जान्छन् कहिलेकाहीँ विदेशयात्रा ।
२.
परिवारमा मृत्यु भएकाको आत्मा शान्तिको लागि मनाउँछन् यो जात्रा,
दीनदुःखी गरिब बाढीपीडितका लागि नेता जान्छन् त्यहीँ यात्रा ।
शोभा अर्याल, बुटवल
१
बलिको बोको कानुनको झोलीमा,
मन्त्रमुग्ध छन् नेताज्यूको बोलीमा ।
२
कुकुर हुन् जुठो हड्डी पचाउने,
आमा बेचेर खुकुरी नचाउने ।
विनोद रिजाल
बेलबारी २ मोरङ
१,
छ सयभन्दा धेरै राजाले घुसै मात्र खाने,
मरेपछि सबैलाई पक्कापक्की नर्क लाने ।
२,
कोही राजा थिए पहिले स्वास्नी फकाउने,
गाईजात्रा निकाल्नू भनी काम लगाउने ।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
१.
पानीजहाज र रेल भयो घरघरै,
भन्ने मान्छे नै गयो बाहिर कठैबरै ।
२.
गाईजात्राझैँ छ हाम्रो देशको राजनीति,
नेताले पनि भ्रष्टचार गरे जाती बिती ।
सुरेशकुमार पाण्डे दाङ घोराही१८
१.
नैतिकता-सदाचारका नक्कली गीतहरू मञ्चमा पो गाउने,
राजनीति अनि प्रशासनभित्र खुट्टा घुमाएपछि कमाउने !
२.
कहीँ नबिकेपछि राजनीतिमा कुनै गुटको नेता समाइयो,
गुन्डाको टेन्डर खोलेर राज्यको ढुकुटीमा हैकम जमाइयो !
भूषण जङ्ग
ललितपुर, हाल अस्ट्रेलिया
१.
अरे! खरदार, सुब्बा, मास्टर बन्ने हो र म योग्यता खोज्छौ,
देश हाँक्ने योद्धा हुँ म फलाम चपाउने आँट छ के सोच्छौ !
२.
ए! भुसुना छोड बाटो सबै उतै छ खनाउनु,
प्राणभन्दा प्यारो देश अमेरिका छ बनाउनु ।
धनु शर्मा, पोखरा
१
सानो जात थाहा पायो ब्राह्मणको शिर ढल्यो,
हातको पानी चलेन, ओठको चुम्बन चल्यो ।
२
हाम्रो देशका ठुला मुसा महलभित्र लुक्छन्,
निस्कन्छ कि बाहिर भनी त्यही बिराला ढुक्छन् ।
मुस्कान मिलु राई
सोलुखुम्बु, तिङ्ला
१.
देशको शासन र गाईजात्रा मलाई उस्तैउस्तै लाग्छ,
जनता गरिब बनाउँदै दरिद्रझैँ खान मात्र माग्छ ।
२.
कोरोनाको बहानामा देशमा गाइजात्रा हुँदै छ,
भोको आत्मा जति टाउको ठोक्दै सडकमा रुँदै छ ।
उषा के.सी. ललितपुर
१
बाँदरको हातमा रहँदा देशको ताला चाबी,
भ्रष्टाचार र घुसखोरीचाहिँ हदै भए हाबी ।
२
कोही नेता टुक्का हान्ने त कोही सिधै मुक्का,
आफू चुसे मीठो रस जनता सधैँ भुक्का ।
त्रिलोचन भण्डारी
मेचीनगर,झापा
१.
कागजस्तै कराउँछौ बोली भन्छौ ढुकुरको,
खसीको टाउको राखी मासु बेच्छौ कुकुरको ।
२.
सत्ता जति नयाँ देख्यो उति लाग्छ धमिरा,
अब बलियो भयो भन्यो परिहाल्छ चिरा ।
डम्बर थामी ’अनुपम’
कालिञ्चोक गा.पा.-६, दोलखा
१
गाई सिँगारेर चौपट्टै अनि रामायण भन्दै,
घर घरमा खेलाइन्छ जात्रा आना पैसा गन्दै ।
२
पितृको उद्दारका लागि खेलाइन्छ जात्रा,
मान्छे मरेका घरबाट सुरु हुन्छ यात्रा ।
सरस्वती श्रेष्ठ, इटहरी
१.
प्रताप मल्लले चलाएको गाईजात्राको कामना,
पितृलाई सम्झना गर्दै शुद्ध र शान्तिको चाहना ।
२.
देशमा चल्दै छ हेर दुःखदायी यात्रा
घरमा चुल्हो बल्दैन कतै दुनो जात्रा!
कमला देवकोटा, पाल्पा
१.
पार्टी फुट्यो भाग्य पो खुल्यो मन्त्री खान हिँडेको,
चट्टपारी दौरा सुरुवाल कोट पनि भिरेको ।
२
स्विट्जरल्यान्डड बन्छ भन्थे चुनावको बेला
लुटेर खाने भाँडो रै’छ बल्ल बुझ्यौँ खेला ।
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
कपिलवस्तु
१.
समृद्धिको कुरा धेरै गर्छन् उल्टो यात्रा,
हाम्रो देशमा बर्सेनि हुन्छ गाईजात्रा ।
२.
नेताहरू त्यो घुम्ने मेचमा गर्छन् आसन,
काम कुरो एकातिर दिन्छन् मात्र भाषण ।
रचना मोक्तान यात्री, काभ्रे
१
बुवा भन्ने गर्नुहुन्थ्यो हेर छोरा नेता बन्नुपर्छ,
ठुलो पद हात पारेर ढुकुटी चट्ट गन्नुपर्छ ।
२
सुधो गाई किन मुछियो, भनियो गाईजात्रा,
सधैँ देखिन्छ, मान्छेजात्रा निकै अधिक मात्रा ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
१.
के लेखौँ सिर्जना साँच्चै जात्रा शीर्षकमा अब,
गाईजात्रा सधैँ नै छ लाखेझैँ नाच्दछन् सब ।
२.
पार्टी नेता र जनता सबका भ्रष्ट छन् मति,
गाईजात्रासरि नै छ राज्य वा देशको गति ।
रामजी लामिछाने, पोखरा – २७
१.
नेताज्यू अब नगर्नू है भ्रष्टाचार
हामीले साथ सधैँ दिन्छौँ सरकार ।
२.
शुभकामना छ है गाईजात्राको,
राम्रो चाहन्छु सधैँ तिम्रो यात्राको ।
प्रेम सुनार, दैलेख
१
मृतकको मुक्तिका निमित्त हो गौयात्रा,
हिन्दूहरूको पर्व मनाऔँ गाईजात्रा ।
२
मान र मर्यादामा आँच आउने खालको,
नगरौँ महोदय गाईजात्रा यो सालको ।
हिउँ खतिवडा, कैलाली
१.
नेताचाहिँ जनता भन्दा खास
जनताविना ऊ मरेको लास ।
२.
नेताहरूले देशभन्दा पहिला आफ्नो घर बनाउँदै छन्
जनताको तिर्खा मेट्न साटो आफ्नै इनार पो खन्याउँदै छन् ।
रतन पाण्डे ’पारतन“, दार्जीलिङ्ग
१.
सोह्र शृङ्गार गरी सजाइएर निकालिन्छ गाई
नेवार जातिको संस्कृतिमा पितृको हुने भलाइ ।
२
रीतिरिवाज मान्न देखाउँछन् अनेक रूपरङ्ग
जात्राको प्रस्तुतिले दर्शक श्रोताहरू पर्छन् दङ्ग ।
तारा घिमिरे सङ्खुवासभा
१.
गाई अनि गोरुहरूको हुन्छ यहाँ जात्रा,
ताण्डव नृत्य नाच्ने हाम्रो नेता पात्र पात्रा ।
२.
भारत चीन अमेरिका सबै बनिसक्यो कैले,
सिङ्गापुरै बनाइदिन्छौ भन्थे नेताहरू पैले ।
मन्दिरा सेढाईँ, मलेखु धादिङ
१.
हास्य व्यङ्ग्य प्रहसन लिई गाईजात्रा आउँछ,
बिछोडको पीडा भुलेर मनमा शान्ति छाउँछ ।
२.
गाई जात्राले मनोरञ्जन र चेतना भऱ्यो,
नेपालीको महत्त्वपूर्ण एउटा पर्व पऱ्यो ।
जगत् थापा, बझाङ
१.
देशमा फैलिएको छ विकृति यात्रैयात्रा,
हाम्रो परम्परा हाम्रो संस्कृति गाईजात्रा ।
२.
पहिले बर्सेनि पर्खाइमा आउँथ्यो संस्कृति गाईजात्रा,
हिजो आज संस्कृति हराएछ कस्तो नौटङ्की कालोयात्रा !
शरद् प्रधानाङ्ग,विराटनगर-७
१.
आमाबाबुलाई छोराछोरी प्यारो छोराछोरीलाई अरू हुने प्यारो ,
यो कलियुगका केटाकेटीको मनको कुरा बुझ्नलाई साह्रै गाह्रो ।
२.
नखाऊँ भने अनिकालको सिकार ,
खाऊँ भने सबैथोकमा नै विकार ।
गङ्गा खड्का
बुढानीलकण्ठ १ , काठमाडौँ
१.
नेतालाई रातो बत्ती बालिदिने जन,
उल्टै कानुन थोपर्दै दुःख दिए झन् ।
२.
शब्दको सलाई बनाइदिन्छ नेता,
अन्धाधुन्ध आगो फुक्दै हिँड्छ प्रणेता ।
अजीत राई सक्तेन,गोरुबथान,
दार्जीलिङ, पश्चिम बङ्गाल,भारत ।
१
जताततै छ यात्रा गाइजात्राले छाएको
सामान्य बिरामीमा नेता विदेश धाएको ।
२.
नेता सबको कार्टुन बन्ने आयो गाईजात्रा,
जनताको कर असुली सधैँ विदेश यात्रा ।
नवीन जोशी, कैलाली
१
एक पर्वका रूपमा आयो,
गाईजात्रा पो नजिकै छायो
२
व्यङ्ग्य रूपमा नाचगान गरी गाईजात्रा मनाऔँ,
दुःखी नभई आफ्नो परम्परालाई भव्य बनाऔँ
रिता खराल, रुपन्देही
१.
पुग्यो हजुर, निर्वाचनमा लोकतन्त्रको गफ हाँक्छौ ।
जितेपछि संसद् र मन्त्रीको कुर्सीमात्रै किन ताक्छौ ।
२.
हिस्सी रूप पुक्क गाला मान्छे अलि मोटी । १४
मेरो माया लाग्छ भने हाँस एकचोटी ।
सङ्कल्प पुन सायर, १७
१
उत्सवविनाको जात्रा हुन्छ यो देशमा सधैँ किन ?
वर्षदिनको गाईजात्रा दिनहुँ हुन्छ जस लिन ।
माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर गाईघाट, हाल ताप्लेजुङ
१
फकाएर ठूला नेता दौरा पट्याएछौ ,
देखाएर गाईजात्रा कुर्सी हत्याएछौ ।
२
चाहे परोस् पार्टी फोड्न कुर्सी छोड्नु हुन्न ,
समाउँछु त्यही कुर्सी अरू केही छुन्न ।
रामकृष्ण दुवाडी, पोखरा ।
१.
छिनमै बदल्छन् नेताले भेष,
गाईजात्रा मात्रै भएको देश ।
२.
हुने केही होइन, के-के दिवस मात्र आयो,
गाईजात्राको नाममा विकृतिले ठाउँ पायो ।
हिमा आर.सी.
मेहेलकुना सुर्खेत
१.
नलड हे ढाडेहरू ब्वाँसो पल्किसकेछ,
हाम्रै देशको सीमातिर पो ढल्किसकेछ ।
२.
लोभमा पऱ्यौ विदेशीको बिर्सिएर देश,
बिर्सिसक्यौ धर्म, संस्कार, परम्परा, भेष ।
लक्ष्मण समीर, भुरिगाउँ बर्दिया
हाल- काठमाडौँ
१
भ्रष्टाचारी नेताले खान्छन् घुस साला,
लगाइदिउँला तिम्रा भुँडीमा ताला ।
२
धेरै मुसाले धानको चुँडेर लगेछन् बाला
अत्याचारी नेता भए देशकै चोर बिराला ।
भगवती दवाडी ,दमक झापा
१.
गाईजात्राझैँ बन्दै गयो अब हाम्रो देश,
जोगाउन गाह्रो पर्ने भो आफ्नो भाषा भेष ।
२.
नेपाली जनता खुसी हुँदा गर्छन् आहा,
भ्रष्टाचारीलाई सबै मिली पारौँ स्वाहा ।
साधना पौडेल, ओखलढुङ्गा
१.
कुकुर अनि बिराला भेट भएछन् एउटै वेशमा,
हाँडीगाउँमा पनि नभएको जात्रा सधैँ यो देशमा ।
२.
कैले कुर्सी तानातान कहिले भएको छ हानाहान,
हाम्रो देशको सदनमा सधैँ गाईजात्रा जानाजान ।
श्रीकृष्ण शर्मा, पोखरा
१.
कहिले घोडे कहिले यहाँ गाईजात्रा,
मिली हेर्न आऊ सबैलाई शुभ यात्रा ।
२.
नहोस् हल्ला देशमा लुटेराको मात्रा,
लाग्दै छ मन्दिरमा पर्सी गाईजात्रा
कल्पना थामी, सिन्धुपाल्चोक
१.
एमालेको बहिर्गमन भयो, काङ्ग्रेसको आगमन
नेकपा फुटिगो राज्यमा अब कसले गर्ने शासन
२.
टिक्नै नदिने सत्तामा कुनै पार्टीलाई नि पूरा दिन
गाईजात्रै भयो नेताको विचार बदल्ने छिन-छिन
जुन जोगी आए पनि देशमा कानै चिरिएका आए
हाम्रा त्यागी नेता भन्दै जिताए आखिरीमा के पो पाए
गोपाल कृष्ण डङ्गोल
महाराजगञ्ज, काठमाण्डौँ
हाल- इटहरी, प्रदेश नं. १
१.
पहिलेकाले हँसाउन उखान भन्ने,
अहिलेकाले आफू पायक दिन गन्ने ।
२.
नेपालीको पुर्पुरोमा एउटै ड्याङका मुला,
घुमिफिरी ठोकिन आउँछन् सहुँला, बुझुँला ।
म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल-जापान
१
साँच्ची भनूँ भने खै के भनूँ यो देशको हालत यस्तो भयो,
छोरी बुहारी र कुमारी विधवा नारीको इज्जत माटामै गयो ।
२
वादविवादमा मिडिया घर जङ्गल बाटो दोबाटोमा ल्याएको देखिन्छ,
आज संसद् भवन बालुवाटार राज्य भवनमा गाईजात्रा भेटिन्छ ।
३
राज्यमा यस्तो गति नहोस् भनी निकाले गाईजात्रा ठुला सहरमा,
एकल नारी देखेर इज्जत लुटी मारेर फाले खोल्सा नहरमा ।
कमला पाण्डे पराजुली झापा चारआली
१/
प्रगति गर है नेताज्यू ताली पड्काउछौँ,
होइन भने तिम्रा फेरि गाला चड्काउछौँ ।
२/
जनताले खै कहाँ पाए रासन,
ढाडे नेताचैँ हान्छन् ठुला भाषण ।
प्रकाश बुढाथोकी
असम भारत ।
१.
ए सरकार जनतालाई कोरोनाको खोइ खोप,
खुलेआम भ्रष्टाचार गरी किन गर्छौ ढाकछोप ।
२.
चलचित्र शैलीमा चलेको छ राजनीति,
बेचेर राष्ट्र बिर्से आफ्नो सबै रीतिथिति ।
भुपेन्द्र राना मगर
धादिङ
१
भाषण कलामा निपुण चटकेको सत्ता ,
मेलम्चीको पानी नखुवाई भए बेपत्ता ।
२
लहै साथी हो सिंहले फेरि जङ्गल छोड्यो ,
दुई खुट्टो लुकाई भुँडी भर्न बाटो मोड्यो ।
राजेश्वरी राजोपाध्याय
पाटन, ललितपुर
१
प्रताप मल्लले पुत्रवियोग रानीलाई निःस्वार्थ कलाको,
मृतआत्माको शान्ति र पीडा हर्न यो गाईजात्रा पर्व चलाको ।
२
कतिसम्म गर्छस् सरकार अब गाईजात्रे काम ,
जति भए पनि तेरै भुँडी भरियो अरूले के खाम ।
बेदु न्यौपाने, माठमाडौँ
१.
राजनीति गर्नेहरूको देखियो सबैभन्दा ठूलो धर्म!
पहिले आफ्नो हैसियत बनायो पछि गऱ्यो अरू कर्म!
२.
स्वार्थ्यका लागि राजनीतिमा पहिले घाँटी जोडिन्छ !
एउटा मुख अघायो अर्को भोकै भयो कि तोडिन्छ !
प्रमोद भट्टराई ’प्रतीक’
कौशलटार, भक्तपुर
१.
हरेक क्षेत्रमा अधिक भइरहेछ यसको मात्रा,
सक्छौ सुधार्दै लैजाऊ दैनिक तिम्रो गाईजात्रे यात्रा ।
२.
नेता सिंहदरबार र बालुवाटारमा होला धेरै मात्रा,
जनता पनि हुन् गाईजात्रा देखाउने प्रमुख पात्र-पात्रा ।
अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ्ग ।
१
कसै कसैको मुहार यहाँ चमक्क चम्कन्छ ,
नेताको भाषण सुन्न अघि लमक्क लम्कन्छ ।
२
छताछुल्ल भएको देश गाईजात्राजस्तै ,
केही फरक भएको छैन कोरोना सस्तै ।
विनीता विश्वकर्मा
बाजुरा
१
जस्तो छ हेर्ने दृष्टि
उस्तै देखिन्छ सृष्टि
२
छोराले आफ्नो जीवनमा पैसा रुपियाँ कमाओस् कि नकमाओस्,
कुलतमा लागेर रक्सी र ड्रग्स खाएर दादा हुन नखोजोस् ।
३
कस्तो दिन आयो, आफ्नै मान्छे मर्दा पनि जान छोडिसके मलामी,
फेसबुकको भित्तामा श्रद्धाञ्जलि, समवेदना, र दिन्छन् सलामी ।
रिना योल्मो दार्जीलिङ
१.
कुकुर अनि बिराला एउटै पार्टीभित्र,
रोक्नुपर्छ गाईजात्रा अब त उठौँ मित्र ।
२.
सधैँभरि नेपालमा गाईजात्रा हुन्छ,
स्वाभिमानी नेपालीको औधी मन रुन्छ ।
केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
१.
संस्कार, संस्कृति र सम्पदा हाम्रो गौरवमय सम्पति ,
गाईजात्राको नाममा नबढून् वैमनष्यतिर दम्पति ।
२.
उहिले गाईजात्रमा मात्र हान्थ्ये व्यङ्ग्यबाँणको भाँचो ,
अहिले दिन दिन हानिन्छ छैन गाईजात्रको खाँचो ।
प्रद्युम्न चालिसे, भक्तपुर
१
राजनीतिले देशमा हुन्न कहिले भलो,
जोत्दाजोत्दै अड्काएर भाँचिदिएछन् हलो ।
२
गरेकै देख्छु सबैका चाहना कुर्सी घुमाउने,
कठै! कहिले सांसद कहिले मन्त्री गुमाउने ।
महेश तामाङ
बेल्कोटगढी-६,नुवाकोट
१.
सरकार हो! रे सरकार ! जानी नजानी,
कसले छेक्न सक्छ हरे! गर्न मनोमानी ।
२.
तखता पलट हुन सक्छ भन्ने कस्तो नजानेको,
जनताको इच्छा, चाहनालाई किन तुच्छ ठानेको ?
परिक्रमा श्रेष्ठ, धरान
१.
खाएर पेट नभरिने कस्तो खन्चुवा,
देशको नेता विदेशीको हुन्छ भतुवा ।
२.
भिडभाडमा कति ठुलो जात्रा देखाउँछन्,
भ्रष्टाचारमा लोकप्रिय नाम लेखाउँछन् ।
दस्ता कौशिक
पाँचथर, हिलिहाङ-२, सिंहपुर ।
१.
पछि आज म परे किन लेख्न यिनीहरूका विधाता,
उपमा सबै सकिएछ कोसँग जोडूँ यिनको नाता ।
२.
प्रयत्न सबैले धेरै गरे सुध्रिएनन् यी नेता,
गाइजात्रा अझै देखाउँदै छन् को उता को एता ।
विष्णुसिंह बस्नेत
ल. पु. १३, कुसुन्ती ।
१.
प्रसस्त धन-सम्पत्ति राखे आफन्तले मेरो सिरानमा,
चितामा खरानी पनि छोडेनन् जलाउनेले चिहानमा ।
२.
भन्दिनुस् तँ जा भन्दा सुँगुर स्वर्ग जाला?
सबै कुकुर काशी गए गु केले खाला?
३.
आर्यघाट नियालेर हेर जल्नेहरू रुँदैनन् रुन्छन् जलाउनेहरू
घमण्ड किन गर्छौ समाजमा मै हुँ भनी टुप्पाबाट पलाउनेहरू ।
अबजस चन्द्र, झापा
१.
ठूलाबडा नै आएर हुन्छन् सबै भेला,
बहाना छ गाईजात्रा हुने ठूलो खेला ।
२.
सोच छ ठूलो गर्ने कठिन बन्यो यात्रा,
पूरा नभएर यहाँ भयो जात्रै जात्रा ।
रविन भण्डारी
कानेपोखरी-२,दलेली मोरङ
१
राजनीति नाउँको ठाँडो,
नेताको मागी खाने भाँडो ।
२
नपुगेर हो कि राजनीतिमा मात्रा,
मेरो देशमा हुन्छ सधैँ गाईजात्रा ।
बिके माकजू ,भक्तपुर ।
१.
कति हो खै कुन्नि खानुपर्ने भ्रष्टाचारको मात्रा,
देख्नुपऱ्यो कहीँ नभएको हाँडीगाउँको जात्रा ।
२.
थुइक्क म कस्तो! पढ्न छोडेर नेता हुन किन सकिनँ,
लाउडा जहाज वाइडबडी कुन खाऊँ गर्थे यकिन ।
मुक्तिनाथ अधिकारी
भरतपुर,चितवन ।
१.
नेताहरूलाई व्यङ्ग्य गर्दै गीत गाउने थाले ,
आज त गाईजात्रा रे, अब हेर्न जाउन काले ।
२.
नक्कल गर्दै रमाउँछन् कलाकारहरू,
आनन्दमा हेर्ने त हुन् बाँकी सबै अरू ।
ललिता अभागी, सिन्धुली
१
कति गर्छन् भ्रष्टाचारी विदेशको यात्रा,
भ्रस्टचारीहरू मरे गाउँथे गाईजात्रा ।
२
मेरो देश बिगारे हाम्रा पापी नेताले,
दुई बोत्तल रक्सी खान्छु अब यता ले ।
सि.पि.आचार्य
१,
खुसी हुन्छन् यहाँ अर्काको लुटेर पेट भर्न पाए,
कस्तो जमना आयो पैसाकै निम्ति उनीहरू धाए ।
२,
सायद म दलित भएर नै होला पँधेराको पानी नछुने आदेश थियो,
अस्पतालको बेडमा मृत्युको भीख मागिरहँदा मेरो छोराले ब्लड दियो ।
दीपा मग्राती, चतरा सुनसरी
१.
ढुक्क हुन्छु टन्न खान्छु जेसुकै गर,
जति सक्छौ तिमीले पनि भुँडी भर ।
२.
नगर तिमी भयो लुकी-लुकीको यात्रा,
जात्रै जात्राको देशमा के को गाईजात्रा ??
दुर्गा आचार्य, खोटाङ्ग
१.
छिनछिनमा सरकार फेरिने देश हाम्रो,
बाहिर बस्दा लाग्ने कुर्सी पाइयो भने राम्रो ।
२.
लौ न ज्योतिषज्यू मेरो पनि हात हेर्नुपऱ्यो,
प्रधानमन्त्री बन्नैपऱ्यो कि रेखा फेर्नुपऱ्यो ।
३.
जाबो सांसद पद मात्रै केको खाई बस्नु,
क्या रमाइलो झन्डावाला गाडीभित्र पस्नु ।
घनश्याम पौडेल, सृजना चोक
पोखरा
१-
जनमत बेच्न कुर्सीका निम्ति थियो सभासद् भएर
एक नाङ्गिँदा अर्को बुङ्गिन सुहायो मन्त्रालय गएर ।
२-
मिलेपछि स्वार्थ सबै तराई र लेक एकै बन्छन्
गाई हुँडार वंश एकै उद्देश्य झन् एउटै भन्छन् ।
नारायण खनाल, मालारानी, अर्घाखाँची
१.
गर्छु भन्छ सब तर सिन्को सार्दैन,
रक्सी मासु बाँड्ने चुनावमा हार्दैन ।
२.
नेता धेरै सिपालु ठान्ने जनता बाँदर
यिनले ए हजुर आँ गर भन्दा आँ गर ।
ईशहाक हुसैन
प्रदेश नं.२, सिमरा उ.म.न.पा.१४ बारा नेपाल
१.
जहाँ थियो त्यहीँ मेरो रोकियो यात्रा,
जे भए नि आऊ मनाऊँ गाईजात्रा ।
२.
रमाइलो गरौँ न अब फुकाएर बन्धन,
एक अर्काको बारे गरेर गन्थनमन्थन ।
लालीमाया थापा मगर, प्यूठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।