म कतिपल्ट लडेर
आफ्नो घुँडा फुटाएँ भने
मान्छेको खुट्टा
तिम्रो कथामा शब्द बन्छ ?

यो सूर्य
तिम्रो कथामा शब्द बन्न
मैले जिन्दगीभरि कति भारी दाउरा बालेर
कति कोइला बनाउनु पर्छ ?

यो माहुरी
तिम्रो कथामा शब्द बन्न
मैले जिन्दगीभरिमा
कतिवटा फूलहरू फुलाउनु पर्छ ?
म चाहन्छु कि
संसारका सबै माहुरीहरू शब्दहरू बनून्

यो मूर्ति
तिम्रो कथामा शब्द बन्न
मेरो ढाडको हाड जिन्दगीभरिमा
कति खिइनु पर्छ ?

मैले कतिपल्ट
घरबाट कार्यालय र
कार्यालयबाट घर ओहोर दोहोर गरेर
यो जुत्ता फटाएँ भने
त्यो चराको पखेटाहरू
तिम्रो कथामा शब्द बन्छ ?
म चाहन्छु कि
संसारका सबै चराहरूका पखेटाहरू
शब्दहरू बनून् ।