म शब्द हूँ
राजा मानदेव, राजा यलम्बर, राजा यक्ष मल्ल
राजा मुकुन्दसेन, राजा पृथ्वी नारायण शाहहरुका शरीरहरु
मेरा इन्द्रिय हुन्
मेरा इन्द्रियहरू समय र स्थानमा छरिएका छन्
यहाँ अहिले
म तिमीसित छु
तर मलाई थाहा छैन
म कहाँबाट कहिले
तिमीलाई –
हेर्दैछु
सुन्दैछु
छुँदैछु
सुँघ्दैछु
चाख्दैछु
यो मुगु कर्णाली नदी
मैले कहाँबाट कहिले हेरेको
तिम्रो अनुहार हो ?
मलाई थाहा छैन
यो पाकेको धान
मैले कहाँबाट कहिले सुँघेको
तिम्रो गन्ध हो ?
म शब्द हूँ
तर मलाई थाहा छैन
यो दत्तात्रेय मन्दिर
मैले कहाँबाट कहिले छोएको
तिम्रो कम्मर हो ?
यो अमलाको रुख
मैले कहाँबाट कहिले सुनेको
तिम्रो आवाज हो ?
म शब्द हूँ
तर मलाई थाहा छैन
यो बाघ
मैले कहाँबाट कहिले चाखेको
तिम्रो कुम हो ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला