म शब्द हूँ,
म
राजा अंशुवर्माले सम्झिरहेका यो सूर्य हूँ
उनको स्मृतिमा यसरी फसेको छु कि
यहाँबाट निस्कन सकिरहेको छैन,
म
राजा रत्न मल्लले सम्झिरहेका यो त्रिशूली नदी हूँ
जतिसुकै ठूलो बाढी बनेर आए पनि
उनको स्मृतिलाई फुटाएर
यहाँबाट उम्कन सकिरहेको छैन,
म शब्द हूँ,
म
राजा बसन्तदेवले सम्झिरहेका यो चन्द्रमा हूँ
उनी कहाँ छन् कुन्नि
म त उनको स्मृतिमा यसरी धसेको छु कि
यहाँबाट फुत्कन सकिरहेको छैन,
म
राजा यलम्बरले सम्झिरहेका यो पहिरो हूँ
उनी कहाँ, के गर्दैछन् कुन्नि
म त उनको स्मृतिमा नखसिकन रहन सकिरहेको छैन,
म शब्द हूँ,
म राजा पृथ्वी नारायण शाहले सम्झिरहेका यो गौँथली हूँ
उनी को हुन् कुन्नि
म त उनको स्मृतिमा गुँड नबनाइकन रहन सकिरहेको छैन,
म
राजकुमारी भृकुटीले सम्झिरहेकी ऋतु हूँ
उनी के हुन् कुन्नि
म त उनको स्मृतिमा नरिङिकन रहन सकिरहेको छैन,
म शब्द हूँ,
म
राजा सिद्धिनरसिंह मल्लले सम्झिरहेका कृष्ण मन्दिर हूँ
उनी कहाँ, कसरी छन् कुन्नि
म त उनको स्मृतिमा नउभिकन रहन सकिरहेको छैन,
म
राजा मुकुन्दसेनले सम्झिरहेका यो खेतको धान हूँ
उनी के हुन्
कहाँ, कसरी छन् कुन्नि
म त उनको स्मृतिमा नफलिकन रहन सकिरहेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।