मान्छेहरूले यहाँ अहिले आफ्ना मनमा सम्झिरहेका शब्दहरुले
म यो कविता लेख्दैछु,

यहाँ अहिले
यो नदी
मान्छेहरुको मनभित्र बग्दैछ ,

यो नदी मान्छेहरूको मनभित्र बगिरहेकोले
मैले हात गोडा धुनलाई यहाँ अहिले पानी छैन,

त्यसैले म
मान्छेहरूले सम्झिरहेका –
बादलहरूले हात धुँदैछु,
ताराहरूले कुल्ला गर्दैछु,
चन्द्रमाले खुट्टा धुँदैछु,
आकाशले मुख धुँदैछु,
बुधग्रह, बृहस्पति ग्रहहरूले नुहाउँदैछु ।