सेप्टेम्बर १०, विश्व आत्महत्या रोकथाम दिवस ।

मनोचिकित्सा पेसामा भनौँ या मनोरोगहरूमा ‘आपत्कालीन’ अवस्था मानिएको विषय करिब करिब एउटै नै छ – आत्महत्या । हामीले जुनसुकै मनोरोगको पनि यथाशक्य शीघ्र उपचार गर्नुपर्ने त्यही आपत्कालीन अवस्थामा बिरामी नपुगून् भनेर नै हो । फेरि त्यो अवस्थामा पुगिसकेपछि त ती बिरामी फर्केर नै आउँदैनन् ।

तर ‘आत्महत्या’ यति धेरै संवेदनशील छ कि यो विषयले मनोचिकित्सकलाई सधैँभरि पछ्याइरहेको हुन्छ अनि उसको मनःस्थिति खलबल्याइरहेको हुन्छ । करिब ११—१२ वर्षदेखि नै मनोचिकित्सा पेसामा आबद्ध म यो नियमित आकस्मिकताबाट कसरी अछुतो रहन सकौँला त ?

अत्यन्त नै विडम्बनामय कुरा, अन्ताराष्ट्रिय अध्ययनहरूको तथ्याङ्कगत विश्लेषण गर्दा पेसागत रूपमा ‘आत्महत्या’को अनुपात चिकित्सकगणमा, तिनमा पनि एनेस्थेसियोलोजिस्ट अनि मनोचिकित्सकहरूमा नै ज्यादा भएको देखिन्छ ।

डा. अजय रिसाल

यही वर्ष असार महिनामा एउटा मनोचिकित्सक भाइले आत्महत्या गरेको खबर छापामा आयो । त्यो खबर थाहा पाएपछि मेरा परिवारका सदस्य अनि मित्रगणले भनि पनि हाले, “ओहो ! अरूलाई आत्महत्याबाट बचाउनुपर्ने, सम्झाउने बुझाउने गर्नुपर्ने मान्छे, आफैँले नै पो त्यस्तो गरेछ…….” । म हतप्रभ भएँ त्यस्तो प्रतिक्रियाले । भन्न त भनेँ, “आफू कलेजो-विशेषज्ञ भएको चिकित्सकलाई जन्डिस हुँदैन र ? हाडजोर्नी-विशेषज्ञको दुर्घटनामा परेर हड्डी भाँच्चियो भने तिनको शल्यक्रिया गर्नु पर्दैन होला त ? पेटरोग-विशेषज्ञलाई अल्सर हुँदैन र ? क्यान्सर-विशेषज्ञलाई क्यान्सर नै नहुने हुन्छ त ? त्यसरी नै मनोचिकित्सकहरूमा पनि मनोरोगको लक्षण नदेखिने भनौँ या तिनीहरू आपत्कालीन अवस्थामा नपुग्ने भन्ने हुन्छ र ?” तर पनि मनमा नमीठो रित्तोपनको भाव भने आइ नै रहन्छ ।

हुन पनि, जीवनको कठोर वास्तविकतालाई तथ्याङ्कगणितसित यो मनले सजिलै सधैँभरि कसरी दाँजिरहन सकोस् त ?

“आत्महत्या” अर्थात् “आफैँले आफैँलाई मार्ने” विषय नै यस्तै नै छ । तीन हप्ता जति अगाडि आफ्ना श्रीमती र छोरीको हत्या गरी आफैँले आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिलाई प्रहरीले मनोचिकित्साका लागि भनेर हामीकहाँ ल्याएका थिए । ओहो ! हामीले ठान्ने ‘मानसिक रोगी’ प्रहरीको भनौँ या कानुनको नजरमा त ‘अपराधी’ पो मानिने ! मन सकुशल भएको भए त्यस्तो जघन्य अपराध, आफ्नै श्रीमती र छोरीको हत्या गर्ने दानवीय कृत्य ती व्यक्तिले किन पो गर्ने थिए होलान् र ? अहिले त पीडा र पश्चात्तापको अग्निमा झन् डढिरहेको होला उनको मन । त्यही पश्चात्तापले उनको उदासीनता अझै बढाउँदो छ । कुनै दिन फेरि उनले आफैँलाई मार्ने चेष्टा पुनः नगर्लान् भन्न सकिन्न । हाम्रो मनोविमर्श अनि हाम्रा ओखती मुलोले कहिलेसम्म अनि कहाँसम्म थेग्ला ? म भन्न सक्दिनँ ।

केही वर्षअघिको अर्को एक बिरामीलाई कहिल्यै पनि बिर्सन्नँ म । “आत्महत्याको प्रयास” गरेका कारण ल्याइएका ती वयस्क व्यक्तिलाई करिब १५-२० दिन नै भर्ना गरेर राखेका थियौँ । रोगको निदान गरेर आवश्यक औषधोपचार अनि मनोविमर्शपश्चात् परिवारजनको सल्लाहमा नै घर पठाएका थियौँ । आत्महत्याको प्रयास एकपटक गर्नेले फेरि दोहोर्‍याउने ५० प्रतिशतभन्दा बढी सम्भावना हुन्छ भनेर तिनलाई एक्लै नछोड्ने सल्लाह पनि दिएका थियौँ तिनका छोरालाई । सबै कुरा ठिकठाक नै चलिरहेको थियो रे । केही दिनपछि पानी खान भनी बुइँगलको भान्सामा एक्लै पुगेका तिनले पासो लगाएर मृत्युवरण नै गर्न पुगेछन् । यस्तोमा हाम्रो उपचारपद्धतिलाई सफल मान्ने कि असफल ? आफैँ असामञ्जस्यपूर्ण अवस्थामा पुग्दछु म ।

“मलाई त आफू यो संसारमा बोझ भइयो कि जस्तो लाग्छ ।”

“म असहाय प्राणीलाई कसले पो सहायता गर्ला र ?”

“यो संसारमा अब बाँचेरै पो के प्रयोजन ?”

“बेला-बेलामा ‘मरूँ मरूँ’ जस्तो लागिरहन्छ । कहिलेकाहीँ त पासो लगाउने प्रयास पनि गरेको हो……”

यसरी सिधा-सिधा मृत्युको इच्छा अभिव्यक्त गर्ने रोगीहरू अनि “तपाईँलाई ‘मरूँ मरूँ’ जस्तो लाग्छ ?” भनेर हामीले सोध्ने सिधा प्रश्नको सरल उत्तर दिनेहरूलाई हामी विशेष निगरानीमा राख्दछौँ । आवश्यक परे भर्ना नै पनि गर्दछौँ । भर्नाअवधि पूरा गरेको या आफ्नो मनःस्थितिमा सुधार आएकाहरूलाई घर पठाउने बेलामा फेरि कुनै पनि बेलामा “मरूँ मरूँ” लाग्ने या आत्महत्याको विचार आएमा हामीसँग सम्पर्क गर्नका लागि भनेर फोन नं या हटलाइन पनि उपलब्ध गराउँदछौँ । त्यसरी फोन गर्दा हामीसँग हुने ५-१० मिनेटको कुराकानीमा नै तिनको “मर्ने चाहना”मा कमी ल्याई तिनको जिजीविषामा वृद्धि गराउने हाम्रो कोसिसले धेरैजसो अवस्थामा सार्थकता पनि पाउँदछ तर विडम्बना ! साँच्चै नै आत्महत्या नै गर्न पुगेकाहरूले त्यसरी फोन गर्न भ्याउँदैनन् पो कि त ? नत्र त किन यसरी आत्महत्याको तथ्याङ्कहरूमा दिनानुदिन वृद्धि हुँदै गइरहेको छ ?

मनोचिकित्सक भएपछिको विगत ११—१२ वर्षमा करिब करिब दश ओटा जति आत्महत्यासम्बन्धी लेख छपाएको रहेछु मैले पत्रपत्रिका/अनलाइनहरूमा । गत महिना मात्र पनि एक प्रचलित अखबारमा छापिएको थियो आत्महत्याकै विषयमा यस्तै लेख । त्यसैसँग सम्बन्धित मेरा ३ ओटा जति अनुसन्धानात्मक लेख रहेछन् मेडिकल जर्नलहरूमा आएका । मनोचिकित्सा पढ्नुभन्दा पहिले दुई ओटा लेख कोरेको रहेछु मैले डायरीमा आत्महत्यासँग सम्बन्धित नै ।

त्यसैले “आत्महत्या”को विषय धेरै पहिलेदेखि नै मेरो मनमस्तिष्कमा खेलिरहेको नै मान्दछु म ।

यही पेसाको दौरान अनि यो विषयमा विशेषज्ञता हासिल गर्नका लागि पढाइ गरेको तीन वर्षको समयसमेत जोड्दा करिब डेढ दशकको अवधिमा आत्महत्यालाई धेरै नजिकबाट देख्न अनि बुझ्न पाएको छु मैले । “आत्महत्याको प्रयास” गर्नेहरूलाई बाँचेर आपछि तिनको मनोभावको अध्ययन गरेर तिनको उपचार पनि गरेको छु तर पनि यो विषय जत्तिको अस्पष्ट, निराशाजनक, अपजसी अनि मनमा उद्वेग पैदा गर्ने अरू कुनै विषय नै छैनन् मेरा लागि । छापामा, समाचारहरूमा, सामाजिक सञ्जालमा, देशमा-विदेशमा, ज्ञात-अज्ञात व्यक्ति जसको पनि आत्महत्याको खबर पढ्दा-सुन्दा एकतमास बनाइदिन्छ मेरो मन ।

“आत्महत्या-गरिसकेपछि त सकिगो नि ? फर्काउन सकिने होइन । मनोरोगीहरूलाई त्यस्तो कृत्य गरिहाल्नबाट जोगाउने पो त हाम्रो काम त ! आत्महत्या गरेपछि त गइहाल्यो नि !”

“आत्महत्या”को खबर मात्रले नै पनि आफू मनोचिकित्सकको जिम्मेवारीबाट नै च्युत भइयो कि भन्ने पश्चात्तापको पीडा ममा किन आउँछ किन ? असफल शल्यक्रियाका कारण अपरेसन टेबलमै बिरामी मरेपछिका शल्यचिकित्सकलाई झैँ, उपचारप्रक्रिया चालु राख्दाराख्दै मृत्युवरण गर्न पुगेका मुटुरोगीका चिकित्सकलाई झैँ अनि असाध्य क्यान्सर बिरामीका डाक्टरलाई झैँ, “आत्महत्या” कसैले पनि गर्दा नैराश्यचाहिँ मलाई किन आउँछ ? संसारभरका “आत्महत्या”का लागि म आफैँलाई नै जिम्मेवार किन ठान्दछु ?

प्रारब्धको खेल या विधिको विधानलाई नै मान्ने हो भने पनि हे सृष्टिकर्ता ! किन आफ्नै हातले आफैँलाई मार्नेजस्तो कृत्यबाट कसैको जीवनलीला समाप्त हुने प्रारब्ध बनाई दिन्छौ तिमी ? तिनको अरू नै कारणले नै- रोग, भोक, दुर्घटना आदिका कारण धर्ती छोड्नुपर्ने लेखा बनाइदिए हुँदैन र ? कि त आत्महत्या गर्नेहरूलाई पौराणिक कालका राम, लक्ष्मण, सीता, कृष्ण, बलराम, या पञ्च पाण्डवहरूलाई झैँ धर्तीमा आफ्नो कर्तव्य पूरा भएको चेतना आउने हो ? अनि तिनले यो दुःसाध्य कदम खुसी-खुसी नै चाल्ने हो ? यो प्रश्न पनि सदाझैँ अनुत्तरित नै रहन्छ ।

हैन, हाम्रो जैविक सिद्धान्तले मानेझैँ तिनको आनुवंशिकतामा नै “आत्महत्याप्रतिको चाहना” प्रतिविम्बत नै हुने भए किन त्यस्तो हुने हो ? सेरोटोनिन रसायनको कमीले तिनलाई त्यस्तो कृत्यका लागि दुरुत्साहित गर्ने हो भने पनि किन त्यसलाई उल्टाउन नसकेको हामीले ? सबैलाई “सेरोटोनिन टनिक” को पो सिफारिस गर्नुपर्ने हो कि हामी मनोचिकित्सकहरूले ? या त नुनमा आयोडिन हालेझैँ, दन्तमन्जनमा फोलेट थपेझैँ कुनै खाद्यवस्तुमा सेरोटोनिन राख्ने सामुदायिक स्वास्थ्यको प्रावधान लागु गर्नुपर्ने हो ?

कुन मनोवैज्ञानिक सूत्र अथवा कुन मनोसामाजिक उपचारपद्धतिले हाम्रो समाजलाई आत्महत्या-उन्मुख नभई जीवनतर्फ लालायित बनाउन सक्ला त ?

आफैँलाई मारेर पलायनवादी बन्नुभन्दा जिजीविषा जगाएर कर्मयोगी बन्न प्रेरणा दिने श्रीकृष्णको नै खाँचो भएको त होइन हाम्रो समाजमा ? कसरी उँचो राख्ने मनःस्थिति कलिला किशोरकिशोरी, होनहार युवायुवती अनि आफ्नो जीवन भोगेर अरूलाई जीवनको प्रेरणा दिनुपर्ने प्रौढजगत्‌को ?

अलिकति चिन्तन गरेपछि अलिअलि झिनो आशाको त्यान्द्रो भेटेँ मैले श्रीकृष्णोपचार पद्धति अर्थात् श्रीमद्भगवद्गीतामा नै ।

 “उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।

 आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ” ।।भ.गी.६(५)।।

यानि कि मानिसले आफ्नो उद्धार आफैँले नै गर्नुपर्दछ किनकि आत्मा नै आत्माको मित्र हो अनि आत्मा नै आत्माको शत्रु हो । अर्थात् आफू नै आफ्नो मित्र या शत्रु भएकाले मानवमात्रले आफ्नो उद्धार आफैँले नै गर्ने प्रयास गर्नुपर्दछ ।

अध्यात्मको यो गूढ सूत्र हाम्रो उपचारकर्म या हाम्रो मनोविमर्शमा यथोचित संयोजन गरी कसैको उपचार गर्ने प्रयास गरेमा अत्यन्त ठूलो लाभ हुन सक्दछ कि ? हाम्रो ओखती मुलो, काउन्सेलिङ आदि सँगसँगै “आफ्नो आत्मोद्धार आफैँले नै गर्नुपर्ने” यो कृष्णवाक्यलाई त्यस व्यक्ति(मनोरोगी)को चेतना, शैक्षिक या प्राज्ञिकस्तरमा नै उदाहरण दिएर बुझाउन सकिएमा तिनलाई “आफ्नो हानि आफैँले गर्ने” दुर्विचारबाट विमुख गरी जेजस्तो अवस्थामा पनि जीवन जिएर नै आफ्नो उद्धार गर्ने प्रेरणा मिल्न सक्दथ्यो कि ?

“युद्धमैदान छाडेर पलायन हुने या शत्रुको हातबाट मर्ने” जस्तो विचार बोकेका युद्धनायक अर्जुनको विषाद त यस्तै कृष्णवाक्यले परिवर्तन गरायो भने “आत्महत्या” जस्तो गम्भीर निणर्य लिन खोज्ने सामान्य मानवमात्रमा यसले कसो सकारात्मक प्रभाव नल्याउला त ?

त्यसैले अब आजै (विश्व आत्महत्या रोकथाम दिवस २०२१) को दिनैबाट हाम्रो वैज्ञानिक आधुनिक उपचारपद्धतिमा अध्यात्मको यो सानो सूत्र (श्रीकृष्णवाक्य) मिश्रण गर्ने प्रयास थालिन्छ । आशा छ, यसले राम्रो प्रभाव नै पार्नेछ ।

“कालो बादलमा चाँदीको घेरा” सरि श्रीमद्भगवद्गीताको यो सुन्दर उद्धरणले मेरो जलिरहेको मनमा अलिकति भए पनि शान्ति ल्याइदिएको छ अहिले ।

त्यसैले म “जीवनबाट पलायन चाहने सबै” लाई कवि भूपीको शब्द सापटी लिएर मेरो डायरीमा कोरिएका यी शब्दहरू पुनरुद्धृत गरी आह्वान गर्न चाहन्छु –

हे! आत्महत्या गरी जीवन गुमाउन चाहनेहरू हो !

आफैँलाई मायाँ गरी जिएर त हेर,

जीवन कति न्यानो छ ?

जीवन कति प्यारो छ ??

 

आफ्नो उद्धार आफैँले गर्ने प्रयास गरेर त हेर,

संसार कति उज्यालो छ ?

संसार कति रमाइलो छ ??

डा. अजय रिसाल, मनोचिकित्सक

सह—प्राध्यापक, मानसिक रोग विभाग धुलिखेल अस्पताल