१. क. साह, एक ७० वर्षीया विधवा महिला ।

केही हप्ताअघि मसँग परामर्शका लागि ल्याइएकी थिइन् । “कसैसँग नबोल्ने, एक्लै रुने, अलिअलि बिस्मृति भएझैं गर्ने, ‘टाउको दुख्यो, जिउ दुख्यो’ भनेर चिन्तित भइरहने, खानामा रुचि नदेखाउने, राति निद्रा नपर्ने, यदाकदा परिवारका सदस्यहरुलाई सानातिना विषयहरुमा पनि शंका गरेझैं व्यवहार देखाउने” आदि लक्षणहरुले आक्रान्त पारेपछि उनका छोराबुहारीले हामीकहाँ ल्याइपुर्याएका थिए तिनलाई । तीन छोरी अनि दुई छोराकी आमा तिनी । सबै छोरीहरुको विवाह भइसकेको अनि कान्छा छोरा परिवारसहित अमेरिकामा नै बस्न थालेकाले हाल जेठा छोराको परिवारसँग बसिरहेकी रहिछिन् । तिनै जेठा छोराबुहारीले ल्याएका थिए तिनलाई अस्पतालमा । साथमा कान्छी छोरी, जेठा ज्वाइँ अनि माहिली नातिनी पनि थिए । पाँच वर्षयता मधुमेहको औषधि पनि खाइरहेकी रहिछिन् तिनले । करिब एक वर्षअघि उनको श्रीमान्को क्यान्सरका कारण मृत्यु भएको रहेछ । त्यसै समयदेखि नै अलिअलि गरेर माथिका लक्षणहरु देखिएको तिनलाई करिब एक महिनायता अलि बढी नै अनि सम्हाल्नै नसक्ने जस्तै गरी समस्याहरुले आक्रान्त पारेपछि अस्पताल ल्याइएको रहेछ । उनका आवश्यक शारीरिक एवं मानसिक परीक्षणहरु गरेर उनमा डिप्रेसन अर्थात् ‘उदासीनता’ भएको हुनसक्ने हामीले निक्र्यौल गर्यौं ।

प्रा.डा. अजय रिसाल

२. म. श्रेष्ठ, एक ६५ वर्षीय अवकाशप्राप्त सरकारी कर्मचारी ।

विगत दुई–तीन वर्षदेखि स्मरणशक्तिमा समस्या देखिएको रहेछ उनलाई । “चिनेजानेका मान्छेहरु नै पनि ठम्याउन नसक्ने, गते–बार–महिना बिर्सने, कहिलेकाहीँ त तिथिमिति नै पनि नसम्झने, गाउँठाउँ–बाटोघाटो–चोक–घुम्ती झुक्किने, आफूले गर्दै आएका नियमित कार्यहरुमा पनि मेसो नमिलाएको झैं देखिने” जस्ता लक्षणहरु देखिन थालेको रहेछ उनमा । ‘उमेर बढ्दै गएका कारण अलिअलि बिर्सन थालेका होलान्’ भनेर सामान्य समस्याका रुपमा सोचेका रहेछन् परिवारका सदस्यहरुले । हुन त मन्त्रालयको उप–सचिवसरहको पदमा काम गरिरहेका उनी पाँच वर्षअघि सेवानिवृत्त भएदेखि नै अलिअलि “एकोहोरो जस्तो हुने गरेको, ओछ्यानमा झोक्रिरहने, सानासाना कुरामा झर्कोफर्को गर्ने, सामाजिक कार्यहरुमा चासो नदेखाउने गरेको” पनि बताउँछन् उनका कान्छा छोरा । पहिले टोलछिमेकका निर्माणकार्य, छलफल आदिमा सक्रिय रहने गरेका अनि सबैका हाइहाइ जस्ता रहेका उनका अवकाशपछिका यी व्यवहारहरु अलि असामान्यझैँ नै देखिएको भए तापनि ‘पछि ठीक हुँदै जाला नि त !’ भन्ने सोचेका रहेछन् उनीहरुले । तर विगत एक महिनायता “घरभित्रैको शौचालय र भान्छा, आफ्नो सुत्नेकोठा, बैठक कक्ष आदि पनि थाहा नपाउने, खाइसकेपछि पनि खाएकै छैन भन्ने, आफ्ना नातिनातिनीहरुलाई समेत नचिन्ने”, अनि “धुम्रपान–मद्यपान नगर्ने एवं माछामासु समेत नखाने उनले ती वस्तुहरुको माग गर्ने” जस्ता अलि असहज व्यवहारहरु उनमा देखिइन थालेपछि भने हामीकहाँ ल्याइपुर्याइएका थिए उनी । प्रौढावस्थामा नै अचानक यस्ता व्यवहारहरु देखिँदा हामीले शारीरिक रोगहरु (रक्तचाप, मधुमेह, मस्तिष्कजन्य समस्या)को नै पहिले निदान गर्नुपर्ने हुन्छ । पहिले उपरोक्त कुनै पनि शारीरिक रोग नभएका उनका अहिले गरिएका रगत, सिटीस्क्यान अनि एम.आर.आई जस्ता जाँचहरुद्वारा कुनै शारीरिक समस्या अहिले पनि नरहेको पाइयो । अन्ततः मनोचिकित्सकीय कोणबाट परीक्षण गर्दा उनमा डिमेन्सिया अर्थात् ‘बिर्सने रोग’का प्रारम्भिक लक्षणहरु देखा पर्न थालेको हामीले अनुमान गर्यौं ।

३. प.शर्मा, ७५ वर्ष, एउटा वृद्धाश्रममा रहेकी एकल महिला ।

ठाउँवतन थाहा नभएकी अनि करिब ५–७ वर्षदेखि परित्यक्त अवस्थामा एउटा वृद्धाश्रममा रहेकी यी महिलामा करिब दुई–तीन महिनायता असामान्य लक्षणहरु देखिन थालेको रहेछ । कान कम सुन्ने यी वृद्धा “एक्लै बरबराइने, चिड्चिडाउने, रिसाउने” गर्न थालेकी रहिछिन् । पहिले अन्य वृद्धवृद्धाहरुसँग मिलेरै बस्ने अनि हाँसीखुसी गर्ने यिनी आजकल अरुहरुसँग झगडा गर्न समेत थालिछिन् । वरिपरि कोही नहुँदा पनि मानिसहरुले गाली गरेको, अपशब्द बोलेको सुन्ने अनि टाढाटाढा रहेका मानिसहरुले समेत आफ्नै बारेमा नराम्रो कुरा गरेको आरोप लगाउने गर्न थालिछिन् उनी । पहिले पहिले दिएको खानेकुरा खुसीखुसी हत्तारहत्तार खाइहाल्ने उनी अचेल भने सुँघेर, ओल्टाइपल्टाइ गरेर, पर्खेर, अरुले खाएपछि मात्र खाने गर्न थालेकी रहिछिन् । हिजोआज त “मेरो खानेकुरामा फलाना–फलानाले विष हालिदिएका छन्, म त यो खान्नँ” समेत भन्न थालिछिन् उनले । यस्ता असामान्य व्यवहारहरु देखिएपछि वृद्धाश्रमका कर्मचारीहरुले उनलाई ल्याए हामीकहाँ । आवश्यक शारीरिक एवं मानसिक परीक्षणहरु गरेपछि उनमा वृद्धावस्थामा हुने साइकोसिस भएको निक्र्यौल गर्यौं अनि उनको उपचार गर्न थाल्यौँ हामीले ।

माथि उल्लेखित तीन प्रकारका समस्याहरु प्रौढावस्थामा रहेका मनका कथाका विविध पाटा हुन् । डिप्रेसन, डिमेन्सिया, साइकोसिस जस्ता मनोरोगहरु प्रौढावस्थामा हामीकहाँ प्रायः ल्याइपुर्याइने मानसिक रोगहरु हुन् ।

आधुनिक समयमा स्वास्थ्य सेवामा आएको सकारात्मक परिवर्तन सँगसँगै विश्व–जनसंख्यामा वृद्धवृद्धाको अनुपात बढ्दै गएको देखिन्छ । विश्व स्वास्थ्य संगठनको हालसालै प्रकाशनमा आएको आँकडा अनुसार ६० नाघ्ने जनशक्ति ८० करोडको हाराहारीमा रहेको र तिनको अधिकांश हिस्सा हाम्रोजस्तो न्यून एवं मध्य आय भएका मुलुकहरुमै रहेको देखिन्छ । जनसंख्या वृद्धि यही दरमा कायम रहिरहने हो भने सन् २०५० सम्ममा तिनले २ अरब नै ओगट्न पुग्ने तथ्यांक प्रक्षेपित भइसकेको छ ।

सन् २०१९ को देश्व्यापी सर्भेक्षणले नेपालको कूल जनसंख्याको करिब ९ प्रतिशत हिस्सा ६० वर्षमाथिकाले ओगटेको र औसत आयु पनि बढेर ६८–७० को हाराहारीमा पुगेको दर्शाएको थियो ।

यसरी बुढेसकालमा पुगेका आश्रितावस्थाका जनसमूह प्रायः घरपरिवारबाट परित्यक्त या अवकाश जीवन बिताइरहेको अवस्थामा भेटिने गर्दछन्, जसका कारण तिनको मानसिक अवस्था सन्तोषप्रद नरहन सक्दछ । अमेरिकामा एक दशक अगाडि गरिएको अध्ययनले ५५ नाघेका वृद्धवृद्धामध्ये २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको थियो । तर यी समस्याहरु स्वास्थ्यकर्मी मात्र नभई घर–समाजका सदस्यहरुले समेत सजिलै थाहा नपाउने गरी सुषुप्तावस्थामा रहेका हुन सक्दछन्, या त लेकलज्जा, शारीरिक अस्वस्थता एवं आर्थिक कमजोरी आदिका कारण वृद्धवृद्धाहरुले नै लुकाउने गर्दछन् ।

वृद्धावस्थाका मानसिक समस्याका विभिन्न पाटा छन् । सामाजिक कोणबाट हेर्दा माथि उल्लेखित कारणहरु सँगसँगै गरीबी, परनिर्भरता, नजिकका व्यक्ति या आफ्ना समवयीको मृत्यु, शारीरिक रोग या अन्य कुनै कारण काम गर्ने सामर्थ्यमा कमी आउनु, आफ्नै परिवारमा रहेका दीर्घरोगीहरुको हेरचाह गर्नुपर्ने अवस्थामा रहनु आदि कारकतत्त्वहरुले गर्दा तिनको मनोबलमा आउने ह्रास सँगसँगै उदासीपन देखापर्ने गर्दछ । अहिलेको हाम्रो सामाजिक–आर्थिक संरचनाको अध्ययन गर्दा २०–४५ वर्षका पुरुषहरु कामको खोजीमा विदेशिने अनि घरमा महिला र हजुरबा–नाति जस्ता उमेरसमूहमात्र रहेका देखिन्छन् । यसले गर्दा पुस्तान्तरको गम्भीर दुष्प्रभावसँगसँगै वृद्धवृद्धाको गतिलो स्याहारसुसार नहुने या तिनीहरु परित्यक्त अवस्थामा वृद्धाश्रम या सडकमा नै शरणागत अवस्थामा पुगेका भेटिन्छन् । हाम्रोजस्तो मातृ– पितृवर्गको सम्मान गर्ने संस्कृति भएको देशमा समेत यस्ता घटना अचेल नौला लाग्न छाडिसके ।

विश्वव्यापी रूपमा पुरुषको तुलनामा महिलाको औसत आयु बढी हुने भएकाले बुढेसकालमा महिलाको जनसङ्ख्या धेरै देखिन आउँछ । तिनीहरू प्रायः आफ्ना वृद्ध–रोगी पतिहरूको हेरचाहकर्ताका रूपमा पनि रहेका हुन्छन् । हाम्रो मुलुकमा अधिकांश महिलाहरू अवकाश सुविधा पाइने पेशामा नरहने हुँदा ती वृद्धाहरू घरपरिवारको आम्दानीमा निर्भर हुन्छन्, जसका कारण पारिवारिक दुर्व्यवहारको शिकार पनि बढी नै हुने गर्दछन् । डिप्रेसन, डिमेन्सिया जस्ता रोग पनि महिलामै ज्यादा देखिनुको पृष्ठभूमिमा यिनै पक्षहरु जिम्मेवार मान्न सकिन्छ ।

वृद्धावस्थामा मुटुरोग, मधुमेह, अर्बुद रोग, दम जस्ता रोगहरु नै मृत्युका कारकतत्त्व बन्ने गर्दछन् । यसमा मानसिक रोग पनि थपिन आएमा ती वृद्ध रोगीहरुले शारीरिक समस्याका लागि प्रयोग गर्ने गरेको औषधिको निरन्तरतामा समस्या आउने र शारीरिक रोगहरुको दुष्परिणाममा वृद्धि हुन जाने देखिन्छ । त्यस्तै दीर्घरोगका कारण नै पनि डिप्रेसनजस्ता मनोरोगको सम्भावना बढ्ने हुनसक्दछ । अतः बुढेसकालमा शारीरिक एवं मानसिक रोगहरु एकअर्कासँग अन्योन्याश्रित सम्बन्धमा रहेको प्रतीत हुन्छ ।
अन्तर्राष्ट्रियस्तरमा वृद्धावस्थाका मानसिक समस्याहरुमा डिप्रेसन, डिमेन्सिया, एङ्गजाइटी अनि लागूपदार्थजन्य रोगहरु नै प्रमुख देखिएका छन् ।

सन् २०१२ मा ६० वर्ष नाघेकामा गरिएको विश्वव्यापी अध्ययनमा करिब ५ प्रतिशतमा डिमेन्सिया देखिएको थियो । यसको अनुपात २० वर्षमा दोब्बर नै पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै सन् २०१० को एक शोधकार्यले बुढेसकालमा डिप्रेसनले गराउने असमर्थता अन्य उमेरसमूहमा भन्दा १.६ प्रतिशतले बढी हुने देखाएको थियो । लक्षणहरुमा हुने भिन्नताका कारण स्वास्थ्यकर्मीहरुले यसको समयमै पहिचान नै गर्न नसक्ने हुनसक्दछ । अतः यसमा मनोचिकित्सकहरु नै चनाखो हुनुपर्ने देखिन्छ ता कि तिनलाई आत्महत्याजस्ता गम्भीर दुष्परिणमबाट बचाउन सकियोस् । हामीले तीन वर्षअघि गरेको काभ्रे जिल्लाव्यापी एक सर्भेक्षणले त ६० वर्ष नाघेका वृद्धवृद्धाहरुमध्ये आधाभन्दा बढी (५३.१ प्रतिशत)मा डिप्रेसन रहेको देखाएको थियो । प्रौढावस्थाको उक्त समस्या ग्रामीण भेगमा, निरक्षरहरुमा, परिवारका सदस्यहरुसँगको सामीप्यता कमी भएकामा, अनि मौखिक या शारीरिक दुर्व्यवहारको शिकार भएकाहरुमा ज्यादा भएको पाइएको थियो । यो समस्याले ती वृद्धवृद्धाहरुको जीवनको गुणात्मकताका कमी ल्याएको पनि खुलासा गरेको थियो उक्त अध्ययनले ।

हालसालैको एउटा अर्को अन्तर्राष्ट्रिय अध्ययनले १० प्रतिशत वृद्धवृद्धामा एङ्गजाइटी डिस्अर्डर रहने देखाएको थियो । हाम्रो मुलुकमा त्यत्तिसारो नदेखिए पनि अन्य देशहरूमा वृद्धावस्थामा लागूपदार्थजन्य समस्या पनि निकै नै देखिन्छ ।

यी मानसिक समस्याका कारण वृद्ध—वृद्धाहरुमा आइपर्ने दैनिक कृयाकलापका अफ्ठ्यारा, जीवनको गुणात्मकतामा आउने कमी अनि शारीरिक रोगहरुको उपचारमा हुने व्यवधान त एक ठाउँमा छँदै नै छ, शारीरिक समस्याका कारण मानसिक रोगको औषधोपचारको सीमितताले अझै अफ्ठेरो थपिदिन्छ ।

अतः बुढेसकालमा देखिने मानसिक समस्याहरुलाई विश्वव्यापी चुनौती सरह नै मानेर समाधानका उपायहरु अबलम्बन गर्न जरुरी भइसकेको छ । सर्वप्रथम त वृद्धावस्थामा मानसिक समस्याहरुको समयमै पहिचान गर्नका लागि अनि आवश्यक परेमा विशेषज्ञकहाँ परामर्श गराउनकै लागि पनि स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको जरुरत पर्दछ । यसमा मनोचिकित्साकर्मीहरुको साथसाथै नर्सिङ्ग पेशामा आवद्ध स्वास्थ्यकर्मीहरुको योगदान पनि महत्त्वपूर्ण छ । घरपरिवारका सदस्य एवं वृद्धाश्रम चलाउने निकायमा पनि चेतना अभिवृद्धि कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । रोग पहिचान भइसकेपछि चिकित्सकहरुले उचित औषधि सानो मात्रामा सुरु गरी बिस्तारै बढाउँदै लानुपर्दछ । ‘निद्राको गोली’ हरु मात्र प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित नै गर्नुपर्दछ ।

घरसमाजमा पनि बुढाबुढीहरुको जीवन—अनुभवको समुचित उपयोग गर्ने वातावरण बनाई तिनलाई ‘कमजोर’, ‘बेकामे’ ठान्ने परम्परामा सुधार ल्याई तिनको ‘स्वतन्त्रता, स्वाभिमान एवं सम्मान’को ख्याल राखी समाजोपयोगी कार्यमा लगाउन सकिन्छ। हाम्रो देशमै पनि औसत आयु वृद्धि भएको तथ्यलाई ह्रदयंगम गरेर अवकाशको उमेर हद पनि बढाउनतिर पहल गरी राष्ट्रले तिनमाथि गरेको लगानीको उचित प्रतिफल तिनको अनुभवबाट लिने हो कि ?

यी सब कुराहरुको मनन गर्दै वृद्धवृद्धाहरुमा स्वस्थ जीवनपद्धतिको विकास गराउनसके वर्षवृद्धिलाई बोझको रुपमा लिने चिन्तनमा परिवर्तन आई हाम्रो वेदवाक्य ‘शतम् जीवेम शरदः’साँच्चै नै चरितार्थ हुने थियो कि ?