श्रीमद्भगवद्गीताको दसौँ अध्यायमा परमात्माका विभूति एवं योगहरूको व्याख्याद्वारा श्रीकृष्णले आफ्ना बीज एवं अंशहरू जगत्का सबै प्राणी एवं वस्तुहरूमा विद्यमान रहेको तथ्यको सैद्धान्तिक प्रस्तुतीकरण गरेका थिए । उक्त व्याख्यानले अर्जुनको मनमा राम्रै प्रभाव पारेको हुनुपर्दछ । त्यही विभूतियोगको उत्कृष्ट प्रस्तुतिको सफलता नै भन्नुपर्दछ, आफ्ना बालसखा श्रीकृष्णलाई भने अब साँच्चै नै परमात्माका रूपमा मान्न थालेका थिए अर्जुन । त्यसैले एघारौँ अध्यायको प्रारम्भमा नै अर्जुन भन्दछन् –
“मदनुग्रहाय परमं गुह्यमध्यात्मसञ्ज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोऽयं विगतो मम” ।।भ.गी.११(१)।।
अर्थात्, “हजूरले बताउनुभएको परम गोपनीय अध्यात्मविषयक तत्त्वज्ञानले मेरो मोह दूर भयो” ।
तर, उनमा अध्यात्मप्रति जागेको ज्ञानको भोक शान्त भएको भने थिएन । आत्मज्ञानको सैद्धान्तिक रटानले मात्र उनी सन्तुष्ट रहनेवाला थिएनन् पनि । अतः उक्त ज्ञानको प्रयोगात्मक परीक्षण गर्ने तीव्र इच्छाका साथ उनी श्रीकृष्णलाई आफ्नो ईश्वरीय रूपको प्रत्यक्ष दर्शन गराउनका लागि विनीत भावमा आग्रह गर्दै भन्दछन् –
“मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम्” ।।भ.गी.११(४)।।
श्रीकृष्ण पनि एक आदर्श अनि असल गुरु नै थिए । आफ्ना शरणागत शिष्यहरूको भनौँ या परमभक्तहरूको अत्याधिक कल्याणका लागि सक्दो गर्नैपर्ने धारणा थियो उनको । सिद्धान्तको प्रस्तुतिले मात्र ज्ञानदानमा पूर्णता नआउने वैज्ञानिक तथ्यतर्फ पनि सचेत नै थिए उनी । अतः अघिल्लो अध्यायमा प्रतिपादित सिद्धान्तको प्रयोगात्मक परीक्षण गर्न तयार नै थिए उनी । मात्र शिष्यका रूपमा आफ्ना अगाडि रहेका अर्जुनको उक्त प्रयोग अथवा परीक्षणका लागि “कत्तिको तयारी, कत्तिको जिज्ञासा या आकाङ्क्षा छ ?” भन्ने निक्र्यौल गर्ने क्षणको भने प्रतीक्षामा थिए उनी । तर ११औँ अध्यायको सुरुका चार श्लोकहरूले अर्जुनमा रहेको ज्ञानप्रतिको तीव्र आकाङ्क्षा अनि मुमुक्षुपनको राम्रो चिनारी गरायो । श्रीकृष्ण त्यसैले प्रसन्न भएर अर्जुनलाई प्रयोगात्मक ज्ञान दिनका लागि तयार हुन पुगे ।
दसौँ अध्यायले “सबै प्राणीहरूमा परमात्माको सर्वोत्कृष्ट अंश रहेको” अर्थात् “आत्माको सर्वव्यापकता”को सिद्धान्तलाई उपयुक्त तथ्यहरूसहित प्रतिपादन गरेको थियो । अब त्यस सिद्धान्तलाई प्रयोगात्मक तवरले पुष्टि गर्नका लागि “सबै प्राणीहरू एउटै आत्मतत्त्वमा स्थित रहेको” तथ्य दर्साउन जरुरी भयो । कुनै पनि वस्तु या प्रक्रिया–प्रतिक्रियाको अंश या सारतत्त्वलाई त्यसै वस्तुबाट निर्मित अथवा त्यसैसँग सम्बन्धित विभिन्न वस्तुहरूमा रहेको देखाउन या बुझाउन सजिलो हुन्छ । अलिकति मिलाएर भन्नुपर्दा, एक तत्त्व (आत्मा)लाई अनेक (प्राणीहरू)मा देख्न सरल नै हुन्छ तर त्यसको विपरीत अनेक वस्तु(प्राणी)हरूलाई एकै तत्त्व (परमात्मा)मा देख्न–देखाउन त्यत्ति सजिलो भने छैन । यही कुरा श्रीकृष्णले अर्जुनलाई नै भनेका छन्-
“न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम्” ।।भ.गी.११(८)।।
अर्थात्, “तिम्रो इच्छामुताबिक मेरो ईश्वरीय रूप तिमीलाई देखाउन म तयार नै छु तर तिमी आफ्ना यी दुई प्राकृतिक आँखाहरूद्वारा मलाई देख्न भने समर्थ हुँदैनौ । त्यसका लागि म तिमीलाई दिव्यचक्षु दिन्छु । यसबाट तिमी मेरो ईश्वरीय योग हेर ।”
यही दिव्यचक्षु प्रदान गर्ने कार्यमा नै मनोवैज्ञानिक चिकित्सा पद्धतिको एक विशिष्ट आयामको प्रयोग भएको छ भन्ने म मान्दछु – सम्मोहन उपचार ।
उक्त विधिको अन्य वैदिक ग्रन्थहरू (उदाहरणका लागि अथर्ववेद) अनि पुराणहरू (उदाहरणका लागि श्रीमद्भागवद महापुराण)मा पनि उल्लेख भएको छ । फेरि श्रीकृष्णको एउटा नाम नै हो मोहन । अनि विष्णुको मोहनी अवतारको कथा पनि प्रसिद्ध नै छ हाम्रो धर्म–संस्कृतिमा ।
हाम्रो मनोचिकित्सा विज्ञानमा सम्मोहन उपचारको सफलताका लागि तीन अवयवहरू अत्यावश्यक नै मानिन्छन् –
१. एक आधिकारिक मनोचिकित्सक जो समवेदनायुक्त अनि मनोरोगीको उपचारका लागि अत्यन्त अनुभवी छन्,
२. चिकित्सकीय सुझावलाई सजिलै ग्रहण गर्न समर्थ अनि चिकित्सकलाई पूर्ण विश्वास गरी शरणागत भएको बिरामी,
३. सम्मोहनीय प्रेरणालाई उपयुक्त तवरमा प्रयोग गर्न सकिने वातावरणको उपलब्धता ।
महाभारत युद्धको सुरुवाती समयमा श्रीकृष्ण–अर्जुन संवादका रूपमा श्रीमद्भगवद्गीतारूपी उपचार पद्धति सञ्चालित भइरहेको अवस्थामा उपर्युक्त तीनवटै अवयवहरू दुरुस्त रहेको मान्न सकिन्छ ।
१. श्रीकृष्णभन्दा आधिकारिक अनि योग्य मनोचिकित्सक अर्जुनका लागि अरू को नै हुन सक्थ्यो र ?
२. प्रारम्भिक अवस्थामा विषादग्रस्त रहेका अर्जुन शनैः शनैः जिज्ञासु अनि मुमुक्षुका रूपमा परिवर्तित भइरहेका थिए । आफूले आफ्ना बालसखाका रूपमा मात्र मानेका श्रीकृष्ण परमात्मा नै भएको कुरामा उनलाई अब द्विविधा थिएन । श्रीकृष्णले प्रतिपादन गरेका सबै सैद्धान्तिक तथ्यहरूलाई स्वीकृति प्रदान गरी त्यसको प्रयोगात्मक पुष्टिका लागि उनी अनुनय गरिरहेका थिए । अतः उनले श्रीकृष्णका अनुभवजन्य चिकित्सकीय सुझावलाई सजिलै ग्रहण नगर्ने भन्ने अब कुनै प्रश्न नै थिएन ।
३. विषादग्रस्त अवस्थामा आफ्नो क्षत्रिय कर्तव्यबाट च्युत हुन लागेका अर्जुनलाई जसरी भए पनि युद्धकार्यमा प्रवृत्त गराउनुपर्ने नै तात्कालीन समयको माग थियो । अतः यो वार्तालाप भइरहेको स्थान युद्धक्षेत्रमा नै सम्मोहन उपचार पद्धतिका लागि अति उपयुक्त वातावरण रहेको थियो ।
श्रीमद्भगवद्गीताको दसौँ अध्यायको समाप्तिको अवस्थासम्म आइपुग्दा अर्जुन पूर्णरूपबाट श्रीकृष्णको शरणागत भइसकेका थिए । यो अवस्था सम्मोहन उपचारका लागि एकदमै परिपक्व समय हो । फेरि श्रीकृष्णसँग उनको ईश्वरीय रूप दर्शनका लागि अनुरोध गरेर अर्जुन श्रीकृष्णप्रति पूर्ण समर्पित नै हुन पुगे । यो अवस्थामा श्रीकृष्णले आधिकारिक तवरले दिने कुनै पनि सुझाव अर्जुनले मान्ने अनि तदनुरूप कार्य गर्ने नै थिए । अतः आफ्नो सम्मोहनमा अन्तर्निहित गराउने प्रयोजनका साथ श्रीकृष्ण अर्जुनलाई आफ्ना विविध रूप, आकृति, आफूभित्र रहेका आदित्य, वसु, अश्विनीकुमार, मरुद्गणआदि सबै देव अनि चराचरआदि सबै आश्चर्यहरू अवलोकन गर्ने प्रेरणा दिन्छन् ।।भ.गी.११(५–७)।। अनि आफूमा अर्जुनले हेर्न चाहेका सबै कुरा रहेको भन्दै श्रीकृष्ण भन्दछन् –
“इहैकस्थं जगत्कृत्स्नं पश्याद्य सचराचरम् ।
मम देहे गुडाकेश यच्चान्यद्द्रष्टुमिच्छसि” ।।भ.गी.११(७)।।
यस्तो प्रेरणाले सम्मोहन उपचार विधिमा ठूलो काम गर्दछ । अझ म तिमीलाई दिव्यदृष्टि दिन्छु जसद्वारा तिमी मेरो ईश्वरीय योगलाई देख्न सक्तछौ ।।भ.गी.११(८)।।” भन्ने श्रीकृष्णवाणीले त झन् अर्जुनलाई तुरुन्त सम्मोहित तुल्याउने काम गऱ्यो । उनका आँखा अगाडि श्रीकृष्णको विराट्स्वरूप प्रस्तुत हुन पुग्यो । अनेक आँखा, मुख भएका, अद्भुत अनुहार, दिव्य माला एवं वस्त्रहरूले सजिएका, अनेक शस्त्रहरू हातमा लिएका अनेकौँ आश्चर्यहरूले युक्त परमदेव प्रकट भए अर्जुनका अगाडि । आकाशमा हजारौँ सूर्य उदय हुँदाको जस्तो प्रकाश चारैतिर व्याप्त भयो । अनेकौँ स्वरूपमा विभक्त भएको जगत्लाई अर्जुनले श्रीकृष्णको शरीरमा एकै ठाउँमा देखे । यसरी एक्कासि आँखाअगाडि आइपुगेको ईश्वरको योगरूपले गर्दा आश्चर्यचकित, हर्षतिरेक अनि रोमाञ्चित भएका अर्जुनले श्रद्धाभक्तिसहित त्यो विश्वरूपको प्रार्थना गर्न थाल्दछन् । ।।भ.गी.११(९–१४)।।
श्रीमद्भगवद्गीता एघारौँ अध्यायको जम्मा १७ श्लोक (१५औँ देखि ३१औँ श्लोकसम्म)मा अर्जुनले सम्मोहित अवस्थामा गरेको विश्वरूपको प्रार्थनामा माथि उल्लेख भएझैँ सम्पूर्ण चराचर जगत्लाई एउटै परमात्मतत्त्वमा अडिएको, अर्थात् “अनेकतामा एकता”को अर्जुनलाई दृष्टिगोचर भएको हामी पाउँदछौँ । यसरी दसौँ अध्यायमा प्रतिपादित सिद्धान्तको सफल प्रयोगात्मक परीक्षण भएको देखिन्छ यो अध्यायमा ।
अर्जुन ब्रह्मा, विष्णु, महेशसहित सबै देवता, ऋषिगण, सर्पहरू त्यहाँ देख्तछन् । आदि, मध्य र अन्त्यरहित त्यो रूपमा उत्पन्न भएको तेजले सम्पूर्ण जगत्लाई ताप दिइरहेको मान्दछन् अर्जुन । त्यो उग्र रूपलाई देखेर सम्पूर्ण लोक डराइरहेको ठान्दछन् उनी । देवताहरूको समूह त्यो विश्वरूपभित्र स्तुतिगान गर्दै प्रवेश गरिरहेको देखिन्छ । आफू पनि त्यो रूपलाई देख्दा डराइरहेको भाव व्यक्त गर्दछन् उनी ।
अझ युद्धकार्यमा उन्मुख भएर आएका आफ्नो शत्रुपक्ष कौरवका भीष्म, द्रोण, कर्ण आदि महत्त्वपूर्ण योद्धाहरू अनि आफ्नै पक्षका महारथीहरूसमेत त्यो विश्वरूपको मुखभित्र प्रवेश गरी विलीन भएको पनि देख्तछन् उनी । नदीहरू समुद्रमा अनि पुतलीहरू बलेको अग्निमा तीव्र बेगमा प्रवेश गरी नाश भएझैँ मान्दछन् उनी ती योद्धाहरू सब ।
यो सब देखेपछि उनी त्यस विश्वरूपधारी श्रीकृष्णलाई “हजुर वास्तवमा नै को हुनुहुन्छ अनि त्यो उग्ररूपको प्रयोजन के हो?” भनी प्रश्न गर्दछन् –
“आख्याहि मे को भवानुग्ररूपो
नमोऽस्तुते देववर प्रसीद ।
विज्ञातुमिच्छामि भवन्तमाद्यं–
न हि प्रजानामि तव प्रवृत्तिम्” ।।भ.गी.११(३१)।।
सम्मोहित अवस्थामा अर्जुनले गरेको त्यो प्रश्नबाट श्रीकृष्ण बुझ्दछन् कि अझै पनि अर्जुनले महाभारत युद्ध अनि आफूले प्रदर्शित गरेको विराट् स्वरूपको अर्थ या प्रयोजन बुझिसकेका रहेनछन् ।
अतः श्रीकृष्णले अब स्पष्ट रूपमा नै भनिदिन्छन् कि उनी लोकनाशक काल हुन् जो अहिले यो सारा जगत्को संहारका लागि प्रवृत्त भएको छ । अनि अर्जुन सुषुप्तावस्थामा मनोवैज्ञानिक रूपमा जुन जुन योद्धाहरूसँग युद्ध गर्न डराइरहेका थिए, द्रोण, भीष्म, कर्ण अनि जयद्रथजस्ता योद्धाहरूको नामै लिएर तिनलाई आफूले पहिले नै मारिसकेको यथार्थ पनि खोलिदिन्छन् । ।।भ.गी.११(३२–३४)।।
अतः नडराईकन आफ्नो निमित्तका रूपमा मात्र युद्ध गरी शत्रुहरूको संहार गर्ने आह्वानका साथ श्रीकृष्ण अर्जुनलाई भन्दछन् –
“तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व
जित्वा शत्रून् भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव
निमित्तमात्रं भव सव्यसाचिन्” ।।भ.गी.११(३३)।।
यसरी सम्मोहनका क्रममा नै श्रीकृष्णले विश्वरूपका रूपमा अभिव्यक्त गरेका यी वाक्यहरूले अर्जुनको भित्री मनमा लुकेर अथवा दबिएर रहेको डरलाई हटाइदियो । भीष्म, द्रोण, कर्णजस्ता कौरवका महारथीहरू ईश्वरले नै कालस्वरूपमा आएर मारिदिइसकेको सुन्नासाथ अर्जुन खुशी अनि डरमिश्रित भावमा पुनः प्रार्थना गर्न थाल्दछन् । एघारौं अध्यायका ती ११ श्लोक (३६–४६) भक्तिभावपूर्ण रूपका गरिएको प्रार्थनाको अनुपम उदाहरण मानिन्छ । यसमा भगवान् श्रीकृष्णको विविध तरिकाले गरिएको गुणगान मात्र नभएर आफूले विगतमा साथीका रूपमा गरेको व्यवहारका लागि क्षमा पनि मागेका छन् अर्जुनले श्रीकृष्णसँग । अर्जुन भन्दछन्, “साथी मानेर, हजूरलाई नचिनेर, मैले ‘कृष्ण, यादव (गोठाला), साथी’ जस्तो सम्बोधन गरेँ । त्यस्तै घुम्दा, खाँदा, सुत्ता, बस्ता, एक्लै अवस्थामा या अरूका अगाडि पनि मैले हजूरको अपमान गरेँ । ती सबका लागि क्षमा पाऊँ ।” ।।भ.गी.११(४१–४२)।।
उनी अझ अगाडि भन्दछन् कि “बाबुले छोराको, साथीले अर्को साथीको, अनि प्रेमीले प्रेमिकाको अपराध जसरी क्षमा गर्दछ, त्यसरी नै मलाई क्षमा दिनुहोस् ।”
“पितेव पुत्रस्य सखेव सख्युः
प्रियः प्रियायार्हसि देव सोढुम्” ।।भ.गी.११(४४)।।
यी सब वार्तालापका क्रममा नै अर्जुनले श्रीकृष्णको विराट्स्वरूप देखेर डर लागिरहेको कुरा गरेपछि श्रीकृष्ण पुरानै स्वरूपमा आउँछन् अनि अर्जुनलाई नडराईकन युद्ध गर्न प्रोत्साहित गर्दछन् । ।।भ.गी.११(४५–४९)।।
अन्तमा ईश्वरार्पण बुद्धिका साथ अनि ईश्वरभक्तिपूर्णरूपमा कर्म गर्ने जसले पनि ईश्वरलाई नै प्राप्त गर्ने घोषणा गर्दै श्रीकृष्ण भन्दछन् –
“मत्कर्मकृन्मत्परमो मद्भक्तः सङ्गवर्जितः
निर्वैरः सर्वभूतेषु यः स मामेति पाण्डव” ।।भ.गी.११(५५)।।
यसरी सम्मोहन उपचार प्रक्रियाद्वारा अर्जुनमा रहेको ज्ञानको तृष्णा अनि भक्तिभावपूर्ण रूपमा उनले गरेका अनुरोधमात्र स्वीकार नगरी उनीभित्र रहेको डरलाई समेत हटाएर उनलाई युद्धकार्यतर्फ नै प्रवृत्त गराउन सफल भए श्रीकृष्ण ।
धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. अजय रिसाल काठमाडौं विश्वविद्यालय, मानसिक रोग विभागका सह—प्राध्यापक हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
