सुरुवात गरौं श्रीमद्भगवद्गीता छैटौँ अध्यायको श्रीकृष्णद्वारा नै अभिव्यक्त यो एक बहुचर्चित श्लोकबाटः

“उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ” ।।भ.गी.६(५)।।

अर्थात्, मानिसले आफैँले नै आफ्नो उद्धार गर्नुपर्दछ, किनभने हामी आफू नै आफ्नो मित्र हौँ, अनि आफ्नो शत्रु नै पनि आफैँ नै । त्यसैले आत्मालाई अधोपतनतिर लाग्न नदिई यसको उन्नति अनि उद्धारका लागि पनि हामी आफैँ नै जिम्मेवार रहन्छौं । आत्मनिरीक्षण गरी आत्मोद्धारको दिशातिर लाग्न आधुनिक मनोविज्ञानमा नै पनि अनेकौँ सिद्धान्त अनि विधिविधानहरूको चर्चा नगरिएको होइन । तर श्रीमद्भगवद्गीतामा जस्तो आत्मोन्नति मार्गको सपाट मार्गचित्र अन्त कतै भेटिएको छैन, नभेटिएला पनि ।

आत्मोन्नतितिर लाग्ने कसरी त ? यसका लागि निदिध्यासन अर्थात् ध्यानयोगको विधि पस्केका छन् श्रीकृष्णले गीताको छैटौँ अध्यायमा ।

ध्यान विधि हाम्रो मनोचिकित्सा क्षेत्रमा पनि अत्यन्तै प्रचलित अनि बहुप्रचारित पद्धति हो । यसलाई एङ्गजाइटी, डिप्रेसन, सोमाटोफर्म जस्ता मनोरोगहरूको अनि तनावजन्य अनेकौँ मानसिक समस्याहरूको उपचारका लागि सिफारिस गरिने पनि गरिएको छ । तर गीतामा व्याख्या गरिएको जस्तो ध्यानयोगको चरणमा पुग्न त्यत्ति सजिलो भने छैन ।

फलाशक्तिलाई पूर्ण परित्याग गरी गरिने ‘कर्मयोग’ अनि कर्तृत्वको अभिमान त्यागेर गरिने ‘कर्मसंन्यास’को अभ्यासद्वारा नै खोलिने हो ध्यानयोगको ढोका । अतः ध्यानयोगमा आरुढ हुन चाहने व्यक्तिले कर्मरूपी साधनको विधिसम्मत रूपमा प्रयोग गरी आफ्ना इच्छा–आकांक्षा, रागद्वेष, संकल्प–विकल्प आदि सबैको उचित तवरले शमन गरेको हुनुपर्दछ । भनिएको नै छः

“आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारुढस्य तस्यैव शमः कारणमुच्यते ” ।।भ.गी.६(३)।।

कस्तो रहन्छ त ध्यान योगारुढ व्यक्ति अथवा (ध्यान) योगीको चरित्र ?

“जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ” ।।भ.गी.६(७)।।

अर्थात्, चीसो–तातो (शीत–उष्ण) जस्ता शारीरिक अनुभव, सुख–दुःखजस्ता मानसिक भावना, अनि मान–अपमानसरहका बौद्धिक विक्षेप, आदि कुनै पनि स्थूल देहगत, सूक्ष्म मनोगत या बुद्धिको तहमा हुने द्वन्द्वात्मक परिस्थितिजन्य क्रियाहरूमा कुनै पनि प्रतिक्रिया नजनाई शान्त रहन सक्ने व्यक्ति नै आत्मचिन्तनमा अविचलित भएर रहन सक्दछ । त्यस्ता व्यक्तिका लागि समलोष्टाश्मकाञ्चनः भ.गी. ६(८) ले भनेझैं माटो, ढुङ्गा होस् या सुन नै पनि, सबै चीज समानैसरह रहन्छ । यी त भए जडवस्तु ! तर ती योगीहरूका लागि चेतनशील कहलिएका मानिसहरूप्रति पनि कुनै किसिमको भेदभाव रहँदैनः

“सुह्रन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ” ।।भ.गी.६(९)।।

अर्थात्, शत्रु–मित्र, अपरिचित–परिचित, पापी–धर्मात्मा, निकृष्ट–उत्कृष्ट आदिमा कुनै प्रकारका घृणा या प्रेम, केही पनि नकारात्मक या सकारात्मक भाव नरहने, त्यस्ता व्यक्ति नै एकाकीरूपमा आशा, कामना, या आकांक्षा आदिबाट सर्वथा मुक्त रहेर आत्मोन्नतिको मार्गमा सतत लागिरहन सक्दछन् । श्रीकृष्ण अगाडि भन्दछन्ः

“योगी युञ्जति सततमात्मानं रहसि स्थितः ।
एकांकी यतचित्तात्मा निराशीरपरिग्रहः ” ।।भ.गी.६(१०)।।

यसरी निरन्तर आत्मानुसन्धानमा लागिरहने योगीहरू मात्र नै सबै प्राणीहरूमा आत्मस्वरूप भएर स्थित एउटै ‘आत्मा’ रहेको देख्न सक्षम हुन्छन् ।

“सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः” ।।भ.गी.६(२९)।।

यस्तो परमकल्याणकारी ध्यानयोगका नियम–पद्धति चाहिँ के हुन् त ? यसमा पनि गीता विस्तृतरूपमा नै मुखरित भएर रहेको छ । गीताका श्लोक क्रमानुसारका केही विधिहरू यसप्रकार छन्ः

१. शुद्ध भूमिमा निश्चित उचाइमा ओछ्याइएको कुश या मृगचर्मको पवित्र अनि स्थिर आसन (भ.गी. ६(११)),
२. एकाग्र मन अनि इन्द्रियनिग्रहपूर्वक गरिने निरन्तर अभ्यास (भ.गी. ६(१२)),
३. तनावरहित भई स्थिर दृष्टि राखी शरीरलाई अचल रुपमा स्थापित गरिएको अवस्था (भ.गी. ६(१३)) ।

अनि ध्यानयोग्य बन्नका लागि कस्तो तयारी चाहिन्छ त ?

“प्रशान्तात्मा विगतभीब्रह्मचारिव्रते स्थितः ।
मनः संयम्य मच्चित्तो युक्त आसीतः मत्परः ” ।।भ.गी.६(१४)।।

अर्थात्, ब्रह्मचर्यव्रतमा रहेर शारीरिक तयारी, निर्भय अनि निडर बनेर मानसिक शक्तिसंचय, अनि आन्तरिक शान्ति प्राप्ति गरी बौद्धिक रूपमा सबल रहन सक्ने व्यक्तिले नै क्रमशः शरीर, मन एवं बुद्धि तीनै तहमा सुसङ्गठित अवस्थामा ध्यानयोग हासिल गरी आत्मसंयमता कायम राख्न सक्दछ ।

तर, सफल ध्यानयोगका लागि आहारविहारमा पनि सन्तुलन रहनु अत्यावश्यक छ । खानपान, निद्रा–जागरण, समयको परिपालन, सबै कुराको उचित व्यवस्थापनको आवश्यकता रहन्छ ध्यान अभ्यासमा पारंगत रहनका लागि ।

“युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्रावबोधस्य योगो भवति दुःखहा” ।।भ.गी.६(१७)।।

यस्तो विधिलाई जीवनभर कायम राख्न सफल ध्यानयोगीहरू वायुरहित स्थानमा रहेको अकम्पित दीप झैँ सदा देदीप्यमान भई रहिरहन सक्दछन् ।

“यथा दीपो निवातस्थो नेंगते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः” ।।भ.गी.६(१९)।।

शरीर, मन, अनि बुद्धिको माध्यमद्वारा अनुभव हुन सक्ने सुख क्षणिक, बन्धनकारी अनि अन्ततोगत्वा दुःखमय नै हुन्छ । तमोगुणीय अज्ञान अनि रजोगुणीय विक्षेपबाट सर्वथा मुक्त, सत्वगुणले ओतप्रोत भई आत्मानुसन्धानमा रम्ने व्यक्तिका लागि ध्यानयोगको वास्तविक उद्देश्य भने यस्ता दुःखहरूको संयोगबाट वियोग गराउनु नै हो ।

“तं विद्याद् दुःखसंयोगवियोगं योगसञ्ज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगाऽनिर्विण्णचेतसा” ।।भ.गी.६(२३)।।

यस्ता ध्यानयोगी अनि आत्मज्ञानीहरू आफूद्वारा त्यसरी सर्वत्र अनि सबैमा देखिएको आत्मस्वरूपलाई सर्वव्यापी परमात्मा कै अंशको रूपमा नै मान्दछन् । अन्ततः त्यस्ता व्यक्तिहरू नै मोक्षका अधिकारी बन्दछन् ।

“यो मां पश्यति सर्वत्र सर्व च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति” ।।भ.गी.६(३०)।।

यसरी श्रीकृष्णले छैठौं अध्यायको दुई तिहाई भाग जतिमा आफ्नो कुरो सुनाइसक्दा भने विषादावस्थाबाट बौरिने क्रममा रहेका अर्जुनमा गम्भीर जिज्ञासाको प्रादुर्भाव हुन पुग्यो । छैटौँ अध्यायमा अर्जुनले सोधेका प्रश्नहरूले दुई महत्वपूर्ण प्रसंग उजागर गरेका छन् । ती जिज्ञासाहरूको शान्तिका लागि श्रीकृष्णद्वारा अभिव्यक्त विचारहरू हाम्रो आध्यात्मिक विधाका अमूल्य निधिका रूपमा सदासर्वदा रहिरहने छन् ।

पहिलो प्रसंग ध्यानयोगका लागि इन्द्रियहरू अनि मनको नियन्त्रण गर्नुपर्ने विषयसँग सम्बन्धित छ । अर्जुन “वायुसरहको बेगवान्, बलशाली अनि दृढ एवं चञ्चल मनलाई नियन्त्रणमा राख्नु” अति नै दुरुह कार्यका रूपमा नै मान्दछन् अनि श्रीकृष्णसँग प्रश्न गर्दछन्ः

“चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्” ।।भ.गी.६(३४)।।

श्रीकृष्ण कुशल मनोचिकित्सक हुन् । अतः सफल मनोचिकित्सा उपचारपद्धतिमा झैँ सर्वप्रथम बिरामीले अभिव्यक्त गर्ने विचारमा समर्थन जनाएर बिरामीपक्षलाई मनोवैज्ञानिक ढाडस दिन उनी अग्रसर रहन्छन् । उनी भन्दछन्ः साँच्चै नै हो, मन अति नै चञ्चल छ, निःसन्देह यसलाई वशमा राख्न कठीन छ । तर, ‘अभ्यास’ एवं ‘वैराग्य’द्वारा त्यसलाई सजिलै नै अधीनमा राख्न भने सकिन्छ ।

“असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते” ।।भ.गी.६(३५)।।

सर्वप्रथम ‘अभ्यास’द्वारा ‘कर्मयोग’को आचरणमा दृढ रहन सक्ने व्यक्ति नै अन्ततः ‘वैराग्य’द्वारा ‘कर्मसंन्यास’ गर्न सफल हुन सक्दछ । अनि त उसको मनको चञ्चलता स्वतः नियन्त्रणमा आउन सक्दछ ।

दोस्रो प्रसंगमा योगाभ्यास गरिरहेको व्यक्ति कथंकदाचित विचलित हुन पुग्यो अथवा आफ्नो जीवनकालभित्र योगफल प्राप्त गर्न सफल भएन भने “त्यस्तो व्यक्तिको गति के हुन्छ त ?” भनी अर्जुन प्रश्न गर्दछन्ः

“अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति” ।।भ.गी.६(३७)।।

यस प्रश्नको उत्तर दिँदै श्रीकृष्ण ठोकुवा नै गरेर भन्दछन् कि शुभ कर्म गर्ने व्यक्तिको कहिल्यै पनि नाश हुँदैन ।

“पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति” ।।भ.गी.६(४०)।।

त्यसपछि भने पुनर्जन्म सिद्धान्तको वकालत गर्दै श्रीकृष्ण भन्दछन् कि प्रयत्नपूर्वक योगाभ्यास गर्ने योगीले अनेकौँ जन्म जन्मान्तर पार गरेर भए पनि अन्ततः सिद्धि प्राप्ति गरेरै छोड्दछन् । पूर्वाभ्यासमा प्राप्त भएको ज्ञान जन्म जन्मान्तरमा सरेर जान्छ नै । केही कारणवश या प्रारब्धवश योगभ्रष्ट हुँदैमा यत्नपूर्वक हासिल गरेको ज्ञान कदापि लोप हुँदैन ।

“प्रयत्नाद्यतमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम्” ।।भ.गी.६(४५)।।

ध्यानयोग सकाम गरिने तपयज्ञहरूभन्दा, अनि शास्त्रीय ज्ञानहरूभन्दा, अझै बढी निष्काम ‘कर्मयोग’भन्दा पनि श्रेष्ठ रहेको मत अभिव्यक्त गर्दछन् श्रीकृष्ण । शरीर, मन, एवं बुद्धिको तहभन्दा माथि उठी आत्मानुसन्धानमा निमग्न रहने त्यस्ता योगी सत्य अनि मोक्षपदको एकदमै नजिक रहने भन्दै श्रीकृष्ण अर्जुनलाई पनि त्यही योगमार्गमा प्रवृष्ट हुनका लागि आह्वान गर्दछन् ।

“तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन” ।।भ.गी.६(४६)।।

यसरी आत्मोन्नतिका लागि सर्वोत्कृष्ट साधन ध्यानमार्ग नै रहेको तथ्य श्रीकृष्णले गीताको छैटौँ अध्यायमा सप्रमाण व्यक्त गरेका छन् । ध्यानको नियमबद्ध विधिको समेत सविस्तार वर्णन भएको यो अध्याय हामी आधुनिक मनोचिकित्साको क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूका लागि पनि अत्यन्त नै महत्वपूर्ण सन्दर्भ सामाग्रीका रूपमा रहने तथ्य निर्विवाद नै छ ।

सारांशमा भन्नुपर्दा, ध्यानयोग नै आत्मोद्धारको एकमात्र उत्तम साधन हो ।

धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. अजय रिसाल काठमाडौं विश्वविद्यालय, मानसिक रोग विभागका सह—प्राध्यापक हुन् ।