१.

‘डाक्टरसाब ! मेरो श्रीमान्लाई जसरी पनि बचाइदिनुपर्यो …।’ एउटा चिरपरिचित स्वर मेरो कानमा ठोकियो । एउटी २२ वर्षे विवाहिता युवती हाम्रो ओपिडी अगाडि उभिरहेकी थिइन् । तिनका २६ वर्षीय श्रीमान्, एक मिनीबस चालकलाई अचेत अवस्थामा हाम्रो अस्पतालको आकस्मिक कक्ष पुर्याइएको रहेछ । मैले ती युवतीलाई झट्ट चिन्न त सकिनँ तर तिनले सम्झाएपछि मेरो स्मृतिपटल अलिकति ताजा भयो । तिनका श्रीमान्को मद्यपानजन्य मानसिक समस्याको विगत ३ वर्षदेखि हामीले उपचार गरिरहेका थियौँ । दुईपटक जति गरी करिब तीन महिना नै भर्ना गरेर अनि नियमित ओपिडीमा गरिएको उपचारका कारण उनले पूर्णरुपमा रक्सीसेवन छाडिसकेका पनि थिए । तर विगत चार महिनायता उनी हाम्रो सम्पर्कमा भने आएका थिएनन् । अहिले थाहा हुन आयो, हाम्रो सल्लाहअनुसार प्राप्त औषधिहरु उनले तीन महिना अघि नै छाडिसकेका रहेछन् । अनि मद्यपानमा उसैगरी नै पुनः उद्यत भएर एकाबिहानैदेखि नै पिउने गरेका रहेछन् । आज भने मद्यपान गरेर गाडी चलाउँदा दुर्घटनामा परेर अचेत हुनगई अस्पताल ल्याइएका थिए उनी ।

२.

रवि शर्मा, ३० वर्षे हँसमुख युवक, विज्ञान स्नातक, अध्यापन कार्यमा निपुण, प्राथमिक तहमा गणित पढाउने शिक्षक । तर उनको एउटै अवगुण देख्दछन् विद्यालयका प्रधानाध्यापक–साह्रै नै अनियमित छन् उनी । धेरैजसो हप्तामा एक–दुई दिन, कहिलेकाहीँ त हप्तैभरि गयल भइदिन्छन् । बारम्बार सचेत गराउँदा पनि सुध्रिएको छैन उनको त्यो बानी । त्यही विद्यालयमा प्लेग्रुपकी शिक्षिका उनकी श्रीमती समेत उनको यो व्यवहारका कारण कायल छिन् । दुई साना छोराछोरी अनि आमाबुवा समेत ६ जनाको उनको परिवार पनि अस्तव्यस्त हुँदै गएको छ । बुझ्दै जाँदा यी सबको मूल कारण त उनको मद्यपानजन्य व्यवहार पो रहेछ त । नियमित रक्सी सेवन दैनिकी नै बनिसकेको रहेछ उनको । अत्याधिक मद्यपान गरेको दिनको भोलिपल्ट उनी स्कुल नजाने गर्दा रहेछन् । तलब हात परेको दिन त साथीभाइसँग लागेर उनी मद्यपान गरेरै रात कटाउँदा रहेछन्, कहिलेकाहीँ त ४–५ दिन नै यो क्रम चल्दो रहेछ । रक्सीको लत छुटाउन उनलाई परिवारले अस्पतालमा भर्ती नगरेको पनि होइन । कलेजो खराब भइसकेको भनेर डाक्टरहरुले चेतावनी पनि नदिएका होइनन् । छोराछोरीले रोइकराइ पनि नगरेका होइनन् तर उनको त्यो दैनिकीमा सुधार आउन भने सकेन । कहिलेकाहीँ रक्सीको नशामा श्रीमतीलाई हातै उठाउन समेत बाँकी नराख्ने भएकोले तनावमय वातावरणमा रहेछ अचेल उनको परिवार । विद्यालयमा अनियमित भइदिँदा विद्यार्थीहरुको पढाइमा असर परेको त छँदै नै छ, उनको व्यावसायिक क्षमतामा समेत ह्रास आइरहेको छ अचेल ।
हाम्रो मनोचिकित्सा उपचारसेवामा लागूपदार्थजन्य मानसिक समस्या, सरल भाषामा भन्दा, “नशामा डुब्नेहरुको मनका कथा” लिएर आउने थुप्रै व्यक्तिहरु छन् । नशाजन्य मानसिक समस्याहरुको अग्रपङ्क्तिमा मद्यपानजन्य समस्याहरु नै आउँदछन् । माथिका दुई उद्धरणहरुले त्यसैले मद्यपानका नै कथा बोकेका छन् ।

उपरोक्त दुई घटनाहरुले मद्यपानका बहुपक्षीय समस्याहरुलाई उजागर गराउँदछ ।

प्रा.डा. अजय रिसाल

पहिलो बिरामीको समस्यालाई केलाउँदा मद्यपानजन्य अवस्थाबाट विजय प्राप्त गरिसकेको एउटा व्यक्ति कसरी फेरि त्यसैको चँगुलमा फसेर पुनः त्यही समस्याका कारण दुर्घटनामा परेर ज्यान समेत जोखिममा पार्न विवश हुन पुग्दछ ? यो कुरा प्रष्ट हुन जान्छ ।

दोस्रो व्यक्ति–चित्रले भने मद्यपानजन्य समस्यालाई अझै विहङ्गम दृष्टिमा देखाएको छ । मद्यपानले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा त ठूलो प्रभाव पार्दछ नै, यसले पारिवारिक, सामाजिक एवं व्यावसायिक जीवनलाई समेत कसरी नकारात्मक अवस्थामा पुर्याइरहेको हुन्छ ? यो प्रश्नको उत्तर दिएको छ ।

मद्यपान एक विकराल मनोसामाजिक समस्या हो । हाम्रो अस्पतालको मनोचिकित्सा वार्डको करीब ६०–७० प्रतिशत बेड यही समस्या भएका बिरामीहरुले नै ओगटिरहेको हामी पाउँछौँ । अन्य वार्डहरुमा समेत यसैका कारण कलेजो, आन्द्रा अनि मस्तिष्कमा प्रभाव परेर बिरामीहरु भर्ना भइरहेका हुन्छन् । त्यस्तै मद्यपान गरेर सवारी चलाउँदा हुने गरेको सडक दुर्घटना या यसैको प्रभावमा परेर लड्ने, चोटपटक लाग्ने गर्दा हाडजोर्नी विभागमा समेत थुप्रै नै बिरामीहरु छन् । त्यस्तै रक्सीकै प्रभावमा बिषसेवन गरी आत्महत्याको प्रयास गर्नेहरु पनि इमर्जेन्सीमा ल्याइपुर्याइएका हुन्छन् । ती सबैको रिफरल भने अन्ततोगत्वा हाम्रो मनोचिकित्सा विभागमा नै आइपुग्दछन् ।

मद्यपानजन्य समस्या व्यक्तिको नैतिकता या दुराचारको रुपमा मात्र जनमानसमा चिनिएको छ, ‘रक्स्याहा’, ‘जँड्याँहा’ अनि ‘रक्सीको लत बसेका’ या ‘खराब बानी भएको व्यक्ति’का रुपमा । तर हामी भने यसलाई चिकित्सा विज्ञानको धरातलमा राखेर ‘मेडिकल मोडेल’मा नै चिनाउन चाहन्छौँ, यानिकि बानी लागेको या खराब आचरणमा मात्र सीमित नराखी मद्यपानजन्य समस्यालाई एउटा रोगको रुपमा नै व्याख्या गर्न चाहन्छौँ । यसरी बुझेमा यसको समाधान या निराकरणतर्फ व्यक्ति, परिवार अनि समाज नै लाग्न सक्ने वातावरण तयार हुन्छ ।

रक्सी खाउँ खाउँ लाग्नु, यस्तो इच्छालाई रोक्नै नसक्नु, यसको हानीका बारेमा थाहा पाउँदा पाउँदै पनि यसलाई निरन्तर प्रयोग गरिरहनु, पहिलेको भन्दा यसको मात्रा बढाउँदै लानु, अन्य पारिवारिक या सामाजिक भेटघाट या मनोरञ्जनमा भन्दा मद्यपानमा नै बढी आनन्द महसुस गर्नु, मद्यपानजन्य क्रियाकलापमा मात्र आफ्नो दिनचर्या बिताउनु, पारिवारिक या सामाजिक सम्बन्धहरु साँघुरिँदै जानु, यी सबै मद्यपानजन्य समस्याका मानसिक अवयव (एल्कोहल डिपेण्डेन्स सिण्ड्रोम ) का लक्षणहरु हुन् । वर्षौंसम्म यही क्रम–उपक्रम जारी रहँदै जाँदा अन्य शारीरिक दुष्परिणामहरु पनि देखा पर्दै जान्छन्, जस्तैः कमलपित्त, अल्सर आदि । त्यस्तै मद्यपानजन्य समस्या बढिसकेपछि रक्सीको मात्रा घटेमा या कुनै कारण रक्सी नलिएमा त्यस व्यक्तिलाई हातमा कम्पन हुने, जिउ काम्ने, निद्रा नलाग्नेजस्ता निकासीका लक्षणहरु (विथ्ड्रावल सिण्ड्रोम) देखा पर्दछ । कहिलेकाहीँ त यसले अझै कडा रुप लिएर बेहोसी हुने, मानसिक उद्वेलन आउने, काम्ने, बड्बडाउने जस्ता लक्षणहरु देखा पर्दछन् । त्यस्ता व्यक्तिले आफैंलाई या अन्य व्यक्तिहरुलाई समेत हानी पुर्याउन सक्दछन् ।

यी सबै लक्षणहरु आइपर्दा उसको परिवार अनि समाजलाई नै पर्न जाने आघातको त कल्पना नै गर्न सकिँदैन । माथिका उदाहरणहरुले नै त्यसमा प्रकाश पारिसकेका छन् ।

त्यसोभए उपचार के त ?

पहिलो एवं महत्त्वपूर्ण उपचार त मद्यपानको पूर्णतया परित्याग नै हो । यहाँ बुझ्नुपर्ने कुरा के हो भने कहिलेकाहीं बिरामी या परिवारले मादक पदार्थ भन्नाले कडा खाले रक्सीलाई मात्र मान्ने गर्दछन् । वाइन, बियर, छ्याँङ या जाँड आदि पिउनुलाई मद्यपानका रुपमा बुझ्दैनन् । हुनसक्छ, हाम्रो सांस्कृतिक पक्षले पनि यस्ता मान्यतालाई बढावा दिइरहेको छ कि ? त्यसैले बिरामी–पक्षलाई स्पष्ट पार्नुपर्दछ कि ती सबै मादक पदार्थ नै हुन् मात्र मादकता भनौं या एल्कोहलको प्रतिशतमा घटीबढी हुने हो । तसर्थ मद्यपान परित्याग गर्नुपर्दा यी सबै पदार्थबाट बिरामीहरु टाढै बस्नुपर्दछ ।
रक्सी बन्द गर्नेबित्तिकै माथि उल्लेख गरेझैं निकासीका लक्षणहरु देखिन थाल्दछन् । यसमा बिरामी पक्षले के बुझेका हुन्छन् भने अलिकति रक्सी नै ख्वाइदिएमा ठीक भई नै हाल्दछ, जसले समस्यालाई घटाउनुभन्दा झनै बढाइरहेको हुन्छ । अतः तिनलाई राम्ररी बुझाएर हामीले रक्सीले जस्तै मस्तिष्कमा प्रभाव पार्ने तर निकासीका लक्षणहरुलाई कमी गराउने औषधिको प्रयोग गर्न सक्दछौँ । कडा लक्षण भएकालाई भने अस्पतालमा नै भर्ना गर्नुपर्ने हुनसक्दछ ।

तर यत्ति मात्रले रोग निको हुँदैन । बिरामीलाई यस रोगका कठोर परिणामहरुका बारेमा यथार्थ बोध गराउनुपर्दछ । बिरामी पक्षलाई पनि रोगका लक्षणहरु अनि रक्सी छोडिसकेकाले पनि फेरि सुरुवात गर्न सक्दछन् भन्ने कुरा बुझाउनु पर्दछ । कहिलेकाहीँ डिप्रेसन, एङ्गजाइटीजस्ता रोग लागेका व्यक्ति पनि मद्यपानद्वारा तिनका लक्षणहरु शान्त गराउने प्रयास गर्दछन् । यस्तोमा तिनै रोगहरुको निवारणार्थ पनि औषधि प्रयोग गर्नुपर्दछ ।
कसै कसैमा भ्रम छ कि पुनःस्थापना केन्द्र (रिह्याबिलिटेसन सेण्टर)मा भर्ना गरिदिएमा यो समस्या आफैं हटिहाल्दछ । तर विचार पुर्याउनुपर्दछ कि मनोचिकित्सक अनि मनोविज्ञको प्रत्यक्ष निगरानीबिना चल्ने यस्ता केन्द्रहरुले वास्तविक लाभ दिन सक्दैनन् । तर कहिलेकाहीँ मनोचिकित्साकर्मीको रोहवरमा मद्यपान त्याग गरिसकेकाहरुले सञ्चालन गर्ने समूहगत उपचार पद्धति (एल्कोहल एनोनिमस) मा भने मद्यपानजन्य समस्या भएका व्यक्तिहरुले राम्रो परामर्श पाउन सक्दछन्, विचार एवं अनुभवको आदानप्रदानद्वारा । तर त्यस्तो उपचार मनोविज्ञहरुको पर्यवेक्षणमा चल्ने गरेको हुनुपर्दछ, जस्तैः अस्पतालमा ।

पुनश्चः अत्याधिक मद्यपान वास्तवमा एक मानसिक रोग नै हो, यसका स्वास्थ्यजनित अवयवहरु भने अनेकौँ छन् । विश्व स्वास्थ्य सङ्गठनका सर्भेक्षणहरुले विश्वको कूल जनसंख्याको ८० प्रतिशत कुनै न कुनै बहानामा मद्यपानतिर उन्मुख भएको आँकलन गरेका छन् , जसमध्ये ५–१० प्रतिशतलाई मद्यपानजन्य रोगहरुले आक्रान्त नै पारेको देखिन्छ । सन् १९९३ को विश्व विकास तथ्याङ्कले त मद्यपानजन्य समस्याले विश्वव्यापी रोगको २ प्रतिशत अनुपात ओगटेको जनाएको थियो, विगत तीन दशकयता त्यो दरमा अझै वृद्धि नै भइरहेको छ । त्यस्तै अस्पतालमा भर्ना भएका पुरुषहरुमध्ये एक तिहाइमा अनि दुर्घटना भई आकस्मिक कक्षमा ल्याइपुर्याइएका रोगीहरुमध्ये ४० प्रतिशतमा मद्यपानजन्य समस्या पाइएको अध्ययनहरुले दर्शाएका छन् । ‘सिरोसिस’ नामक कलेजोको रोग त मद्यपानमा अभ्यस्तहरुमा १०–१५ प्रतिशतकै अनुपातमा पाइएको छ ।
माथि नै भनिसकियो, मद्यपान केवल व्यवहारजन्य या स्वभावजन्य समस्यामात्र होइन, न त यो केवल धार्मिक या सांस्कृतिक दृष्टिकोणले हेर्न सकिने ‘खराब बानी’मात्रै नै हो । ‘जातले पाएको’ या मतवाली’ समुदायमा मात्र व्याप्त छैन यो । अचेल त ‘तागाधारी’ कहलिएकाहरु, किशोर अनि युवावर्ग, महिला–किशोरीहरु एवं ठूलाठालु–धनीमानी समाजमा समेत व्यापक रुपमा फैलिएको छ यो रोग । सन् २००६ मा बैंग्लोरमा गरिएको सामाजिक सर्भेक्षण होस् या २००३ मा मानसिक रोगीहरुमाझ नेपालमै भएको अध्ययन होस्, दुवै शोधकार्यका रिपोर्टहरुले ‘दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा मद्यपानजन्य समस्या महामारीझैं फैलिएको’ भन्ने अन्य अध्ययनका तथ्याङ्कहरुलाई नै पुष्ट्याएका छन् । सन् २००७–२०१० मा दक्षिण भारतमा म आफैं संलग्न भएको शोध–अध्ययनले त मद्यपानजन्य समस्यामा परेका व्यक्तिहरु पुनः पुनः यो प्रवृत्तिमा फसिरहने अनि यसले विभिन्न प्रकारका शारीरिक समस्याहरु पनि लेराउने परिदृश्य देखाएको थियो । त्यस्तै, २–१० प्रतिशत मानसिक रोगीहरुको अस्पताल भर्ती मद्यपानजन्य समस्याका कारण नै हुने गर्दछ किनभने रक्सी छोड्ने र पुनः सुरुवात गर्ने प्रक्रिया मद्यपानजन्य रोगको एक लक्षण नै हो ।

जैविक एवं आनुवंशिक अध्ययनहरुले यो समस्या पारिवारिक सदस्यहरुमाझ व्याप्त हुनसक्ने तथ्य प्रमाणित गरिसकेका छन् । त्यस्तै, रासायनिक तत्त्वहरु (न्यूरोट्रान्स्मिटर, हर्मोनहरु ) एवं मस्तिष्कका केही भागहरु पनि यसका लागि जिम्मेवार रहने कुरा पनि प्रकाशमा आइसकेका छन् । मनोसामाजिक कोणबाट विश्लेषण गर्दा बाल्यावस्थादेखिकै पारिवारिक प्रभावले व्यक्तित्व निर्माणमा पारेको असर, साथीसँगीबीचको रहनसहन एवं संस्कृतिको प्रभाव, कार्यस्थल एवं सहकर्मीहरुसँगको सामाजिक जमघट अनि डिप्रेसन, म्यानिया, एङ्गजाइटी आदिजस्ता मानसिक रोगहरुले खेल्ने भूमिकालाई समेत दृष्टिगोचर गर्नुपर्ने हुन्छ ।

यस्ता चुनौतीहरुको चाङ बोकेको मद्यपानजन्य समस्याहरुको वास्तविक समाधान के त ? माथिका बहुपक्षीय कारकतत्त्वहरुलाई मध्यनजर गर्दा समष्टिगत प्रयासबाट मात्र यी समस्याहरुको हल निकाल्न सकिन्छ । अहिले सहर–सहर, गल्ली–गल्लीमा खुलेका पुनःस्थापना केन्द्रहरुले के यी सबै पक्षहरुमा ध्यान पुर्याएका छन् त ?

मनोचिकित्सक, मनोविश्लेषक, मनोवैज्ञानिक सामाजिक कार्यकर्ता, फिजिसियन एवं नर्सहरुको टोलीको सामूहिक प्रयासद्वारा यसमा अन्तर्निहित स्वास्थ्य समस्याको निराकरण गर्न सकिन्छ । धार्मिक व्यक्तित्वहरु (पूजारी , पादरी आदि)को यसको उपचारमा उल्लेखनीय भूमिका हुनसक्छ भन्ने कुरा ‘एल्कोहोलिक एनोनिमस’ नामक अभियानले पश्चिमी राष्ट्रहरुमा पाएको लोकप्रियता एवं सफलताले नै पुष्टि गर्दछ । त्यस्तै राजनीतिकर्मी एवं सुरक्षा अंगहरुको यसको नियन्त्रणमा रहने भूमिका हाम्रै देशमा चालिएको ‘मापसे अभियान’का कारण मद्यपानजन्य हिंसा एवं दुर्घटनामा आएको उल्लेखनीय न्यूनताले नै दर्शाउँदैन र ?

अब मद्यपानदेखि बाहेकका अन्य लागूपदार्थजन्य समस्याहरुले जनमानसमा, विशेषगरी युवावर्गमा पारेको प्रभावका बारेमा एकछिन घोत्लिऊँ ।
‘एउटा राष्ट्रलाई ध्वस्त पार्न त्यत्ति गाह्रो छैन, यदि त्यहाँका युवाहरुलाई आफ्नो कब्जामा लिन सकियो भने…..’ यही फर्मुला प्रयोग गरेर ब्रिटिश उपनिवेशले मित्रराष्ट्र चीनलाई तहसनहस पार्न सफल भएको इतिहासमा पढ्न पाइन्छ । साम्राज्यवादीहरुले चीनका युवामा लागूपर्दाथको दुर्व्यसन फैलाएर त्यो राष्ट्रलाई आफ्नो कब्जामा पारेका थिए ।

हो, लागूपदार्थ दुर्व्यसनरुपी रोगले सबैभन्दा बढी प्रभाव पार्ने युवाहरुलाई नै हो । अन्ततः राष्ट्र निर्माणमा बलिया खम्बा कहलाइएका युवाहरु त्यस भयानक रोगले गाँजिनपुग्दा राष्ट्रको पतन हुनु स्वभाविक नै हो ।

संयुक्त राज्य अमेरिकाबाट सन् २००६ मा गरिएको विश्वव्यापी अध्ययनको तथ्याङ्कअनुसार विश्वको करिब ४८% जनसंख्या कुनै न कुनै रुपले रक्सी वा रक्सीजन्य मद्यपानसँग सम्बन्धित देखिन्छन् भने २९% चुरोट वा सुर्तिजन्य पदार्थ धुम्रपानबाट प्रभावित अनि ४.५% को संख्यामा अन्य गैरकानुनी लागूपदार्थ सेवन पाइएको छ । नेपाल पनि त्यस मामिलामा अछुतो छैन । दैनिक पत्रपत्रिकामा हामी पढ्दछौँ, ठूलो परिमाणमा चरेस, खैरो हिरोइन अदि लागूपदार्थहरु एयरपोर्ट, चेकपोष्ट, नाकाहरुबाट बरामद गरिएका । त्यस्तै शिवरात्रि, फागु पूर्णिमाजस्ता चाडपर्वको मौका पारेर खुल्लमखुल्ला गाँजा, अफिम, धतुरो, भाङ, रक्सी आदिको बिक्री वितरण÷सेवन अनि त्यसको प्रभावमा परेर हो–हल्ला झगडा, मारपिट अनि दुर्घटनाहरु घटेको पनि हामीले प्रत्यक्ष देख्दै र भोग्दै नै आइरहेका छौँ ।

चुरोटको त के कुरा गर्नु र ? यो त सार्वजनिक स्थल, बस, यातायात, सडक, पार्क, जहाँतही यत्रतत्र सर्वत्र व्याप्त छ, बरु धुम्रपान नगर्नेहरु नै निष्क्रिय धुम्रपान (प्यासिभ स्मोकर)का रुपमा प्रभावित भइरहने पो हुन् कि ? भनी चिन्ता गर्नुपर्ने बेला आइसकेको छ । विद्युतीय संचारमध्यममा धुम्रमद्यपान जन्य सामग्रीको प्रचारप्रसारमा रोक लगाएर सरकारले एउटा स्वागतयोग्य काम गरेको मान्न सकिए तापनि यसको कडा अनुगमन भएनभएको निर्धक्क रुपमा भन्न भने सकिने अवस्था छैन ।

नेपालमै करिब डेढ दशक अगाडि गरिएको एउटा सर्भेक्षणले यस्ता लागूपदार्थको सेवनको सुरुवात गर्ने औसत उमेर २३.८ वर्ष भनी देखाइएको छ । तसर्थ युवाहरु नै यसको पहिलो निशाना बन्ने कुरा अन्य मुलुकहरुमा गरिएका अध्ययनहरुले पनि देखाएका छन् । मुख्यतया माध्यमिक तहमा पढ्ने स्कुले विद्यार्थीहरु, निजी कलेजमा १०+२, स्नातक तहमा पढ्ने धनी परिवारका छोराछोरीहरु अनि होस्टेल, अनाथालय आदिमा अभिभावकको प्रत्यक्ष नियन्त्रणबाट बर्जित, धेरै टाढा रहेका किशोरहरु यसबाट बढी प्रभावित रहेको हामी मनोचिकित्सकहरुले भेट्टाएका छौँ ।

‘लागूपदार्थ दुर्व्यसन’लाई हेर्ने दृष्टिकोण हाम्रो चिकित्सा विज्ञानको र हाम्रो समाजको भिन्नाभिन्नै रहेको पाइन्छ । हाम्रो समाजले यसलाई नैतिकता वा धार्मिक आँखाले मात्र हेर्दछ । अतः दुर्व्यसनीहरुलाई नैतिक रुपमा नै पतित, अधार्मिक, विद्रोही, व्यवहारिक रुपले कमजोर भनी व्याख्या गर्दछ र तिनलाई समाज परिवारबाट नै बहिष्कृत,तिरष्कृत गरेर अझ तिनलाई लागूपदार्थको नै अन्धकारमा धकेलिदिएर तिनको जीवनमा गहिरो खाडल खनिदिन्छ जहाँबाट ती माथि उठ्न कदापि सक्दैनन् बरु डिप्रेसन वा साइकोसिस जस्ता मानसिक रोगहरुको शिकार बन्न पुग्दछन् । अङ्ग्रेजीमा एडिक्ट भन्ने शब्दद्वारा तिनलाई सम्बोधन गर्ने गरेको पाइन्छ । जुन शब्दलाई हाम्रो मनोचिकित्सा विज्ञानले प्रयोग गर्न बर्जित गरेको छ ।

फेरि पनि दोहोर्याउन चाहन्छौँ, हामी चिकित्सा विज्ञानमा यो लागूपदार्थ दुर्व्यसनलाई एउटा रोगको रुपमा नै परिभाषित गर्दछौँ । यसको निरन्तर प्रयोग, यसले गर्दा सामाजिक अनि व्यावहारिक रुपमा ल्याउने समस्याहरु अनि यसको कुलतमा नै फस्नु, यसको प्रयोगलाई त्याग्नु र पुनः प्रयोग गर्न थाल्नु आदि सब अवयवहरु यस रोगका नै अनेक आयामहरु हुन् । यसरी चिकित्सकीय प्रारुपको रुपमा यो दुर्व्यसनलाई हामी व्याख्या गर्दछौँ र यसको समाधान र उपचारका लागि पनि चिकित्साजन्य प्रविधिमा आधारित रही वैज्ञानिक प्रविधिहरु प्रयोग गर्दछौँ ।

हरेक मानसिक रोगीलाई झैं यसलाई पनि जैविक, मनोवैज्ञानिक र सामाजिक कोणहरुबाट नै व्याख्या गर्न सकिन्छ । यसका कारकतत्त्वहरुलाई यही त्रिआयामिक दृष्टिबाट हेर्न सकिन्छ । यसका कारणहरुलाई हेर्दा, रक्सीजन्य रोगहरुबाट ग्रस्त बाबुका छोराहरुमा गरेको अध्ययनले तिनमा यही रोग बढी भएको पाइएको हुँदा अनुवंशिकता पनि यसको प्रमुख कारकतत्त्व हुनसक्ने बलियो आधार छ । त्यस्तै जैविक रसायनहरु हर्मोनहरुको मस्तिष्कका अवयवहरुमा पार्ने प्रभावका कारण दुर्व्यसनीहरुमा “यसको प्रयोगमा कमी ल्याउन नसक्ने बरु यसको परिमाण अझैं बढाउँदै लाने ” अनि “यसको चाहना अझैं बढ्दै जाने” आदि गुणहरु विकसित हुन गएको प्रमाणित भएका छन् ।

मनोवैज्ञानिक कारणहरु केलाउँदा, बाल्यावस्थामा रहने परिवारको प्रभाव, आमाबुबाको देखासिकी, अभिभावकको उचित हेरचाह निर्देशन आदिको अभावले गर्दा बालमस्तिष्कमा पर्ने मनोवैज्ञानिक प्रभाव आदिलाई विभिन्न अध्ययनहरुले प्रष्ट्याएका छन् ।

सामाजिक कारणहरुमा, परिवार, स्कुलमा हुने साथीसंगी, सरसंगत, सञ्चारमाध्यमहरुको प्रभाव आदिलाई विशेष रुपमा देखाइएको छ । किशोरवस्थामा हुने अरुभन्दा फरक बन्ने चाहना, साथीहरुमाझ लोकप्रिय हुने उत्कण्ठा अनि आफ्नो समूहमा देखाउनु पर्ने ऐक्यबद्धता, साथीहरुको प्रभाव अनि आफ्नो संस्कृति वा रीतिरिवाज आदिले पनि यसमा लगाएको देखिन्छ । जस्तैः नेवारी संस्कृतिमा रक्सीलाई सगुनका रुपमा अनिवार्य गरिनु, फागु, शिवरात्रि आदिमा गाँजा, भाँग आदिलाई छुट गरिनु आदि ।

मानवीय सभ्यताको सुरुवातदेखि नै विभिन्न प्रकारका लागूजन्य पदार्थहरु मानवीय अनि सामाजिक सांस्कृतिक अङ्गका रुपमा रहेको पाइन्छ । चीनमा गाँजालाई औषधिका रुपमा लिइएको, त्यस्तै बर्मा, भियतनाम आदि मध्य एसियाली मुलुकहरुमा ओपियम प्रयोगलाई स्वागतयोग्य ठानिएको अनि युरोपेली मुलुकहरुमा रक्सीजन्य पदार्थलाई पौष्टिक आहारको रुपमा लिइएको देखिन्छ ।

चुरोट, रक्सी (वियर, वाइन, ह्विस्की अदि जुनसुकै नाम दिइएको भए तापनि), पान, सुपारी आदिलाई भोजभतेर, खुसीयाली बाँड्ने पार्टी अनि सभा सम्मेलनका ब्याङ्क्वेट आदिमा ककटेलका रुपमा सामाजिक रुपले नै उच्च स्थान दिइएको हामी पाउँछौँ ।

यी सब कारणहरुले नै बढ्दो उमेरमा नै युवाहरुलाई यी पदार्थहरुप्रति आकर्षण रहन गएको हुन्छ । त्यसमाथि यसका दीर्घकालीन हानिहरुप्रति आँखा चिम्लिएर र यसका क्षणिक अल्पकालीन फाइदाहरुलाई बढाइ–चढाइ गरी गरिने विज्ञापन र प्रचारले युवामस्तिष्कलाई प्रभावित नगरी रहन सक्तैन । त्यसैले युवाहरु सानो उमेरमा नै दुर्व्यसनग्रस्त हुन पुग्दछन् ।

दुर्व्यसनका नकारात्मक परिणामहरुलाई पनि जैविक, मनोवैज्ञानिक र सामाजिक कोणहरुबाट प्रष्ट्याउन सकिन्छ । जैविक परिणममा यसले गर्ने स्वास्थ्यमा दीर्घकालीन असरहरु जस्तै कलेजोमा असर, अल्सर, रक्तवान्ता, फोक्सोको क्यान्सर, मुटुमा असर, दिमागी असर आदि नै प्रमुख हुन् । मनोवैज्ञानिक प्रभावमा यसले पुर्याउने मनोवैज्ञानिक ह्रास यसकै प्रभावमा परेर उसको व्यक्तित्वमा आउने नकारात्मक असर अनि अन्ततः असामाजिक बन्न पुग्ने र उसलाई हुनसक्ने मानसिक रोगहरु नै मुख्य हुन् । त्यस्तै यसको प्रभावले गर्दा उसको परिवार र समाजमा आउने विचलन, बेरोजगारी अनि सामाजिक सुरक्षामा आउने आँच आदिलाई सामाजिक प्रभावका रुपमा देखाउन सकिन्छ ।

अध्ययनहरुले लागूपदार्थ दुर्व्यसनमा परेका व्यक्तिहरु औसतभन्दा कम बाँच्ने, बाँचे पनि बेरोजगार, असामाजिक रुपमा रहने, तिनको परिवारमा पनि यस्ता समस्याको पुनरावृत्ति हुन सक्ने र ती सब अनुत्पादक, देश अनि समाजका लागि अनुपयोगी जत्थाका रुपमा रहने आदि कुराहरु दर्शाएका छन् ।

अब यसको नियन्त्रण, उपचार कसरी गर्ने त ? यसका लागि पनि उपरोक्त तिनै कोणहरुलाई अभिव्यक्त गर्न चाहन्छु ।

जैविक रसायनहरु, औषधिहरु यस दुर्व्यसनलाई पूर्ण रुपमा त्याग गर्ने चाहना लिएका व्यक्तिहरुमा प्रयोग गर्न सकिन्छ । पहिले त्यसलाई छोड्दा हुन गएको व्यावहारिक र मानसिक कठिनाइहरुलाई निस्तेज गर्ने औषधिहरु प्रयोग गरिन्छ र पछिबाट लागूपदार्थविहिन राखिराख्न पनि उपचार गरिन्छ । अवस्था हेरी भर्ना गर्नुपर्ने, नपर्ने विचार गरिन्छ । उसमा रहेका असर, शरीरिक, मानसिक रोगहरुको पनि उपचारको आवश्यकता पर्न सक्दछ ।
त्यस्तै थुप्रै मनोवैज्ञानिक उपचारविधिहरु छन् औषधि सँगसँगै गर्नुपर्ने । ती मध्ये लागूपदार्थ त्याग गरिसकेका व्यक्तिहरुमाझ हालका दुर्व्यसनीलाई ल्याएर गरिने समूहगत उपचार ( एल्कोहल या नार्कोटिक एनोनिमस ) बढी नै प्रभावकारी रहेको अध्ययनहरुले देखाएका छन् । यस उपचारमा रोगीहरुमा लुप्त अवस्थामा रहेको आध्यात्मिक चेतनालाई उजागर गर्ने प्रयास गरिन्छ । वास्तवमा यो उपचार विधि युरोपेली मुलुकहरुमा चर्चबाट सुरुवात गरिएको हुँदा हाम्रा समाजका गण्यमान्य पुरोहित आदिले पनि यस्तै विचार प्रयोग गरी लागूपदार्थ दुर्व्यसनीको पुनर्वास योजना बनाउन सके कति उत्तम हुन्थ्यो होला ?

दुर्व्यसनीहरुलाई सामाजिक बहिष्कार गरी तिनको मनोबल गिराउनुभन्दा तिनलाई समाजमा नै स्थान दिई तिनको पुनर्जागरणमा सहाय हुनसके समाज र राष्ट्रले आफ्नो कर्तव्य पालन गरेको ठहर्छ ।

अतः नशामा डुब्ने अनि त्यसबाट निवृत्त हुन नसक्ने व्यक्तिहरुका मनका कथा या घाउहरुमा मल्हमपट्टी लगाउन भनौं या मद्यपानजस्ता लागूपदार्थ दुर्व्यसनका यावत् चुनौतीहरुसँग मुकाबिला गर्दै यसका समस्याहरुको समाधानका लागि चिकित्सकीय, मनोवैज्ञानिक, राजनैतिक, प्राज्ञिक, पारिवारिक एवं सामाजिक आदि सबै पक्षहरुले हातेमालो गरी अगाडि बढ्नुको विकल्प छैन ।