“यसलाई त औँसी–पुर्ने हुने हो ।”

काभ्रे जिल्लाकै एउटा गाउँको माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षकले आफ्नी ४० वर्षकी श्रीमतीमा देखिने गरेको लक्षणहरुका बारेमा हाम्रो ओपिडीमा कुरा गर्दैथिए । साथमा थिए ती दम्पतीका २० वर्षे जेठा छोरा रवि । काठमाडौंमा सानो पसल गरेर जीविका चलाउने रविले कतै पत्रिकामा ‘बाइपोलार डिस्अर्डर’ रोगका बारेमा पढेका रहेछन् । त्यसमा गरिएको व्याख्या र आफ्नी आमाका लक्षणहरुमा धेरै समानता पाए उनले । तर आफ्ना बुवा एवं परिवारका अन्य सदस्यहरुले “औँसी–पुर्ने (बाइपोलार डिसअर्डर) रोग” भनेर वर्षौसम्म वास्ता गरेका थिएनन् उनको आमामा रहेका समस्याहरुलाई । त्यसैले अहिले करै गरेर आमाबुवा दुवैलाई ल्याएका रहेछन् हाम्रो अस्पतालमा ।

आफ्नी श्रीमतीमा रहेका लक्षणहरुका बारेमा अझ विस्तृत रुपमा भन्न थाले उनी, ‘बीस वर्ष नै भइसक्यो यसमा समस्या आउन थालेको । एक पक्ष ज्यादै खुसी हुन्छे । भएभरको, अझै मागेरै पनि खर्च गर्न थाल्छे । सन्यासिनीले जस्तो मन्दिर–मन्दिर, तीर्थ–तीर्थ चहार्छे । सातै दिन व्रत बस्छे, घर–व्यवहारको केही मतलब गर्दिन । फेरि केही हप्ता ठीकै जस्तो पनि हुन्छे । अर्को पक्ष भने ओछ्यानैमा लडेरै दिन बिताउँछे । बिनासित्तीमा रोइदिन्छे । बाँच्न मन लाग्दैन भन्छे । केही कामधाममा जाँगरै लाउँदिन । यस्तै हो यसको स्वभाव भनेर नीच मारिरहेको थिएँ । उत्ताउलिएर खर्च गर्ने गरेकोले धेरै नै ऋण पर्यो । अनि कहिलेकाहीँ त “मरिदिन्छु” भनेर पासो नै लगाउने समेत गर्न थाली । “यस्तो पनि रोग हुन्छ र ?” जस्तो लाग्याथ्यो । अस्ति काठमाडौंबाट आएको छोराले “यो सब त रोग हो, डाक्टरलाई देखाउनुपर्छ” भनेर ज्यादै कर गरेकोले अहिले यसलाई देखाउन ल्याएको डाक्टर साब !’

प्रा. डा. अजय रिसाल

ती शिक्षकको करिब २५ वर्षको दाम्पत्य जीवनमा आफ्नी श्रीमतीमा विगत २० वर्षयताको समयमा पक्ष–पक्षमा जस्तो देखा पर्ने विपरीत किसिमको मनस्थितिमा आउने परिवर्तनका लक्षणहरु खुट्याउन सकेका रहेनछन् तिनले । लामो समय लगाएर हामीले ती दुवैसँग कुराकानी गरेपछि भने तिनका लक्षणहरुलाई लिपिबद्ध गर्न सक्यौं ।

१५ वर्षकी निरक्षर शर्मिलालाई २५ वर्षअघि २० वर्षे महेशले धार्मिक विधिबाट मागी विवाह गरेका रहेछन् । बिहेको ५ वर्षपछि २० वर्षको उमेरमा शर्मिलाले जेठो छोरो रविलाई जन्म दिएकी रहिछन् । सुत्केरी भएको करिब १ महिनापछि तिनमा ‘ज्यादै खुसी हुने, धेरै बोल्ने, पूजापाठमा ज्यादा समय बिताउने, खर्चमा नियन्त्रण गर्न नसक्ने, अपरिचितहरुलाई पनि घरमा डाकेर खानपान गराउने, राति नसुत्ने’ जस्ता लक्षणहरु देखिएछन् । करिब १ महिनापछि भने ती सबै लक्षणहरु आफसेआफ हराएछन् । त्यसैले कसैले पनि यसको त्यत्ति मतलब राखेनछन् ।

त्यसको करीब २ वर्षपछि रवि अकस्मात् बिरामी भएर लामो समय अस्पताल भर्ना गर्नुपरेछ । त्यो बेलामा शर्मिलामा ‘एकोहोरो हेरिरहने, बिनाकारण रुने, राति अनिंदो रहने, दुखी भइरहने, मरौं–मरौं लाग्ने’ जस्ता पहिलेको भन्दा ठ्याक्कै विपरीत लक्षणहरु देखा परेछन् । ज्यादै समस्यामा परेपछि तिनीहरु धामीकहाँ पुगेछन् । धामीले केही पूजापाठ (?) गरेपछि करिब २ हप्ता जतिमा ती लक्षणहरु पूरै हराएरै गएछन् । सामान्य अवस्थामा झैं नै आफ्ना नियमित काम गर्न थालेकीले घर–परिवारले तिनका लक्षणहरुमा त्यत्ति वास्ता गर्न छाडिदिएछन् फेरि पनि ।

त्यसको एक वर्षपछि गर्भवती भएकी तिनमा पुनः निराशाका लक्षणहरु देखिन थालेछन् । २ हप्ता जति त्यस्ता लक्षणले तिनलाई असर पुर्याएछ । छोरो जन्मेपछि भने केही समय ती सामान्य अवस्थामा नै पुगिछन् । तर छोरो ३ महिनाको हुँदा फेरि तिनमा ‘अत्यधिक खुसी हुने, चाडबाड तडकभडक गरी मनाउने, नयाँ–नयाँ सामान, लुगाफाटा किन्ने, अ‍ैंचोपैंचो गरेर भए पनि धेरै पैसा खर्च गर्ने’ जस्ता लक्षण पुनः देखा परेछन् । घर–परिवारमै असर पार्ने त्यस्ता क्रियाकलापले झण्डै ती दम्पती पारपाचुके नै गर्ने अवस्थामा पुगेछन् । तर केही हप्तामा तिनको अवस्था फेरि सामान्य भएछ ।

यसरी २० वर्षयता यस्ता विपरीत किसिमका मनस्थितिजन्य अनि व्यावहारिक लक्षणहरु धेरै नै पटक हुने अनि फेरि पूरै निको हुने गर्न थालेपछि महेशले यसलाई “औंसी–पुर्ने” लागेको भनेर मतलब नै गर्न छोडिदिएछन् । यसबीचमा तिनका थप एक छोरा अनि अर्की छोरी पनि भएछन् । तथाकथित “औंसी– पुर्ने” लागेको अवस्था बाहेकका समयमा शर्मिलाले सामान्य अवस्थामा झैं नै रहेर घर–परिवार चलाउने गरेकाले थप पारिवारिक समस्या भने हुन पाएनछ । छोराछोरीले पनि आमाका व्यवहारलाई सहज रुपमा नै लिने गरेछन् ।

कुराकानी अझ विस्तृत रुपमा गरेपछि थाहा भयो कि शर्मिलाकी आमामा पनि त्यस्तै समस्या भएको रहेछ र तिनले ४ वर्षअघि आत्महत्या नै गर्न पुगेकी रहिछन् । तिनको दिदीमा पनि त्यस्तै लक्षण रहने गरेको बुझियो । तर कसैले पनि डाक्टरकहाँ औषधोपचार भने गरेका रहेनछन् ।
उपरोक्त घटनाकी पात्र शर्मिला वास्तवमा बाइपोलार डिस्अर्डरकी रोगी हुन् । जनमानसमा “औंसी–पूर्णे” लागेको भनेर नजरअन्दाज गरिएका उनीजस्ता रोगीहरु थुप्रै नै छन् । तिनका “मनका कथा” साँच्चै नै उपन्यासका पात्रहरुका कथा झै नै हुने गर्दछन् । माथि उल्लेखित शर्मिला र महेशका कथा झैं नै ।

मनस्थितिको उथलपुथल नै यस रोगका प्रमुख लक्षणका रुपमा देखा पर्ने गर्दछन् ।

मन प्रफुल्ल रहेको अवस्थामा पूर्णिमाको जूनझैँ जीवन उज्यालोजस्तो प्रतीत हुन्छ । दिमागमा नयाँ–नयाँ योजनाहरु बन्न थाल्छन् । खर्च निस्फिक्री गर्न मन लाग्छ । काम गर्दा थकाइ लाग्दैन । राति निद्रा मारेरै पनि काम गर्न सकिन्छ । निद्राको आवश्यकता नै पर्दैन । यो अवस्थालाई ‘म्यानिया’ भनिन्छ ।
कहिलेकाहीँ मनस्थितिमा सामान्य सकारात्मकता छाएको बेला लेखन, चित्रकलाजस्ता सिर्जनात्मक काममा लागेर रचनात्मक क्षेत्रमा अगाडि बढ्न पनि सक्छन् बिरामीहरु । अन्य हानी नभई अलिकति उद्देश्यतर्फ लागेका कार्यहरु गर्ने अवस्थालाई ‘हाइपोम्यानिया’ भनिन्छ, जसले खासै क्षति भने गराउँदैन ।

म्यानियाले भने कहिलेकाहीँ व्यक्तिमा उत्तेजना, यौनचाहना अनि तीव्र उत्साह बढाउँदा रोगीले सामाजिक दायित्वहरु समेत भुलेर समाजलाई अनुपयुक्त किसिमका कार्यहरु गर्ने, झगडा–तोडफोड गर्ने समेत सम्भावना रहन्छ । त्यस्तो बेलामा मानसिक वार्डमा भर्ना नै गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

त्यस्तै विपरीत नै जस्तो ध्रुवमा ‘डिप्रेसन’ देखा पर्दछ । यसमा औंसीको रातमा झैँ जीवन अन्धकारमय लाग्ने गर्दछ । उदासीपन हुने, मर्ने इच्छा हुने, निद्रा नलाग्ने, थकान हुने, काम गर्ने जाँगरमा कमीजस्ता लक्षणहरु पाइन्छन् । कहिलेकाहीँ नकारात्मक विचारहरु यति प्रबल हुन्छन् कि मानिसले आत्महत्याकै बाटो रोज्ने गर्दछ ।

यस्ता नैराश्यता र उत्साहका लक्षणहरु जीवनमा आइपर्ने विविध प्रकारका तनावका समयमा अझै समस्याग्रस्त नै पार्ने गरी प्रस्फुटित भएझैं लाग्दछन् यस रोगमा ।

नजिकका व्यक्तिको मृत्यु, जागीरमा अवनति, व्यापारमा नोक्सानी, दुर्घटनाजस्ता नकारात्मक किसिमका तनावले ‘डिप्रेसन’ को रुपमा, अनि पदोन्नति, वंशवृद्घि, विवाहजस्ता सकारात्मक क्षणहरुमा ‘म्यानिया’को अवस्थामा पुग्दछन् यी रोगीहरु । तनाव व्यवस्थापन (सकारात्मक या नकारात्मक) हुन नसक्ने र त्यस्तो अवस्थामा मनस्थिति पनि अस्थिर भइदिनाले यो रोगका विभिन्न चरणबाट गुज्रन्छन् बिरामी । एकपटक लागिसकेपछि पटक पटक विपरीत या उस्तै किसिम या दुवै लक्षण एकसाथ देखापर्ने पनि हुनसक्दछ ।

मनस्थिति बाहेक ‘निद्रा’का समस्या दुवै चरणमा देखापनै सक्दछ । ‘डिप्रेसन’ हुँदा निद्रा नै नलाग्नाले निद्रामा कमी हुन्छ भने ‘म्यानिया’ को अवस्थामा “निद्रा नै नचाहिने” जस्तो भई “आफूलाई धेरै सुत्नै नपर्ने” ठान्दछन् बिरामी ।

‘डिप्रेसन’का अन्य लक्षणहरुका रुपमा “नकारात्मक विचार, आफूलाई असहाय ठान्ने, हीनताबोध, प्रायश्चित्तका कुरा” आदि देखा पर्दछन् भने

‘म्यानिया’मा “बढी रचनात्मक हुन खोज्ने, असंभव योजनाहरु बनाउने, आफूलाई ‘विशिष्ट’ झैं मान्ने, धेरै खर्च गर्ने, बढी धर्मकर्म गर्ने” जस्ता लक्षणहरु पाइन्छन् ।

यसरी विपरीत किसिमका लक्षणहरु आलोपालो या समय–समयमा दोहोरिइरहने गर्दछ यस रोगमा ।

विश्वभरिमा करिब १% मा देखिने यो रोगमा ६% जतिमा आत्महत्याको अनि ३०–४०% मा आफूलाई अन्य किसिमले हानि गर्ने सम्भावना रहेको अध्ययनहरूले देखाएको पाइन्छ । आत्महत्या ‘डिप्रेसन’को चरणमा मात्र नभई ‘म्यानिया’ या रोगका कुनै पनि लक्षण नै नहुँदा पनि हुनसक्ने भएकोले नियमित फलो–अप र औषधोपचार अनि घरपरिवारको निरन्तर साथ एकदमै महत्वपूर्ण छ यस रोगमा ।

रोगका कारण शारीरिक या मानसिक असमर्थता बाहेक सामाजिक कलंक अनि कार्य–असक्षमताको दर पनि ज्यादा छ यस रोगमा । त्यस्तै धुम्रपान, मद्यपान, एङ्गजाइटीजस्ता मानसिक रोगहरु अनि ब्लडप्रेसर, चिनीरोग, मोटोपनाजस्ता शारीरिक रोगहरु प्नि ‘बाइपोलार डिसअर्डर’ मा ज्यादा पाइएको छ ।

तर यो रोग निको नै नहुने भने होइन । डायबेटिज वा ब्लडप्रेसरका रोगीहरुले झैं नियमित औषधि सेवन गरेमा यो रोग नियन्त्रणमा नै रहने गर्दछ । अनि म्यानिया या डिप्रेसनजस्तो एकदमै अप्ठ्यारो अवस्थामा पुग्न पाउँदैन ।

वास्तवमा यत्ति नै बुझेर बिरामीले हामीसँग नियमित फलो–अप गरी नटुटाई औषधि सेवन गरे पुग्छ यस रोगमा । बिरामीका अभिभावक, अर्थात् श्रीमती, छोराछोरी, बाबुआमा या दाजुभाइले यही कुरालाई ह्रदयंगम गरेमात्र पनि उपचारप्रक्रियामा सहयोगी बन्न सक्छन्, अनि उपचार सफल हुन्छ ।
मानसिक रोगहरुलाई लोकलज्जाका कारकतत्वका रुपमा हेरिने अनि त्यस्ता धारणाले गहिरो रुपमा जरा गाडेको हाम्रोजस्तो समाजमा ‘बाइपोलार डिसअर्डर’ जस्तो दीर्घरुपमा जीवनैभरि प्रभाव पार्नसक्ने अनि मनस्थितिलाई स्थिर राखिराख्न आजीवनै जस्तो औषधि चाहिइरहने रोगलाई ‘ब्लडप्रेसर’ या ‘सुगर’ जस्ता शारीरिक रोगहरुसँग तुलना गर्न सजिलो लाग्दछ मलाई । त्यसले उपचारलाई सरल बनाउने मात्र नभई उपचारको निरन्तरता कायम राख्न पनि ठूलो सहायता गर्दछ भन्ने मान्दछु म ।

जसरी डायबेटिजका रोगीहरुले इन्सुलिन वा रगतमा ग्लुकोजको मात्रा घटाउने औषधि नियमितरुपमा करीब–करीब आजीवन नै खाएर रगतमा ग्लुकोजको सन्तुलन मिलाइरहनुपर्छ अनि जसरी ब्लडप्रेसरको बिरामीले औषधि खाई रक्तचाप नियन्त्रणमा राखेर आँखा, मुटु, मृगौलामा असर नगर्ने अवस्थामा रहनुपर्छ, त्यसरी नै मनस्थितिलाई अत्यधिक खुसी या अत्यन्त नै दुःखी रहन नदिनका लागि अनि मनलाई सामान्य अवस्थामा नै कायम राखिरहनका लागि बाइपोलार डिस्अर्डरमा पनि ‘मुड स्टाबिलाइजर’ औषधिको आवश्यकता पर्छ ।

हामी मनोचिकित्सकहरुले यसरी नै यस रोगलाई ब्लडप्रेसर या सुगरजस्ता सामान्य शारीरिक रोगहरुसँग तुलना गरेर मनोरोगीहरुको लोकलज्जा निवारण गर्ने अनि बाइपोलार डिस्अर्डरमा नियमित औषधि सेवनको आवश्यकताका बारेमा चेतना दिने प्रयास गर्दछौं ।

मनस्थिति स्थिर राख्न अनि बारम्बार ‘म्यानिया’ या ‘डिप्रेसन’का प्रकोप देखा नपरोस् भन्नका लागि मात्र नभई आत्महत्याबाट जोगाउनका लागि पनि ‘मुड स्ट्याबिलाइजर’ औषधि नियमित चाहिन्छ यस्ता रोगीलाई । ‘मुड स्टाबिलाइजर’ औषधि सँगसँगै बिरामी एवं बिरामीका पक्षलाई यस रोगका बारेमा शिक्षा प्रदान गर्न मनोवैज्ञानिक प्रयासहरु पनि महत्वपूर्ण रहन्छ बाइपोलार जस्तो करीब–करीब आजन्म नै औषधोपचारको आवश्यकता पर्ने रोगमा ।

खुशीयाली या दुःखका जुनसुकै तनावले पनि यो रोगका लक्षणहरु उजागर गर्न सक्ने भएकोले पनि तनाव व्यवस्थापन, सकारात्मक चिन्तन अनि काउन्सेलिङ्ग/मनोविमर्श या साइकोथेरापीको आवश्यकता टड्कारो रुपमा देखा पर्दछ यस रोगमा । औषधोपचारको लागि मात्र नभई ‘म्यानिया’ को अवस्थामा हुनसक्ने अस्वाभाविक खर्च गर्ने प्रवृत्ति अनि ‘डिप्रेसन’ मा गहिरो रुपमा देखा पर्ने हीनताग्रन्थिको व्यवस्थापनका लागि पनि परिवारजनको ठूलो भूमिका रहन्छ । त्यसैले अभिभावकहरुको अभिक्षिन्न सहयोग अनि मनोचिकित्साकर्मीको निरन्तर सल्लाह–सुझाव यो रोग उपचारका दुई महत्वपूर्ण आधारशीला हुन् भन्नुमा अत्युक्ति नहोला ।

अतः “औंसी–पुर्ने” लागेको मानेर दुई दशकसम्म मानसिक रोगका कारण दुःख पाएकी शर्मिला र उनको जस्तो लक्षण भएका अरु व्यक्ति र तिनका परिवारलाई पनि ‘यो एक किसिमको मानसिक रोग हो, जुन नियमित औषधोपचारले निको हुन्छ’ भन्ने चेतना दिने प्रयासमा हामी मनोचिकित्सकहरु डटेर लाग्ने गरेका छौं ।

अन्त्यमा यही रोगसँग नै सम्बन्धित एउटा सकारात्मक अनुभवः

‘बाइपोलार डिसअर्डर’ का कारण भर्ना भएका एक चालिस वर्षे बिरामीका अभिभावकले आफ्नो बिरामीलाई डिस्चार्ज गरेर घर लाने बेलामा त्यस रोगका बारेमा हामीबाट यथेष्ट जानकारी पाइसकेपछि अभिव्यक्त गरेका यो धारणाले अलिकति भए पनि हाम्रो प्रयासले सार्थकता पाएको अनुभव भयो मलाई ।

“त्यसो भए त ब्लडप्रेसरको बिरामीलाई झैं यसलाई पनि नियमित नै औषधि खुवाउनुपर्यो होइन त डाक्टरसाब ?”