श्रीमद्भगवद्गीताको अन्तिम (अठाह्रौँ) अध्याय सम्पूर्ण गीता वाङ्मयको सिंहावलोकन गर्ने हिसाबले नै प्रस्तुत गरिएको छ । यसमा मानवजीवनका यावत् तत्त्वहरूको, तिनका व्यक्तित्वको प्रकृतिका त्रिविध गुणहरू (सात्त्विक,राजसिक, तामसिक)का आधारमा, तीनै प्रकारमा वर्गीकरण गरेर “मानिसले आफ्नो आत्मनिरीक्षण आफैले नै गर्नसक्ने” गरी खुलस्त पस्किदिएका छन् श्रीकृष्णले ।

अध्यायको प्रारम्भ भने अर्जुनको जिज्ञासाजन्य एक प्रश्नबाट भएको छ ।

“सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।

 त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन” ।।भ.गी.१८(१)।।

अर्थात् “दुई बहुप्रचारित क्रियाहरू ‘त्याग’ एवं ‘सन्न्यास’बीच के अन्तर छ ?  म बुझ्न चाहन्छु” भनी अर्जुन श्रीकृष्णसँग आग्रह गर्दछन् ।

“कर्महरूमा फलाशक्ति नराखी कार्य गर्नु ‘त्याग’ हो भने कामनाद्वारा प्रेरित कर्महरूबाट विमुख रहन सक्नु ‘सन्न्यास’ हो” भन्दै श्रीकृष्ण उत्तर दिन्छन् –

“काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदुः।

 सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः” ।।भ.गी.१८(२)।।

भविष्यमा प्राप्त हुन सक्ने फलप्रति आशक्ति या चिन्ता गर्ने व्यक्तिले वर्तमानमा नै केही पनि कार्य गर्ने क्षमता नै गुमाउँदछ, ऊ तामसिक अनि राजसिक प्रवृत्तिमा नै डुबेर रहेको हुन्छ । अतः फलाशक्तिरहित रहन सक्ने व्यक्ति नै तामसिक या राजसिक जस्ता निम्नकोटिका प्रवृत्तिदेखि माथि उठ्न सक्दछ, यही नै साँचो अर्थमा ‘त्याग’ हो । ‘त्याग’ले नै ‘सन्न्यास’तर्फको मार्ग प्रशस्त गर्दछ किनभने त्यागी व्यक्तिले नै अहङ्कारविहीन भएर आत्मसाक्षात्कार गर्न सक्दछ । सारांशमा, ‘त्याग’ साधन हो भने ‘सन्न्यास’ साध्य लक्ष्य ।

श्रीकृष्ण अगाडि भन्दछन् कि केही व्यक्तिहरूले “सम्पूर्ण कर्महरू दोषयुक्त हुनाले त्याज्य छन्” भन्ने गरे तापनि यज्ञ, दान, तपरूपी नगरी नहुने कर्महरू भने कहिल्यै पनि त्याग्न हुँदैन । ।।भ.गी.१८(३–५)।।

तर त्यस्ता कर्महरूसमेत फलाशक्तिरहित भई गर्नुपर्ने तर्फ जोड गर्दछन् श्रीकृष्ण । ।।भ.गी.१८(६)।।

मनुष्यका व्यक्तित्वजन्य गुणका आधारमा त्यागका पनि तीन प्रकार रहेको विषय उनी अगाडि बताउँदछन् ।

माथि उल्लिखित कर्तव्यकर्महरूको त्याग ‘तामसिक’ हो भने शारीरिक कष्ट या दुःखको भयले कर्म नगर्नु ‘राजसिक’ त्याग हो अनि आशक्ति या फलको चिन्ता नलिई कर्तव्य सम्झेर कर्म गर्नु ‘सात्त्विक’ त्याग हो । ।।भ.गी.१८(७–९)।।

कोही पनि देहधारी प्राणी कर्मविहीन रहन सक्दैन । त्यसैले कर्मको परित्याग होइन बरु कर्मफल त्याग नै साँचो त्याग हो । ।।भ.गी.१८(११)।।

कर्म नगरीकन जीवधारी मनुष्यहरूको अस्तित्व नै नरहन सक्ने विषय स्थापित गरिसकेपछि श्रीकृष्ण ती कर्महरूको सिद्धिका लागि आवश्यक पाँच तत्त्वहरूको उल्लेख गर्दछन् –

“अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।

 विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम्” ।।भ.गी.१८(१४)।।

अर्थात् कर्मसम्पादनका लागि आवश्यक पाँच कारकतत्त्वहरू हुन् –

१. अधिष्ठान शरीर ।

२. मन, बुद्धि, चित्त, अहङ्कारसहित शरीरधारी कर्ता जीव ।

३. विषयग्रहणका लागि आवश्यक करण ज्ञानेन्द्रियहरू ।

४. प्राणापानादि चेष्टाधारी कर्मेन्द्रियहरू ।

५. इन्द्रियहरूका अधिष्ठात्री देवताहरू, यानि कि दैव ।

अतः मानिसले शरीर, मन या वचनले जेसुकै उचित–अनुचित कार्य गर्दछ, तिनका पाँच कारण माथि उल्लिखित तत्त्वहरू नै हुन् । ।।भ.गी.१८(१५)।।

तर यी पाँचै कारणहरू मोटर गुडाउने इन्जिनका पार्टपुर्जासरह मात्र हुन् । अतः जडवस्तु नै हुन् । त्यस मोटर इन्जिनलाई चलाउन पनि पेट्रोलरूपी शक्तिको नै आवश्यकता पर्दछ । त्यो पेट्रोलरूपी चेतनतत्त्व आत्मा अकर्ता नै हो तर त्योविना कर्मका उपर्युक्त पाँच कारकतत्त्वहरूले समेत कर्मरूपी कुनै पनि कार्य सम्पादन गर्न भने सक्दैनन् । त्यस्तै चेतन आत्मा मात्रले पनि पेट्रोलरूपी शक्ति मात्रले इन्जिनविनाको मोटर गुडाउन नसकेझैँ कर्म सम्पन्न गर्न भने सक्दैन । आत्मा कर्मका लागि अत्यावश्यक चेतना त हो तर स्वयं कर्ता भने होइन । यो बुझ्नैपर्ने विषय हो भनी श्रीकृष्ण जोड दिन्छन् । ।।भ.गी.१८(१६)।।

कर्मका प्रेरक तत्त्वहरू पनि तीन छन् –

१. ज्ञातामा उत्पन्न हुने ज्ञानको भोक या इच्छा ।

२. जान्नपर्ने या ज्ञेय वस्तुप्रतिको उत्सुकता ।

३. पूर्वानुभव भएको ज्ञातसुखको स्मृति ।

त्यस्तै नै कर्मको प्रेरणा उत्पन्न भएपछि त्यस कर्मको परिपूर्तिका लागि पनि तीन तत्त्वको संयोगको आवश्यकता पर्दछ – कर्ता, कर्म र करण । कर्मको कामनाद्वारा प्रेरित व्यक्तिमा सर्वप्रथम कर्तृत्वाभिमानपूर्वक ‘म कर्ता हुँ’ भन्ने भाव आउँदछ । अनि उक्त जीव कर्ताका रूपमा स्थापित हुन पुग्दछ । त्यो कर्ताको अभीष्ट लक्ष्य नै कर्म हो । अनि कर्ताले त्यो कर्मसिद्धिका लागि गर्नुपर्ने क्रियालाई करण भनिन्छ । त्यसमा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन, बुद्धि आदि सबै जीवका अवयवहरूको सहभागिता रहन्छ ।

यी सबै विषयहरू निम्न श्लोकमा व्याख्या गरिएको छ –

“ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना ।

करणं कर्म कर्तेति त्रिविधः कर्मसङ्ग्रहः” ।।भ.गी.१८(१८)।।

गुणहरूका भेदका कारण ज्ञान पनि तीन प्रकारको भएको मानिन्छ ।

विभक्त अवस्थामा सृष्टिमा रहेका सारा प्राणीहरूमा अविभक्त अनि अविनाशी एक आत्मालाई चिन्ने ज्ञान नै सात्त्विक ज्ञान हो । प्राणीहरूमा रहेका विविध भावहरूलाई अलग–अलग रूपमा जान्ने ज्ञान भने राजसिक ज्ञान हो । एउटै शरीरमा मात्र आशक्त रहने सङ्कुचित ज्ञान भने तामसिक स्वरूपको मानिन्छ । ।।भ.गी.१८(२०–२२)।।

त्यस्तै कर्मका पनि तीन भेद छन् ।

रागद्वेषविहीन रूपमा गरिने कर्म सात्त्विक हो । ज्यादा परिश्रमयुक्त, फलको कामनाद्वारा प्रेरित अनि अहङ्कारमय कर्म रिकजस हो । परिणामको विचार नगरी हानि या हिंसायुक्त भई मोहग्रस्त अवस्थामा रहेर गरिएको कर्म चाहिँ तामसिक नै हो । ।।भ.गी.१८(२३–२५)।।

अब कर्ताका तीन प्रकारका बारेमा विवेचना गरौँ ।

अहङ्काररहित, धैर्य एवं उत्साहले युक्त अनि सफलता–असफलतामा निर्विकार रहने व्यक्ति सात्त्विक हो । रागी, कर्मफलको लोभी, हिंस्रक स्वभावको अशुद्ध व्यक्ति राजसिक हो । अनि अल्छी, विषादी, असभ्य व्यक्ति भने तामसिक स्वभावको कर्ता हो । ।।भ.गी.१८(२६–२८)।।

बुद्धिका तीन भेदचाहिँ के के हुन् त ?

प्रवृत्ति र निवृत्ति अर्थात् कर्ममार्ग र सन्न्यासमार्ग, कार्य र अकार्य, भय र अभय, अनि बन्धन र मोक्षका भेदहरूलाई तत्त्वतः जान्ने व्यक्ति सात्त्विक हो । धर्म–अधर्म, कर्तव्य–अकर्तव्य आदिका भेद यथावत् नजान्ने बुद्धि भने राजसिक हो । अनि अधर्मलाई नै धर्म सम्झने अज्ञानरूपी अन्धकारद्वारा आवृत्त बुद्धि भने तामसिक नै हो । ।।भ.गी.१८(३०–३२)।।

सुखका पनि तीन भेद छन् ।

आत्मज्ञानद्वारा आलोकित सुरुवातमा गाह्रो भए तापनि परिणाममा भने अमृतसमान प्रसाद पाइने सुख सात्त्विक हो । विषय र इन्द्रियहरूको संयोगले उत्पन्न भएको सुख सुरुवातमा अमृतसमान मीठो भए तापनि परिणाममा विषतुल्य कष्टकर रहन्छ । त्यो सुख राजसिक हो । निद्रा, आलस्य अनि प्रमादबाट उत्पन्न भएको सुखले भने प्रारम्भ अनि परिणाममा समेत मोहित पार्ने गर्दछ । त्यो तामसिक सुख हो । ।।भ.गी.१८(३७–३९)।।

यसरी जीवन र जगत्‌का त्रिविध प्रकारहरूको वर्णन गर्नमा श्रीमद्भगवद्रगीताको अन्तिम अध्यायको आधाभन्दा बढी भागलाई प्रयोग गरिसकेपछि श्रीकृष्ण भन्दछन् कि पृथ्वीका प्राणीमात्र नभई स्वर्गमा देवताहरूसमेत यस्ता छैनन् जो प्रकृतिबाट उत्पन्न यी तीन गुणहरूको प्रभावबाट मुक्त रहुन् ।

“न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।

सत्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ” ।।भ.गी.१८(४०)।।

यही नै त हो गीताको वास्तविक सारांश ।