शीर्षकमात्र झट्ट हेर्दा त अलिकति विरोधाभासपूर्ण झैं नै लाग्दछ । ‘योग’ अर्थात् ‘जोडिनु’ अनि ‘संन्यास’ अर्थात् ‘अलग्गिनु’, शाब्दिक अर्थले त त्यही नै जनाउँदछ, कर्मसँग जोडिने कि अलग नै भएर रहने ? अथवा, कर्म गर्ने कि कर्मबाट विमुख रहने ? सक्रिय रहने कि निष्क्रिय ? हामीहरुलाई जस्तै अर्जुनलाई पनि अलिकति सन्देहग्रस्त पारे यी दुई पदावलीहरुलेः कर्मयोग कि कर्मसंन्यास ?

डा. अजय रिसाल, मनोचिकित्सक

श्रीकृष्णको उपचार भनौं या उनीसँगको निरन्तर संवाद अनि प्रश्नोत्तरकै माध्यमद्वारा चलेको शंकानिवारणादि प्रयत्नका कारण विषादावस्थामा रहेका अर्जुन शनैः शनैः विषादमुक्तिको चरणतिर लम्किरहेका नै थिए । आफ्नो संयत कर्म अनि क्षत्रीय धर्मको महत्त्व बुझेर ‘कर्मयोग’को उपादेयतालाई आत्मसाथ गर्ने अवस्थामा नै प्रवेश गर्दै थिए । तर संवादकै क्रममा श्रीकृष्णले ‘कर्मयोग’ र ‘कर्मसंन्यास’ दुवै विधिलाई नै बराबरीको महत्त्व दिएको देखिएपछि अर्जुनलाई अलिकति अलमल झैं नै गरायो । त्यसैले अध्याय ५ को प्रारम्भमा नै उनी प्रश्न गर्दछन्ः

“संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छे्रय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ” ।।भ.गी.५(१)।।

अर्जुनले ‘कर्मयोग’ र ‘कर्मसंन्यास’लाई व्यक्तिविशेषको आत्मकल्याण अनि धर्मानुचरणका दुई भिन्न विकल्प मानिरहेका थिए । त्यसैले ती दुईमा “कुनचाहिं मार्ग आफ्ना लागि श्रेयष्कर हो ?” भनी निश्चितरुपमा बताइदिन आफ्ना सखासरहका श्रीकृष्णसँग आग्रह गर्न पुग्दछन् उनी ।

“निराश अनि विषादग्रस्त मानिस यसरी जिज्ञासु बन्दै जानु मानसिक रोगमा सुधार भैरहेको दृष्टान्त हो ।” हामी मनोचिकित्सकहरु यही नै ठान्दछौं । त्यसमाथि अर्जुनको यो शंकालाई जायज नै पनि मान्न सकिन्छ । शब्दार्थमा मात्रै ध्यान दिने हो भने जोसुकै पनि भ्रमित रहन सक्दछन् यो प्रसंगमा ।

आदिकालदेखि नैे वेदहरुमा संग्रहित ज्ञान शनैः शनैः लुप्त हुँदै गैरहेको अवस्थामा ती ज्ञानधारालाई पुनः प्रकटीकरण गर्ने श्रीकृष्णको प्रयास हो श्रीमद्भगवद्गीता । वास्तवमा श्रीकृष्णको यो पवित्र उद्देश्यमा निमित्त पात्र मात्र हुन् अर्जुन । यो कुरा श्रीकृष्णले अघिल्लो अध्यायमा नै पनि भनिसकेका नै हुन् ।

तमोगुणीय निष्क्रियतामा रहेका अकर्मण्य व्यक्तिहरुलाई त्यस्तो अन्धकारमय तामसिक अवस्थाबाट बाहिर निकाल्न सर्वप्रथम जसरी पनि कर्मपथमा नै ल्याउने प्रयास गर्नुपर्दछ । त्यस्ता कर्म राजसिक अहंकार अनि स्वार्थप्रेरित अथवा काम्य कर्म नै भए तापनि तामसिक निष्क्रियताभन्दा यो रजोगुणीय क्रियाशीलता नै उत्तम हो । त्यसरी सक्रियतामा आएको व्यक्तिलाई विस्तारै निष्काम अर्थात् यज्ञमय कर्म गर्नका लागि प्रेरित गर्नुपर्दछ । त्यसरी स्वार्थरहित भएर सर्व कल्याणका खातिर गरिएको कर्म नै यज्ञमय कर्म यानिकि ‘कर्मयोग’को उदाहरण हो । यसरी ‘कर्मयोग’को अभ्यास गर्ने क्रममा विस्तारै व्यक्तिमा सात्विक भावको प्रादुर्भाव हुन थाल्दछ । सात्विक शान्ति र आनन्दमा रमेको व्यक्ति नै साँचो आत्मानुसन्धानमा लाग्न सक्दछ । निष्काम कर्म अथवा कर्मयोगले नै व्यक्तिको मन एवं बुद्धिमा तादात्म्यता स्थापित हुन जान्छ । अनि मात्र ऊ आत्मानुभव गर्न समर्थ बन्दछ । त्यही नै ‘कर्मसंन्यास’को प्रारुप हो । अतः ‘कर्मसंन्यास’को अर्थ ‘कर्मको परित्याग’ गर्ने नभई निष्काम भावले अहंकार अनि स्वार्थको पूर्ण त्याग गरीकन सर्वजनहिताय आफूले गर्नुपर्ने सबै कर्मको पूर्णपालन गरेर आनन्दमय अवस्थामा रहन सक्नु हो ।

श्रीकृष्ण भन्दछन्ः

“सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ” ।।भ.गी.५(१३)।।

अर्थात्, सम्पूर्ण इन्द्रियहरु एवं मनका प्रवृत्तिहरु आफ्नो वशमा राखेर आनन्द अनि परम् सन्तोषमा रहन सक्ने व्यक्ति नै वास्तविक संन्यासी हो । हाम्रो शरीर नौवटा ढोका भएको सुन्दर नगर हो । हाम्रो उपनिषद्को ‘नवद्वारयुक्त नगरी’को प्रसिद्ध दृष्टान्त ल्याएर श्रीकृष्ण मन अनि इन्द्रियहरुको स्वामी हुनसक्ने व्यक्ति नै साँचो संन्यासी बन्न सक्ने ठोकुवा गर्दछन् । यहाँ प्रयोग भएको नवद्वार शब्दले हाम्रा इन्द्रियहरुलाई नै जनाएका हुन्ः दुई आँखा, दुई कान, दुई नाकका प्वाल, मुख, जननेन्द्रिय र गुदेन्द्रिय । यी नवै इन्द्रियहरुमा आश्रित नभइकन कर्तृत्वभावको सदा त्याग गरेर सम्यक कर्म गर्ने व्यक्तिले नै ‘कर्मसंन्यास’ गरेको ठहर्छ । अतः सन्यासीको अर्थ हामीले सोचेजस्तो ‘घरपरिवार सबै त्यागेर गेरुवा वस्त्र धारण गरी भिक्षा माग्दै हिँड्ने जोगी’ नभई कर्मयोगको पूर्ण पालन गरेर आत्मसन्तुष्ट भएर रहन सक्ने योगी पो हो । त्यसैले, संन्यास भनेको ‘कर्मबाट पलायन’ होइन, परन्तु आत्मशुद्धिका लागि सम्यक कर्म गर्नु नै आदर्श योगीको धर्म हो । भनिएको नै छः

“कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि ।
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धये” ।।भ.गी.५(११)।।

त्यस्तै, आफूले गर्ने कर्म सबै ईश्वरार्पण गर्न सकिएपछि मात्र व्यक्तिले आत्मसाक्षात्कार गर्न समर्थ भएको अनि उसले संन्यास अवस्था प्राप्ति गरेको ठहर्दछ । त्यस्ता व्यक्ति पोखरीको पानीमा लिप्त नभएको कमलको पात झैं आफू रहेको सांसारिक बन्धनबाट मुक्त भएको मानिन्छन् । त्यस्ता व्यक्ति आफ्नो आत्मस्वरुपलाई चिनेर ‘आत्मभावमा स्थित जीव’का रुपमा संसारमा निर्लिप्तावस्थामा रहिरहन सक्दछन् । श्रीकृष्ण त्यसैले नै भन्दछन्ः

“ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्यपत्रमिवाम्भसा” ।।भ.गी.५(१०)।।

यही नै वास्तविक संन्यास होइन र ?

तर यो अवस्थामा आइपुग्नु त्यत्ति सहज भने अवश्य छैन । किनकि संसारमा रहेका अँध्यारा–उज्याला, जयपराजय, सुखदुःख, रागद्वेष, लाभहानि जस्ता निरन्तर चलिरहने भौतिक, मानसिक, व्यवहारजन्य द्वन्द्वहरुबाट मुक्त रहन सक्ने व्यक्तिले मात्र ‘कर्मसंन्यास’ गर्न सक्दछ । श्रीकृष्ण भन्दछन्ः

“ ज्ञेयः स नित्यसंन्यासी यो द्वेष्टि न काङ्क्षति ।
निद्र्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते” ।।भ.गी.५(३)।।

अतः ‘कर्मसंन्यास’ र ‘कर्मयोग’ एकअर्कादेखि पृथक अथवा बैकल्पिक मार्ग कदापि होइनन् । बरु यी दुई एकअर्काका परिपूरक हुन् । यी दुवैको लक्ष्य एउटै नै हो । यीमध्ये जेको अभ्यास गरे तापनि पुग्ने ठाउँ एउटै नै हो ।

अतः यी मार्गहरुलाई पृथक मान्नुहुँदैन भन्दै श्रीकृष्ण भन्दछन्ः

“यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।
एकं सांङ्ख्यं च योगं च यः पश्यति स पश्यति” ।।भ.गी.५(५)।।

त्यस्तै, उनी भन्दछन्ः

“सांख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम्” ।।भ.गी.५(४)।।

अर्थात्, बालकको झैं बुद्धि भएकाले मात्र यी दुईलाई भिन्न मान्दछन् । किनभने यीमध्ये जुनसुकै मार्ग अवलम्बन गर्नेले पनि पाउने फल त एउटै नै हो ।

सामान्य अर्थमा अनि सारांशमा भन्नुपर्दा आफ्नो नियत कर्म गरेरै पनि आत्मानुभूति गर्ने मात्र दुई उपायहरु छन्ः

१. फलाशक्तिवश गर्ने चिन्ताहरु त्याग्नु अर्थात् भोक्तृत्वको अभिमान त्याग्नु ।
२. कर्तृत्वको अभिमान त्याग्नु ।

भोक्तृत्व भाव त्यागेर गरिने कर्मलाई ‘कर्मयोग’ भनिन्छ भने कर्तृत्व भाव त्याग्न सक्नु ‘कर्मसंन्यास’ नै भइहाल्यो ।
तर, त्यत्ति सजिला छैनन् यी मार्गहरु । त्यसैले त श्रीकृष्णले त्यसको उपाय बताउन खोजेका छन् गीतामा ।

तर, कर्म नगरीकनै त्यसको संन्यास गर्ने पो कसरी ? त्यसैले ‘कर्मसंन्यास’लाई जीवनको परमलक्ष्य बनाउने व्यक्तिले सर्वप्रथम त ‘कर्मयोग’को पालन गर्न सक्नुपर्दछ । त्यसका लागि कर्म त गर्नैपर्यो । अतः श्रीकृष्ण ‘पहिले कर्म गर्ने, अनि कर्मयोगको अभ्यास गर्ने, त्यसपछि संन्यासतिर लाग्ने हो’ भनी भन्दछन् । योगबिना संन्यास प्राप्ति गर्न कठीन छ भन्दै उनी पुनः जोड दिन्छन्ः

“संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणधिगच्छति” ।।भ.गी.५(६)।।

अर्थात्, योगयुक्त मननशील व्यक्ति नै परमात्मालाई अथवा मुक्तिलाई छिटो प्राप्त गर्न समर्थ बन्दछ । अतः ‘कर्मयोग’ र ‘कर्मसंन्यास’बीच विरोधाभास रहेको कुरा असत्य हो । बरु ‘कर्मयोग’ त ‘कर्मसंन्यास’ हासिल गर्ने भर्याङ्ग जस्तो पो बन्न सक्ने रहेछ त । आफ्नो कर्म सम्यक रुपमा परिपालन गर्ने क्रम जारी राख्न सकेमा त्यसैलाई योगमय बनाउन सकिने रहेछ । अनि आफ्नो कर्म योगमय बन्दै जाँदा ढिलोचाँडो संन्यासरुपी परमलक्ष्य पनि भेटिने नै रहेछ ।

अब फर्कौं अर्जुनको प्रारम्भिक जिज्ञासातर्फ । त्यसोभए, अर्जुनका लागि ‘कर्मयोग’ र ‘कर्मसंन्यास’मध्ये कुनचाहिं मार्ग श्रेयष्कर होला त ? यसका लागि अर्जुनको तात्कालीन स्थितिको विचार गर्नुपर्दछ । एउटा क्षत्रीय धनुर्धर युद्धमैदानमा, अझ युद्धको आह्वान भै नै सकेको अवस्थामा मोह अनि विषादग्रस्त बनेर “युद्ध गर्दिनँ” भन्दै पलायन हुन खोज्दछ । यो त त्यस व्यक्ति तमोगुणीय निष्क्रियतामा पुगेको वा रहेको अवस्था भयो । किंकर्तव्यविमूढ अवस्थामा रहेका अर्जुनलाई त्यो बेला संन्यासको उपदेश दिनु भनेको त पलायनवादी चिन्तनलाई बढावा दिएजस्तो हुने भयो । त्यस्ता निष्क्रिय व्यक्तिलाई त पहिले सक्रिय नै बनाउनुपर्ने हुन्छ ।

अतः कर्म गर्ने उपदेश नै तिनका लागि उपयोगी उपचार विधि हो । त्यसैले श्रीकृष्ण अर्जुनलाई भन्दछन्ः

“संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते” ।।भ.गी.५(२)।।

अर्थात्,‘कर्मयोग’ र ‘कर्मसंन्यास’ दुवै विधि परमकल्याणकारक भए तापनि तिम्रा लागि भने यो समय कर्मयोग नै श्रेष्ठ छ ।

मनोरोग उपचारका अनेक विधिहरु हुन्छन् । तर कुशल चिकित्सकले भने सबै विधिहरुबारे बिरामीपक्षलाई यथेष्ट जानकारी दिइसकेपछि बिरामीको तात्कालीन अवस्था, परिस्थिति हेरी उसका लागि सुहाउँदो विधि नै सिफारिस गर्नुपर्दछ । यही नै प्रक्रिया अवलम्बन गर्ने गर्दछौं हामी पनि हाम्रो मनोचिकित्सा अभ्यासमा । योग्य चिकित्सक श्रीकृष्ण त त्यसमा चुक्ने नै भएनन् नि । त्यसैले, उनले पनि अर्जुनको जिज्ञासा शान्त पार्दै उनलाई त्यो समय ‘कर्मयोग’मै लाग्ने प्रेरणा दिए ।