शास्त्रहरुमा अन्तर्निहित तत्त्वका बारेमा जानकारी हासिल गर्नु ‘ज्ञान’ हो भने ती ज्ञानराशिका यथार्थलाई स्वयं अनुभव गर्नु या आफ्नै जीवनमा त्यसको अनुसन्धान गर्न समर्थ बन्नु ‘विज्ञान’ हो । निष्क्रियताबाट कर्मण्यतातर्फ, सकाम कर्मबाट निष्काम कर्म, यज्ञमय कर्म, अनि कर्मयोगको अभ्यासद्वारा क्रमशः कर्मसंन्यासको पथगामी बन्ने प्रयास नै आत्मानुसन्धानतर्फको भनौँ या विज्ञानतर्फको यात्रा हो । यी तथ्य अघिल्ला अध्यायहरुमा नै श्रीकृष्णद्वारा अभिव्यक्त भइसकेका हुन् । अतः आत्मज्ञानको विज्ञानतिरको मार्गचित्र पनि त्यही नै हो । यी ज्ञानविज्ञानका गुह्य कुरा जानेपछि जान्न बाँकी अरु केही पनि रहँदैन भन्दै श्रीकृष्ण भन्दछन्ः
“ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यञ्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते” ।।भ.गी.७(२)।।
तर यो आत्मज्ञानको विज्ञानलाई ह्रदयंगम गरी साँचो आध्यात्मिक जीवनशैली अँगाल्न सक्ने कोही कोही सीमित व्यक्ति मात्र नै हुन सक्दछन् । आत्मा अनि त्यसको श्रोत परमात्मा (श्रीकृष्णको भनाइ अनुसार ‘म’) लाई चिन्न धेरै नै ठूलो अभ्यास अनि परिश्रमको आवश्यकता पर्दछ ।
जिज्ञासा नै आविष्कारकी जननी हुन् । जिज्ञासा नभई वैज्ञानिक बन्न भनौँ या विज्ञान प्राप्त गर्न असम्भव नै छ । अतः आत्मज्ञानको विज्ञानलाई जान्न या बुझ्नका लागि अर्जुन जस्ता जिज्ञासु साधक शिष्य, श्रीकृष्ण जस्ता सुपरीवेक्षक गुरु, अनि श्रीमद्भगवद्गीताजस्तो उत्कृष्ट शोधग्रन्थको नै आवश्यकता पर्दछ । श्रीकृष्ण आफैँ नै भन्दछन्ः
“मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्वतः” ।।भ.गी.७(३)।।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने, गीताको पहिलो अध्यायमा विषादग्रस्त देखिएका अर्जुन, सातौँ अध्यायमा आइपुग्दा भने जिज्ञासु शिष्यको तहमा उक्लिसकेका छन् । मनोरोगीको अवस्था मुताबिक मनोचिकित्सकले पनि आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने हुँदा यहाँ श्रीकृष्ण पनि गुरुका रुपमा अर्जुनरुपी योग्य शिष्यको माध्यमबाट सारा संसारका लागि ‘आत्मज्ञानको विज्ञान’ उद्घाटित गरिदिने प्रयास गर्दछन् ।
‘प्रकृति’रुपी जड पदार्थ अनि ‘पुरुष’रुपी चेतनतत्वको संयोगले नै जगत् अर्थात् संसार उत्पन्न भएर अस्तित्वमा चलायमान रहेको हुन्छ । उदाहरणका लागि रेडियो, टेलिभिजन जस्ता विद्युतीय उपकरणहरु तबसम्म जडपदार्थका रुपमा प्रयोजनविहीन भएर नै रहन्छन् जबसम्म त्यसमा चेतनारुपी विद्युतशक्तिको संचालन भएको हुँदैन । त्यस्तै चेतनारुपी विद्युतकाे शक्तिको पनि तबसम्म केही उपादेयता रहँदैन जबसम्म रेडियो, टेलिभिजन जस्ता जड प्रकृतिका अवयवहरुसँग यसको संयोजन हुन पाउँदैन । अतः जड र चेतन, अथवा प्रकृति र पुरुषको समन्वयबाट नै यो जगत, यो सृष्टि, अनि यो संसारको संचालन, संवर्धन भइरहेको हुन्छ ।
जड प्रकृति र चेतन पुरुषको सहचर्यबाट समस्त सृष्टिको उत्पत्ति अनि संचालन भएजस्तै नै हाम्रो मानव जीवन पनि चलिरहेको हुन्छ । मानव शरीर अनि यसका दैहिक अवयवहरु जड उपाधिले निर्मित भएका हुन्छन् भने जीवभावमा रहने चेतनतत्व आत्माले यसलाई धारण गरिरहेको हुन्छ । मनुष्य शरीरका जड अवयवहरु अपराप्रकृतिका रुपमा आठ प्रकारले विभाजित भएर रहन्छन् भन्दै श्रीकृष्ण भन्दछन्ः
“भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा” ।।भ.गी.७(४)।।
पृथ्वी, जल, तेज, वायु, र आकाशरुपी पाँच महाभूतहरु, अनि मन, बुद्धि, र अहङ्कारको समष्टीगत रुप नै मानव शरीर हो । तर आत्मारुपी चेतनतत्व भनौँ या पराप्रकृतिबिना यी जड पदार्थहरुको कुनै प्रयोजन रहन्न । आत्माको चेतनादायी उपस्थितिबिना जीवनको भनौँ या जीवत्वको अस्तित्व रहन्न । यही नै आत्मज्ञान हो । मानव शरीरको जडत्व भनौँ या अष्टधा प्रकृतिको अस्तित्व आत्मचेतनामा मात्र अन्तर्निहित रहने तथ्य बुझ्न सक्नु नै आत्मज्ञानको विज्ञानलाई बोध गर्नु हो ।
ती स्थूल पञ्चमहाभूतहरुको सूक्ष्मभावका रुपमा रहने छाला, जिभ्रो, आँखा, नाक, र कान जस्ता ज्ञानेन्द्रियहरुद्वारा बाह्य जगतको अनुभव गर्दछ शरीरले । ती बाहिरी विषयका संवेदनाहरु ज्ञानेन्द्रियहरुको माध्यमबाट मनसम्म पुग्दछ । ती संवेदनाहरुका वास्तविकतालाई निश्चित गर्ने काम बुद्धिको हो । त्यसरी निश्चित भएका संवेदनाहरुलाई कार्यरुपमा परिणत गराउन बुद्धिले पाँच कर्मेन्द्रियहरु (हात, खुट्टा, मुख, गुदेन्द्रिय, र जननेन्द्रिय) लाई निर्देशन दिने गर्दछ ।
“ज्ञानेन्द्रियहरुद्वारा विषयग्रहण, मनद्वारा एकत्रीकरण, बुद्धिको माध्यमबाट तिनको निश्चयीकरण, अनि फेरि कर्मेन्द्रियहरुद्वारा ती विषयहरुको सम्पादन” ।
यसरी नै शारीरिक क्रियाकलापहरु चल्दछन्, चलिरहेका हुन्छन् । यसो भइरहँदा, इन्द्रिय, मन, एवं बुद्धि, यी तीनै तहमा रहने ‘अहं’ वृत्तिलाई भने अहङ्कार भनिन्छ ।
तर इन्द्रिय, मन, बुद्धि, र अहंकार मानव शरीरका जड प्रवृत्ति मात्र हुन् । आत्मारुपी चेतनको स्पर्श नपाएसम्म मानवरुपी जीवको व्यवहार गर्न ती असमर्थ नै रहन्छन् । श्रीकृष्ण भन्दछन्ः
“अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ” ।।भ.गी.७(५)।।
अतः पराप्रकृतिरुप चेतनतत्त्व आत्माले नै अपरारुप मानव शरीरका जडउपाधिहरुलाई कार्य सञ्चालन गर्न समर्थ बनाएका हुन्छन् । ती जडतत्त्वहरुले इन्द्रिय, मन, बुद्धि, अहङ्कार, सबैलाई चिनाउने भएकाले बाह्य विषय, अनुभूति , भावना, विचार सबैलाई जगतको परिभाषामा अटाइएको छ । तसर्थ “चेतनाले नै सम्पूर्ण जगतको धारण गरेको छ” भन्न सकिन्छ ।
अतः जड र चेतन, प्रकृति र पुरुष, अनि अपरा र परा प्रकृति, दुई श्रोतहरुबाट उत्पन्न अनि सञ्चालन भएको छ यो जगतको । विद्युतबिना रेडियोआदिको काम नभए झैँ, अनि रेडियो आदिमा प्रयोग–प्रयोजन भएन भने विद्युतको पनि कुनै उपादेयिता नदेखिने भए झैँ जड र चेतन दुईबीच एकअर्कामा सहसंयोजन नभई जगतको अस्तित्व रहन सक्दैन । अतः जड र चेतन, अपरा र परा, दुबै प्रकृतिहरु, यो जगतकाे अनि प्राणीमात्रको कारण या आधार हो । तर, त्यो चेतनतत्त्व, आत्मा या आफ्नो स्वस्वरुपलाई चिन्नका लागि त्यसको श्रोत परमात्मालाई नजानी, नबुझी हुँदैन ।
उदाहरणका लागि, माटोको भाँडोलाई हेर्दा जडअवस्थामा भाँडोकै रुपमा देखिए तापनि, अनि चेतन पदार्थ, जोडिने सेतु पानी या कुनै वस्तु भए तापनि त्यसको स्वस्वरुपको कारण त माटो नै हो । त्यस भाँडोका लागि माटोमात्र सत्य हो । त्यही माटोको रुपमा रहेको सत्यस्वरुपमा भने न त भाँडोको अस्तित्व नै रहेको हुन्छ न त पानीको नै । त्यही सत्यलाई जान्नेले माटोको भाँडोमा माटो, पानीजस्ता स्थूल तत्वहरुमा भन्दा माटोको सत्य अस्तित्वलाई नै जानेको हुन्छ ।
त्यस्तै मानवमात्रमा शारीरिक या स्थूल अवयवहरुमा भन्दा आत्मारुपी सूक्ष्म अनि चेतन तत्त्वमा नै सत्य देख्न सक्दछ आत्मज्ञानीले । आत्मज्ञानको विज्ञान जान्ने व्यक्तिले त अझ त्यो चेतनको श्रोत परमात्मारुपी सत्यलाई नै साक्षात्कार गरेको हुन्छ । किनकि त्यो परमात्मा तत्वले धागोले मणिहरुलाई उनेर माला बनाए झैँ यो सम्पूर्ण जगतको निर्माण गरेको हुन्छ । त्यस परमात्मतत्व आफू अर्थात् “म न हुँ” भन्ने घोषणा गर्दै श्रीकृष्ण भन्दछन्ः
“मत्तः परतरं नान्यत्किंञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ” ।।भ.गी.७(७)।।
अतः एउटै परमात्मारुपी श्रोतको उत्पादन सबै आत्माहरु एकै हुन् । बाहिर स्थूलरुप मालामा उनिएका मणिहरु मात्र देखिने भए तापनि सूक्ष्मरुपमा रहेको धागो नभए ती मणिहरु अनि मालाको नै पनि कुनै अस्तित्व रहन सक्दैन । जगतलाई माला झैँ उन्ने त्यो परमात्मतत्त्व जलमा रसको रुपमा, चन्द्रसूर्यमा प्रकाशको रुपमा, वेदरुपी ज्ञानभण्डारमा प्रणव (ॐकार) को स्वरुपमा विद्यमान छ । त्यही तत्त्व नै पुरुषहरुको पुरुषत्व, पृथ्वीको पवित्र गन्ध, अग्निको तेज, प्राणीहरुको जीवन अनि तपस्वीहरुको तप हो । अतः सर्वत्र व्याप्त भएर पनि स्थूलरुपमा दृष्टिगोचर नहुने त्यही तत्त्व नै कुनै पनि वस्तुको वस्तुत्व सिद्ध गर्ने धर्म एवं स्वरुप हो ।। भ.गी.७(८–९)।।
त्यसैले सबै प्राणीहरुको सनातन बीजस्वरुप त्यही परमात्मतत्वलाई मान्न श्रीकृष्ण आह्वान गर्दछन् । बुद्धिमानहरुको बुद्धि अनि तेजस्वीहरुको तेज, बलवान्हरुको कामना एवं आशक्तिरहित बल, अनि सर्वधर्म अनकूल काम नै आफू रहेको घोषणा गर्दछन् श्रीकृष्णः
“बीजं मां सर्वभूतानां विद्धिं पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ” ।।भ.गी.७(१०)।।
“बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ” ।।भ.गी.७(११)।।
यसलाई अर्को एक उदाहरणद्वारा पनि बुझाउन सकिन्छ । सिनेमाको पर्दामा देखिएका चलायमान चित्रहरु हामीलाई स्थूलरुपमा सत्य झैँ नै लाग्दछन् । तर ती जड उपाधिमय प्रकृतिका अवयव हुन् । विद्युतरुपी चेतनतत्त्व नभएमा ती दृश्यमान भएर कदापि रहन सक्दैनन् । तर प्रोजेक्टर नै नभए त विद्युत अनि चलचित्रको जति नै ठूलो या राम्रो भिडियो डिस्क नै भए पनि सिनेमाका पर्दामा ती दृष्यहरु चल्दैनन् । त्यो प्रोजेक्टरको रुपमा रहेको सिनेमा देखाउने सत्य माध्यम भने परमात्मतत्त्व हो जसले बिजुलीरुपी चेतना अनि सिनेमा भिडियोमा कैद रहेका चित्रपटहरुलाई सजीवरुपमा पर्दामा देखाउने कार्य गर्दछ । अन्तिम सत्य त त्यही प्रोजेक्टर नै हो सिनेमाका लागि ।
यही नै आत्मज्ञानको विज्ञान हो ।
यसरी श्रीकृष्णले गीताको सातौं अध्यायको एक तिहाइ भाग आत्मज्ञानको विज्ञानसम्मत पक्षहरुको सविस्तार वर्णन गर्नमा खर्च गरेका छन् । बाँकी दुई तिहाइ भागमा भने त्यो परमात्मतत्वलाई कसरी आत्मसात गर्ने भन्ने विषयमा व्याख्या गरिएको छ । ती तथ्यको वर्णन अर्को श्रृंखलामा हुनेछ ।
धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. अजय रिसाल काठमाडौं विश्वविद्यालय, मानसिक रोग विभागका सह—प्राध्यापक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।