डा. अजय रिसाल, मनोचिकित्सक
आत्मज्ञानको परमलक्ष्य प्राप्तिका लागि ‘श्रद्धा’ अत्यन्त नै आवश्यक तत्त्व हो भन्ने कुरा श्रीमद्भगवद्गीतामा यसअघि नै प्रकाश पारिसकिएको छ ।
“श्रद्धावाँल्लभते ज्ञानं….(।।भ.गी.४(३९)।।)”, अर्थात् शास्त्र एवं गुरुवर्गको उपदेशको तत्त्वार्थलाई यथोचित ग्रहण गर्ने सामर्थ्यका लागि पनि श्रद्धाकै अपरिहार्यता रहन्छ ।
यही श्रद्धाका विषयमा अर्जुनले जिज्ञासा व्यक्त गरेपछि श्रीकृष्ण भन्दछन् कि मानिसहरुमा व्यवहारजन्य गुण भनौँ या व्यक्तित्व तीनथरी भए झैं नै श्रद्धा पनि ‘सात्विक, राजसिक, अनि तामसिक’ गरी तीन प्रकारका नै हुन्छन् ।
“त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा ।
सात्विकी राजसी चैव तामसी चेति तां शृणु” ।।भ.गी.१७(२)।।
अर्को शब्दमा भन्नुपर्दा, जसको जस्तो श्रद्धा हुन्छ, त्यस्तै नै उसको स्वरुप हुन्छ ।
“सत्वानुरुपा सर्वस्य श्रद्धा भवति भारत ।
श्रद्धामयोऽयं पुरुषो यो यच्छ्रद्धः स एव सः” ।।भ.गी.१७(३)।।
अझ अगाडि उनी भन्दछन् कि मानिसहरुले आफ्नो गुण एवं व्यक्तित्व मुताबिककै शक्तिलाई पुज्ने या त्यस्तैलाई नै आदर्श मान्ने गर्दछन् ।
“यजन्ते सात्विका देवान्यक्षरक्षांसि राजसाः ।
प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः” ।।भ.गी.१७(४)।।
अर्थात्, दिव्य संस्कारधारी सात्विक स्वभावका मानिसहरु देवताको पूजा गर्दछन् । उच्च महत्वाकांक्षी रजोगुणप्रधान मानिसहरु यक्ष या राक्षसहरुको आराधना गर्दछन् । तल्लोस्तरका विषयवासनाहरुमा लिप्त तामसिक व्यक्तिहरु भने भूतप्रेतहरुको सेवा गर्दछन् ।
हाम्रो व्यावहारिक जीवनमा नै विचार गरेर हेर्दा पनि यो कुरालाई स्पष्टतः बुझ्न सकिन्छ । शुद्ध अन्तःस्करण भएका सात्विक व्यक्तिहरु आफूसरहका सह्रदयी व्यक्तिहरुबाट नै सहायता चाहन्छन् । महत्वाकांक्षी राजसी व्यक्तिहरु धनवान् अनि शक्तिसम्पन्नहरुकै साथ अनि सुरक्षा खोज्दछन् । प्रमादशील स्वभावका तामसी व्यक्तिहरु भने अपराधी समूहहरुबाट नै शक्ति चाहन्छन् ।
तामसी व्यक्तिहरुको बारेमा अझ प्रकाश पार्दछन् श्रीकृष्ण । शास्त्रविधिले रहित भएर घोर या उग्र तप गर्ने व्यक्तिहरु दम्भ, अहङ्कार, राग आदि दुर्गुणहरुद्वारा ग्रस्त आसुरी प्रवृत्तिका तामसी व्यक्तिहरु नै हुन् । तिनले आफ्नो शरीर अनि आत्मालाई मात्र नभई परमात्मालाई नै पनि कष्ट पुर्याइरहेका हुन्छन् । पुराण, इतिहासहरुमा वर्णित हिरण्यकशिपु, कंस, रावण आदि सब यस्तै तामसी श्रद्धा अभिव्यक्त गर्ने आसुरी शक्तिका उदाहरण हुन् ।(।।भ.गी.१७(५–६)।।)।
यी तीन व्यक्तित्वहरुलाई आहारविहार, यज्ञ, तप, दान आदि सबैका आधारमा नै पनि एकअर्कादेखि पृथक् नै भएको जान्न सकिन्छ । (।।भ.गी.१७(७)।।)।
आहारको कुरा गर्दा, सात्विक व्यक्तिलाई आयु, शुद्धि, बल, आरोग्य, सुख बढाउने रसिला भोजन प्रिय हुन्छन् । राजसी व्यक्तिलाई भने पीरो, अमिलो, नुनिलो, बढी तातो, चर्को, शोक या रोग बढाउने आहार राम्रो लाग्दछ । त्यस्तै अधकल्चा, निरस, बासी भोजन तामस व्यक्तिहरुले मन पराउँदछन् । (।।भ.गी.१७(८–१०)।।)।
यज्ञहरुको कुरा गर्दा, फलको आकांक्षा नराखी आफ्नो कर्तव्य मानी शास्त्रविधिद्वारा गरिएको यज्ञ सात्विक हुन्छ । देखाउनका लागि अनि फलको आकांक्षाका साथ गरिएको यज्ञ राजसिक हो । शास्त्रविधि पालन नगरी, बिनामन्त्र, अन्नदान या दक्षिणारहित यज्ञचाहिं तामसिक यज्ञ हो । (।।भ.गी.१७(११–१३)।।)।
तपस्याका तीन विधिका बारेमा प्रकाश पार्दै श्रीकृष्ण भन्दछन् कि देव, गुरु अनि ज्ञानीजनको पूजन, शुद्धता, सत्य व्यवहार, ब्रह्मचर्य अनि अहिंसा शारीरिक तपका माध्यम हुन् । प्रिय, हितकारी अनि सत्य सम्भाषण, वेदको स्वाध्याय एवं अभ्यास वाङ्मय अथवा वाणीजन्य तपस्या हो । मनको प्रसन्नता, मौन, आत्मसंयम र अन्तःकरणको शुद्धि मानसिक तपको प्रारुप हो । (।।भ.गी.१७(१४–१६)।।)।
फलको आकांक्षा नराखी गरिने यी तीनै प्रकारका तपस्याको अभ्यास सात्विक श्रद्धाका परिचायक हुन् । दम्भपूर्ण रुपमा गरिने अनि सत्कार, मान या पूजाको अपेक्षा राखी गरिने क्षणिक तपस्यालाई राजसी श्रद्धा मानिन्छ । मूढतापूर्वक आफैँलाई पीडा दिई अरुको हानिको उद्देश्यका साथ गरिने तपस्या भने तामसिक हो । (।।भ.गी.१७(१७–१९)।।)।
अब कुरा आउँछ दानको । देश, समय, परिस्थितिको आँकलन गरेर सुपात्रलाई दिइने दान सात्विक कोटीमा आउँछ । प्रत्युपकारको आकांक्षाका साथ फलको कामना गरी गरिने दान भने राजसिक हो । बिनासत्कार तिरस्कारपूर्ण तरिकाले कुपात्रलाई दिइने दानचाहिं तामसिक हो । (।।भ.गी.१७(२०–२२)।।)।
अध्याय १७ को सारांशमा श्रीकृष्ण भन्दछन् कि यज्ञ, तप र दानमा दृढ रही परमात्माका लागि श्रद्धापूर्वक गरिएको कर्म नै सत्कर्म हो । तर अश्रद्धापूर्वक रुपमा गरिने यज्ञ, दान, तप या कुनै पनि कर्म असत् कर्म हुन्, त्यस्ता कर्महरू न त यो लोकमा, न त परलोकमा नै लाभदायक हुन्छन् ।
यसरी व्यक्तिको गुणअनुसार नै श्रद्धाको पनि व्यावहारिक सरलताका साथ विभाजन गरेर सारा संसारलाई सत्कार्यमा प्रेरित हुन आह्वान गरेका छन् श्रीकृष्णले गीताशास्त्रमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।