श्रीमद्भगवद्गीताको दसौँ अध्यायमा “परमात्माको सर्वव्यापकता” को सैद्धान्तिक विवेचना अनि एघारौँ अध्यायमा विश्वरूपदर्शनद्वारा त्यस विषयको प्रयोगात्मक परिपुष्टि भएपछि अर्जुन आत्मज्ञान हासिल गरिछाड्ने दिशामा अझै बढी उत्सुक हुन पुगे । श्रीकृष्ण नै परमात्मा हुन् भन्ने कुरामा पनि अब उनी दृढ नै भए ।

तर उनको मनमा अर्को जिज्ञासा भने वास गर्न पुग्यो ।

“धेरै साधकहरू निर्गुण निराकार परमेश्वरको उपासना गर्दछन् । ईश्वरलाई तिनले इन्द्रिय, मन, एवं बुद्धिको विषयग्रहण क्षमताभन्दा पर नै रहेको मान्दछन् तर मैले त विश्वरूपको रूपमा सगुण साकार श्रीकृष्णलाई नै प्रत्यक्ष नै देखेको हुँ । अनि मनदेखि नै भावविभोर भएर तिनको प्रार्थना पनि गरेको हुँ । श्रीकृष्णरूपी विश्वरूपले मेरा सबै संशय दूर गरेर मलाई अभयदान नै दिएका हुन् ।”

“त्यसो भए अब मैले लिनुपर्ने मार्ग कुन त ? मैले सगुण श्रीकृष्णको भक्ति गर्ने कि निर्गुण–निराकार ईश्वरको उपासना गर्ने ? “व्यक्त ईश्वर या अव्यक्त परमात्मा” कसको भक्ति गर्ने ? कुन मार्ग ठीक ?”

त्यसैले उनी श्रीकृष्णसँग आफ्ना शंका निवारणार्थ प्रश्न गर्दछन् –

“एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।

ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः” ।।भ.गी.१२(१)।।

अर्जुनको यो प्रश्नको सिधा उत्तर भने नदिएर श्रीकृष्ण दुवैथरि मार्गमा लाग्न चाहने भक्त या साधकहरूमा आवश्यक गुणहरूको चर्चा गर्न थाल्दछन् ।

‘म’ अर्थात् ‘सगुण ईश्वर’को उपासना गर्न चाहने भक्तमा परमश्रद्धा, नियमितता, आत्मसंयम अनि मनको एकाग्रता अपरिहार्य भएको यथार्थमा जोड दिँदै श्रीकृष्ण भन्दछन् –

“मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।

श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः” ।।भ.गी.१२(२)।।

त्यस्तै, अव्यक्त परमात्माको भक्ति गर्न चाहने व्यक्तिमा इन्द्रियसंयम, समत्वभाव अनि प्राणीमात्रमा सेवाभावना अत्यावश्यक रहने गर्दछ तर तिनीहरूले पनि अन्ततः मेरै (अर्थात् ईश्वरकै) गति प्राप्त गर्ने हो भन्दै श्रीकृष्ण अगाडि भन्दछन् –

“सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।

ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः” ।।भ.गी.१२(४)।।

यी सबका बाबजुद शरीरधारी व्यक्तिहरूमा भनौँ या विषयोपभोगमा दत्तचित्त व्यक्तिहरूमा अव्यक्त ईश्वरको साधना गर्न सगुणोपासना गर्ने भक्तहरूलाई भन्दा गाह्रो हुन्छ । अतः व्यक्त स्वरूपमा रहेका सगुण–साकार ईश्वरको उपासना सरल एवं लाभदायक रहने तथ्य श्रीकृष्ण उजागर गर्दछन् –

“क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।

अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते” ।।भ.गी.१२(५)।।

सगुण परमात्माको ध्यान गरेर क्रमशः शरीर, मन, एवं बुद्धिको शुद्धता प्राप्ति गरेर शरीरप्रतिको आशक्ति अनि विषयोपभोगको तृष्णा समाप्त भएपछि अन्ततः निराकार, अविनाशी अनि अव्यक्त तत्त्वको उपासना गर्न समर्थ भइन्छ भन्ने नै श्रीकृष्णको यो उद्गारको आशय हो भन्ने बुझ्न सकिन्छ ।

त्यसैले नै श्रीकृष्ण भन्दछन् कि ईश्वरार्पण भावका साथ सगुण उपासना गर्ने व्यक्तिले पनि परमेश्वररूपी श्रीकृष्णमा ध्यान गर्ने गरेमा त्यो व्यक्तिलाई मृत्युरूपी संसारसागरबाट उद्धार गरिदिने काम पनि उनैले गर्दछन्  ।।भ.गी.१२(६–७)।।।

त्यसपछि श्रीकृष्ण अर्जुनलाई ईश्वरभक्ति गरी संसारसागरबाट पार पाउनका लागि शिलशिलाबद्ध उपायहरूको व्याख्या गर्न थाल्दछन् ।  ।।भ.गी.१२(८–११)।। । ती हुन्ः

१. सर्वप्रथम त सकिन्छ भने मन र बुद्धिलाई ईश्वरमा समर्पण अथवा स्थिर गर (ध्यानयोग) ।

२. त्यो नसकेमा अभ्यासद्वारा ईश्वरप्राप्तिको प्रयास गर (अभ्यासयोग) ।

३. अभ्यास गर्न असमर्थ व्यक्तिका लागि कर्ममार्ग श्रेयश्कर छ, उसले ईश्वरका लागि भनेरै कर्म गर्दा हुन्छ (कर्मयोग) ।

४. त्यो पनि गर्न नसकिएमा ज्ञानमार्गमा लाग्ने उद्देश्यका साथ कर्मफललाई त्याग गरेमा पनि ईश्वरप्राप्ति गर्न सकिन्छ (ज्ञानयोग)।

आत्मविकासका अनेकौँ मार्गहरूको व्याख्याको उपसंहार गर्दै श्रीकृष्ण भन्दछन् कि अभ्यासभन्दा ज्ञानमार्ग श्रेष्ठ हो, ज्ञानभन्दा ध्यान, अनि ध्यानभन्दा कर्मफलत्याग नै उत्कृष्ट मार्ग हो । किनभने त्यागद्वारा तुरुन्त शान्ति पाइन्छ ।

“श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।

ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्” ।।भ.गी.१२(१२)।।

त्यसपछिका आठ श्लोकहरूमा श्रीकृष्ण आदर्श भक्तहरूका लक्षणहरू बताउन थाल्दछन् ृ।।भ.गी.१२(१३–२०)।।े । ती लक्षणहरू यसप्रकार छन्-

१. प्राणीमात्रमा द्वेषरहित, मित्रवत् या करुणामय व्यक्ति ।

२. ममत्व अनि अहङ्कारदेखि पर रहेको व्यक्ति ।

३. सुख या दुःखलाई समान ठान्ने व्यक्ति ।

४. सन्तुष्ट अनि आत्मसंयमी व्यक्ति ।

५. तत्त्वज्ञान प्राप्ति गर्ने दिशामा दृढनिश्चयी व्यक्ति ।

६. मन अनि बुद्धि दुवै ईश्वरमा नै अर्पण गरेको व्यक्ति ।

७. “चाहेको वस्तु पाउँदा हर्षित हुनु, त्यसलाई पाउन नसक्दा अमर्ष या ईर्ष्याग्रस्त हुनु, त्यस वस्तुको प्राप्ति भएपछि त्यो हराउला या नाश होला भनी भयग्रस्त रहनु, अनि केही गरी त्यो चीज हराएमा उद्वेगग्रस्त हुनु”, यी सब सामान्य सांसारिक व्यक्तिहरूका गुण हुन् । यी सब सांसारिक विकारहरूबाट मुक्त व्यक्ति नै सच्चा भक्त हो ।

८. अपेक्षारहित, शुद्ध, दक्ष, सांसारिक वस्तुहरूप्रति उदासीन, व्यथारहित, अनि सबै कर्महरू ईश्वरकै निमित्तका रूमाप गरिएको ज्ञान रहेको व्यक्ति ।

९. शुभ या अशुभ (पाप या पुण्य)को आकाङ्क्षा, भाव या फलदेखि मुक्त, हर्ष या द्वेषभावदेखि रहित, शोक या आकाङ्क्षादिमा निर्लिप्त व्यक्ति ।

१०. शत्रुभाव या मित्रभाव, मान या अपमान, जाडो या गर्मी, सुख या दुःख, निन्दा या स्तुति, कुनै पनि द्वन्द्व भावहरूको असरहरूदेखि रहित व्यक्ति ।

११. थोरैमा पनि या अनपेक्षित रूपमा प्राप्त हुने वस्तुहरूमा नै सन्तुष्ट रहने व्यक्ति ।

१२. केही वस्तु पनि सङ्ग्रह गरेर राख्ने स्वभाव नभएको व्यक्ति ।

१३. मननशील, श्रद्धावान्, अनि ईश्वरलाई नै परमलक्ष्य सम्झने व्यक्ति ।

यहाँ श्रीकृष्णद्वारा अभिव्यक्त भक्तका करीब छत्तीस लक्षणहरूलाई लिपिबद्ध गरिएको छ ।

यी लक्षणहरूलाई राम्ररी मनन गर्ने हो भने यो नै आत्मिक उन्नतिको द्वार बन्न सक्तछ । यसैमा शान्ति छ । यसैबाट मानसिक पीडाहरूबाट उन्मुक्तिको प्रेरणा मिल्न सक्तछ ।

मेरा विचारमा भक्तियोग मानिएको बाह्रौँ अध्यायका बीस श्लोकहरूको सारतत्त्व नै यही हो ।