उनीहरू चाहन्छन्,
चराहरू झैँ आकाशमा स्वच्छन्द उड्ने
लक्ष्य बोक्छन् ,
चन्द्रलोकमा मानव–पाइला चालेरै छोड्ने
कल्पना गर्छन् ,
जलमन्थन गरेर धर्तीलाई झिलिमिली पार्ने
सपना देख्छन् ,
वायुसोधन गरेर पृथ्वीमा धुमिफिरी गर्ने ।
युवाहरु,
स्वप्नद्रष्टा विज्ञानको ।।१।।
तिनीहरू……
त्यागिदिन्छन् राजपाट,
खोजी गर्न शान्तिको
होमिदिन्छन् जीवन,
प्रचार गर्न सत्यको
भुलिदिन्छन् संसारलाई,
ध्येय लिन्छन् मुक्तिको
बिर्सिदिन्छन् आफैँलाई ,
कल्याण खोज्छन् सम्पूर्णको ।
युवाहरू
मन्त्रद्रष्टा ज्ञानको ।।२।।
यिनीहरू …..
उठाउँछन् खुँडा–खुकुरी ,
रक्षा गर्न धर्तीको
चढाउँछन् आफ्नै बलि,
इज्जत राख्न मातृको
रक्तसिञ्चन गर्छन् माटो–माटोमा,
उब्जाउन स्वतन्त्रता
अभिमन्त्रण गर्छन् आफू–आफूमा,
ब्युँझाउन एकता ।
युवाहरू !
स्रष्टा सिङ्गो इतिहासको ।।३।।
त्यसैले, हामीहरू …
प्रकाश खोजौँ विज्ञानको
ज्योति बालौँ ज्ञानको
पुस्तक खोलौँ इतिहासको
योजना गरौँ भविष्यको ।।४।।
युवाहरू….
कामना गरौँ,
हाम्रो उद्यानमा
सुन्दर गुराँस मुस्काउनेछ ।
चाहना राखौँ,
हाम्रो आँगनमा
उज्यालो घाम रमाउनेछ ।
चिन्तन गरौँ,
हाम्रो मस्तिष्कमा
नयाँ अविष्कार मौलाउनेछ ।
आकांक्षा राखौँ,
“ऊ” अवश्य आउनेछ
“ एक जुगमा एक दिन” त आएरै छाड्नेछ ।
डा. अजय रिसाल
मनसिक रोग विशेषज्ञ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।