
१.
“डाक्टर साब ! मलाई धेरै दिन नै भइसक्यो निद्रा लाग्दै लागेको छैन । यसो सुत्ने कोसिस गर्छु, कहिले ख्वाङ्ग ख्वाङ्ग खोकी लाग्छ अनि ब्युँझन्छु । कहिले भने अनेक थरी कुरा मनमा खेल्न थाल्छन्, अनि त पटक्कै निद्रा नै लाग्दैन । यो निद्रा भन्ने कुरो पनि गज्जब कै नै हुने रहेछ । निद्रा नलागेको भोलिपल्ट त दिनभर नै थकाइ लाग्ने, दिक्क लाग्ने, अनि त ‘काम गर्ने, बोल्ने, केही पनि गर्ने’जाँगर नै पनि नहुने, कस्तो कस्तो अप्ठ्यारो बनाइराख्ने । मलाई निद्रा लाग्ने राम्रो औषधि गरिदिनुस् न डाक्टरसाब ।”
अस्पतालको मेडिकल वार्डमा भर्ना भएकी दमको रोगले पीडित एक ७५ वर्षे वृद्धा छट्पटाउँछिन् ।
२.
“डाक्टर साब ! मेरो यो रोग अब कहिल्यै पनि कसै गरे पनि निको हुने हैन क्यारे ! बेक्कारमा समय अनि पैसाको कति नाश गरिरहनु ? यी मेरा छोराछोरीहरुले पनि बेफ्वाँकमा दुःख मात्र पाउने भए । भएको–नभएको सब सम्पत्ति पनि सकिने भयो । म त यसै मर्ने उसै मर्ने, मलाई मर्न दिनुहोस् डाक्टरसाब । बरु कुनै सजिलो औषधि छ भने दिनुहोस् न, शान्तिपूर्वक अनि कम पीडामा नै मर्न चाहन्छु म ।”
क्यान्सरको केमोथेरापीका लागि भर्ती भएका ५० वर्षे प्रौढ पीडामा छट्पटिएर मृत्युको कामना गरिरहेका छन् ।
३.
“डाक्टर साब ! अलि अघि केही वर्ष पहिलेसम्म राम्ररी कमाउन सकिइएको थिएन । आफूलाई मन लागेको चीज किनेर खाने हैसियत पनि थिएन आफ्नो । तर अहिले राम्रो कमाएको छु । आफूलाई चाहिएको जे पनि खान सक्छु । तर के गर्नू ? यो पापी सुगर रोग यही बेलामा आइलाग्यो । खानेकुरा पनि नापी जोखी समय मिलाएर मात्र खानुपर्ने । अनि बेला—बेलामा आफैले आफैलाई “इन्सुलिन” घोच्नुपर्ने । हरे ! यो दुःखी जिन्दगी देखेर अचेल त दिक्क नै लाग्छ ।”

प्रा.डा. अजय रिसाल
खानामा पथपहरेज कायम राखिरहनुपर्दा अनि इन्सुलिन इन्जेक्सन लगाइरहनुपर्दा मधुमेहजस्ता दीर्घ रोगका बिरामीहरु यदाकदा चिन्तित अनि आतंकित अवस्थामा रहन्छन् ।
माथि उल्लेखित दम, क्यान्सर, मधुमेहजस्ता रोगहरु चिकित्सा—विज्ञानको क्षेत्रमा दीर्घरोगका रुपमा कहलाइएका छन्, बाँचुन्जेल औषधोपचारमा लागिरहनुपर्ने । तिनका रोगहरुमा कुन बेलामा के समस्या आइपर्ने हो यकिन गर्न सकिन्नँ र झनै बढी क्लीष्टताले गर्दा ज्यानसमेत खतरामा पुग्नसक्ने हुन्छ । अर्थात्, यस्ता बिरामीहरु जुनसुकै क्षण पनि मृत्युको नजिक पुग्नसक्दछन् । यस्ता दीर्घरोगीहरुको मनका कथाका विभिन्न पाटाहरु छन्, अध्ययन गर्नुपर्ने ।
माथिका उदाहरणहरुमा उल्लेख गरेझैं दमका रोगीहरुमा हुने जस्तो निद्राको समस्या अनि त्यो सँगसँगै आइलाग्ने अन्य मनोवैज्ञानिक अनि शारीरिक समस्याहरु, क्यान्सर रोगीहरुमा आउने जस्तो “मृत्युको इच्छा” भनौं या आत्महत्याको विचार, अनि डाइबेटिज जस्ता रोगीहरुको मनमा आउने निराशाका बादल, यी सबै तिनको मनका कथाव्यथाहरुका महत्त्वपूर्ण आयामहरु हुन् ।
दीर्घरोगीहरुका मनका यस्ता समस्याहरु आउनुका थुप्रै कारणहरु हुनसक्दछन्ः
१. शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउनाले,
२. कीटाणुहरुको संक्रमणले गर्दा, या त
३. विभिन्न प्रकारका औषधिहरुको असरका कारण
तर अर्को एउटा महत्त्वपूर्ण पक्षमा भने हामी सधैं नै आँखा चिम्लिरहेका हुन्छौँ । उपरोक्त तिनै किसिमका समस्याहरु ती रोगीहरुको मनोवैज्ञानिक अवस्थाले पनि निर्धारण गर्ने गर्दछन् । अतः यस्ता दीर्घरोगीहरुको उपचार प्रक्रियामा शारीरिक लक्षणहरुतर्फ मात्र दृष्टि नदिइकन तिनका मनोवैज्ञानिक अनि सामाजिक कोणहरुको पनि समष्टिगत रुपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
जुनसुकै बिरामीको मनमा “मरिने पो हो कि?” भन्ने डर सँगसँगै “बाँच्ने चाहना” पनि दबिएर रहेको हुन्छ । “मृत्युको डर या चाहना” अनि “बाँच्ने जीजिविषा या चिन्ता” बीच तिनको मनमा निरन्तर नै अन्तर्द्वन्द्व चलिरहेको हुन्छ । अझ लामो समयसम्म उपचार—यात्रामा लागिरहनुपर्ने ती बिरामीहरुमा उपचारका विविध चरणहरुमा अनि उपचार प्रक्रियाका क्रममा अस्पताल भर्ती, ईमर्जेन्सीमा दौडधूप, अनि डायलाइसिस, नेबुलाइजेसन, अपरेसन आदि जस्ता प्रविधिहरुको प्रयोग गराइरहनुपर्ने अवस्थामा रहने दीर्घरोगीहरुमा त त्यस्तो मानसिक द्वन्द्व नहुने कुरै भएन ।
अस्पतालमा भर्ती गराउन लगिएका ती बिरामीहरु मानसिक रुपले सचेत अवस्थामा नै रहिरहेका छन् भने घरबाट हिँडाउँदा “यो हिँडाइ नै पो अन्तिम हुने पो हो कि?” भन्ने चिन्तामा रहिरहेका हुन्छन् । तिनीहरु अस्पताल या घरमै रोग—शैयामा सुतिरहेका छन् भने पनि भेट्न आउने व्यक्तिहरु, आफन्तजन बिचको कुराकानी चनाखो भई सुन्ने गर्दछन् र त्यसक्रममा हुने क्रिया—प्रतिक्रियाले तिनमा मनोवैज्ञानिक असर पारिरहेको नै हुन्छ । लामो समयसम्म कुनै कामकाजै गर्न नसक्ने अवस्थामा रही ओछ्यानमा नै परिरहेका प्यारालाइसिस, दम, मृगौला रोग आदि जस्ता रोग लागेका बिरामीहरुमा “आफू परिवारको बोझ भएको, उपचारक्रममा पैसा सकिएको, आफूले गर्दै आएका काम पनि गर्न नसकी परनिर्भर हुनुपरेको” मा हीनता, ग्लानि, पश्चात्तापका भाव अत्याधिक मात्रामा रहन गई ‘डिप्रेसन’को शिकार बन्ने सम्भावना बढी हुनसक्छ । कसै—कसैमा त ‘मर्ने इच्छा’ या ‘आत्महत्या’को भावना समेत अत्याधिक नै प्रबल हुन सक्दछ । ‘रियाक्टिभ डिप्रेसन’ या ‘एड्जस्टमेण्ट डिस्अर्डर’भनेर यसलाई वर्गीकृत गरिएको छ । अतः यस्ता रोगीहरु परिवारका सदस्यले देखाउने प्रेम, दया, सद्भाव या घृणा, रिस, दुर्भाव आदिमा धेरै नै संवेदनशील रहने गर्दछन् ।
बिरामीका अगाडि नकारात्मक कुराहरु मात्र गर्ने, बिरामीहरुलाई आफ्नै बारेमा नै सुनाइरहने, कुरुवाहरु तास खेलेर र होहल्ला गरेर बस्ने आदि हाम्रो समाजमा विद्यमान कृयाकलापहरुलाई पनि नजरअन्दाज गरेर कदापि छोड्न मिल्दैन । विचार गरौँ त, ओछ्यान परेका, मनका भावना खुलस्त व्यक्त गर्न नसक्ने तर सचेत रुपमा अरुका कुराहरु राम्ररी नै सुन्नसक्ने कुनै पनि बिरामीको मनोविज्ञानलाई यसले कस्तो प्रभाव पार्दो होला?
“मानव” भनेको शरीरको कोष, तन्तु, अङ्ग, प्रणालीमात्र नभई तिनमा अन्तर्निहित भावना, चेतना अनि संवेदनाको पनि समष्टिगत रुप हो । अतः दीर्घरोग लागेका व्यक्तिहरुको मनोविज्ञानलाई पूरै बेवास्ता गरी खाली शारीरिक लक्षणहरुको मात्र उपचार गर्दैमा चिकित्सक या परिवारजन कसैले पनि कर्तव्य पूरा गरेको मान्न सकिन्नँ ।
त्यस्ता रोगीहरुमा विभिन्न कारणले गर्दा रासायनिक तत्त्वहरुमा असन्तुलन हुन गई त्यसले मस्तिष्कमा समेत प्रभाव पार्नाले बेला—बेलामा बेसुरका कुरा गर्ने, निद्रा नलाग्ने आदि लक्षण देखा पर्दछन् । विशेष गरी अपरेसन गरिएका, धेरैथरिका औषधि सेवन गर्ने या खानपानमा समस्या भएका बिरामीहरुमा यी व्यवहारहरु देखिने गर्दछ । सुहाउँदो औषधि सेवन गरेर या वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस्ता लक्षणहरुमा सजिलै सुधार ल्याउन सकिन्छ ।
त्यस्तै, क्यान्सरका रोगीहरुमा दुखाइको असर ज्यादा नै देखा पर्दछ । शरीर दर्दका कारण ती रोगीहरु रुने, कराउने, बेहोसीमा बर्बराउने गर्दछन् जुन अस्वाभाविक लक्षण भने होइनन् । अतः त्यस्ता रोगीहरुको अवस्था विचार गरेर दुखाइ कम गर्ने दबाइहरुको यथोचित प्रयोग गर्नुपर्दछ । तिनको दुखाइलाई नजरअन्दाज गरेर कुनै पनि स्वास्थ्योपचार सफल हुन सक्दैन । तिनलाई “दुखाइशून्य जीवन” प्रदान गर्नु नै हामी चिकित्सकहरुको परम धर्म हो ।
त्यस्तै ‘डिमेन्सिया’ जस्ता रोगहरुका कारण स्मृतिशक्तिमा ह्रास आएका बिरामीहरुलाई “मलाई चिन्नुभो ?” जस्ता प्रश्नहरु दोहोर्याइरहनाले बेला—बेलामा तिनमा आउने सचेतपनाका बेलामा पनि ग्लानिका भाव बढी देखापर्दछ र ‘डिप्रेसन’रुपी नयाँ समस्या थपिनसक्छ । अतः यसमा परिवारजन गम्भीर बन्नै पर्दछ ।
दीर्घरोगीहरूमा रोगको जटिलता थपिँदै जाँदा तिनको ‘बाँच्ने आशा’ झनै घट्दै जान्छ । चिकित्सकहरूले परिवारजनलाई नियमित सम्पर्कमा राखी बिरामीको अवस्थाका बारेमा जानकारी लिने–दिने गरिरहनुपर्दछ । एक्कासी ‘अन्तिम अवस्था’ को जानकारी पाउँदा तयारी अवस्थामा नरहेका बिरामीपक्षले अस्वाभाविक प्रतिक्रिया देखाई भड्किने, रिसाउने गर्नसक्दछन् जो “बिरामी—चिकित्सक सम्बन्ध” क्षयीकरण गराउने अर्को कारकतत्व बन्नसक्दछ । त्यस्तै, बिरामीको आध्यात्मिक पक्ष एवं अन्तिम चाहनाको सम्मानका लागि पनि बिरामीपक्षलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । सचेत अवस्थामा रहेका दीर्घरोगीलाई भने उपचार गर्ने डाक्टरले नै स्पष्ट एवं खुलस्तरुपमा तिनको रोगका बारेमा शनैः शनैः बताइदिनु राम्रो हुन्छ ।
यी सब दीर्घरोगीहरुका मानसिक पक्षका भनौं या मनका कथाका केही आयामहरु हुन् जसलाई चिकित्सकवर्गले मात्र नभई बिरामी पक्षले पनि जान्नु अत्यावश्यक नै हुन्छ । यसमा बिरामीहरुका नजिकका आफन्त, मित्रवर्ग अदिको सँगसँगै उपचारप्रक्रियामा रहने चिकित्सक, नर्स, सफाइकर्मी सबैको उल्लेख्य भूमिका रहनु पर्दछ ।
यी सब कथाव्यथाका तथ्यतर्फ अझै बढी चिन्तन गर्न आजै संकल्प गर्ने हो कि ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

