साँच्चै नै पृथ्वी !
तिम्रो त्यो औँलो नठडिएको भए,
तिमीले “हाँडीमा भुटेको मकै” को मर्म नबुझिदिएको भए,
“सङ्घेशक्ति कलौयुगे” को विगुल नफुकिदिएको भए,
गोर्खाली फौजमा वीरताको सञ्चार नगरिदिएको भए,
हामीले मेचीकालीको सिमाना पाउने थियौँ होला र ?
हाम्री जन्मभूमिले सगरमाथाको मुकुट अनि तराईको हरियो सारी पाउने थिइन् होला र ?
साँच्चै नै पृथ्वी !
तिम्रो त्यो पचास बर्से छोटो जीवन पनि
त्यस समयका अन्य राजाहरूको झैँ
भोगविलास र ऐसआराममै बितेको भए
आज हाम्री “नेपाल आमा” रहने थिइन् होला र ?
साँच्चै नै पृथ्वी !
तिमी नभइदिएको भए,
हामी कहाँ हुन्थ्यौँ होला आज ?
कल्पना गर्न गाह्रो छ !!
कतै हामी बाइसे-चौबिसेमध्येकै एक सानो रजौटामा पो रहने थियौँ कि ?
कतै हामी दक्षिणी मुलुकको कुनै एक राज्यमा पो रहने थियौँ कि ?
कठै हामी कुनै राजकुमारहरूको अंशबन्डामा पो पर्ने थियौँ कि ?
कठै हामी विनामुलुकको, बेसहारा, गुमनाम अनि अल्पसङ्ख्यक विचारमा पो दरिने थियौँ कि ?
साँच्चै नै पृथ्वी !
तिम्रो सानो दुःखले जन्मेको होइन यो देश
तिम्रो सानो त्यागले बनेन यो परिवेश
सबै किसिमका फूलहरू उनेर माला बनाउन चाहेका थियौ तिमीले
आफ्ना सन्ततिलाई सदियौँसम्मलाई भनेर अर्ती-उपदेश दिएका थियौ तिमीले
तर त्यो दुःख ! त्यो सङ्घर्ष !!
त्यो चाहना ! त्यो सद्विचार !!
बुझ्न सकेनौँ हामीले
सम्झन सकेनौँ हामीले
साँच्चै नै पृथ्वी !
कृतघ्न बन्दै छौँ हामी
स्वार्थी हुँदै छौँ हामी
हिँड्दाहिँड्दै नै आफ्नै पाइला मेटिदिने
आफ्नो जरा, आफ्नो अस्तित्व चटक्कै भुलिदिने
अनि आफू नै बसेको हाँगो काटिदिने
कालिदासझैँ भएका छौँ हामी ।
आफ्नो पहिचान, आफ्नो संस्कृति बिर्सेर
अरूकै इसारामा नाँच्दै छौँ हामी ।
पुर्खाको त्याग र तपस्या भुलेर
निरर्थक जीवन बाँच्दै छौँ हामी ।।
साँच्चै नै पृथ्वी !
आफ्ना जन्मदाता, आफ्ना जनकको सम्मान गर्न नजान्ने
कुलङ्गार सन्तान हौँ हामी
अरूकै लहै-लहैमा आफ्नै पुर्खाको अपमान गर्ने
कुलघाती जाति हौँ हामी
जुन थालीमा खायो त्यसैमा बिस्ट्याउने,
धिक्कार छ हामीलाई ! धिक्कार छ हामीलाई !!
त्यसैले,
हाम्रो कतै उन्नति हुँदैन
हाम्रो कहिल्यै प्रगति हुँदैन ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।