धुलिखेल अस्पतालमा कार्यरत् मनोचिकित्सक प्राडा. अजय रिसालको पहिलो कृति “गीतामा मनका कुरा” काठमाडौँमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको कार्यक्रममा उपस्थित अतिथिहरुले कृतिको लोकार्पण गरेका हुन् ।
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सभापतित्व गरेको कार्यक्रममा विशेष अतिथिमा रुपमा सनातन धर्म महासंघका अध्यक्ष, जरोकिलो महाअभियानका सङ्कल्पकर्ता तथा काठमाडौँ विश्वविद्यालय स्कूल अफ आट्र्सका सह-प्राध्यापक डा. निर्मलमणि अधिकारी, हिन्दु विद्यापीठ नेपालका संस्थापक प्रधानाचार्य तथा चिन्तक चिन्तामणि नाथ योगी र मातृभूमि सेवक संघका अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव भरतमणि रिसालको उपस्थिति रहेको थियो । चिन्तामणि नाथ योगी सर्जक रिसालका गुरु हुन् भने भरतमणि रिसाल सम्बन्धका काका पर्छन् ।
त्यस्तै, कार्यक्रममा अतिथिका रुपमा धुलिखेल अस्पताल, मनोचिकित्सा विभागका विभागीय प्रमुख डा. दीपक कुँवर र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका सहायक डिन मानोचिकित्सक प्राडा. सरोज ओझाको उपस्थिति रहेको थियो ।
अतिथिहरुले पुस्तक तथा सर्जकमाथि आफ्ना महत्त्वपूणर् विचारहरु राख्नुभएको थियो ।
सर्जक रिसालकी श्रीमती नजिना खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सर्जककी ८ वर्षिया छोरी अनन्या रिसालले गीताबाट एक अध्याय वाचन गरेर सुनाएकी थिइन् ।
करिब १५० जनाको भव्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए ।
मनोचिकित्सक प्राडा. अजय रिसालको उद्बोधनात्मक निबन्ध कृति हो, “गीतामा मनका कुराः एक मनोचिकित्सकको उद्बोधन” । सङ्ग्रहमा गीतामा आधारित रहेर मनोचिकित्साको चर्चा गरिएको विभिन्न तीस शीर्षकका निबन्धहरु सङ्ग्रहित छन् ।
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । २ सय ८ पृष्ठमा फैलिएको यस निबन्धसङ्ग्रहको मूल्य २ सय ९९ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।