अहिले सारा विश्वको ध्यान फुटबलको महाकुम्भ मेला विश्वकप फुटबलले खिचेको छ । विश्वकप मोहको कारण अहिले संसारभरका सिनेमा हलहरू ठप्पप्रायः भएका छन् । यतिखेर एक अर्काको टिम विरूद्ध लागेर लाखौं बाजी राख्नेहरू पनि प्रसस्तै छन् । अझ यसको रोचक पक्ष भनेको ‘पल’ नामक अक्टोपसले सन् २००८ देखि यता विश्वकप सम्बन्धि गरेको भविष्यवाणी हो । उसले २०१० को विश्वकप स्पेनले र २०१४ को जर्मनीले जित्छ भनेर भविष्यवाणी गरेको थियो । अन्तः उसको भविष्यवाणी सही सावित भएरै छोड्यो । हरेक विश्वकपमा धेरै खेल प्रेमिहरूले ‘पल’लाई सम्झने गरेका छन् । अहिलेको विश्कपमा पनि केही सुपर कम्प्युटर तथा एल्गोरिदमले ब्राजिल, अर्जेन्टिना, तथा अन्य केही देशको नाम लिएर भविष्यवाणी गरेका छन् । तर मेसिननले गरेको भविष्यवाणी पूरा हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । मान्छेले खेल्ने खेलमा कति बेला के कस्तो हुन्छ, त्यो त टिम र उनीहरूको लगनशीलतामा भर पर्छ ।

नेपालमा पनि विश्वकप फुटबलले माहोल ताताइरहेको छ । यतिखेर केही चर्चित लेखकहरू विश्वकप फुटबलको महाकुम्भ मेलामा झुम्मिरहेका छन् । फेसबुक वाल, टिकटक तथा इन्टाग्राममा आफूलाई मन परेको देश तथा खेलाडीको जर्सी लगाएर समर्थन गरिरहेका छन् ।

पढ्नुहोस्, कसले कुन देशको समर्थन गरिरहेका छन्ः

बुद्धिसागर

कैलालीमा जन्मेका बुद्धिसागर नेपालका लोकप्रिय कवि तथा उपन्यासकार हुन् । ‘कर्नाली ब्लुज’ मार्फत एकाएक चर्चामा आएका फिरफिरे उनको दोस्रो उपन्यास हो । अंग्रजी भाषामा समेत अनुवाद भएको कर्नाली ब्लुजले यतिखेर विश्वबजारमा धेरैको मन जितिरहेको छ । उनको तेस्रो उपन्यास ‘एक्लो’ चाँडै नै बजारमा आउने तयारीमा छ ।

“पहिला गाउँमा टिभी हुँदैनथ्यो । मैले काठमाण्डौँ आएपछि मात्रै फुटबल हेर्न थालेको हुँ । फुटबल हेर्न थालेदेखि नै मैले मेस्सीलाई मन पराउन थालेको हुँ ।” बुद्धिसागर भन्छन्, “किनकि मेस्सीमा न त कुनै झोक छ, न त कुनै रिसराग उनी खेलाडीहरुको चर्काचर्कीलाई यसो पुलुक्क हेर्छन् र ‘यी केटाहरु पनि त्यतिकै बम्किन्छन्’ भनेजसरी मुन्टो झुकाएर हिँड्छन् । उनले काँडैकाँडाको झ्याङ्बाट औंलामा घाउ नलगाई स्वाट्ट फूल टिपेजसरी बल टिप्छन् । उनी फुटबल हस्तीहरूमध्ये एक महान जादुगर हुन् । जब विपक्षीको पोष्टमा गोल गरेपछिको उनको मुस्कान देख्छु, तब मेरो मन शीत्तल भएर आउँछ ।”

अमर न्यौपाने

पानीको घाम मार्फत २०६६ सालको पद्मश्री र सेतो धरती मार्फत २०६८ सालको मदन पुरस्कार विजेता न्यौपाने नेपालको सार्वधिक रूचाइएका लेखक हुन् । करोडौं कस्तुरी र गुलाबी उमेर लेखकको पछिल्लो कृति हुन् ।

न्यौपाने भन्छन्, “म चाहिँ कुनै देशको पक्षमा छुइनँ । खेल होस् या अन्य कुरा, तिनको पक्षधर भएर हेरियो भने जीवन सार्थक हुँदैन । फुटबल ‘शब्द’ हो र खेलाडी ‘पात्र’ हुन् । मलाई जहिले पनि नयाँ देशले जितिदिए हुन्थ्यो जस्तो लाग्छ । हामीलाई उपन्यासको कमजोर पात्रप्रति करूणा जागेजस्तै फुटबलमा पनि मलाई कमजोर देशप्रति करूणा लाग्छ । शक्तिशाली मानिसको जीवनी लेखिन्छ, तर कमजोरहरूको जीवनी लेखिदैन । सुन्दर कथा लेखिन्छ । मलाई फुटबलको नियम भने अति नै मन पर्छ । त्यहाँ कहीँ कतैबाट जे गरे पनि खेलको नियम तोड्न पाइँदैन । देशको राजनीति पनि फुटबलझैं भैदिए कति राम्रो हुँदो हो ।”

“म पहिलेदेखि नै फुटबल हेर्थेँ । मैले जति पनि खेल हेरेँ, सबै निरपेक्ष भएर हेरेँ । मलाई मन पर्ने खेलाडी चाहिँ मेस्सी र क्रिश्चियानो रोनाल्डो हुन् । तर रोनाल्डो चाहिँ मलाई अति नै मन पर्छ ।”

भूपिन खड्का

लेखक कवि तथा चित्रकार भूपिन खड्काको पहिलो उपन्यास हो मैदारो । मैदारो भन्दा अघि हजार वर्षको निद्रा, चौबीस रिल र सुप्लाको हवाइजहाज कविता संग्रहरू प्रकाशन भैसकेका छन् ।

मेस्सीको तारिफ गर्दै  भूपिन भन्छन्, “मेरो नजरमा ‘मेस्सी’ खुट्टाले कविता लेख्ने महान कवि हुन् । फुटबल खेलेर मात्रै उनी महान भएका हैनन् । उनी महान हुनुको रहस्य भनेको उनको शालिनता र इमान्दारिता हो । उनी जतिको शालिन र इमान्दार खेलाडी सायदै यो दुनियाँमा छैनन् । उनी मात्र यस्ता खेलाडी हुन् जसमा खेलाडीमा हुनुपर्ने कुनै गुणको कमी छैन । मलाई मन पर्ने खेलाडी नै मेस्सी भएपछि मन पर्ने देश पनि अर्जेन्टिना नै हो । मेस्सीले विश्वकप जितुन् या नजितुन् तर पनि उनलाई जितको शुभकामना । विश्वकप नजिते पनि खुट्टाले कविता लेखेरै उनले अर्बौँ मानिसको मन जितेका छन् ।”

गनेश पौडेल

अनुवादक, लेखक तथा अटेरी अभियानका अभियान्ता पौडेलको पहिलो उपन्यास हो पैताला । उनको अनुवाद कृति, विश्वचर्चित उपन्यास ‘द माइस अफ म्यान’को नेपाली  अनुवाद ‘मुसा मानुष’ केही वर्ष पहिले बजारमा आएको थियो ।

पौडेल भन्छन्, “सन् १९९० बाट मैले फुटबल हेर्न थालेको हुँ । त्यो बेला अहिले जस्तो मन लागेकै समयमा फुटबल हेर्न पाइन्नथ्यो । त्यो बेलाको फुटबल हेर्ने समय भनेको चार-चार वर्षमा आउने विश्वकप नै थियो । चार वर्षको अन्तरालमा आएको विश्वकप हेर्नको लागि साथीहरूमाझ कुम्भ मेला लागेजस्तै हुन्थ्यो । सुरूवात कालदेखि मलाई मन परेको देश भनेको जर्मनी हो । मलाई जर्मनीको खेल असाध्यै मन पर्थ्यो । तर अहिले चाहिँ म अर्जेन्टिना मन पराउँछु । मेस्सीकै कारण मैले अर्जेन्टिना मन पराएको हुँ । मैले फुटबल हेर्न सुरू गर्दा पेले र म्याराडोनाको युग थियो । तर मलाई उनीहरू कहिल्यै पनि मेस्सीजस्तो लागेनन् । मेस्सी नै मलाई सर्वकालिन महान खेलाडी लाग्यो ।”

सुविन भट्टराई

कथाकी पात्र मार्फत नेपाली साहित्यमा उदाएका भट्टराई युवापुस्ताका लोकप्रिय लेखक हुन् । समर लभ मार्फत चर्चाको शिखर चुमेका भट्टराईको पछिल्लो उपन्यास इजोरियाले अहिले बजार पिटिरहेको छ ।

भट्टराई भन्छन्, “मैले फुटबल हेर्नुको कारण नै मेस्सी हुन् । मलाई मन पर्ने देश चाहिँ फ्रान्स हो । तर यो वर्ष चाहिँ मेरो आफ्नै व्यस्तताको कारण विश्वकप हेर्न पाएको छैन ।”

पुस्कर शाह 

साइकलमार्फत विश्व भ्रमण गरेका शाहको छुट्टै पहिचान छ । पृथ्वीको कुल जनसंख्यामध्ये संसारलाई साँढे पाँच फन्को लगाउने उनी मात्र यो धरतीका एक्ला व्यक्ति हुन् । उनले साइकलबाटै संसारलाई पढे । सातै महासागरमा पौडिए । सातै महादेशमा पाइला टेके । संसारलाई साँढे पाँच फन्को उनको बेस्ट सेलर कृति हो ।

शाह भन्छन्, “मलाई रोबर्ट लेवान्डोस्कि मन पर्छ । विश्व साइकल यात्रा गर्ने क्रममा फुटबलप्रति मेरो मोह बढ्दै गएको हो । मलाई मन पर्ने देश चाहिँ क्रोयसिया हो ।”

महेश पौड्याल

समालोचक, कवि तथा आख्यानकार पौड्याल गीतकार पनि हुन् । उनका शून्य प्रहरको साक्षी (कविता संग्रह), अपरिचित अनुहार (कथा संग्रह) र अन्य कृतिहरू पनि प्रकाशन भएका छन् ।

पौड्याल भन्छन्, “मैले यो वर्षको विश्वकप हेरेको छैन । समाचार मात्रै हेरेको छु । अब केही समयपछि खेल हेर्छु । म ब्राजिलको समर्थक हुँ । अहिले मलाई ब्राजिलको कासेमिरोप्रति प्रेम बढ्न थालेको छ । पहिला चाहिँ म मेस्सीको क्रेजी फ्यान थिएँ । उनको खेल निकै नै हेरियो । क्रिश्चियानो रोनाल्डोको पनि मैले धेरै खेल हेरेको छु ।”

महेश कार्की ‘क्षितिज’ 

‘एक्लो महारथी’ कविता संग्रह प्रकाशनमा ल्याएका कवि क्षितिज समालोचक पनि हुन् । ‘एक्लो महारथी’को दोस्रो संस्करण चाँडै नै बजारमा आउने तयारीमा छ ।

क्षितिज भन्छन्, “मलाई खेलमा मनपर्ने फुटबल । विश्वकप आएपछि साँच्चै खुसी आउँछ । फुटबलमा  जित हार त पक्कै हुन्छ नै । गोल लगाउन सजिलो छैन । यो कुराले लेखनका लागि ठूलो पाठ सिकाउँछ । हार्नुको पीडा कस्तो हुन्छ त्यो पाठ पनि लेखनसँग विश्वदृष्टि कायम हुन्छ । सानैदेखि रोनाल्डो, रोनाल्डिनो अनि काकाको पक्षमा ताली बजाएको मान्छे आफू त । ब्राजिल देश दिमागबाट हट्दैन । तर अर्जेन्टिनाका मेस्सी मन पर्ने खेलाडी हुन् ।”

रमेश सायन

‘छुटेका अनुहार’ मार्फत २०७५ सालको पद्मश्री पुरस्कार विजेता कवि तथा आख्यानकार सायन युवापुस्ताका लोकप्रिय लेखक हुन् । उनको पहिलो उपन्यास अन्तर प्रकाशनको तयारीमा रहेको छ ।

सायन भन्छन्, “मलाई विश्वकप फुटबलप्रति कुनै रूचि छैन । म कुनै पनि खेल हेर्दिनँ ।”

अमनप्रताप अधिकारी

‘को बन्छ करोडपति ?’ र अहिले चलिरहेको रियालिटी सो, ‘द पोयट आइडल’का कार्यकारी निर्देशक हुन् अमनप्रताप अधिकारी । अधिकारी भन्छन्, “म त फुटबलकै मान्छे हुँ । मैले सन् १९८६ देखि नै फुटबल हेर्न थालेको हुँ । डेनमार्क मलाई पहिला देखि नै मन परेको देश हो । तर ऊ विश्वकपबाट बाहिरिसक्यो । मलाई मन पर्ने खेलाडी पनि डेनमार्ककै क्रिश्चियन एरिक्सन हुन् ।”

राज सरगम

‘छाउघर’मार्फत ‘गोठाले किसोर साहित्य पाण्डुलिपी’ पुरस्कार विजेता सरगम गीतकार पनि हुन् । सरगम भन्छन, “मैले सन् २०१२ बाट फुटबल हेर्न थालेको हुँ । मलाई पहिला देखि नै अर्जेन्टिना मन परेको हो । मलाई मन पर्ने खेलाडी मेस्सी हुन् ।”

===

अब पढ्नुहोस ‘कवि निरज दाहाल’ले मेस्सीलाई समर्थन गरेर लेखेको कविता:

कविता – तिमी को हौ ?

निरज दाहाल

तिमी को हौ ?
जो यति धेरै म तिमीलाई प्रेम गरिरहेछु ।

कस्सम !
यति धेरै तिम्रो तस्बिर त
मैले आफ्नै प्रेमिकाको पनि हेरेको छैन ।

यति धेरै तिम्रो खेल त
मैले आफ्नै अनुहार पनि ऐनामा पनि हेरेको छैन ।

तिमी को हौ ?

जब जब तिमी खेल हार्छौ
तब तब म तिमीले जितेका तिम्रा पुराना खेल हेर्छु
किनकी, मलाई तिमीप्रति कुनै वितृष्णा ल्याउनु छैन ।

तिमी को हौ ?

मैदानमा खेलाडी हौ तिमी
तर, मेरो लागि
सडकमा तिमी ‘कुशल चालक हौ’
जो, व्यस्त सडकमा पनि सबैभन्दा अगाडि पुग्छ ।

मेरो लागि
तिमी ‘नदी हौ’
जो, सागर भेट्ने सङ्कल्प राख्छ ।

मेरो लागि
तिमी ‘आकाश हौ’
जो बादललाई आफ्नो खबर
पानीको गोजीमा राखेर धर्तीमा पठाइरहन्छ ।

मेरो लागि
तिमी ‘परीक्षा हौ’
जो, हरबखत तिम्रो लागि डराइरहन्छु ।

तिम्रो लागि म फगत दर्शक हुँ
तर, मेरो लागि तिमी
मीठो पुरस्कार हौ  ।

चिकित्सकले हिँड्न सक्दैन भनिरहेको बेला
तिमीले दौडने साहस राख्यौ
यसकारण तिमी मलाई औधी मनपर्छ ।

के तिमीलाई थाहा छ ?
तिमी ! मैदानमा छिर्दै गर्दा
तिम्रो झुकेको शिर
मेरो लागि आत्मविश्वास हो ।

तिमीले ‘पास’ नपाएर
छोडिएको गोल
मेरो लागि सम्भावना हो ।

तिमीले गोल गर्दा तिम्रो घुँडा जब टेकिन्छ
त्यो मेरो लागि उर्जा हो ।

तर, तिमी को हौ ?
जे होस् ?
तिमी मलाई औधी मनपर्छ ।

म तिमीलाई हरबखत पर्खन्छु
जसरी पर्खन्छन्
बच्चाहरू ‘बजार गएकी आमालाई’

जसरी पर्खन्छन्
‘स्कुलमा छोराछोरीले’
दिउँसो स्कुल आएर ‘फि’ तिर्छु भनेर विश्वास दिलाएका ‘बा–आमा’लाई

जसरी पर्खन्छन्
प्रेमीहरू ‘प्रियहरूलाई’

जसरी पर्खन्छन्
यात्रुहरू ‘अन्तिम बस, ट्रेन र विमानहरूलाई’

जसरी पर्खन्छन्
अस्पतालको शल्यक्रिया कक्ष अगाडि
‘बिरामीका आफन्तहरू’

यसरी नै म तिमीलाई पर्खिरहन्छु ।

तर, तिमी को हौ ?
मेरो सपनामा आउने ?

थाहा छ, तिमीलाई एउटा कुरा ?
कि,
मैदानमा तिमी सधैँको लागि नभएपछि
म, सधैँको लागि स्वतन्त्र दर्शक बन्नेछु ।