विश्वको पहिलो प्रेम पत्र 

आज भन्दा पाँच हजार वर्षअघि रुक्मिणीले भगवान् श्रीकृष्णलाई एउटा प्रेमपत्र लेखेकी थिइन् । भागवत् पुराणको खण्ड १० को अध्याय ५२ मा केही सुन्दर श्लोकद्वारा उक्त प्रेमपत्रको चर्चा गरिएको छ ।

रुक्मिणी विदर्भका राजा भीष्मकी छोरी थिइन् । उनी निकै साहसी, सुन्दरी र विदुषी नारी थिइन् । भगवान् कृष्णलाई देखेदेखि नै उनी आफ्नो विवाह कृष्णसँग होस् भन्ने चाहेकी थिइन् ।

उनका भाइ रुक्मीले कृष्णलाई रूक्मिणीले मन पराउन थालेको कुरा थाहा पाउँछन् र दिदीको कृष्णसँग विवाह गर्ने कुराको विरोध गर्छ । ऊ दिदीको विवाह आफ्नो असल मित्र शिशुपालसँग गरिदिन चाहन्छ ।

भाइले आफ्नो विवाह शिशुपालसँग गरिदिन लागेको थाहा पाएपछि तुरुन्तै रुक्मिणीले कृष्णलाई पत्र लेखिन् र सुनन्दा नामको ब्राह्मणमार्फत कृष्णकहाँ पठाइन् ।

पत्रको सानो अंश:

हे मुकुन्द वंश, चरित्र, सौन्दर्य, ज्ञान, यौवन्, धन र प्रभावमा तपाईँ साँच्चै महान् हुनुहुन्छ । हे मनुष्यका सिंह ! तपाईँले कति सजिलै मानव जातिको मनलाई प्रसन्न तुल्याउन सक्नुहुन्छ । सबै प्राणीहरूको कल्याण गर्न सक्नुहुन्छ ।

तसर्थ मेरो प्रिय प्रभु ! मैले तपाईँलाई मेरो पतिको रूपमा रोजेको छु र म आफैँलाई तपाईँसँग समर्पण गर्दछु । हे सर्वशक्तिमान् ! छिटो आउनुहोस् र मलाई तपाईँकी पत्नी बनाउनुहोस् । मेरो प्रिय कमल नेत्र प्रभु… !

पहिलो नेपाली गायक

सेतुराम श्रेष्ठ

वि. सं. १९४० मा काठमाण्डौँको असन कमलाक्षीमा जन्मिएका सेतुराम श्रेष्ठ नेपालका पहिलो रेकर्डेड गायक हुन् । हुने बिरुवाको चिल्लो पात भनेझैँ उनी सानैदेखि हार्मोनियमप्रेमी थिए । बुवा कृष्णधर श्रेष्ठको साथमा कहीँ घुम्न जाँदा हार्मोनियम देख्यो कि त्यहीँ पलेटी कसेर बजाउन थालिहाल्थे। संगीतमय परिवार भएका कारण गायनका लागि बुवाले नै उनलाई चाहिने सामान जुटाइदिन्थे ।

सानो छँदा उनी गोरो भएकाले उनको नाम सेतुराम राखिएको थियो ।

वि. सं. १९६५ मा उनले ग्रामोफोन डिस्कमा गीत रेकर्ड गराएका थिए । गीत रेकर्ड गरेर पहिलो नेपाली गायक हुने सौभाग्य पाए । उनले गाएको पहिलो गीत मोतीराम भट्टद्वारा लिखित गजल ‘यता हेर्यो यतै मेरो नजरमा राम प्यारा छन्’ थियो । यसको संगीत पनि उनैले सिर्जना गरेका थिए ।

‘राजामति कुमती’ बोलको गीत गाएपछि उनको चर्चा यसरी चुलियो कि, उनलाई सबैले संगीतको महेश्वर भन्न थाले । उक्त गीत गाएपछि नै उनलाई धेरैभन्दा धेरै नेपालीले चिन्न थालेका हुन् । वि.सं. १९९८ चैत मसान्तमा उनको देहावसान भयो ।

पहिलो महिला उपन्यासकार 

अम्बालिका देवी

विसं १९५१ जेठ ९ गते काठमाडौँको मखन टोलमा जन्मिएकी अम्बालिका देवी नेपालको पहिलो महिला उपन्यासकार हुन् । उनी राणा परिवारमा जन्मिएकी थिइन् ।

सात वर्षको उमेरमै अम्बिकाप्रसाद उपाध्यायसँग उनको विवाह भयो । सानो छँदा उनको नाम पुतली थियो । पछि प्रचलित चलनअनुसार उनको नाम परिवर्तन गरेर अम्बालिका राखिएको थियो । उनका पति विहार र उडिसाको हाइकोर्टका वकिल थिए । भारतमा वकालत गर्ने उनी नेपाली मूलका पहिलो वकिल थिए ।

विवाहपछि मात्र लेखपढ गर्ने मौका पाइन् । पछि अङ्ग्रेजी विषयमा उच्च शिक्षा हासिल गरिन् । साहित्यप्रति उनको निकै रूचि थियो । उनले एक सातामा प्रायः दुई तीन ओटा हिन्दी साहित्यका उपन्यास वा कथा संग्रह पढेर सक्काउँथिन् । उनी पुरानो पुस्तक नकिनेर जहिले पनि नयाँ पुस्तक किन्ने गर्थिन् । यसरी पुस्तक किन्दै पढ्ने क्रममा उनले पढेका पुस्तक संख्या दुई हजार पुगेको थियो ।

यसरी पुस्तक पढ्ने र सिनेमा हेर्ने क्रम बढेसँगै उनले पनि कथा, कविता र गीत पनि लेख्न थालिन् । यसरी अध्यन तथा लेखन कार्यमा व्यस्त हुँदा हुँदै उनी अस्वस्थ भइन् । अस्वस्थाताकै वावजुद पनि उनले ‘राजपूत रमणी’ लेखिन् । वि.सं १९८९ वैशाख १९ मा उनले उपन्यास पूरा गरिन् । त्यही मितिमा जनरल ट्रेडिङ कम्पनी वाराणसीले उपन्यास प्रकाशन गर्यो। यो नै नेपाली महिलाले नेपाली भाषामा लेखेको पहिलो उपन्यास हो । १९९३ पुष १ मा ४२ वर्षको उमेरमा उनको मृत्यु भयो ।

सङ्कलनः मिलन कार्की ।