१४ पौष बिहीबार बेलुकी ८:३० बजेबाट सुरु भएको ‘द पोएट आइडल’ नेपालको पहिलो कविता रियालिटी सो हो । जसलाई अमनप्रताप अधिकारीले निर्देशन तथा व्यवस्थापन गरेका छन् भने विप्लप प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त गरी चार जना निर्णायकको भूमिकामा रहेका छन् ।

कविले कविता वाचन गरेपछि निर्णायकहरुले कविको कविता मन पर्यो भने कविलाई अघिल्लो राउन्डमा लाग्न घण्टी बजाउछन् । पहिलो र दोस्रो घण्टी बजेर मात्रै पुग्दैन । अघिल्लो राउन्डमा जानको लागि तीन ओटा घण्टी बज्नुपर्छ । तीन जना निर्णायकले कविको प्रस्तुति मन पराउनै पर्छ । चार ओटा बज्यो भने त सुनमा सुगन्ध भैगयो ।

[embedyt] https://www.youtube.com/watch?v=8FY3e_TdhG4[/embedyt]

आइडल सुरु हुन्छ झापाका कवि चूडामणि पौडेलबाट । उनी कविता सुनाउनकै लागि घरदेखि भागेर काठमाडौं आएको बताउँछन् । तर उनी अघिल्लो राउन्डमा प्रवेश गर्न सक्दैनन् । उनको लागि पहिलो घण्टी बजे पनि दोस्रो र तेस्रो घण्टी बज्दैन ।

त्यसैगरी, गुल्मी पालुङ्गटारबाट आएका कवि गोविन्द रेग्मी पनि अघिल्लो राउन्डमा प्रवेश गर्न सक्दैनन् । उनले सुनाएको छन्द कविता राम्रो भए पनि त्यसमा आधुनिकता नभएको निर्णायकहरूले बताउँछन् ।

‘तपाईंलाई छन्द कविता कस्तो हुनुपर्छ जस्तो लाग्छ ?’, कवि विप्लप प्रतीक उनलाई सोध्छन् ।

जवाफमा रेग्मी भन्छन्, ‘छन्द कविता सबैले बुझ्ने र रसायनलाई नै परिवर्तन गर्न सक्ने हुनुपदर्छ ।’

यसरी नै, अर्का कवि एकराज थापाले हरियो पासपोर्ट नामको कविता सुनाउँछन् । उनको वाचन शैली राम्रो र कवितामा नवीनताको प्रयोग भएको बताउँछन् निर्णायकहरु । उनी अर्को राउन्डमा प्रवेश गर्छन् ।

पोखराका कवि नउर क्षेत्री, पाँचथरबाट आएकी कवि रेजमी राई, आशिष नेपाल र सिरहाको धनगढीबाट आएकी कवि रिना साह अर्को राउण्डमा प्रवेश गर्छन् ।

रिना साहले ‘कोतरिएको म’ नामक कविता सुनाउँछिन् । उनको कविता र वाचन शैलीले सबै निर्णायकहरुलाई मन्त्रमुग्ध बनाइदिन्छ । उनका लागि चारै जना निर्णायकहरुले घण्टी बजाउँछन् ।

उनको कविता सुनेपछि कवि उपेन्द्र सुब्बा भन्छन् ‘मेरा पनि तीन छोरीहरू छन् । उनीहरूको जीवन यो कविताजस्तो कहिल्यै नहोस् ।’

एकजना परिचित कवि आउँछन्, उज्वल घिमिरे । उनी अर्को राउन्डमा प्रवेश गर्न सक्दैनन् । उनको कविता सुनेपछि उपेन्द्र सुब्बा भन्छन्, ‘तपाईंले कम कविता पढ्ने र संगत पनि थोरै कविहरुसँग गर्नुभएको रहेछ ।’

पछि उद्घोषक दिव्यदेवको निवेदन र निर्णायक मण्डलको अनुमतिमा उनले पुनः अर्को कविता वाचन गर्न पाउँछन् । उक्त कवितामा आधुनिक शैली पाएपछि उनको लागि अर्को राउण्डको ढोका खुल्छ ।

पछि उनी भन्छन्, ‘मैले एसएलसीपछि त्यति कविता पढेको छैन । स्कुले जीवनमा धेरै कविता पढियो तर एसएलसी दिएपछि कविता पढ्ने र लेख्ने बानी हराउँदै गयो । तर अब भने म कविता पठनलाई निरन्तरता दिन्छु ।’

झापाबाट आएकी कवि शारदा सापकोटाले बोलीसँगै साङ्केतिक भाषामा कविता सुनाउँछिन् । त्यसपछि इन्द्र महतोले मैथिली भाषामा कविता सुनाउँछिन् । उनीहरू दुवैजना अर्को राउण्डको लागि सजिलै प्रवेश पाएका छन् ।

अर्को राउन्डमा छनोट भएको खुसीमा कवि इन्द्र महतोले घरमा भएकी आमालाई फोन गरेर आफू द पोएट आइडलमा छनोट भएको कुरा सुनाउछिन् ।

काठमाण्डौ  जोरपाटीबाट आएका कवि सागर आचार्यले बुद्धत्वको कविता सुनाउँछन् । तर उनको लागि अर्को राउण्डको लागि कुनै पनि निर्णायकबाट घण्टी बज्दैन ।

उनको कविता सकिएपछि उपेन्द्र सुब्बा सोध्छन्, ‘तपाईँले यो वर्षभित्र पढेको कवितासंग्रह कुन हो ?’

जवाफमा उनी भन्छन्र, ‘मेरो देश नेपाल ।’

‘कस्ले लेखेको ?’ उपेन्द्र सुब्बा ।

‘म आफैंले ।’ कवि ।

‘त्योबाहेक अरु कविता छैनन् ?’, निर्णायक मण्डल ।

‘सात आठ कक्षामा पढेको थिएँ ।’, कवि ।

पहिलो एपिसोडको समाप्तिसँगै निर्णायकहरुले भने, ‘धेरैजसो त इच्छा शक्ति बेजोड भएका कविहरु आए । तर आधुनिकता र कवितामा नौलो प्रयोग ल्याउने कविहरु भने त्यति आएनन्  कार्यक्रम यति रमाइलो होलाजस्तो लागेको थिएन तर सबै मिलेर काम गर्दा खुसी लागेको छ ।’

यसरी, कहीँ आँसु त कहीँ हाँसो, कहीँ उल्लास त कहीँ गम्भीरताका बिच द पोएट आइडलको पहिलो एपोसोड सकिएको छ । दोस्रो एपिसोडको प्रसारण पुस १५ गते शुक्रबार साँझ ८ः३० बाट एपी वान टेलेभिजनमा हुनेछ ।