केही वर्षअगाडि मेरो दिमागमा मृत्युबाहेक अरू केही घुम्दैन थियो । म जतिबेला पनि मृत्यु सम्झन्थें । मलाई लाग्थ्यो, म मर्दैछु । मेरो मृत्यु छिटै हुँदैछ । सारा संसार आफू कहिल्यै मर्दिन भन्ने सोचले बसेको बेला म भने अहिले मर्छु कि भरे मर्छु भन्ने दोधारमा बसेको थिएँ । किन एक्कासि मेरो मानसपटलमा मृत्यु आयो ? मैले जानिनँ, तर घुमेको चाहिँ मृत्यु नै थियो ।

बानेश्वर ३ नं. गेट छेवैमा रहेको नर्थन लाइट एभिएसन एकाडेमीमा विद्यार्थी रहेर हवाइजहाजको मापन गरिरहेको बेला बङ्लादेशबाट काठमाडौँ आउँदै गरेको ‘बमबार्डियर डाश एच क्यु ४००’ विमान दुर्घटना हुँदा मैले आँखैअगाडि देखेको अहिलेसम्मकै सबैभन्दा भयानक मृत्यु थियो । त्यसो त मेरा आँखामा कहिल्यै बिर्सन नसक्ने मृत्यु अरू पनि छन्, चाहे त्यो मोरङको बक्राहा खोलाले बगाएको केटीको शरीर होस्, चाहे बिर्तामोडको मुक्ती चोक र काठमाडौँको तीनकुनेमा बाइक ठोक्काएर केही सेकेण्डमै ज्यान गुमाएका मान्छेहरूको शरीर होस् । यो मृत्यु बिर्सन पहिले मेरो मृत्यु हुनुपर्छ ।

निरज दाहाल

यसरी म मृत्युको नजिकै भएँ । त्यसको लगत्तै म सडक दुर्घटनामा परेँ, बस् मलाई यति नै काफी भैदियो कि अब म मर्दैछु भन्ने कुरामा कुरा खेलाएर बस्न । यसबाट मलाई निस्कनु थियो वा मृत्युबाट मलाई उठ्नु थियो | सकारात्मक सोचले म आफैँ भरिनु थियो, त्यो मैले बुझेको थिएँ । तर कसरी ? जीवनमा यी ‘क’बाट आउने प्रश्नहरूले निकै सोचमग्न बनाएर छाड्छन् ।

त्यो समयको दौरान मैले अनेकन भिडियो हेरेँ, हातमा गन्न सकिने अनेकन किताब सुम्सुम्याएँ । मेरो दिमागमा मृत्यु हट्न सकेन । जुनदिन गीता मेरो हातमा पर्यो– त्यही दिन हो मैले मृत्यु बुझेको ।

मृत्यु भुलेर म आफ्नै समयमा व्यस्त रहेको बेला अक्षरमा होस् या कुरामा आफ्नो बेग्लै पकड भएका लेखक तथा कार्यक्रम प्रस्तोता विजयकुमारले दिशानिर्देश टिभीमा कार्यक्रम ल्याएका छन् ।  उनले उठाएका मुद्धा वा विषय साँच्चै नै मनन् योग्य छ । यो सत्य हो ।

मैले जीवनमा धेरै पढेको पुस्तकमध्ये उनैको खुसी पनि एक हो । पृष्ठ नम्बर १ बाट पृष्ठ नम्बर ३२६ सम्म पढ्नको लागि म पुनः बसेँ भने त्यो मेरो दशौँ बसाइ हुनेछ । तर पुस्तकभित्र रहेका २९ वटा खण्डलाई पटक पटक हेरेको कुरा सायदै म अनुमान लगाउन सक्दिनँ ।
शूक्ष्म कुरालाई प्रस्तुत गर्ने शैली उनको गज्जबकै रहेको छ । यही कुरा मलाई मन पर्छ । म एक पाठकको नाताले उनको प्रस्तुतीलाई प्रश्न गर्नसक्छु तर उनको जीवनशैली र व्यत्तित्वलाई प्रश्न गर्ने अधिकार ममा छैन ।

विजय कुमारको अनुहार नेपाली दर्शकमा खासै नौलो होइन र नेपाली पाठकमा उनको नाम कुनै गुमनाम नाम पनि होइन । पुस्तकको पत्रपत्रमा एक विचारधारा रहेका विजयकुमारले भावी दिनमा पुस्तक लेख्लान् कि नाइँ ! त्यो जान्न इच्छुक एक जमात पनि रहेका छन् ।
दिशानिर्देश टिभीमा उनले ल्याएको एक कार्यक्रमले मेरो दिमागलाई १५ वर्ष पछाडिको एउटा घटनालाई सम्झन बाध्य बनाएको छ । त्यो समयमा परिवारसँग मैले खोलेको कुरा आज यहाँ शब्दमार्फत सबैसँग खोल्दैछु ।

तपाईँले यो कुरा पढिरहँदा नौलो लाग्न सक्छ, त्यसैले एउटा अनुरोध– युटुबमा दिशानिर्देश टिभी सर्च गर्नुहोस् । त्यहाँ मृत्यु र जीवनबारे एक अविस्मरिणय संवाद एपिसोड दुई आउँछ । त्यो हेर्नुभयो भने यहाँको कुरा तपाईँलाई बुझ्न सजिलो हुन्छ ।

विजयकुमार

मान्छे मरेपछि कहाँ जान्छ ? साँच्चै आत्मा छ कि आत्मा भनेको भ्रम मात्र हो ? यदि आत्मा यतैकतै घुम्ने हो भने उसको स्वरूप कस्तो हुन्छ ? भलै भौतिक रूपमा नदेखिएला तर ध्यानबाट हेर्न मिल्छ कि नाइँ ! मेरो मानसपटलमा अक्सर घुम्ने प्रश्नहरू यी हुन् ।

हामी मृत्युसँग किन डराउँछौँ ? हामीलाई थाहा छ कि हामी अमर रहन सक्दैनौँ । एकदिन न एकदिन त हामी जानु नै छ तर जाने कुरालाई किन हामी पछाडि पछाडि धकेलिरहेका छौँ ? डरकै कुरामा स्वामी आनन्द अर्हत भन्छन् कि डरले केही दिँदैन । उनको आशय सायद डर भनेको बेकार हो यसले केही दिन सक्दैन भन्नु पो हो कि ? तर मलाई लाग्छ डरले धेरैकुरा दिन सक्छ ।

आजकाल म सोच्ने गर्छु कि यदि हाम्रा नेतृत्वकर्ता जनतासँग डराइदिएको मात्र भए, देशको स्वरूप नै पो अर्कै बन्ने थियो कि ?

मलाई जहाँसम्म लाग्छ जीवनमा डराउनु आवश्यक छ, तर कति डराउने भन्ने कुराको मापन चाहिँ कसरी गर्ने ? किनकि नेपालमा प्रचलित एउटा उखान छ – वनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो । डरले मान्छेलाई भूइँमा पछार्न सक्छ । डराउने मात्रा कति हो ? यो खोज्न जरुरी छ ।

एउटा कथा छ । जघन्य अपराधमा मृत्युदण्ड फैसला सुनाइएको एक कैदीलाई भनियो, अब तिमीलाई मृत्युदण्ड दिइनेछ । र, त्यो मृत्युदण्ड विषालु सर्पले डसाएर दिइनेछ । उनलाई एक अँध्यारो कोठामा लगियो । आँखामा पट्टी बाँधियो । एउटा कुनामा राखियो ।
केही समयपछि उनको खुट्टामा केहीले घोचेजस्तै गरियो । उनले घोचेको थाहा पायो । यत्तिनै बेला आँखाको पट्टी खोलियो । उनले देखेँ, खुट्टाकै नजिकबाट एउटा सर्प भाग्दैछ । कैदीले सोचे- सर्पले डस्यो । विषालु सर्पले डस्न लगाइनेछ भनिएको थियो । उनी डराएरै मरे । वास्तवमा उनलाई सर्पले डसेकै थिएन ।
यसरी हामीलाई मनको बाघले दिनानुदिन मृत्युको मुखमा लगेर छाडेको छ ।

उक्त भिडियोमा एक च्याप्टर मृत्युमा पसेर फर्केको अनुभव भन्ने छ । त्यो भिडियो सुरु भएको ९:०५ मिनेटबाट सुरु हुन्छ । यो अनुभव धेरैले गरेका छन्, त्यो धेरैमा म पनि पर्दछु । शरीरलाई आत्माले छाडिसकेपछि पुनः आत्मा शरिरभित्र आएको अनुभव मलाई पनि छ । मैले मृत्युलाई बहुत नजिकबाट हेरेको छु ।

आफ्नो मान्छेले छाडेर जाँदा परिवारमा कुन तहसम्म चोट पुग्छ । त्यो मैले भोगेको छु ।

जेठ महिना लिच्चीको मौसम । गाउँघरमा जे जति भए पनि पहिले बेच्ने र उब्रेको चाहिँ खाने चलन हुन्छ । मधेसी मूलका मान्छेलाई पहाडी मूलकाले अक्सर सामान बेच्ने गर्छन् । सायद सौदाबाजीमा सहज हुने भएकाले होला ।

घरमा एउटा लिच्चीको बोट थियो । चिचिला लागेदेखि नै मेरो आँखा र लिच्चीको फलसँग संवाद भइरहन्थ्यो । चिचिला बिस्तारै बढेर युवा र प्रौढ भयो । काँचो लिच्चीलाई मैले आफन्त सम्झेँ र खाएँ । मलाई त्यो बेला लागेको थियो आफन्तले दुखाउँदैनन् तर त्यो सोच र अहिलेको भिन्नताको फरक म ओकल्न सक्दिनँ ।

व्यापारी आएपछि लिच्चीको अन्तिम संस्कार गरियो ।

म हजुरबुवाको प्रिय थिएँ । अरू नाति जन्मेसकेको भए पनि । आफ्नो थर बोकेर जन्मनेमा म परिवारको पहिलो बच्चा भएर नजिक भएँ । हजुरबुवासँग मेरो जीवनको हिस्सा कम बिते तापनि किस्सा भने अनेक छन् ।

हजुरबुवाको आदेश अनुसार लिच्चीको केही झुप्पा घरको लागि राखियो । मेरो हजुरबुवाको गोजीमा भेटिने मौसम अनुसारका फलफूल, मिस्री र सरकारले दिएको वृद्धभत्तामा पनि मेरो एकल हक थियो । हजुरबुवा हुन्जेल बरफ बेच्न आउनेसँग विनम्रताको आँखा मैले कहिल्यै झुकाउनु परेन । कुनै पसलको अगाडि गएर चकलेटसँग दोहोरो संवाद गर्नु परेन । आजकाल ती सबै सम्झना भए ।

लटरम्म लिच्चीको बोट एक्कासि कसैको नाङ्गो शरीरझैँ भयो । मेरा आँखा अर्कोसाल जेठका लागि तयार भए ।

केही दिनमा लिच्चीको झ्याङबाट फुत्त चार वा पाँच दाना लिच्चीले घाम हेर्न निस्किए । त्यो सबैभन्दा पहिले दाइले देख्यो । दाइ माइलाको नाति, म कान्छाको । उमेरले दाइ भए पनि, ऊ अहिले पनि मेरो साथीझैँ छ ।

बालकको आँखा कहिल्यै अघाउँदैन । दाइले लिच्ची देखेपछि बोलायो र भन्यो – “लिच्ची छ खाम यार । लिच्चीकै छेवैमा रहेको सुपारीबाट म जाने र दाइ रूखबाट जाने भयो । लिच्चीको दानाचाहिँ रूखको टुप्पोमा थियो । म सुपारीको रूखबाट जाने भएँ । सुपारीको रूखमा चड्ने कुरामा मेरो नाम गाउँमा नामुद छ ।

पहिले म टुप्पोमा पुगेँ र झर्न पनि म नै पहिले झरेँ । तर सुरक्षित तरिकाले होइन । सुपारीको बोटबाट लिच्चीतर्फ बढ्दा खुट्टाले काँचो हाँगामा टेकेछु, तर समाउँदा हाँगा सुकेको परेछ । धरती र आकाशको दूरी पनि थाहा पाइनँ ।

उक्त भिडियोमा डा. बसन्त पन्तले केही कुरा गरे जुन कुराले मेरो मष्तिस्क पुनः पछाडि फर्कियो । मैले आजसम्म यो कुरा मेरो परिवारलाई बाहेक अरूलाई खुलेर बताएको थिइनँ । साच्चै मान्छेको मृत्यु भएपछि पनि बाँच्न सक्छ, यो मैले भोगेको छु । वा भनौँ मैले मृत्युको मुख देखेको छु ।

बोटबाट खसेपछि चार घण्टा लगातार बेहोस हुँदा मैले महसुस गरेका कुराले आजकाल पनि मलाई झस्काइरहन्छ ।

म त्यहीँ छु । मैले आफैँलाई देखेको छु तर त्यो भीडले मलाई किन देख्न सकेन ? त्यो भीडबाट किन कोही बाँसको कुरा निकाल्दैछ ? कोही किन शङ्खको कुरा झिक्दैछ ? मेरा परिवारका सबै सदस्य किन मेरो नाम लिएर चिच्याउँदैछन् ? समय पुगेर मर्नु र समय नपुगी मर्नुको भिन्नता के हो ? मेरो परिवारले यही सोच्यो । मेरो लागि किनेको नयाँ स्कूलको झोला कसले बोक्छ ? भलै अरूले त बोक्लान तर मैले त पाउँदिन नि ! मान्छे परिवारबाट छुटिनुको पीडा मेरो आँखाले देखेको छ । मलाई लाग्छ समय नपुगी मर्नु भनेको नयाँ कपडा किन्नेबित्तिकै च्यातिनुजस्तै हो । म परिवारको लागि नयाँ थिएँ । तर च्यातिएको कपडालाई त सम्झनाको लागि राख्न सकिन्छ , मृत शरीरलाई कसरी राख्ने ? आफ्नो शरिरभन्दा बाहिर रहेर आफूलाई नै हेर्न सजिलो छ तर त्यो माहोललाई सम्झनचाहिँ औधी गाह्रो हुन्छ ।

खुसी हुँदा मान्छे कतिसम्म रुन्छ र दुःखी हुँदा मान्छे कतिसम्म रुन्छ । मैले एकैपटक अनुभव गरेँ । “म अब छैन” भन्दा मेरो परिवारको आँखामा आएको आँसु र “म अब छु” भन्दा मेरो परिवारको आँखामा आएको आँसु । यो मेरो जीवनको नौलो अनुभव कलिलो दिमागले भोगेको छ ।

मैले त्यो बेला अस्पताल किन लगिएन भनेर सोचेकै थिइनँ । अबोध दिमागलाई अस्पताल थाहा पनि थिएन । गाउँले मानेको केही वृद्धले नाडी छाम्दैमा मृत्युको निर्णय लिन कसरी सक्छन् ? जन्म र मृत्यु सत्य छ । यो कसैगरे पनि टार्न सकिन्न । केहीहदसम्म जन्मलाई रोक्न सकिन्छ । तर मृत्युलाई ? अहँ सकिन्न ।

म पनि आफ्नै मृत्यु देखेको मान्छे हुँ । धेरै पछि यो कुरा सम्झाइदिने दिशानिर्देश कार्यक्रम र प्रस्तोता विजयकुमार पाण्डेप्रति आभारी छु ।

हरि ॐ