साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताको कथाः हर्कबहादुर

Chovar Blues Mobile Size

“राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!!
स्वाधिनता ! स्वाधिनता !! स्वाधिनता !!!
नागरिकता ! नागरिकता !! नागरकिता !!! ”

विश्व यतिबेला महामारीको खाडलमा फँसेको छ । सङ्कटको यस घडीमा सबैले आफ्नो घरलाई सम्झेका छन् । कति फर्किसके, कति अझै अलपत्र परेको अवस्था छ । कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कविताको पात्रझैँ कति हर्कबहादुरहरू परदेशमा आफ्नो राष्ट्रियतामाथि प्रश्न गर्दैछन् । स्वाधीनताको आडमा परदेसिएकाहरू नागरिकतामा लेखिएको जन्मस्थानले बोलाउला भन्ने झिनो आसमा बाँचेका छन् ।

कयौँ हर्कबहादुरहरू भारतमा अल्झेका छन्, कयौँ खाडीमा र अन्य देशमा । यो अवस्थामा उनीहरूको राष्ट्रियताले के भूमिका खेल्छ ? स्वाधीनताको अर्थ के सबै हर्कबहादुरजस्ता पात्रले बुझेका छन् ? देशले आफ्नो नागरिकलाई नागरिकता राहदानी बनाउन मात्र दिएको हो कि आफ्नो नागरिकको जिम्मेवारी बहन गर्न पनि दिएको हो ? प्रश्न उठ्छ तर जवाफ कसले दिने ? हालको अवस्था हेर्ने हो भने देश र देशको राजनीति नै थङ्थिलो भएको अवस्था छ । देशले सबै हर्कबहादुरहरूलाई चिनोस् ।

आउनुहोस् ! आज हामी ‘हर्कबहादुर’लाई चिन्ने प्रयास गरौँ ।

टेबलमा कापी र कलम बोकेर “अब कविता लेख्न बस्छु, अब मलाई एक घण्टा नबोलाउनू ” भनेर कविहरू सायदै कविता लेख्छन् । कविले कविता कुन मोडमा, कुन दृश्यमा ठोक्किएपछि लेख्छन् थाहा हुँदैन । कविताको भ्रूण उत्पादनको लागि कुनै समय हुँदैन । जसरी एक बच्चा जन्मन उसलाई यति बजे जन्मनू भन्दै निश्चित समयअवधि तोकिएको हुँदैन, त्यसरी नै श्रष्टालाई सृजना रचनाको निमित्त समय तोक्न सकिन्न । त्यसैले त आफ्नो सृजनालाई स्रस्टा आफ्नो सन्तान मान्ने गर्दछन् ।

विश्वविद्यालयमा नेपाली साहित्य पढ्नेहरूले यो कवि दिनेश अधिकारीकाे याे कविता अनिवार्य रूपमा पढ्नुपर्छ । त्यसैले आज हामी यति महत्त्व पाएको यो कविताको पछाडि के कथा थियो होला भनी बुझ्ने प्रयास गर्छाैं । यो कविता कहिले जन्मियो ? किन जन्मियो ? यस्ता प्रश्न पाठकको दिमागमा आइरहने प्रश्नहरू हुन् । त्यही प्रश्नलाई मध्यनजर गर्दै आज कवि दिनेश अधिकारीको हर्कबहादुर, “हर्कबहादुर” कविता र हर्कबहादुर कविताको कथासहित उपस्थित भएका छौँ ।

sagarmani mobile size

अधिकांश नेपालीले कवि दिनेश अधिकारीभन्दा सुपरहिट गीतका स्रष्टा दिनेश अधिकारीलाई बढी चिनेकाे हुनसक्छ । “सोचे जस्तो हुन्न जीवन ”,  “तिमी जुन रहरले ममा फुल्न आयौ ”,  “यो सम्झने मन छ, म बिर्सूँ कसरी ” जस्ता कालजयी गीतका रचनाकार अधिकारीकाे यो कविता भने हरकोहीले नपढेका वा नसुनेका हुनसक्छन् ।

यो कविताले एउटा भूइँमान्छेको वास्तविकता छताछुल्ल पारेको हुनाले आलोचक, समालोचकहरूमाझ यसको एउटा बेग्लै कद छ । त्यसैले पनि कोरोना कहरका बीच जब सीमापारि क्वारेन्टिनमा बसेका नेपालीको ध्यान सत्ताले पुर्याउन सक्दैन, त्यो बेला यस्ता कविताको महत्त्व अग्लिएर आउँछ ।

अब कुरा गरौँ ‘हर्कबहादुर’ कविताको । यो कसरी जन्मियो, किन जन्मियो, कहिले जन्मियो ?

करिब एक दशकभन्दा अगाडिबाट उच्च शिक्षाको पाठ्यक्रममा समावेश भएको यस कविताको जवाफ नदिइकन कुनै पनि विद्यार्थी आफ्नो भविष्यको रेखा कोर्न सक्दैन । पहिले हामी कवि दिनेश अधिकारीको हर्कबहादुर कविता पढ्ने छौँ र यस कविताको कथा पढ्ने छौँ । प्रस्तुत छ, कविता “हर्क बहादुर:”

हर्कबहादुर

उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ
ऊ दाउरे पनि हो
ऊ चाउरे पनि हो
ऊ काले पनि हो
अरूहरूबाट आफ्नो सक्कली नाम सुन्न
जसले बाबुको सराद्धे पर्खनु पर्छ
ऊ हर्कबहादुर हो

हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन
बिहान झिसमिसे मै गोरू नारेर ऊ
कहिले बाँझो मार्न जान्छ
कहिले कोदाली बोकेर
आली ताछ्न र बाउसे गर्न भ्याउँछ
ऊ सफल दूरदर्शी पनि हो ।
उसलाई थाहा छ–
लुगा फाट्छ छाला फाट्दैन
छाला, साहू काढेर किन्न पनि पाइँदैन
ऊ नाङ्गो आङले भारी बोक्छ
ऊ नाङ्गो आङले धरती जोत्छ
हो, गाउँको सभा समारोहमा जाँदा
हर्कबहादुर
टीठलाग्दो आँखाले
घरी झण्डा र घरी आफ्नो आङ् हेर्छ
घरी आफ्नो आङ र झण्डा हेर्छ
सायद हर्कबहादुर छातीभित्र अट्टाहस पनि हाँस्छ
सायद हर्कबहादुर
मनहरूमा कोलम्बस पनि बाँच्छ
कि मान्छेको प्रयोगमा आउनुभन्दा पर
वस्तुको अर्को ठूलो उपयोगिता छैन भने
बटुलेर संसारभरिका झण्डाहरू
लुगा सिउँदा
हरेक नाङ्गोलाई भाग पुग्छ
– हरेकलाई कछाड पुग्छ
– हरेकलाई मजेत्रो पुग्छ
झण्डा मान्छेको परिचय होइन
मान्छे स्वयंमा परिचित इतिहास हुन्छ
मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ

हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन
गते
बार
महिना
ऋतु
वर्ष
तिथि पनि थाहा छैन
समय सायद आफ्नो पुच्छर आफैँले निल्ने
पुच्छरले भोग्छ
समय सायद हातहतियार छाड्ने
कलकारखानाले भोग्छ
योजनाले भोग्छ
साइरनले बोक्छ
हर्कबहादुरले आजसम्म समय भोगेको छैन
हर्कबहादुरले आजसम्म समय मागेको छैन
समयको नाममा
भोग्दा–
उसले महिषासुर झापडहरु भोगेको छ
माग्दा–
उसले अन्नका दानाहरू मागेको छ
कपासका गाँठ र बारीका पाटाहरू मागेको छ
एउटा एउटा बन्दुक बोक्ने हातलाई
एउटा एउटा कोदाली दिनुपर्छ
हर्कबहादुरले सधैँ कोदाली मागेको छ
हर्कबहादुर भोक हो
भोकको देश र भेष पनि हुँदैन
भोकको आफ्न्त र पराई पनि हुँदैन
हर्कबहादुर ठेस हो
पीडा आकारमा आबद्ध हुँदैन
पीडाको साँध सिमाना र घरबार पनि हुँदैन
म साँच्चै भन्छु
भोक यदि देश हो भने
हर्कबहादुर भन्दा अर्को सुकिलो देश हुनै सक्दैन
शोक यदि देश हो भने
हर्कबहादुर भन्दा ठूलो अर्को देश हुनै सक्दैन

राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!!
स्वाधीनता ! स्वाधीनता !! स्वाधीनता !!!
नगरिकता ! नागरिकता !! नागरकिता !!!

परार उसकी सात वर्षीया छोरी
सर्पले टोकेर अकाल मर्दा
खै राष्ट्रियता, औषधिमा अनुवाद हुन सकेको ?

पोहोर अनिकालबाट बच्न छोरो मुग्लान भाँसिदा
खै स्वाधीनताले नजा भन्न सकेको ?
यसैपालि
बाढीले घर बगाउँदा
खै ! नागरिकता घर भएर ठडिन सकेको
लैजाऊ
सट्टामा केही दिनु पर्दैन
राष्ट्रियता विज्ञप्त छ
स्वाधीनता विज्ञप्त छ
नगरिकता विज्ञप्त छ
हर्कबहादुरको सन्दर्भमा
यी सबैको प्रयोजन
सिउनीमा अल्झेको सूर्तीको धूलोभन्दा बढी छैन
सिरानी टकटक्याएर त
हर्कबहादुर
एक सर्को फुक्न बिँडी पनि बेर्न सक्दैन

भनेँ नि !
हर्कबहादुरको देश छैन
हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन
ऊ तपाईंको गाउँमा, सहरमा, देशमा पनि भेटिन सक्छ
जितबहादुर पनि हर्कबहादुर हो
भीमप्रसाद पनि हर्कबहादुर हो
हर्कबहादुर एकलव्यको नयाँ संस्करण हो
सलाम !
खर्च नपाएर
आफैँमा तरुनी छोरीको बैँस बूढी स्वास्नीको भोक काँपिरहेको
हर्कबहादुरलाई मेरी स्वास्नीको सिन्दुर पोतेको सलाम !
सलाम !
दिमागमा छोराछोरीको लुगाफाटो
र छातीमा आफ्नै सहिद तस्बिर टाँसिरहेको
हर्कबहादुरलाई मेरी आमाको कोखको सलाम !
सलाम !
मान्छेको करङको दतिउन
र हाडको चन्दन लेप नलगाएर
मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको
हर्कबहादुरलाई मेरो कविताको सलाम !!!

प्रस्तुत कविता २०३८ साल असोज १६ गते कविले आफ्नै निवासमा लेखेका हुन् । नेपाल ल क्याम्पसको विद्यार्थी रहँदा दशैँ मनाउन कवि २०३८ सालमा आफ्नो घर गएका थिए । त्यो समयभन्दा अगाडिबाट नै साहित्यमा सक्रिय रहेका कविले दशैँ मनाउन जाँदा मलाई कुनै दृश्यले हिर्काउला वा मलाई कुनै व्यक्तिले कविताको पात्र देला भन्ने सोचेका थिएनन् ।
घर पुगेको केही समयपश्चात आफ्नै घर अगाडिको छिमेकमा एक पात्र भेटिए । जुन पात्र २०३८ सालबाट नेपाली साहित्य वा नेपालीको कविताको एक पात्र बनेर बसेका छन् ।
कविको छिमेकमा भेटिएको हर्कबहादुर पात्र उनको असली नाम नै हर्कबहादुर भने होइन । पात्रको नाम जुराउने क्रममा हर्कबहादुर नाम जन्मेको हो । तर हर्कबहादुरले धेरै नेपाली हर्कबहादुरको प्रतिनिधित्व गर्दछ । एक घरमा काम गर्ने उक्त व्यक्ति भेट्दा कविले गरिबीले नाम पनि मेट्दो रहेछ भन्ने बुझेका थिए । कविले यस कवितामा सडककै भाषा, चिया पसलकै भाषा प्रयोग गरेको बताउँछन् ।
यस पात्रमा भएको हर्कबहादुरले आफ्नोपनको खोजी गरेको छ । आफ्नो नामलाई उसले यदाकदा मात्र सुन्ने गरेको बताउँछ । जुन कुरा वास्तविक नै हो ।
मान्छेको दुःख वा मान्छेले भागेको कुरा तस्बिरमा मात्र कैद गर्न सकिन्न । यसलाई शब्दमा पनि कैद गर्न सकिन्छ । र, कैद सँगसँगै यस्तो अवस्थामा रहेका हर्कबहादुरजस्ता पात्रको पनि मूल्य मान्यता छ भनेर देखाउनकै लागि हर्कबहादुर कविता लेखिएको थियो ।
प्रस्तुत ‘हर्कबहादुर’ कविता प्रथम पटक २०३८ साल चैत्रको रूपरेखा अङ्कमा प्रकाशित भएको थियो । साथै यस कविता कवि दिनेश अधिकारीको धरतीको गीत कविता सङ्ग्रहमा पनि समेटिएको छ ।

प्रतिक्रिया
Loading...