भोकले रन्थनिएँ । स्कुलबाट आएको थिएँ । घरमा आमा भेटिनँ । लागेको भोक फेरि गुणामा परिणत भयो । बारी गएँ, देखिनँ । गाउँको चर्चित किराना पसल गएँ, भेटिनँ । छिमेकीको घर चाहारेँ, तर सोधिनँ । भोकले आन्दोलन गर्दै थियो । त्यसमाथि पनि आमा नदेखेपछि भोकले आफ्नो सीमा मिच्दै थियो । आँखा टिल्पिलाएका थिए । बाटोबाट अलिक तल बोरा बोकेर आउँदै गरेको देखेँ । अनुहार देखेको थिइनँ । तर हिँडाइ आमाको हो, थाहा थियो । टाउकोमा बेरेको पछ्यौरी त झन् आमाकै हो । योबेला भोकले आफ्नो धर्म छाड्यो । भोक गुणाबाट सिधै भागामा आयो । बाटोबाट सुपारीबारी हुँदै आमा घरतिर तेर्सिएको देखेपछि मुस्कुराएँ ।

“खाजा खाइस् ? म मिल गएकी थिएँ । तँ आउने बेला भयो भनेर, बालाई बाँकी आफैँ पेलाउनु भनेर आएकी ।”

मैले “खाजा खाइस् ?” को प्रश्नमा प्रश्नसँगै टाउको हल्लाएर नाइँ भनिसकेको थिएँ । भोकले रन्थनिएको म । आमाको सामिप्यतामा अघाइसकेको थिएँ । सामिप्यताले तृष्णा मेट्छ ।

निरज दाहाल

आमा खोज्नु मेरो दैनिकी थियो । स्कुलबाट फर्कँदा । आमा खोज्दा आमाको सामिप्यताले भरिएको मन पग्लिन्छ । दुखेको छाती निको हुन्छ । लागेको चोट मत्थर रहन्छ । बगेका आँसु रोकिन्छन् । हराएको पेन्सिल भेटिन्छ । समग्रमा आमा नै जीवनको विकल्प हो ।

यो भेटिनँ – आमा

त्यो देखिनँ – आमा

यो भएन – आमा

त्यो भएन – आमा

त्यसो त आमा जिन्दगीको जवाफ हो र जिन्दगी कहिल्यै नसकिने प्रश्नपत्र । आमाको प्रसव पीडापछि जन्मेको शिशु आजीवन प्रसव पीडामा छट्पटिन्छ । यो धरतीमा आएपछि दौडनु पर्छ । दौडन नसके, घिस्रनु । घिस्रन पनि नसके बामे सर्नु । त्यो पनि नसके प्रयास गर्नु । यही त हो एउटा सार ।

जीवनको नदीले मलाई बगाउँदै लग्यो । कहिले किनारमा छाडिदियो । कहिले भुँमरीमा हत्यायो । कहिले अग्ला चट्टानसँग जोरी खोज्न सिकायो । कहिले मुहानमा अल्मलिन सिकायो । तर अन्त्यमा भन्यो, “बग्न नछाड्नू । बगिनस् भने रोकिन्छस् । रोकिइस् मात्र भने तेरो अर्थ रहन्न ।”

हिमालले हिँउलाई पग्लने बेला भनेको हुनुपर्छ, “तेरो धर्म बग्नु हो, बगिरहनू ।” मैले आजसम्म नदी बरालिएर हिँडे पनि बगेकै देखेको छु । नदीबाट सिक्नुपर्ने धर्म नछाड्नू पनि हो सायद ।

एउटी आमा आफ्ना छोराछोरीलाई आफ्नै छत्रछायामा राख्छिन् । राख्छिन् पनि नभनौँ राख्न खोज्छिन् । कतिको बाध्यता हुन्छ । छोराछोरीसँग टाढा बस्नुपर्ने । यो बाध्यता मैले बुझेको छु । त्यसो त, पानीको आमा हिमाल हुन् । जब हिउँ आफ्नी आमाको काखबाट फुत्त ओर्लन्छ र बग्न सुरू गर्छ, आफ्ना सन्तान नपुगुञ्जेल सागरमा, महासागरमा हिमालले हात छाड्दैन । मैले कुनै पनि नदी सागरसम्म पुगुञ्जेल बीचमा टुटेर बहेको देखेको छैन । हिउँ शिशु हुन्छ, प्यारो देखिन्छ । बिस्तारै बिस्तारै पानीको जवानी बढ्छ । वयस्क हुँदा पानीले बाढीको रूपमा उदण्ड गर्दै बग्छ ।

खैर, म आमासँग थिएँ । आमासँग हुनु भनेको सबैले पूर्ण हुनु हो । सबैले सम्पन्न हुनु हो । र आमासँग नहुनु भनेको कता कता दुखिरहनु हो । मनभित्र के नपुगेजस्तो रहनु हो । सबै भएर पनि केही छैन भने ऊसँग आमा हुनुहुन्न । केही नभएर सबैथोक छ भने ऊसँग आमा हुनुहुन्छ ।

एकदिन आमासँग बजार गएँ । आमासँग के कति पैसा थियो । मलाई थाहा थिएन । तर बजारमा मलाई मनपर्ने सबै कुरा थियो । बजारले ‘यो सबै तेरो लागि हो’ भनेर होटलबाहिर समोसा, जलेबीहरू राखेको थियो । कपडा पसलले बाहिर ‘यो तँलाई औधी सुहाउँछ’ भन्दै बाहिर टि-सर्टहरू, पाइन्ट, क्यापटोपी झुण्ड्याएको थियो । खेलौना पसलले ‘तेरो मन पर्ने खेलौना ल्याएको छु’ भनेर पसलबाहिर खाटमा ब्याट्रीबाट चल्ने हेलिकप्टर, प्लेन टेक-अफ गर्ने मुडमा राखेको थियो । आमासँग कति पैसा थियो मलाई थाहा थिएन । बजारभर चक्कर लगाएँ, आमाको हात समाएर । बजारभर आँखा डुलाएँ, आमाको हात समाएर ।

बजार जाँदै गर्दा देखेको समोसा पसललाई मनमनै भनेँ, भरे फर्कन्छु । कपडा पसललाई मनमनै भनेँ, त्यो क्यापटोपी अरूलाई नबेच्नू, म आउँछु । खेलौना पसललाई मनमनै भनेँ, प्लेन पुछेर राख्नू अहिले आउँछु । मैले जे जति किनौँला भनेर सोचेको थिएँ । मैले जे जति म किन्छु भनेर सम्झेको थिएँ । मैले जे जति आमालाई माग्छु भनेको थिएँ । ती सबै एक रुपियाँको बरफमा सीमित भए । मैले बजारमा देखेको सबै सपना बजारमै सीमित भए । बजारको पुछारबाट चामल र तरकारी किनेर फर्कदै गर्दा जतिजति पसल छुट्दै थिए त्यति नै मेरो मुटु भक्कानिँदै थियो । क्यापटोपीले भन्यो, आइनस् । प्लेनले भन्यो, पुछिएको छु । समोसाले भन्यो, सेलाएँ । मेरो आँखा भरिँदै गयो । मेरो मनमा ऐँठन परेजस्तो भयो ।

हातगोडा गलेर हिँडनै नसक्ने भएँ । आमाले बजार हिँड्ने बेलामा ‘केही किनी नमाग्नू’ भन्नुभएको थियो । किनिमाग्ने आँट आएन । बजारको सिरानमा बरफ किनेपछि हातमा राख्दै भन्नुभयो, ‘दसैँमा लुगा किनौँला’ । दसैँमा लुगा किन्ने भएपछि मेरो खुसीको कुनै सीमा रहेन । बरफ मुखमा हाल्दै घर फर्किएँ, आमाको पछ्यौरी समाएर ।

आफ्नी आमा सबैलाई महान् लाग्छ । आफ्नी आमा सबैलाई औधी मनपर्छ । तपाईँलाई आमाले माया गर्न कुनै आइतबार पर्खिन्नन् । तपाईँलाई आमाले स्नेह गर्न कुनै स्वार्थ राख्दिनन् । मैले यो लेखिरहँदा आमाले मलाई औधी माया गर्नुहुन्छ । मैले यो लेखेको दश वर्षपछि पढेँ भनेँ पनि त्योबेला आमाले मलाई माया नै गर्नुभएको हुन्छ । त्यसैले आमा- (आ)ज पनि, (मा)या ।

खेतालाहरू खेतमा आइसकेका थिए । तीन हल गोरुले बिहानैबाट जोतेर पटा लगाउँदै थिए । कोही बीउ फाल्दै थिए । कोही समाहाबाट धेरै भएको पानी पटाउँदै थिए । घरमा रोपाइँ थियो । रोपाइँको दिन खाजाचाहिँ औधी मीठो हुन्छ । त्यो मलाई थाहा थियो ।

ठटाल कान्छालाई ‘म पनि पटामा चड्छु’ भनेर जिद्दी गर्दै थिएँ । उसले गोरु रिसाहा छन् भन्दै मलाई टार्दै थियो । पटामा चड्ने लोभ मैले ढुङ्गानाबा र शेरबहाुदर बढीबालाई पनि नदेखाएको भने होइन । तर उनीहरूले पनि लडिने डरमा मलाई गोरु भोकाएका छन्, दुई जना सक्दैनन् भनेर टारेका थिए । तर वास्तवमा म सानो थिएँ । ब्यालेन्स गर्न सक्दैन भनेर उनीहरूले मलाई चढ्न दिएका रहेनछन् भन्ने कुरा आजकालको रोपाइँमा बुझ्न थालेको छु । तर उनीहरूले मलाई हिलो खेल्नबाट रोक्न सक्दैनन थिए । हिलो नखेल भन्ने अधिकार उनीहरूलाई थिएन । यो अधिकार त आमालाई मात्र थियो । र हिलो नखेल भन्ने आदेश मलाई बीस पटकभन्दा बढी आइसकेको थियो ।

आलीबाट फुत्त फुत्त भर्खर बाउसे गरेको खेतमा हाम्फाल्दै थिएँ । दुई खेत मास्तिर आमा हुनुहुन्थ्यो । म हिलोमा आफ्नै धुनमा थिएँ । ढाडमा सिर्कनो कहाँबाट आयो मैले पत्ता लगाउन सकिनँ । किनकि सिर्कनो आउने मलाई कुनै पनि हालतमा कल्पना थिएन । आलीबाट म ढाड सुम्सुम्याउँदै खेतको बीचमा पुगेँ र पछाडि फर्केर हेरेँ । पछाडि आमा गोरु कुट्ने सिर्कनो लिएर उभिएको देखेपछि मलाई थाहा भयो – अब म खेतबाट निस्कनुपर्छ, मैले सरासर गएर पैनीमा नुहाउनु पर्छ, नुहाइसकेपछि मैले फेरि खेतमा आउने दुस्साहस गर्नुहुँदैन । म थपक्क घरमा बसेर भ्याकेसनको होमर्वक गर्नुपर्छ । खाजा खानेबेलामा मलाई उफ्रन छुट छ । मैले बुझेको एक सिर्कनोबाट थियो । आमाहरूको एक आवाज, एक गाली, एक सिर्कनो, एक थप्पडबाट त्यसपछि गर्नुपर्ने सबै कुरा बेलीबिस्तार लाग्छन् भन्ने थाहा हुन्छ ।

आमाको अभावको त व्याख्या नगरौँ । त्यो व्याख्या आफैँमा कहालीलाग्दो बन्छ । आमाको अभाव हुनु भनेको उज्यालोमा बसेर पनि केही नदेख्नु झैँ हो । यो भोग्नेलाई थाहा छ । भोग्नेहरूको कथा आफैँले कुनै दिन लेख्नेछन् । हामी उनीहरूलाई पर्खने छौँ ।

भारतको पानीट्याङ्कीबाट ल्याएको सोनी कम्पनीको रेडियो घरको बुइँगलमा थियो । घरमा कोही थिएनन् । दरबारमा कोही नभएपछि सुसारेले पनि आफूलाई महारानी सम्झन्छे । सबै भएको बेला त मुसा नै हो । मेरो हालत पनि घरमा त्यस्तै थियो ।

घरमा कोही थिएन । कोही नभएपछि घरको अधिराजकुमार म नै थिएँ । राजकुमार भएपछि राजकुमारलाई भोक लाग्यो, राजकुमारले भान्सामा पसेर चिनी मुठ्याउनु भयो । राजकुमारलाई तिर्खा लाग्यो, राजकुमारले चुक अमिलो बनाउनु भयो र सड्काउनु भयो । राजकुमारलाई अल्छी लाग्यो, राजकुमार बुइँगलमा चड्नुभयो र रेडियो खोल्नु भयो । कान्तिपुर र रेडियो नेपाल बज्थ्यो । रेडियो नेपालको सरकारी आवाज प्रस्टै चिनिन्थ्यो, बिरक्त लाग्ने । तर रेडियो नेपालको गीत चाहिँ औधी मन पर्ने । पुराना गीतप्रति मोहको लागि रेडियो नेपाललाई धन्यवाद । विलासीको लोभमा राजकुमारले रेडियो खोलेर सिरकमाथि खुट्टा राख्दै गीत सुन्नुभयो, गीतको मध्यतिर पुग्दै थिएँ । रेडिया स्वाँ…. गर्दै सानो बज्न थाल्यो । ब्याट्रीबाट चल्ने रेडियोलाई मैले तिर्खा लाग्यो सम्झिएँ । तीन गिलास जति स्पीकरमा पानी हालेपछि खोलेँ । रेडियो त फेरि कहाँ बज्नु ? बरु साँझमा म बजेँ, आमाको हातबाट ।

बच्चाहरू यस्तै हुन्छन् । आमाले जति पिटे पनि आमा भन्दै आमाकै सारीको सप्को समाउन पुग्छन् ।

घरमा वाकमेन किन्दिनु भनेर आन्दोलन गरेँ । मेरो मागको लागि कोही वार्तामा बसेन । आमालाई एक्लौटी माग गरेँ, माग सिधै बदर भयो । सुपारी बारीमा एक्लै खेल्दै थिएँ । टिनाफलाम भैया आएको देखेँ । दुइटा काँटी दिँदा पनि दालमोठ दिन्थ्यो । म काँटी खोज्न लागेँ । मेरो भाग्य, घरमा कोही थिएन । घरमा कोही नभएपछि अलि ठूलो फलाम खोज्न लागेँ । भुसे चुले थियो तर नयाँ । नयाँ त के दालमोठसँग साट्नु भनेर बोकिनँ । भैया निकै माथि पुगेका थिए । मैले उनलाई फेरि बोलाएँ । पैसामा दाम मिलाएँ । सय रुपियाँ दिने भयो । वाकमेनलाई पचास रुपियाँ पथ्र्यो । बेच्दिएँ, नयाँ भुसे चुले । चोकमा गएर किनेँ वाकमेन । क्यासेट घरमै थियो, शम्भु राइको क्यासेटमा बजाएँ वाकमेन, “चिठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो ।”

साँझ आमाले चिठी बिर्सिने गरेर झ्याम हानेपछि मनमनै सोचेँ, ‘अब कहिल्यै गल्ती गर्दिनँ’ मैले आमासँग मनमनै कसम खाएँ ।

जीवनमा कति कसम खाइयो भनेर तुलोमा राख्न मिल्दैन । मिल्ने मेरो कसमको पल्ला उठ्ने नै थिएन । स्कुलको गेटमा स्कुल बिदा हुने बेलामा आमा लिन आइपुग्नु भनेको संसारकै प्रिय क्षण हो । आमालाई दङ्ग्यानु भनेको जीवनको पाठ हो ।
बच्चा बेलाको जसरी जीवनमा फेरि आमाको पछि लाग्न पाइँदैन । आमाको पछ्यौरीमा लुटपुटिएर फेरि बजार जाने दिन आउँदैन । आजकाल बजारमा कुनै केटाकेटी आमाको पछि देखेँ भने म बाल्यकालमा फर्कन्छु । जहाँ बितेका छन् मेरा क्षण । आमाको पछ्यौरीलाई प्रेम ।