युद्ध

                                                          लुइजी पिरान्देलो

कवि, नाटककार, उपन्यासकार एवम्‌ कथाकार लुइजी पिरान्देलोको जन्म २८ जुन १५६७ मा इटालीको सिसिलीमा भएको थियो । बोन बिश्वविद्यालयबाट दर्शनशात्रमा विद्यागारिधि गरेपछि रोमको विभिन्न टिचर्स कलेजमा सहित्यको प्राध्यापकमा नियुक्त भए । उनले १८८९ मा एउटा कबिता सङ्ग्रह प्रकाशित गरेपछि उपन्यास लेखन सुरु गरे । उनको पहिलो उपन्यास दि आउटकास्ट सन्‌ १८९३ मा प्रकाशित भयो । स्‌न १९१५ मा रङगमन्चतर्फ आकर्षित भएका पिरान्देलो १९१८ सम्ममा त पूर्ण रूपमा त्यसैमा समर्पित भैसकेका थिए । सन्‌ १९२३ मा राष्ट्रिय कला थिएटर स्थापना गरे । मुसौलिगीको सहयोगमा दृश्यकला र नाटकको यथार्थलाई पुनर्जीवन दिएबापत उनलाई सन १९३४ मा साहित्यतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । दि आउटकास्ट (१८९३) हेनरी फोर्थ (१९२२) याजु गु डिजायर मि (१९३४) सिक्स क्यारेक्टर्स इन सर्च अफ एन अथर (१९२१) आदि उनका कृतिहरू हुन्‌ । उनको मृत्यु सन्‌ १९३६ मा भयो ।

प्रथम बिश्वयुद्धताका इटालीको रेलयात्राको सेरोफेरोमा घुम्छ । धुरी राष्ट्रसित इटाली युद्धमा संलग्न भएको बेला रेलमा यात्रारत यात्रुहरू समेत मन बचनले युद्धमा संलग्न हुन्छन्‌ । रोमबाट नाइट एक्सप्रेसमा यात्रा सुरु गरेका यात्रीहरू एउटा सानो पुरानो बस सेवा हुँदै सुल्मोनासँगैको रेलमा थप यात्रा तय गर्नका लागि उज्यालो नहुन्जेलसम्म फ्याब्रियानो रेल स्टेसनमा रोकिनुपर्नेमा बिहान हेर्दा यात्रुले खचाखच भरिएको, धुवा र धुलोले रङमडिएको दोस्रो दर्जाको डिब्बामा पाँचजनाले रात बिताइसकेका थिए । एउटी छन्द न बन्दकी मोरी आइमाई अचानक अलापबिलाप गर्न थालिन्‌ । उनको पछाडि एक जना दुब्लो-पातलो सानो कदको फुस्रो अनुहारको, चिम्सा र तेजिला आँखा भएको उनको लोग्ने अलि लजाएजस्तो र अप्ठ्यारो महसुस गरिरहे जस्ता देखिन्थे ।

अन्तत: सिटमा बसिसकेपछि आफ्नी श्रीमतीलाई बस्ने ठाउँ दिएकोमा यात्रुहरूलाई सहर्ष धन्यवाद दिए उनले । त्यसपछि श्रीमतीतिर फर्किदै उनले श्रीमतीको कोटको कलर मिलाइदिए अनि नम्र स्वरमा सोधे-
“तिमीलाई ठिक छ प्रिय ?”
जबाफ दिनुको साटो श्रीमतीले कोटको कलर फेरि आँखासम्म आइपुग्ने गरी तानिन्‌ ता कि अनुहार छोप्न सकियोस्‌ । खराब संसार, उदास मुस्कान लिएर लोग्नेचाहिँ भुतभुताउन थाले ।

आफ्ना सहयात्रीहरूलाई दया गर्न लायक नाजुक अवस्थाकी आफ्नी श्रीमतीको वारेमा बताउनु आफ्नो परमकर्तब्य सम्झे उनले । अलापबिलाप गर्नुको खास कारणचाहिँ एक्लो छोरालाई युद्धले उनीबाट छिनेर लगेको थियो भर्खर बिस वर्षमा टेकेको खाउँखाउँ, लाउँलाउँ उमेरको छोराका लागि उनीहरूले आफ्नो सम्पूर्ण जीवन अर्पेका थिए । छोरा भन्दामा सुल्मोनाको घर छाडेर उसको पछि पछि लागेर रोम आएका थिए उनीहरू । पढ्न भनेर रोम आएको थियो ऊ । कम्तीमा छ महिनासम्म युद्धको अग्र मोर्चामा पठाइने छैन भन्ने सर्तसहित स्वयंसेवकका रूपमा युद्धमा भाग लिने अनुमति दिएका थिए उनीहरूले । तर अहिले आएर अचानक यस्तो तार (खराब) पाए । तीन दिनभित्र उसले युद्धका लागि प्रस्थान गर्नुपर्ने छ र छोरालाई बिदाइ गर्दै उनीहरूले त्यो ठाँउ छाड्नुपर्ने छ ।

ठुलो कोट लगाएकी ती महिला पीडाले बहुतै छटपटाइरहेकी थिइन् । बेला बेलामा जङ्गली जनावरले जस्तो ङ्यार्रदुर्र गर्थिन्‌ उनी। त्यत्रो बेरसम्म दुखेसो पोख्दा पनि आफूले जस्तै पीडा भोगेका मानिसहरूबाट सहानुभूति बटुल्न सकिनन्‌ उनले । खुब ध्यान दिएर उनको कुरा सुनिरहेका यात्रुमध्ये एक जनाले भने “तपाईंले धन्यवाद दिनैपर्छ किन कि तपाईंको छोरो युद्धको अग्रमोर्चाका लागि भर्खरै मात्र खटिएको रहेछ । हेर्नुस्‌, मेरो छोरोलाई त युद्धको पहिलो दिनमै अग्रमोर्चामा खटाइएको छ । दुई दुई चोटि घाइते भएर फर्किदा पनि फेरि अग्रमोर्चामै खटाइएको छ । मेरो पनि कुरा सुन्नुहुन्छ कि ? मेरो त दुईटै छोरा र तीनओटा भतिजा अग्रमोर्चामा छन् ।” अर्को यात्रुले भन्यो ।

होला हुन त तर हाम्रो त त्यहि एयटा ।” साहस बदुल्दै लोग्नेचाहिँले भने ।
“यसले के फरक पर्छ र, एक्लो छोरो भनेर बढी नै माया गर्नुहन्छ होला तपईं । यदि अरू पनि छोरा भैदिएको भए पनि उसलाई कम माया त गर्नुहुन्नथ्यो होला । आमाबाबुको माया रोटीजस्तो होइन टुक्रा टुक्रा पारेर छोराछोरीलाई बराबरी बाँड्न सकियोस्‌ । आफ्ना सन्तानलाई बिनाभेदभाव माया गर्छ एउटा बाबुले । सन्तानचाहिँ एउटै होस्‌ वा चाहे दशवटा, यतिखेर म मेरा दुवैवटा छोराहरूको प्रेममा आधा आधा तड्पिरहेको छैन बरु दोब्बर तड्‌पिरहेको हुँला ।”

ठिक भन्नुभो तपाईंले अकमक्क परेको लोग्ने चाहिले लामो सुस्केरा हाल्दै भने, “तर मानी लिनुस्‌ वास्तवमा हामी तपाईंलाई यस्तो नहोस्‌ भन्ने नै कामना गछौं । एउटा बाबुका दुईटै छोराहरू युद्धको मोर्चामा खटिए । एउटा छोरा गुमाउए पनि अर्को छोरो त बाँकी छ नि सान्त्वनाका लागि होइन र ?”

हो… हो ! सही भन्नुभो” अर्कोले सही थाप्यो । सान्त्वनास्वरूप बाँचेको त्यही एउटा छोराको मुख हेर्नुपर्ने हुन्छ उसले तर भएको एक्लो छोरो पनि मरेको बाबुको हकमा त पीडा खप्न नसकेर आफै पनि प्राण त्याग्न सक्छ हैन र ? यी दुईवटा परिस्थितिमा कुन चाहिँ बढी खराब छ देख्नुहुन्न तपाईं ?

“वाहियात !” राता राता आँखा र पुक्क परेको अनुहार भएको एउटा मोटो यात्रुले बिचमा हस्तक्षेप गर्दै भन्यो । ऊ स्यवाँस्वाँ गर्दै थियो । उसका सुन्निएका आँखाबाटै प्रस्ट हुन्थ्यो कि अनियन्त्रित जोसबाट उत्पन्न भित्री हिंसाको भाव प्रकट भैरहेको छ उसको र शरीरले त्यसलाई थेग्न मुस्किल परिरहेको थियो ।

“वाहियात !” उसले फेरि दोहोर्यायो । अगाडिका फुक्लेका दुईवटा दाँत नदेखियोस्‌ भनेर हातले मुख छोप्ने कोसिस गर्दै थियो ऊ । “आफ्नो निजी स्वाथका लागि हामीले सन्तान जन्माएका हौँ र ?”
अरू यात्रुले उसको मुखमा ट्वाल्ल परेर हेरिरहे । युद्धको पहिलो दिनमै अग्रमोर्चामा खटाइएको छोराको बाबुले चाहीँ लामो सास फेर्दै भन्यो- ठिक भन्नुभयो तपाईंले, हाम्रा सन्तान हाम्रा लागि मात्र हैनन् उनीहरू देशका लागि पनि हुन् …..। ”

बकवास !” मोटोघाटो देखिने यात्रुले हकार्दै भन्यो- “सन्तान जन्माउँदै गर्दा हामीले देशका लागि भनेर जन्माएका थियौँ र ! हाम्रा छोराहरू जन्मे किनभने तिनीहरूलाई जन्मनु थियो र जन्मदै गर्दा उनीहरूले जीवन पनि संगै लिएर जन्मिन्छन्‌ । यही नै सत्य हो । हामी उनीहरूका लागि हाँ, तर उनीहरू हाम्रा लागि होइनन्‌ । जब उनीहरू बिस वर्ष पुग्छन्‌ त्यो उमेरमा हामीजस्ता थियौं ठ्याक्कै उनीहरू पनि त्यस्तै हुने हुन्‌ । हाम्रा पनि त बाबुआमा थिए, बाबआमाभन्दा पनि अरू बढी थुप्रै चिजहरू थिए, जस्तो केटीहरू, चुरोट, भ्रम नयाँ सम्बन्ध अनि देश विदेश आदि इत्यादि । तर कसको कुरा खायौँ र हामीले ? जति बेला हामी बिस वर्षका थियौँ बाबुआमाले नभनेकै भए पनि, यो उमेरमा पनि हामीमा अझै सोचौं, देशप्रेमले छुँदै छ अझ भनौं आफ्ना सन्तानको भन्दा पनि बढी माया हुन्छ देशको । हामीमध्ये कसले पो युद्धको अग्रमोर्चामा आफ्नो छोरालाई नपठाउला र यदि उसले सक्छ भने ?”

एकछिन सबैतिर मौनता छायो । सबैले स्वीकृतिसूचक मुन्टो हल्लाएर होमा हो मिलाए ।

मोटो मान्छेले सोध्यो “किन बिस वर्ष पुगे भन्दैमा के हामीले सन्तानको भावनाको कदर गर्नु पर्दैन ? यो उमेरमा देशप्रति समर्पित हुनु अस्वाभाविक हो र ? (म सपुतहरूको कुरो गर्दै छु) अझ हामीलाई भन्दा देशलाई नै बढी माया गर्नुपर्ने हैन र उनीहरूले ? हामीलाई जसरी उनीहरूले सम्मानका दृष्टिले हेर्छन्‌, त्यसै गरी हिँडडुल गर्न नसक्ने, घरमै बस्न बाध्य भएका बुढापाकाहरूलाई पनि सम्मानका दृष्टिले हेर्नुपर्छ उनीहरूले यदि माया छ भने । जसरी बाँच्न खानाका आवश्यक छ, त्यसै गरी देशका लागि आवश्यक परे मैदानमा उत्रिनुपर्छ युवाहरूले । बिस वर्ष पुग्नासाथ हाम्रा छोराहरू पनि त्यसै गरी जाने छन्‌ । युद्धमैदानमा छोराहरू मारिए भने पनि बाबुआमाले आँसु झार्नु बेकार छ । हाँसी हाँसी मर्छन्‌ उनीहरू (म सपूतहरूको कुरा गर्दैछु) यदि उनीहरू हाँसी हाँसी युवावस्थामै मरे भने दिक्दारी, तिक्तता, दुखाइ, अभावजस्ता जीवनका पाटाहरूसित जुध्नु पनि परेन अनुभव गर्नु पनि परेन । त्यहाँ भन्दा बढि अरू के चाहियो ? ईश्वरलाई धन्यवाद दिनैपर्छ त्यसका लागि । बिलौना गर्नुको साटो हाँस्नुपर्छ सबैले, जस्तो म गर्दै छु । मैलेजस्तै ईश्वरलाई धन्यवाद दिनुपर्छ सबैले किनभने मेरो छोराले आफूले गर्न सकेजति देशका लागि गरेर मर्न पाए आफू सन्तृष्ट हुने थिएँ भनेर खबर पठाएको थियो मर्नुअघि । त्यसैले हेर्नुस् बेकारमा शोक गर्न छाडिसकेँ मैले त ।

उनले आफ्नो कोट हल्लाउँदै गर्दा दाँत नभएको गिजा देखियो । उनका आँखामा आँसु छचल्किएको थियो । अचेतजस्तै देखिन्थे उनी । हाँसाो मिश्रित कर्कश स्वरमा उनले आफ्नो कुरा टुङ्ग्याए । बिलकुल सही बिलकुल सही” अरूले सहमति जनाए ।

कोटभित्र गुटमुटिएर एउटा कुनामा बसिराखेकी ती महिलाले सबैका कुरा सुनिराखेकी थिइन् । आफू गहिरो शोक र दुखमा पर्दा आफ्नो लोग्ने र साथीहरूबाट सहानुभूतिका शब्दहरू सुन्न उनी विगत तीन महिनादेखि लालायित थिइन्‌ र सुन्दै पनि आइराखेकी थिइन्‌ । एउटी आमाले कसरी आफ्नो छोरालाई मृत्युको मुखमा धकेल्छिन्‌, त्यस्तो अवस्थामा सहानुभूतिका शब्दहरू सुन्न चाहे पनि राहत मिल्ने खालका शब्दहरू सुन्न पाइराखेकी थिइनन्‌ । आफ्नो पीडा सुनाउने मान्छे कोही नपाउँदा उनको दुःख झन्‌ झन्‌ बढदै थियो ।

अहिले आएर ती यात्रुका शब्दले उनलाई अचम्भित तुल्यायो, परिस्थिति बुभन नसक्नु आफ्नै गल्ती भएको अचानक महसुस गरिन्‌ उनले । अरूले आफूलाई बुभ्न नसकेको होइन, आफू नै अरूजस्तै बाबुआमाको उचाइमा पुग्न नसकेकोमा ग्लानि भयो उनलाई जसले आफ्नो छोराको बिदाइ मात्र होइन मृत्युवरण गर्दासमेत रोइकराइ गरेनन्‌ ।

उनले मुन्टो उठाइन्‌ । मोटो मान्छेले आफ्नो छोरोले कसरी राजा र मुलुकका लागि ज्यान अर्पेर नायक बन्यो भन्ने कुरा विस्तृत रूपमा ध्यानपूर्वक सुन्न कुनाबाट मुन्टो फर्काइन्‌ । मोटो मान्छेको छोराले हाँसी हाँसी बिनापश्चात्ताप मृत्युवरण गरेको थियो । कहिल्यै कल्पना नगरेको अपरिचित संसारसित ठक्कर खान पुगिन्‌ उनी । आफ्नो छोराको मृत्युका वारेमा वैराग्यपूर्ण भाषामा बोलिरहेको बहादुर बाबुलाई बधाई दिन नपाउँदै उनलाई गौरवको महसुस भैरहेको थियो, ज्यादै खुसी देखिन्थिन्‌ उनी ।

त्यसपछि अकस्मात्‌, मानौँ उनी कसैको कुरै सुनिराखेकी थिइनन्‌ या अझ भनौं सपनाबाट एक्कासि बिउँझेजस्तो गरी उठिन्‌ अनि ती वृद्धतिर फर्केर सोधिन्‌- “उसो भए साँच्चिकै मरेकै हो त तपाईंको छोरो ?” सबैले उनलाई ट्वाल्ल परेर हेरे । ती वृद्धले पनि उनलाई आँसु भरिएका चिम्सा र सुन्निएका आँखाले हेरे । अलि बेरसम्म महिलाको प्रश्नका जबाफ पाउने प्रयास त गरे । तर उनका वाक्य फुटेन। उनले महिलातिर हेरिमात्र रहे टुलुटु । त्यस्तो सिल्लि वा अप्रासंगिक प्रश्न सोधेकोमा उनलाई पत्नुतो पनि भो । ती वृद्धको छोरो वास्तवमै मरेको रहेछ भन्ने थाहा भो उनलाई । कहिल्यै नफर्किने गरी गएको रहेछ ऊ । उनको अनुहार खुम्चियो, नराम्रो बृतित भो । हतार खल्तीबाट रुमाल निकालेर आँसु पुछ्न थाले । सबै छक्क पर्ने गरी मुटु नै चुँडिने गरी सुँक्कसुँक्क गर्न थाले ।