नामै नभएको एउटा बेनामी चिठी झैँ
गुमनाम भएको छ एउटा जिन्दगी
हेमन्तको बाक्लो कुइरोमा हराई रहेको काग झैं
गन्तव्यविहीन भएको छ एउटा जिन्दगी

पुग्नुपर्ने अन्त कतै थियो तर पुग्यो कतै अन्तै
अनायासै दिशाहीन भएको छ एउटा जिन्दगी
विवशताको गहिरो भवसागरमा डुबुल्की मार्दामार्दै
तैरिनै नसकेर थकित र गलित भई, गतिहीन भएको छ
एउटा गुमनाम जिन्दगी

हिजो पहिचान थियो
वाह ! क्या ! नाम थियो
पहिचानसहितको त्यो नाम, सुनाम बनाउने ध्याउन्नमा
हेर्दा सहयोगी जस्तै देखिने,
असहयोगीहरू…
आँखा चिम्लेरै विश्वास गर्यो
आफन्तकै विश्वासघातमा पर्यो

जानेरै, नजानेरै, बुझेरै नबुझेरै
गर्न हुने, नहुने, के के गर्यो-गर्यो
पहिचानरूपी उसको नाम, सुनाम, कुनाम हुँदै
आखिर बद्नाम भयो
त्यसैले त आज गुमनाम छ
एउटा जिन्दगी ।