सारनो बन्दरगाहमा डुङ्गा पुग्दा टेरेसका सबै बत्ती निभिसकेका थिए । अनि उसलाई उसले चिनेका जति सबैजना निदाइसकेको थाहा भयो । समुद्री हावा तीव्र गतिमा चलिरहेको थियो । बन्दरगाह सुनसान थियो । बूढोले आफूनो डुङ्गा स-साना डुङ्गा थुपारेको ठाउँतिर लग्यो । उसलाई सघाउने कोही थिएन त्यहाँ । जसोतसो आफैंले डुङ्गा मास्तिर तान्यो । त्यसपछि डुङ्गाबाट ओर्ल्यो अनि एउटा ढुङ्गामा डुङ्गा बाँध्यो बूढोले |

उसले पाल खोल्यो अनि पट्टयाएर बाँध्यो । पट्याएको पाल काँधमा हालेर उकालो चढ्न थाल्यो । कति थकाइ लागेको रहेछ हिँडेपछि मात्रै थाहा भयो उसलाई । एकछिन उभिएर पछाडि फर्केर हेर्दा उसले सडक बत्तीको उज्यालोमा डुङ्गाको पछाडिबाट माछाको पुच्छर देख्यो । माछोको सेतो नाङ्गो मेरूदण्ड, चुच्चोसहितको कालो टाउको अनि मासुरहित कङ्काल पनि देख्यो बूढोले ।

ऊ फेरि उकालो चढ्न थाल्यो अनि मास्तिर पुगेपछि दुवै काँधमा पर्ने गरी पाल राखेर एकछिन बस्यो । उभिने कोशिस गर्यो बूढोले | निकै गाह्रो भयो उसलाई उभिन । काँधमा पाल राखेर बसी-बसी बाटोतिर हेर्यो । अलि परैबाट एउटा बिरालो आफ्नो काम सकेर कतै जाँदै गरेको देख्यो उसले । त्यसपछि उसले पनि बाटो मात्रै हेरिरह्यो ।

बूढो अन्ततः पालको खाँबो भूइँमा राखेर उभियो । एकछिन पछि पालको खाँबो काँधमा हालेर हिड्यो ऊ । आफ्नो झुप्रोमा पुग्नुअघि उसले पाँच चोटि बाटामा थकाइ मार्नु पर्यो ।

झुप्रोभित्र उसले पालको खाँबो भित्तामा ठङ्याएर राख्यो ।

अँध्यारोमा छाम्‌छाम्‌छुमछुम गरेर पानीको बोतल भेट्टायो अनि अलिकति पानी पियो बूढोले । त्यसपछि ओछ्यानमा पल्टियो । कम्बल तानेर काँध, खुट्टा र ढाड छोपिने गरी गम्लङ्ग अनि दुवै हात फिँजाएर हत्केला मास्तिर फर्काएर घोप्टो पर्यो अनि पत्रिका ओछ्याएर सुत्यो बूढो ।

विहान केटो (मानोलिन) आएर झ्यालबाट हेर्दा बूढो त निदाइराखेको – थियो । त्यो दिन समुद्रमा हावा जोडले चलेकाले कोही पनि माझीहरू माछा मार्न गएका थिएनन्‌ । त्यसैले केटो अबेरसम्म सुतेर सँधैको जस्तो विहानै उठेर बूढोको झुप्रोमा आयो । बूढाले सास फेरेको देख्यो केटोले । बूढोको हात देखेर केटो त रून पो थाल्यो | केटो बूढोले चाल नपाउने गरी कफी लिन बाहिर गयो | बाटोभरि रोइरह्यो केटो ।

थुप्रै माझीहरू डुङ्गा वरिपरि भेला भएर बूढोको डुङ्गामा के बाँधेको छ भनेर हेर्न थाले । एकजना माझी सुरूवाल माथि सार्दै पानीमा पस्यो अनि डोरीले त्यो कङ्कालको लम्बाइ नाप्दै थियो ।

केटो पानीभित्र पसेन । ऊ यस अघि नै त्यहाँ गएर आइसकेको थियो । एकजना माझी डुङ्गाको रेखदेख गर्दै थियो ।

“बूढोलाई अहिले कस्तो छ ?” एकजना माझीले चर्को स्वरमा सोध्यो ।

“सुतिराखेका छन्‌ मस्त ।” केटोले भन्यो । केटो रोइरहेको देखे अरूले तर कसैले वास्ता गरेन उसको । केटोले भन्यो, “बूढोलाई कसैले वाधा नपुर्याउनू ।’

“त्यो माछो नाकदेखि पुच्छरसम्म पूरा अठार फीट लामो छ ।” कङ्काल नाप्ने माझीले भन्यो ।

“होला ।” केटोले भन्यो ।

टेरेसमा पसेर उसले एक कप कफी माग्यो ।

“कफी चाहिँ तात्तातो अनि दूध र चिनी अलि धेरै हालेको होस्‌ है ।” “अरू केही ?”

“अहँ ।” उनले के के खान्छन्‌ सोधेर पछि भनौला ।”

“कत्रो ठूलो माछो” टेरेसको मालिकले भन्यो । यति ठूलो माछो त अहिलेसम्म कसैले मारेकै थिएन तैंले हिजो मारेको दुईटा माछा पनि राम्रै थिए ।”

“धिक्कार छ मेरा माछालाई |” यति भनेर केटो त रून पो थाल्यो ।

“तँ केही पिउँछस्‌ कि ?” टेरेसको मालिकले सोध्यो ।

“अहँ ।” केही पनि पिउँदिन ।” केटोले भन्यो, “सान्टियागोलाई विरक्त नतुल्याउनू भन्दिनू सबैलाई । म फर्किहाल्छु एकैछिनमा ।”

“म ज्यादै दुःखी छु । उनलाई भन्दिनू ।” टेरेसको मालिकले भन्यो ।
हुन्छ भनिदिउँला ।” केटोले भन्यो ।

तात्तातो कफी बोकेर केटो बूढोको झुप्रोमा पुग्यो अनि बूढो नब्यूँझिउन्जेलसम्म छेउमा बसिरह्‌यो । एकचोटि ब्यूँझे जस्तो गर्यो बूढोले तर बूढो मस्त निद्रामा परेकाले केटो कफी तताउन दाउराको खोजीमा बाहिर निस्क्यो ।

अन्ततः बूढो ब्यूँझयो । “उठेर बस्नुपर्दैन । केटोले भन्यो, “यो कफी पिऊ ।”

गिलासमा कफी खन्याइदियो उसले | बूढो कफी पिउन थाल्यो ।

“तिनीहरूले मलाई पराजित गरे मानोलिन” साँच्चिकै पराजित गरे तिनीहरूले मलाई ।

“अहँ होइन माछाले पराजित गरेको त पक्कै होइन्‌ । माछाले होइन ।” बूढोले आफूलाई समालिदै भन्यो ।

“त्यो त पछिको घटना हो ।” बूढोले फेरि भन्यो ।

“तिम्रो डुङ्गा र अन्य सामानको रेखदेख पेद्रिकोले गर्दैछ । माछाको टाउकाले तिमी के गर्न चाहन्छौ त ?” केटोले भन्यो ।

“माछाको चारो बनाउन पेद्रिकोलाई- देऊ त्यो टाउको ।” “तिमीलाई चाहिन्छ भने राख ।”

“हो मलाई चाहिएको छ ।” केटोले भन्यो । अब हामीले के गर्ने सोच्नुपर्छ ।

“तिनीहरूले मलाई खोज्दै थिए कि क्या हो ?”

अँ खोज्दै थिए । समुद्रीतटका गार्ड र हवाइजहाजहरूले खोज्दै थिए तिमीलाई ।

ठूलो समुद्रमा सानो जहाज देख्न मुश्किल पर्छ । बूढोले भन्यो ।

“एक्लै समुद्रसित कुरा गर्नुभन्दा मान्छेसित कुरा गर्नु कता-कता राम्रो हुन्छ । उसले अनुभव गरेको कुरा हो यो । कति सम्झें मैले तिमीलाई ।” बूढोले भन्यो, “अनि तिमीले चाहिँ के के मार्‌यौ त ?”

“पहिलो दिन एउटा, दोस्रो दिन एउटा अनि तेस्रो दिन चाहिँ दुईटा माछा मारे ।”

“सार्है राम्रो ।”

“अब हामी फेरि सँगसँगै माछा मार्न जाऔं हुन्न ?” केटो ले भन्यो ।

“अहँ । म त अभागी हुँ । मेरो त भाग्यै फुटेको छ । धिक्कार छ भाग्यलाई ।” बूढोले भन्यो ।

“भाग्यसाग्यको कुरा छाडिदिऔं ।” म सित हिड्‌ ! भाग्यलाई त म डोर्याई हाल्छु नि ।” केटोले भन्यो ।

“तिम्रो बाबुआमाले के भने हुन्‌ फेरि” बूढोले भन्यो | जे भने पनि भनून्‌ मतलब छैन | हिजो दुइटा माछा मारिहाले । सँगसँगै माछा मारौं अब । मैले तिमीसित धेरै कुरा सिक्नु छ ।” केटोले भन्यो ।

डुङ्गामा सँधै गतिलो खालको भाला र बल्छी राख्नै पर्छ हामीले | पुरानो फोर्ड गाडीको फलामबाट बेनेको चक्कु धारिलो हुनुपर्छ नि ! अरू फलाम मिसाउनु चाहिँ हुँदैन नि फेरि | भाँचिन्छ छिट्टै । “मेरो चक्कु भाँचियो ।” बूढोले भन्यो ।

“म स्प्रिङको अर्को चक्कु ल्याउँछु ।” केटोले भन्यो ।
“यस्तो जोडको हावा कति दिन नै चल्यो रे ?” बूढोले सोध्यो ।

“सायद तीन दिन जति भयो होला ।” हुन सक्छ अझ बढी ।” केटोले भन्यो।

“म सबैथोक ठीकठाक पार्छु ।” बूढा, तिमी आफ्नो हात छिटो ठीक पार ।” केटोले बूढोलाई सम्झाउँदै भन्यो ।

“कसरी ठीक पार्नुपर्छ मलाई थाहा छ । राति मैले केही अनौठो चीज खाएर सुतेका थिए | मेरो छाती फुट्ला जस्तो भएको छ ।” बूढोले भन्यो ।

“पहिला आराम गर्नुहोस्‌ ।” एकछिन सुत बूढा, अनि तिम्रा लागि सुकिलो लुगा र खानेकुरा ल्याइदिन्छु । केटोले भन्यो ।

‘मैले अघि पढेका पत्रिका भेटिस्‌ भने ल्याउनू ।” बूढोले भन्यो ।

“तिमी चाँडै निको होऊ किनभने मैले तिमीसित धेरै कुरा सिक्नु छ अनि तिमीले पनि धेरै सिकाउन बाँकी छ मलाई । धेरै दुःख पायो तिमीले ।” केटोले भन्यो ।

“धेरै दुःख पाएँ ।” बूढोले भन्यो ।

“खानेकुरा र पत्रिका लिएर आउँछु ।” राम्रोसित आराम गर बूढा । औषधी पनि ल्याइदिउँला तिम्रो हातको लागि ।” केटोले भन्यो ।

“माछाको टाउको पेद्रिकाले लैजाओस्‌ । नबिर्सी भन्नू ।” बूढोले भन्यो ।

“भैहाल्छ नि । बिर्सिन्न म ।” केटोले भन्यो ।

ढोकाबाट बाहिर बाटोमा निस्किनासाथ फेरि रूनथाल्यो केटो ।

त्यो दिन दिउँसोतिर टेरेसमा पर्यटकको एउटा समूह आएको थियो । पानीमा वियरका खाली बोतल र एउटा ठूलो लामोर सेतो हड्डी अनि पछाडिको लामो पुच्छर पूर्वी हावामा हल्लिरहेको देखिन्‌ एउटा महिलाले ।

“के हो त्यो ?” त्यो विशाल माछाको कङ्काल जुन समुद्री छालले बगाउन ठीक पारेको फोहोर जस्तो देखिन्थ्यो । त्यतातिर औल्याउँदै वेटरलाई सोधिन्‌ ती महिलाले ।

“टिबुरन्‌” वेटरले भन्यो अर्थात्‌ शार्कको कङ्काल । घटना बताउने कोशिस गर्दै थियो ऊ |

“मलाई थाहै थिएन शार्कको यति राम्रो आकर्षक पुच्छर हुन्छ भनेर ।” महिलाले वेटरलाई भनिन्‌ ।

“मलाई पनि थाहा थिएन । उक्त महिलाको पुरूष साथीले भन्यो |

बाटोमाथि आफ्नो झुप्रोमा बूढो घोप्टो परेर सुतिराखेकै थियो अझै | अनि केटो चाहिँ बूढाको छेउमा बसेर उसलाई हेरिरहेको थियो । बूढो त्यतिबेला सिँहको सपना देखिरहेको थियो ।