भोजनपछि आफ्नो कथा सुनाएर राजकुमारलाई प्रभावित बनाउने प्रयास गरे ।
“मेरो नाम माइल्ज हैडन हो | मेरो बुबा सर रिचार्ड धनी र दयालु हुनुहुन्थ्यो । म सानो छँदा मेरी आमा बित्नुभयो । मेरो दाजु आर्थर पनि बुबाजस्तै दयालु हुनुहुन्थ्यो । तर के गर्नु, मेरो कान्छो भाइ ह्युज चाहिँ अति नीच, लोभी र दुष्ट थियो ।
ह्युज उन्नाईस वर्षको हुँदा म बीस वर्षको थिएँ । आर्थर बाईस वर्षका थिए |
म अति सुन्दर सहरकै धनी व्यापारीकी छोरी लेडी एडिथलाई माया गर्थे । उनी पनि मलाई उत्तिकै माया गर्थिन् । एडिथ सानै छँदा मेरो दाजु आर्थरसँग विवाह गरिदिने पारिवारिक सल्लाह भएको थियो । तर म ढुक्क पनि थिएँ किनभने दाजु आर्थर अर्कै केटीसित प्रेम गर्नुहुन्थ्यो ।
मेरो भाइले पनि ह्यूज लेडी एडिथको सम्पत्तिमा लोभिएको थियो । त्यसैले ऊ पनि एडिथलाई मन पराएको नाटक गर्थ्यो ।
बुबालाई मेरो विषयमा भए नभएका कुरा लगाउँथ्यो । ऊ मलाई खराब देखाएर आफू राम्रो बन्न चाहन्थ्यो । भाइ ह्युजको कुरामा विश्वास गरेर मलाई घरबाट निकालिदियो ।
म विरक्त भएर सेनामा भर्ना भएँ । मैले थुप्रै महादेशीय युद्ध लडेँ । तर अन्तिम युद्धमा मलाई बन्दी बनाइयो । करिब सात वर्ष मैले कष्ट सहँदै जेलजीवन बिताउनुपर्यो । जेलबाट मुक्त भएपछि दङ्ग हुँदै सिधै घर फर्किएँ । यतिखेर घरपरिवारको अवस्था अत्यन्त नाजुक भइसकेको थियो । मलाई सबैले अपरिचित व्यक्तिलाई जस्तो व्यवहार गरे ।
म धेरै दुखित भएँ । जे सोचेर म आएको थिएँ त्यसको ठीक उल्टो व्यवहार पाएँ । मप्रति समाज र सरकारले समेत मानवीय व्यवहार गरेन । त्यसैले म आजकल पागलजस्तो विनाउद्देश्य भौतारिरहेको छु । यस्तो अवस्थामा मलाई तपाईंले सहयोग गर्नुहुन्छ कि भन्ने विश्वास गरेको छु ?
राजकुमारले भने, “कुन व्यक्ति तिम्रो दुःखमा सहयोग गर्न चाहँदैन र ? म अवश्य तिमीलाई सहयोग गर्नेछु ।”
माइल्जले उत्साहित हुँदै भन्यो, “त्यसोभए सर्वप्रथम म हजूरका लागि एउटा राम्रो राजकीय पोशाक बजारबाट किनेर ल्याउँछु ।”
उनले राजकुमारलाई संझाउँदै भने, “म न आउञ्जेल बाहिर ननिस्कनू, यहीँ आराम गरी बस्नू । म छिट्टै हजुरको लागि राम्रो पोशाक किनेर ल्याउँछु । त्यसपछि दरबारमा गएर साँचो कुरा राखौँला । आफ्नो ख्याल राख्नुहोस् ।”
“म राजकुमार हुँ, मलाई आफ्नो ज्यानको रक्षा कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा छ, हजूर डराउनुपर्दैन ।” राजकुमारले भने ।
“तपाईं राजकुमार नै हुनुहुन्छ भनेर त सहयोग गर्दै छु, भन्दै माइल्ज बाहिर निस्के ।”
माइल्ज निस्केको केहीबेरमा नै तीन चारजना मानिसहरू राजकुमारलाई भेट्ने बहाना बनाएर माइल्जको कोठामा आए । जति प्रतिवाद गरे पनि ती मानिसहरूले राजकुमारलाई बाँधेर आफ्नो गन्तव्य स्थानमा लिएर गए ।
जब माइल्ज राजकुमारको लागि नयाँ पोशाक लिएर आए, त्यहाँ सबै चीजबीज लथालिङ्ग थिए । उनले एड्वार्डलाई बोलाए तर केही जवाफ नआएपछि ओछ्यानमा हेर्न गए, उनी त्यहाँ पनि थिएनन् । उनी आत्तिँदै बाहिर आएर एड्वार्ड-एड्वार्ड भनी बोलाए ।
केही पर एकजना मान्छेलाई देखेपछि उनको मनमा केही आशा पलायो | उनले बोलाएर सोधे, “के तपाईंले यहाँ कोही मान्छे आएको देख्नुभयो ?”
उनले भने, “केही मान्छेहरू यहाँ आएका त थिए तर किन आएका थिए, कतिखेर गए ? मलाई केही पनि थाहा भएन ।”
माइल्जलाई निकै फसाद पर्यो । उनले राजकुमारलाई कसले, किन र कहाँ ! लगे भन्ने कुरा ठम्याउनै सकेनन् ।
उनी राजकुमारलाई भेट्न सकिन्छ कि भनेर लन्डन ब्रिजमा अवस्थित साउथ पार्कतिर लागे | तर त्यहाँ पनि राजकुमारलाई भेटाउन नसकेपछि निराश हुँदै उनी घर फर्किए |
लेखकका बारेमा
नाम: मार्क ट्वेन
जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी
विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना
प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |
मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।
हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन् १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन् १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन् १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान् हस्तिको हृदयघातका कारण सन् १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।