“हल्लुँड” शब्द खास गरी कुनै एक वस्तु विशेषलाई जनाउने शब्द हो । कुनै पशु गाई, भैँसी वा मानिसलाई समेत गाली गर्दा पनि यस शब्दको प्रयोग गर्ने गरिन्छ । कुनै वस्तु विशेषलाई जनाउँदा भैँसीको छालाबाट बनेको हलो र जुवालाई जोड्ने एक खालको डोरीलाई जनाउँछ । गाली गर्दा हाड र छाला मात्र भएको, काम नलाग्ने, लफुङ्गो, गएगुज्रेको, मुर्ख, स्वाँठ, भनेर नलाग्ने, कुट्दा पनि नदुख्ने, लुते आदि भन्दालाई जनाउँछ ।

“हल्लुँड” खास गरी पहाडमा पानी कम पर्ने र हलोजुवामा बढी भार पर्ने भएकोले भैँसीको छालाबाट बनाइएको दरो यो हल्लुँडको प्रयोग गरिन्छ । पहाडको खेत, बारीमा ढुङ्गा तथा कडा माटो हुने भएकोले सनपाट तथा अन्यबाट बनेको डोरीको हल्लुँडले एक झड्का पनि नथाम्ने भएकोले भैँसीको छालाबाट बनेकै हल्लुँड प्रयोग गर्नुपर्ने हुन्छ । मधेशमा बढी पानी पर्ने भएकोले भैँसीको छालाबाट बनेको हल्लुँड भिजेपछि कुहिने र छिट्टै चुटिने भएकोले सनपाटको डोरीबाट बनेको हल्लुँडको प्रयोग गरिन्छ । गर्नु पर्ने हुन्छ । जे भए पनि दुवैको काम र नाम एउटै हो । दुवैले जुवामा गोरू नारेपछि हलो र जुवालाई जोड्ने काम गर्छ । हलो र जुवा नजोडीकन खेत बारी जोत्न नसकिने भएकोले हलो र जुवालाई जोड्ने काममा यसको महत्त्वपूर्ण भूमिका हुन्छ ।

म कृषकको छोरो । कृषकको छोरो भए पनि मलाई निक्कै पछिसम्म पनि हल्लुँड भनेको के हो थाहा थिएन । बाउआमाको निक्कै ठूलो खेती थियो । पहाडको दूरदराजको ठाउँ भए पनि हामीलाई बाउआमाले स्कुल पढ्न पठाउनुहुन्थ्यो । हामी विहान उठेर एकछिन् पढ्थ्यौँ । एकछिन् पढेपछि भाततिहुन पाक्थ्यो । खायोओरो स्कुल गयो । दिनभरी स्कुलमै पढ्यो । खेल्यो । बेलुका ४ बजे स्कुल छुट्टी भएपछि घर आयो । घर आएर पनि खाजा खायो । केही काम छ भने गर्यो । नत्र पढ्न बस्यो । पढ्नु छ भनेपछि बाउआमाले त्यति घरको काम लाउनुहुन्न थ्यो । पढ्ने मान्छेलाई सकभर काम लाउनुहुन्न । काम लायो भने पढाइ हुन्न भन्नुहुन्थ्यो । पढ्न छोडेर खेल्न हिँड्यो भने चाहिँ फेरि बुवा अलि कडा स्वभावको हुनुहुन्थ्यो । हल्लुँड भिजाएर भनिहाल्नु हुन्थ्यो । पढिनस् भने तेरा बाउले तँलाई मार्छ गोदेर ।

यहाँ हेर् आज तेरा बाउले के गरिरछ ? भन्दै एक दिन हजुरआमाले हातमा समातेर डोर्याउँदै लगेर देखाउनु भयो । घाँटी तन्काएर यसो हेरेको आँगननेरी एउटा भाँडामा पानी हालेर हल्लुँड डुबाएर राखेको रहेछ । अहिले सम्झँदा जहाँसम्म मलाई लाग्छ त्यो म स्कुल नपुगी बिच बाटोबाटै फर्केको कुनै एक दिन हुनुपर्छ । हल्लुँडले मान्छे कुट्न पनि काम दिन्छ भन्ने कुरा मलाई थाहा थिएन । हजुरआमाले भनिसक्नुभो । यो पक्कै पनि मेरै लागि हो । एक पटक मनमनै सोचेँ । म निक्कै डराएँ । अर्को पटक फेरि मनमनै सोचेँ । म स्कुल नपुगी फर्केको बाउलाई थाहा छैन । अनि दरो मन बनाएँ । फेरि घिच्रो तानेर भाँडातिर हेरेँ । हल्लुँड भिजेर लतक्कै भएको थियो । हल्लुँड भिजेर तयारी अवस्थामा भए पनि त्यसले केही फरक पार्ने वाला थिएन । हजुरआमा साथै हुनुहुन्थ्यो । आमैसँगै भएपछि बाउले मलाई छुन नपाउने । जस्तै गल्ती गरेपनि आमैसँगै भएपछि मलाई बाउ मात्र होइन कसैले केही गर्नै नपाउने । मेरो नाती भनेपछि कसैले चलाउनै पाउँदैनथ्यो । केको डर । उल्टै घमण्डले छाती पो फुल्यो ।

गोरु जोत्न सारै रहर लाग्ने । बुवाले जोत्दाजोत्दै अनाै समाउन पुग्थेँ म । सक्ने भए छेउमै आउने थिएन होला । पर जा मुला याँ नआइज । सक्दैनस् तँ जोत्न । अहिले यही लौराले सुम्याउँछु, भन्नु हुन्थ्यो । छेउमै जान नदिने । गोरु मेलामा नहिँड्दा त्यही लौराले बेलाबेला गोरु सुम्ल्याएको देखेको थिएँ । दुई हल गोरु जोत्नु हुन्थ्यो बुवा त्यसबेला । विहान एक हल । दिउँसो अर्को हल । सन्केको बेला पर्यो भने त सुम्ल्याउँन पनि बेर थिएन । होस गर्नु पर्ने आफैँले थियो । गग्रेटामाथि भित्ताको एउटा कुनामा झुण्डाएर राखेको अवस्थामा एक दिन देखेँ मैले । चारपाँच ओटा नयाँपुराना । कुनै भैँसीका भुत्लैभत्ला भएका । कुनै भुत्ला नभएका । गुजु जस्ता । पछि बुझ्दा तिनै रहेछन् हल्लुँड । ध्वाँसाले सुकेर काला काठ जस्ता भएका हुन्थे । मही पारेर कहिलेकाहीँ बुवा हातको चिल्लो हल्लुँडमा दल्नु हुन्थ्यो । यसो गर्दा हल्लुँड चिल्ला देखिन्थे । बलिया पनि हुन्छन् भन्नुहुन्थ्यो । त्यत्रा बडाबडा गोरूले काँध हालेर तान्दा पनि नछिन्ने ज्याद्रो हुँदो रहेछ त्यो हल्लुँड भन्ने चिज । खिएर सानो त्यान्द्रो जस्तो हुन्जेलसम्म पनि नछिन्ने ।

एक दिन बुवासँग मैले मकै रोप्न पल्लो बारी जानु पर्ने भयो । जाउँ हिँड केटा मसँग आज डाँडाबारीमा मकै रोप्नुपर्छ । सबैका रोपिसके । हाम्रो ढिलो भइसक्यो । म जोत्छु तँ मकै रोप,भन्नुभयो । मलाई अरू के चाहियो । बुवाले गोरु बिसाएको बेला अनौ समाएर एकैछिन भए पनि जोत्न पाइने भयो । हिउँदे मकै छरेर सुटुनी रोपेको ठाउँ । जोत्दा सुटुनी निस्कन्थे । सुटुनी टिप्न पनि पाइयो ।

बुवाले ठिक पारिदिएको मकैको बीउको झोला बोकेर गोरु धपाउँदै बुवाको पछिपछि लागेँ । बुवा हलोजुवा काँधमा बोकेर अगि लाग्नुभयो । बारीमा पुगेपछि मैले मकैको बीउको झोला काँल्लाको एउटा ढुङ्गामाथि बिसाएँ । बुवा गोरु नार्न थाल्नुभयो । म पर्तिर गराको भित्तामा उभिरहेको थिएँ ।

बुवाले मतिर फर्कंदै झसङ्ग भएको स्वरमा भन्नुभयो, “ए हाओ केटा, हल्लुँड त ल्याइएनछ नि हाओ । जाजा ले । बिर्सिएछ ।”

बुवालाई मैले हल्लुँड चिन्दिन भन्ने थाहा थिएन । “काँ छ ?” भनेर मैले सोधेँ ।

“गग्रेटामाथि भित्तामा झुन्ड्याएको छ । झिकेर लेन । पुगिनस् भने घरमा को छ झिकिमागेर ले ।” भन्नुभयो ।

गग्रेटामाथि भित्तामा झुन्डाएको छ भनेपछि मैले लख काटेँ । ए हल्लुँड भनेको त्यही रहेछ । त्यही मैले देखेको । गुजुजस्तो । बडो जतनसँग राख्नु हुन्थ्यो बुवाले हल्लुँड । माथि झुन्ड्याएर । भुइँफेर राख्नु हुँदैन । कुकुरले भेटायो भने खान्छ भन्नुहुन्थ्यो ।

अर्को एक दिन मैले देखेँ । कुन्नि कुकुरले काँ भेट्टाएछ । हल्लुँड त चपाउँदै रहेछ । थुक र रालले भिजाउँदै चपाउँदै गर्दो रहेछ । अहिले म सम्झन्छु । आजका मान्छेले पैसामा लडाइँ गरे जस्तो । आँगनको डिलमा बसेछ । अगाडिका दुइटा खुट्टाले थिचेर लुछ्दो रहेछ । तीन भागको एक भाग त निलिसकेछ । खोसेर राख्नु पर्यो अब त्यस्तै भए पनि भनेको घुर्रर गरेर ङिच्च दाँत पो देखाउँछ । घिस्याउँदै लिएर हिँड्यो पर खोलातिर । केको खोस्न सक्नु । मेरो बाल मष्तिस्कमा त्यो हल्लुँडको सम्झना बेलाबेला आइरहन्थ्यो । सर्प गुजुल्टिए जस्तो । पछि मधेश जाँदा यसो हेरेको मामाले सनपाटको डोरीको हल्लुँड बनाएर जोतेको देखेँ ।

मामल जाँदाको कुरा । सोधिहालेँ, “हैन हाओ मामा हल्लुँड त सनपाटको डोरीको पो छ त हाओ । भैँसीको छालाको हुनु पर्ने हैन र !” आश्चर्य पनि लाग्यो । डोरीको हल्लुँड देखेकै थिएन ।

मामाले मुसुमुसु हाँस्दै भन्नुभयो, “हैन हाओ भान्जा यो मधेशमा पहाडमा जस्तो छालाको हल्लुँडले हुँदैन । बर्खा लागेपछि पानीको पानी हुन्छ । पानी पानीमा जोत्नुपर्छ । छालाको हल्लुँड त भिजेर कामै लाग्दैन । चुटिहाल्छ नि । पहाड जस्तो हैन । पहाडमा पो पानी पर्दैन । परिहाले पनि पानीपानीमा जोतिँदैन र छालाको हल्लुँड टिकाउ हुन्छ त यो मोरो मधेशमा त डोरी नै ठिक हो । छाला त ढाडिएर चुटिहाल्छ नि पानीले । दुई दिन पनि टिक्दैन । कुहुन्छ पो त ।”

केटाकेटीपन के सुर आयो । एका विहानै खेल्दै जाँदा गोरू जोत्दा चाहिने सबै चिज भेला पार्छु भनेर जम्मा गर्न थालेछु । हलो, जुवा, सैला, जोतारो, हरिस, ठेडी, पाटी, करुवा, फाली, फेटा, अनौ, फुर्लङ आदि सबै । आफ्नै सुरमा मस्त खेलेको बेला स्कुल जाने बेला टरिसक्न लागेछ पत्तै भएन । खेलेको खेलै भएछु ।

स्कुल नजाँदा दिदीसँग गोठालो जानु पर्ने हुन्थ्यो । दिदीसँग वस्तु गोठालो जाँदा मैले एक पटक तमोर किनारमा रहेको एउटा सानो ढुङ्गो टिपेर देखाउँदै भनेको थिएँ, “दिदी हेर कति राम्रो ढुङ्गो ।” त्यो ढुङ्गो हेर्दा बगरका अरू ढुङ्गा भन्दा सामान्यत फरक थियो । सानो भएपनि चिल्लो र साँच्चै राम्रो थियो ।

मेरो कुरा सुनेर दिदीले हातबाट त्यो ढुङ्गो थुतेर फाल्दिँदै भनी, “ढुङ्गालाई राम्रो भन्नु हुँदैन । ढुङ्गालाई राम्रो भन्यो भने त छिट्टै मर म तँमाथि बस्छु भन्छ रे ढुङ्गाले ।”

वाहियत कुरा भनेँ मैले । दिदीका कुरा पत्याइनँ । ढुङ्गो टिपेर सुम्सुम्याउँदै उसले नदेखी हालेँ गोजीमा र घर लिएर आएँ । घरमा आमालाई देखाएँ । आमाले ढुङ्गा चिनिहाल्नु भयो ।” नदीका ढुङ्गा टिपेर ल्याउनु हुँदैन नानी मसान आउँछ घरमा पर लगेर फाल” भन्नुभयो । राख्न दिनु भएन घरमा । दोख आउँछ भनेपछि मैले त्यो ढुङ्गो पर खोलामा लगेर फालिदिएँ । कताकता भित्र मनमा डर पनि लाग्यो । नफाली धरै पाइनँ । त्यो ढुङ्गो आफूलाई भने कम्ती राम्रो लागेको थिएन ।

काँबाट आएर बुवाले हैन यो हल्लुँड अझै स्कुल गा छैन ! भनेर हकार्दा पो झसङ्ग भएँ । सोचेँ अरू त भेला पारेँ । ए हल्लुँड त ल्याकै पो छैन त । यसो फर्केर हेरेको बुवा त हातमा हल्लुँड बोकेर मलाई नै पिट्न आउँदै हुनुहुँदो रहेछ । आँगनभरि कृषि सामग्रीहरू यत्रतत्र छरिएका थिए । पिट्न भनेर हात उजाइसकेपछि बुवाको हात हम्मेसी त्यतिकै थामिँदैनथे । त्यतिकै थामिएको थाहा थिएन । त्यस दिन भने कसरी थामिए । आफैँ चकित भएँ । सायद मैले अपनाएकै कृषि कर्म अपनाउने रहेछ केटाले पनि पछि गएर भन्ठानेर उहाँको भित्री मनमा कतै सहानुभूति पलायो होला कि के हो । पिट्न भनेर उठेका बुवाका हात त्यसै लत्रिएपछि यस्तै ठानेँ । धन्न केही गर्नु भएन । बचियो एक फाललाई भन्ने लाग्यो । स्कुल गएन भनेर राँको हुनु भएको रहेछ ।

त्यतिबेलासम्म पनि मलाई मानिसलाई गाली गर्न पनि हल्लुँड शब्दको प्रयोग गरिन्छ भन्ने थाहा थिएन । सारै लुते मानिस छ भने त्यसलाई लाक्षणिक रूपमा गाली गर्दा हल्लुँड वा हल्लुँडे भनिँदो रहेछ । मधेशमा त आजभोली त्यति गोरु जोत्न छोडे । ट्याक्टरले जोत्छन् । हल्लुँडको त्यति आवश्यक देखिँदैन । पहाडमा पनि यसको उपयोग पहिले जस्तो छैन । तै बरू तै बरू पछि गएर यो हल्लुँड भन्ने शब्द मानिसलाई गाली गर्नका लागि मात्र प्रयोग हुने हो कि भन्ने पनि लाग्न थालेको छ । आधुनिक कृषि औजारका कारण यसो नहोला भन्न पनि सकिन्न ।

केही वर्ष अगाडिको कुरा । १८-२० वर्ष पहिले । म क्याम्पस पढ्दाको कुरा । अध्ययनको क्रममा मेरो बसाइ झापा थियो । क्याम्पस विदाको बेला पहाड घर गइन्थ्यो । नभए चाडबाडमा ।

यस्तै क्रममा घर गएको बेला मलाई एक जना पुलिसले बोलाएर भन्यो, “तपाईं त इन्डियन जस्तो देखिनु हुन्छ ।”

म झस्किएँ । “इन्डियन जस्तो ! कसरी नि ?” मैले सोधेँ ।

“हैन तपाईं बोल्दा इन्डियन जसरी बोल्नु हुन्छ । त्यही भएर ।”

“हत्तेरी के भन्नु हुन्छ मेरो घर त यहीँ ७ नम्बर वडा हो । कसरी मलाई इन्डियन जस्तो देख्नुभो ।”

“तपाईंको बोलीको लवज सुन्दा इन्डियन हो कि जस्तो लाग्छ त्यही भएर सोधेको नि” भन्यो ।

इन्डियाको नाममा यताको पानी टंकी उताको जोगमुनीसम्म पनि नपुगेको मान्छेलाई इन्डियन भन्दा कताकता दुःख पनि लागेर आयो । के भन्नु । मन, मुटुभरि नेपालको माया बोकेर हिँडेको मान्छे । कस्तो कटक्क मन खायो । यति हुँदाहुँदै पनि मनमा अलिकति चिसो भने पस्यो । कसैलाई यो कुरा सेयर गरिनँ ।

मनमा विस्तारै नानाथरी प्रश्न उठ्न थाले । त्यतिबेलाको राजनीतिक अवस्थाले गर्दा पुलिसले ममाथि शङ्का पो गरेको हो कि ! त्यतिबेला भर्खर माओवादी द्वन्द्व सुरु भएको थियो । ब्लेडको एलर्जीको कारण म दारी ढिलो काट्थेँ । दारी पालेको कारण त्यसो भनिएको हो कि भन्ने पनि लाग्यो । कालो छाला भएको मान्छे । अनुहारभरि दारी हुँदा त्यस्तो देखियो कि ठानेँ । म भनेँ त्यतिबेलाको कुनै राजनीतिक गतिविधिमा संलग्न थिइनँ । मनोवैज्ञानिक रूपमा यो कुराले मलाई निक्कै पछिसम्म पनि घोचिरहयो ।

०४५ सालको नाकावन्दीका कारण मेरो भारतप्रति भने निक्कै आक्रोश थियो । म जस्तो सर्वसाधारण मान्छेको आक्रोशले एउटा विशाल मुलुकलाई त्यत्रो के असर पुर्याउँथ्यो र । तर म जस्ता धेरै नेपालीहरू त्यो घटनाले भारतप्रति आक्रोशित भने थिए । कुनै देशको राजनीतिक व्यवस्था फेर्ने भन्ने कुरा त त्यहीँका जनता र देशको कुरा हो नि । नुन जस्तो अति आवश्यक खाद्य वस्तु रोकिदिनु भनेको त ज्यादै अमानवीय कुरा हो भन्ने कुरा थोरैले नबुझेको भए मात्र धेरै नेपालीले त बुझेका थिए । आन्दोलनलाई बल पुर्याउने नाममा नुनजस्तो अत्यावश्यक खाद्य वस्तुको अभाव सिर्जना गरेर नेपालीको चुलो बन्द गर्नु कतिसम्म न्याय सङ्गत थियो । त्यो आफ्नै ठाउँमा छ । भारत आफैँ जानोस् । जो नेपाललाई मुखले सधैँ नजिकको मित्र राष्ट्र भन्छ ।

मलाई अझै सम्झना छ । केटाकेटीमा हामी खरको सिन्कोले धुलोमा नेपालको नक्सा बनाउँथ्यौँ । राम्रो नेपालको नक्सा बनाएर छातीमा टाँस्थ्यौँ । म ठूलो भएपछिको कुरा । जब म कारणवश परदेशिएँ । त्यसपछि भने म आफैँलाई म भित्रको राष्ट्रप्रतिको मायामा कमी आएजस्तो अनुभूति भयो । त्यो एउटा अनुभूति मात्र थियो । राष्ट्रप्रतिको पारिलो मायामा जिजीविषाको क्षणिक छाया परे जस्तो । भित्र मनमा भने यसले खासै फरक पारेको थिएन । मैले त्यहाँ देशभक्तिको पाठ झन् राम्रो र स्पष्टसँग पढ्ने र बुझ्ने मौका पाएँ ।

इजरायल त साँच्चै देश भक्तहरूको देश नै रहेछ । जहाँ आफ्नो घर र सवारी साधनमा समेत आफ्नो देशको झण्डा फरफराइँदो रहेछ । हरेक नागरिकले आफ्नो देशको माया आफ्नै तरिकाले मुटुभरि बोकेर हिँडेका हुँदा रहेछन् । त्यो जो कोहीले भन्दा साँच्चै बढी । मरुभूमिको तातो बालुवाको कणमा पनि आफ्नो देश खोज्नेहरूको देश रहेछ इजरायल ।

भनिन्छ,देशको माया नहुनेलाई अरू कसैको माया हुँदैन । लाग्यो, आफ्नो देश भनेको आफ्नो देश नै हुँदो रहेछ । साँच्चै देश भनेको त आफ्नै छाती भित्रको ढुकढुकी पो रहेछ । म किन आफ्नो देश छोडेर यहाँसम्म आएँ ! म मनमनै भन्थेँ,म मेरो देश नभएर यहाँ आएको होइन । मेरो पनि देश छ । परदेशमा हुँदा आफ्नो देशप्रतिको माया केको घट्नु झन् बढी पो हुँदो रहेछ । त्यसो त यो ३५ वर्ष पछाडिको कुरा हो ।

फेरि उही पहिलेकै कुरा । धेरैपछि एक दिन मैले भित्तामा झुन्ड्याएर राखेको त्यो हल्लुँड झिकेँ । ओल्टाइपल्टाइ हेरेँ । हातले सुम्सुम्याएँ । आँखाभरि आँसु पार्दै छातीमा मायाले टासेँ । जसमा मेरो गाउँ प्रतिविम्बित हुन्थ्यो । उसमा कुनै स्वार्थ थिएन । लाग्यो, निस्वार्थ ऊ युगौँयुगदेखि आफूलाई खियाएर भए पनि यो देशको माटो जोतिरहेको छ । हजुरबाले पनि त्यही हल्लुँड जोत्नुभयो । बुवाले पनि त्यही हल्लुँड जोत्नुभयो । मैले पनि त्यही हल्लुँड जोतेँ । त्यसमा पुर्खाहरूको पसिना र देशको माटोको सुगन्ध आउँथ्यो । मैले फेरि त्यसलाई फर्काईफर्काई नियालेँ । फेरि मायाले छातीमा टासेँ र बुवाले राखेकै ठाउँमा लगेर जतनसाथ राखेँ, जसरी, जहाँ हजुरबाले राख्नुहुन्थ्यो ।