विद्यार्थी भनेका यो मुलुकका आउडा-खाउडा परेका खाडलहरूलाई पुरेर, सम्म्याएर एउटा सुन्दर भूमि निर्माण गर्ने ‘टेक्नाेक्राफ्ट’ हुन् ।
कुनै कक्षामा विद्यार्थीले गरिब मान्छेभन्दा धनी मान्छे खराब हुन्छन् भनेर उत्तर लेखे भने तपाईं के गर्नुहुन्छ ?
मेरो एउटा कक्षामा यस्तै भयो ।
र म निकै रन्थनिएँ ।
केही समय अघिको घटना हो यो ।
घटना सामान्य छ, सामान्य लाग्छ । तर यसले मेरो मन थिलथिलो बनाइदियो । कुरा बी.एड. पहिलो वर्षको अङ्ग्रेजी विषयको कक्षाको हो । त्यहाँ सन् १९४२ मा जन्मिएका मलेसियाका कवि मोहम्मद विन हाजी सैलेशको एउटा कविता म पढाउँदै थिएँ, जसको शीर्षक थियो ‘डु नट से’ । अर्थात् ‘नभन’ । त्यो कविताका केही श्लोकका अंशहरू यस्ता थिए —
नभन
नभन मेरा मानिसहरू अल्छी छन्
किनभने तिमीलाई थाहा छैन
तिमी केवल आलोचक दर्शक मात्र हौ
तिमी जान्दैनौ, न त निर्णय गर्न सक्छौ
महँगो कारमा हुइँकेर
मलाया गाउँको बाटो हिँड्दा,
नसोच्नु मेरा मान्छेहरू कमजोर छन्
किनभने तिमी कथित सभ्रान्तहरू जस्तो
तिनका गगनचुम्बी घरहरू छैनन् ।
तिमीले कहिल्यै लडाङ्गमा काम गरेका छौ ?
रोङ्गगेङ्ग नृत्य गरेका छौ ?
सेयाङ्ग गीत गाएका छौ ?
नसोच्नु कि हामी कहाँ साहित्य छैन, संस्कृति छैन
के तिमीले कहिल्यै
धार्मिक विचारहरू पढेका छौ?
गरिब भनेर हामीलाई निन्दा नगर
हामी घाम, पानी र पसिनाबाट
मानवता सङ्कलन गर्छौ ।
जीवन कसरी जिउने हो हामीलाई नभन
एकताको पण्डित्याइँ पनि नछाँट
तिम्रो राजनैतिक दर्शन जन्मनु पूर्व
हाम्रो समाजको अस्तित्व थियो
नभन—
किनभने तिमीलाई थाहा छैन ।
यो कवितामा कविले गरिब मानिसहरूको स्वाभिमानको कुरा गरेका छन् । तिनका मानवतावादी सोचको कुरा गरेका छन् । उनको आशय थियो, गरिब मानिसहरू स्वाभिमानी हुन्छन् । मानवतावादी हुन्छन् । शिष्ट र नैतिकवान् हुन्छन् । तिनमा सहयोगको भावना हुन्छ । एकताको भावना हुन्छ । तिनले कहिल्यै पनि ठगेर जीविकोपार्जन गर्दैनन् । घुस लिँदैनन् । तिनको सभ्यता र संस्कृति पवित्र हुन्छ । ती धर्मले, संस्कृतिले, कलाले, सङ्गीतले, साहित्यले, परम्पराले धनी हुन्छन् । तिनमा कुनै देखावटी हुँदैन । ती प्रकृतिका सच्चा प्रतिनिधिहरू हुन् । तिनले दर्शनका ठेली नपढे पनि तिनमा समाज विज्ञानको भण्डार छ । बैङ्कमा पैसा भेला नभएर के भयो र, तिनले मानवताको ठुलै बैङ्क बनाएका छन् ।
यसरी त्यो कविताले गरिबहरूको जीवन शैलीलाई महान् भनेर प्रशंसा मात्र गरेन, धनीहरूप्रति नकारात्मक धारणा राख्यो । यस्तो कविता कक्षामा पढाउन सजिलो पनि हुँदैन ।
साहित्य अध्यापन गर्ने पहिलो खुड्किलो ‘प्रिरिडिङ्ग’ गतिविधिबाट सुरु गरेँ । र सोधेँ उनीहरूलाई एउटा प्रश्न —
धनी मानिस र गरिब मानिसमा तिमी कसको समर्थन गर्छौ ? वा को ठिक लाग्छ ?
एक छिन त सन्नाटा छायो । र एक पछि अर्को भन्न थाले —‘गरिब’ । एउटा होइन, दुई वटा होइन, कक्षाका सबै विद्यार्थीको राय एउटै आयो — गरिब । गरिब ।
अर्थात् गरिब मान्छेको समर्थन गर्छु ।
अर्थात् गरिब मानिस ठिक हुन्छन् ।
सबैको एउटै स्वर ।
एउटा विद्यार्थी पनि धनी मानिसको समर्थन गर्छु भनेर समर्थनमा निस्किएन । मैले पटक पटक प्रश्न दोहाेर्याएँ । कोही त निस्केला कि भनेर । पर्खेँ । एक छिन मौन उभिएँ । किनकि यी विद्यार्थी भनेका यो देशको भोलिको रेखा कोर्नेहरू हुन् । यो देशलाई कुची लिएर रङ्ग भर्नेहरू हुन् । ती विद्यार्थी भनेका यो मुलुकका आउडा खाउडा परेका खाडलहरूलाई पुरेर, सम्म्याएर एउटा सुन्दर भूमि निर्माण गर्ने ‘टेक्नाेक्राफ्ट’ हुन् । उप्किएर जाँदै गरेका मुलुकका अस्मिताहरू जोगाउने सारथि हुन् । मुलुकका पहिचानहरूको रक्षा गर्ने संरक्षणकर्ता हुन् । समाजलाई सभ्य बनाउन फरुवा र झम्पल बोकेर बाहिर निस्किने डकर्मी हुन् । आकाशमा उड्ने चराहरू जस्तै उन्मुक्त उड्ने जनताको पहरेदारहरू हुन् । समाजका फूलवारीहरूलाई गोडमेल गरेर अनेकौँ थरीका फूलहरूको ब्याड राखेर सयौँ थुँगा फूल फुल्ने फूलबारी खन्ने पाखुरीहरू हुन् ।
तर उस दिन यो भावनामा झट्का लाग्यो । यिनीहरू यसरी समाजको एउटा वर्गप्रति किन यति धेरै नकारात्मक भए ? धनी मानिसहरू उनीहरूका नजरमा किन खराब ठहरिए ? अनि गरिब मानिसहरू उनीहरूको नजरमा किन असल गनिए ?
उनीहरूको यो निष्कर्ष हठात् पनि होइन । बनावटी पनि होइन । उनीहरूलाई कविले भने जस्तो गरिब मानिसहरूमा मात्र सच्चा मानवीय गुणहरू हुन्छन् परेको रहेछ । यो कसरी हुन पुग्यो ?
कारण के होला भनेर मन उडन थाल्यो यसको उत्तर खोज्दै । यो के कारणले भयो त ? आज राजनीति गरेर देश बनाउँछु भनेर हिँड्नेहरूलाई एउटा प्रश्न हो — यदि समाजका नयाँ पिँढीको यो खाले धारणा बलियोसँग रह्यो भने तपाईंले बनाउने भोलिको समाज सुन्दर र समुन्नत हुन्छ ? समाजमा रहेका सबै खाले मानिसप्रति किन प्रेम जगाउने शिक्षा दिइएन ?
चेतना दिने अस्त्र शिक्षा हो । शिक्षा भनेको नीति शास्त्र होइन ठिक बेठीक छुट्याउने । त्यो निरङ्कुश समाजको घोषणापत्र हो, जसलाई सबैले मान्नु पर्छ, नत्र सजायको भागी बन्नु पर्छ । यस्तो कसरी शिक्षा हुन्छ ? विद्यार्थीले आफ्नो चेतनाले समाज चिन्ने हो, बुझ्ने हो र त्यसमा व्यवहार गरेर आफू पनि अन्तर घुलित हुने कुरा सिक्ने हो । समाजका सबै पाटाहरूलाई प्रेम गर्ने हो । आफूभन्दा भिन्न मत र बिचार राख्नेहरूलाई त झन् धेरै सम्मान गर्न सिक्ने हो । लोकतन्त्रको सर्वव्यापी मान्यता भनेको नै सबै विचारहरूलाई उत्तिकै ठाउँ दिने र तिनको रक्षा गर्ने हो । तर यहाँ त आफू बाहेकका सबैलाई दुस्मन देख्ने र देखाउने शिक्षा दिइन्छ र अनि त्यसलाई विज्ञान भनिन्छ ।
पश्चिमा मुलुकहरू, खास गरी अमेरिका तथा युरोपमा धनी मानिसहरूलाई दुस्मनको नजरले हेरिन्न । त्यहाँका श्रमजीवी वर्गका मानिसहरू पनि सभ्रान्तहरूप्रति निकै सकारात्मक रहन्छन् । यसको कारण छ । उनीहरू ठान्छन्, धनी मानिसले उद्योग खोलिदिएको छ र मेरो जीवन चलेको छ । धनी मानिसहरूले मोटो कर राज्यलाई बुझाएका छन् र त राज्यले हामी गरिबहरूका लागि मानव कल्याणकारी कार्य बजेट मार्फत ल्याएर हाम्रा नानीहरूले निःशुल्क पढ्न पाउँछन्, निःशुल्क स्वास्थ्य सेवा पाउँछन्, सुविधाहरू पाउँछन् । ज्येष्ठ नागरिकहरूले सुरक्षा भत्ता पाउँछन् । सरकारले बाटो बनाउँछ । बिजुली निकाल्छ । स्कुल खोल्छ । राष्ट्रसेवक कर्मचारीहरूलाई तलब खुवाएर जनताको सेवा गराउँछ । खाने पानी ल्याउँछ । सिचाइको आयोजनाहरू ल्याउँछ । जनताको सुरक्षा, देशको सुरक्षाका लागि सेना पुलिसलाई तलब खुवाउँछ । जनताको वर्गीकरण गरेर रासन कार्ड मार्फत विपन्न वर्गलाई आर्थिक सहुलियतको व्यवस्था गर्छ । तर धनी मान्छे कोही भइदिएनन्, सबै गरिब मात्र भएको मुलुक छ भने राज्यले कहाँबाट पैसा ल्याएर नागरिकहरूलाई यी माथि उल्लेख गरिएका सुविधाहरू दिन सक्छ ?
आज पनि हाम्रो देशको प्रमुख आय भनेको कर नै हो । धनीले गाडी नकिनिदिने, मोटरसाइकल नकिनिदिने, व्यापारमा ठुलो धनराशि खर्च गरेर आयात नगरिदिने हो भने र यो राज्यका भन्सारबाट ठुलो मात्रामा लगानी गर्ने पैसावालहरूका सामान नआउने हो भने, धेरै आम्दानी गर्नेहरूले आयकर नतिरिदिने हो भने यो मात्रै होइन, कुनै पनि मुलुक एक महिनामा थला बस्छ । युरोप अमेरिकामा हो भने राज्यले मैले तिरेको करको हिसाब राख्छ र मलाई बुढेसकालमा केही अंश फिर्ता गर्छ जुन बेला म कमाइ गर्न नसक्ने हुन्छु । र बाँकी पैसा राज्यले मानव कल्याणमा खर्च गर्छ, जसको प्रत्यक्ष लाभ भनेको गरिब समुदायले पाउँछन् ।
तर यो मुलुकमा यी कुरा किन छायामा पारेर जनतालाई भड्काइरहिन्छ ? सुझाउनु पर्ने दायित्व राज्यको हो, आम चेतना भएका मानिसहरूको हो । आवाजविहीनहरूको कुरा कसले सुन्छ ? समाजमा हामीले अब पनि बुझाउन सकेनौँ भने यसले हाम्रो समाजलाई कस्तो रङ्ग र भविष्य देला ? यो नकारात्मकता किन ? राजनीतिको प्रशिक्षणले हो वा अरू केही कारण छन् ?
किनभने कार्ल काक्र्सको कम्युनिस्ट मेनिफेष्टो मा बुर्जुवा र प्रोलेटरेट को अन्तहीन सङ्घर्षलाई व्याख्या गर्दे बुर्जुवा अर्थात् पुँजीपति वर्गलाई नकारात्मक रूपले प्रस्तुत गरी प्रोलेटरेट अर्थात् श्रमजीवी वर्गको पक्षमा लेखिएको छ । उही दर्शनको प्रभाव हो ? त्यहाँ पुँजीपति वर्गलाई समाप्त पारेर मात्र समाजवादमा पुगिन्छ भनिएको छ । तर कारण यो पनि नहुन सक्छ, किनभने ती नानीहरूलाई राजनीतिको यो चेतना पक्कै थिएन होला । र कम्युनिस्ट पार्टीहरूले समाजमा पारेको प्रभाव मात्रै पनि नहोला, भलै प्रभाव त निकै छ । फेरि सबैको एउटै धारणा पनि अचम्मको संयोग थियो ।
अनि एकै छिन उनीहरूको अगाडि टक्क उभिएर सम्झेँ । राजनैतिक प्रभाव पनि होला उनीहरूको यो निष्कर्षमा । तर फेरि सम्झेँ, वर्गवादको प्रभाव होला, त्यो पनि होइन । वर्गवादले त धनी मानिसलाई असल पो भन्छ । त्यो पनि होइन ।
समाजमा युवाहरूको धनी मानिसहरूप्रति किन नकारात्मक सोचाइ गयो ? यो प्रश्न अझै पेचिलो बन्यो ।
हाम्रो समाजमा धनी वर्गबाट जुन प्रकारका व्यवहारहरू प्रदर्शन भए, ती सबैभन्दा बढी जिम्मेवार छन् । र त्यो भन्दा बढी ती व्यवहारहरूको व्याख्या गर्ने साहित्य, कला, सङ्गीत, मिडिया जिम्मेवार छन् । नेपाली फिल्महरूको सारांश भनेको काजीहरूको दमन भयो र ‘एङग्री योङ्गम्यान’ हिरोहरूको जन्म गराइन्छ ती धनी मानीहरूलाई समाप्त पार्न । ‘लाहुरी भैँसी’ जस्ता कथा पढाउने पनि हामी नै हौँ । ‘हर्के साहु’ को अमानवीय चरित्र देखाउने पनि हामी नै हौँ । ‘साहुले घर खेत लग्यो’ भनेर गीत गाउने पनि हामी नै हौँ । हामीले सिर्जना गरेका कलाका अधिकांश आयामहरू पनि यही ‘थिम’ मा हुन्छन्: धनी वर्गले विपन्न वर्गमाथि गरेको उत्पीडन । सानैदेखि यही भाष्य पढेर, सुनेर आएका बच्चाहरूले अरू कुराको कल्पना पनि कसरी गरुन् ?
र सबैभन्दा प्रमुख कारण धनी मानिसहरूको चरित्र पनि जोडिन आउँछ । समाजमा गरिबलाई होच्याएर व्यवहार गर्ने, भात मात्र खान दिएर दिनभरि काम लगाउने, उसका दुखमा साथ नदिने, चर्को ब्याज असुल्न उसको जग्गा ताक्ने, आफू मात्र मीठो खाने र राम्रो लगाउने, अनावश्यक दुख दिने, अपराध गरेर पनि सजिलै उम्किन सक्ने, पैसाको बलमा नाजायज कामहरू पनि सहज तरिकाले गर्ने, अर्काको वास्ता नगर्ने र आफूm कहिल्यै पनि तृप्त नहुने जुन प्रकारका चरित्रहरू धनी मानिसहरूले समाजमा प्रदर्शन गरिरहेका हुन्छन्, तिनै कारण पनि हुन् ती मेरा विद्यार्थीहरू धनी मानिसको विपक्षमा उभिनुको पछाडि । उनीहरूले धनी मानिसका कुनै पनि राम्रा कुरा नदेख्नको पछाडि यी तमाम कारक तत्त्वहरू छन् ।
यो समाजको लागि घातक छ । सुधार गर्नु पर्दैन ? आज समाजको विकास गर्ने हो भने यहाँबाट पनि सुरु गर्नु जरुरी छ । अन्यथा, यस्ता खाडलले समाजलाई उद्धार गर्ने होइन, समाजलाई त्यहीँ हालेर पुर्नेछ भविष्यमा । जुन दिन मेरा विद्यार्थीहरूले धनी मानिसहरूका पनि राम्रा गुण देख्न थाल्नेछन्, त्यस दिन यो समाज सभ्यता तर्प उन्मुख भएको हुनेछ ।
दमक, झापा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










