गन्धमादन पर्वतको टाकुरामा बसेर विशालाकार हात्ती र कछुवाहरुको भोजन सम्पन्न गरिसकेछि तृप्त भएका गरुडले मनमनै आत्मसंवाद गरे :
बल्ल अघाएँ । अब आफ्नो काममा जुट्दछु ।
अनि, उनी स्वर्गबाट अमृत उडाउने महाभियानमा नूतन उत्साहका साथ सन्नद्ध भए । त्यहाँबाट अनन्त गगनावकाशमा उनले गहन भावले महाउडान गर्न लागे ।
यता गरुडले प्रस्थान गरे, उता अमरावतीमा यकायक डरलाग्दा उत्पातहरु प्रकट हुन लागे । इन्द्रको प्यारो हतियार वज्र भयले डढ्न लाग्यो । आकाशमा दिउसैमास धुवाँको मुस्लो र अग्निज्वालाका साथ उल्का खस्न लाग्यो । वसु, रुद्र, आदित्य, साध्य, मरुद्गण र अरु जो जो देवता हुन् ती सबैका शस्त्रास्त्रहरु आपसमा यति धेरै उपद्रो मच्चाउन लागे कि त्यति त देवासुर संग्राममा पनि मच्चाएका थिएनन् । आकाशमा विनाबादल घोर मेघगर्जन हुन लाग्यो । आँधीहुरी चल्न लाग्यो, रक्तवर्षण हुन लाग्यो ।
यस्ता भयंकर उत्पात हुन लागेको देखेर समस्त देवगणसहित देवराज इन्द्रसमेत थरहरि भए, अनि गुरु बृहस्पतिसँग भन्न लागे :
हे गुरुदेव, म यस्तो कुनै शत्रु कतै देख्दिनँ जसले हामी देवतालाई हेप्न सकोस्, तिरस्कार गर्न सकोस् र हाँक दिन सकोस्, अनि फेरि यो भयंकर उत्पात कसले मच्चाउँदैछ ?
गुरु बृहस्पतिले भन्नुभयो :
हे देवराज इन्द्र! यो सबै तिम्रै उच्छृंखलताले गर्दा भएको हो, बुझ्यौ के ? तिमीले ती तेजस्वी बालखिल्य ऋषिहरुको तिरस्कार गरेका थियौ नि, हो उनीहरुकै तपःप्रभावले महर्षि कश्यप र विनताका छोरा पक्षीराज गरुड तिम्रो स्वर्गबाट अमृत उडाउन आउँदैछन् । ती पक्षीराज गरुड यस चराचर सृष्टिका सबै बलवान्हरुभन्दा पनि सर्वश्रेष्ठ छन्, तिनी सबै शक्तिहरुले सम्पन्न छन् भन्ने मलाई लाग्छ, तिनी जुनसुकै असाध्य काम पनि सहजै गर्न सक्छन्, हेरिराख– तिनले सजिलै अमृत उडाउन सक्छन्, सावधान होऊ ।
यो रहस्य थाहा पाएपछि देवराज इन्द्रले सारा देवगणलाई डाकेर भने : महाबलशाली पक्षीराज गरुड, हाम्रो यस अमरावती स्वर्गबाट अमृत उडाउन भनेर आउँदैछन्, मलाई गुरु बृहस्पतिले भन्नुभएको । तिमीहरु सबै सावधान भएर अमृतको रक्षा गर ।
समस्त देवगण आश्चर्यचकित हुँदै त्यस्तो पनि होला र ? भनेर नपत्याउँदै भए पनि अमृतको भाँडोको वरिपरि घेरा हालेर त्यसको सुरक्षाका लागि सन्नद्ध हुँदै, को आउँदो रहेछ त, हामी पनि हेरौँला भन्दै सतर्क भएर बसे । भएभरका सारा हात–हतियारहरु चक्र,परिघ,त्रिशूल,पट्टिश आदि बोकेर परिआएका खण्डमा जे पनि गर्न तयार भएर बसे ।
…..
गुरुदेव बृहस्पतिले भन्नुभए झैँ यस्तो विकट परिस्थिति आउनुमा स्वयं देवराज इन्द्र नै मुख्य कारण थिए । वास्तवमा इन्द्रले बालखिल्य ऋषिहरुको एकपटक खिल्ली उडाएका थिए ।
भएको के थियो भने : एक पटक प्रजापति कश्यपजी पुत्रका कामनाले ठूलो यज्ञ गर्दै हुनुहुन्थ्यो । त्यसमा उहाँलाई सारा देवगण, ऋषिगण तथा गन्धर्वगणले पनि ठूलो सहयोग गरेका थिए । त्यस यज्ञमा महर्षि कश्यपले यज्ञका लागि समिधा ल्याउन भनेर देवराज इन्द्रलगायत धेरैलाई काममा खटाउनुभएको थियो । आफ्ना बल अनुसार इन्द्र पहाडको टाकुराजत्रो समिधाको भारी बोकेर आउँदै थिए, उनले बाटामा स–साना ऋषिहरुको एउटा यस्तो पल्टन देखे, जो सारा मिलेर सुकेका पलाशको एउटा सानो हाँगो सकी नसकी उठाएर होस्टेमा हैँसे गर्दै यज्ञस्थलतिर जाँदै थिए । आफ्ना बलको घमण्डले फुलेका इन्द्रले पहिले त छक्क परेर त्यो दृश्य हेरे, अनि उनीहरुको हाँसो उडाउँदै अपमानपूर्वक तिनीहरुलाई नाघेर अघि बढे । इन्द्रको यो अपमानजनक व्यवहारले बालखिल्य मुनिको पल्टन रिसायो र मनमनै संकल्प लियो : यिनको घमण्ड त तोड्नै पर्ने भयो अब । अनि यज्ञ प्रारम्भ भएपछि उनीहरु होम गर्न बसे र प्रत्येक स्वाहामा कामना गर्न थाले : यो घमण्डी इन्द्रको चाँडै पतन होस्, एउटा यस्ता इन्द्र बनून् जो यीभन्दा सय गुना बढी शक्तिशाली हुन् । इन्द्रले यो सबै कुरा थाहा पाएपछि डरले थर्कमान हुँदै महर्षि कश्यपलाई सबै कुरा भने । कश्यपले तपोपूत बालखिल्यगणसँग सोध्नुभयो : के यो कुरा सत्य हो ? उनीहरुले हो भनेपछि महर्षिले भन्नुभयो : तपाइँहरु अत्यन्त तेजस्वी हुनुहुन्छ , तपाइँहरुको संकल्प कहिल्यै वृथा हुँदैन । कृपा गरेर ब्रह्माले स्थापित गर्नुभएको सृष्टिको नियमको लाज राखिदिनुहोला । यिनलाई स्वर्गका राजा इन्द्र बनाएर उहाँले नै राख्नुभएको हो । बरु यो यज्ञको अनुष्ठानबाट उत्पन्न हुने यो सन्तान पक्षीहरुको चाहिँ राजा– इन्द्र बनोस् । यी इन्द्रमाथि कृपादृष्टि राख्नुहोला । बालखिल्य मुनिहरुले तथास्तु भनेपछि महर्षि कश्यपले इन्द्रलाई सम्बोधन गर्दै भन्नुभयो : यी जन्मिने सन्तान परम शक्तिशाली हुनेछन् तर यी तिम्रा भाइहरु हुन्, यिनीहरुसँग तिमीले वैरभाव नराख्नू । यिनले तिमीलाई सहयोग नै गर्नेछन् । तर तिमीलाई म एउटा सल्लाह दिन्छु : आइन्दा कुनै पनि ऋषि–मुनिहरुका अगाडि घमण्ड नदेखाउनू, उनीहरुको अपमान नगर्नू , नत्र फेरि ठूलो संकटमा परौला नि !
यसरी त्यस यज्ञका प्रभावले विनताका गर्भबाट दुई सन्तान जन्मिए : अरुण र गरुड । एक जना भगवान् सूर्यका सारथि भए , अर्का स्वयं भगवान् विष्णुका वाहन ।
…
पक्षीराज गरुड यता आफ्ना विराट् पंख फड्फडाउँदै अमरावती स्वर्ग पुगे, उता सारा देवगणमा हाहाकार मच्चियो । समस्त शस्त्रास्त्रहरु आपसमै लड्न भिड्न थाले । त्यहाँ महापराक्रमी विश्वकर्मा अमृतको रक्षा गरेर बसेका थिए । दुई घडीसम्म गरुडसँग उनको घम्साघम्सी परयो, तर गरुडले आफ्ना पखेटा, पञ्जा र ठुँडले प्रहार गरेर उनलाई पहिले घाइते अनि पछि बेहोश बनाइदिए । त्यसपछि पक्षीराज गरुडले आफ्ना विराट् पखेटाहरु फट्फटाएर धूलोको मुस्लो यस्तरी उठाइदिए जसले सारा स्वर्गलोक अन्धकाराच्छन्न भयो, सारा देवगण मोहित भए, चूक घोप्टिएजस्तो अँध्यारो भयो, केही नदेखिने भयो । अनि ती अन्धाजस्ता बनेका देवगणलाई पखेटा र चुच्चा अनि नंग्राले हानीहानीकन पक्षीराज गरुडले तिनीहरुका अंगप्रत्यंग विदीर्ण गराइदिए । तब सहस्रनेत्र देवराज इन्द्रले मारुतलाई आज्ञा दिए : तिमी यो धुलोको बाक्लो बादललाई हटाऊ त । हवस्, भनी मारुतले त्यो सबै धूलाको मुस्लो हटाएपछि बल्ल सबैले गरुडलाई देखे अनि आ–आफ्ना शस्त्रास्त्रद्वारा उनीमाथि खनिए । तर, गरुडको रौँ पनि हल्लिएन, बरु आकाशमा स्थिर भएर उनले आफ्नो विशाल छाती र पखेटाले हानी हानी तिनलाई घाइते बनाइदिए । चुच्चा र नंग्राले हानेर तिनलाई क्षत विक्षत र रक्ताम्य बनाइदिए । सबै देवगण भागाभाग गर्न थाले । ती सबैलाई परास्त गरेर पक्षीराज गरुड जब अमृतको पात्र उठाउन मात्र के लागेका थिए त्यहाँ चारैतिर भयंकर आगो भीषण ज्वालावलीले प्रचण्ड बनेर दन्दनाइरहेको देखे । तब ती परमवेगशाली गरुडले आफ्ना शरीरमा आठ हजार एक सय मुख प्रकट गरेर सारा नद नदीको जलराशि ती मुखमा भरे अनि त्यो सबै लगेर तत्काल त्यस भीषण आगोमाथि पिचि..चि…चि कुल्ला गरिदिए । त्यो भयंकर आगो तुरुन्तै निभेर शान्त भयो । त्यसपछि अमृत उडाउने संकल्प लिएर गरुडले आफनो विराट् रूपलाई अकस्मात् समेटेर सानो बनाए ।
उनले त्यहाँ के देखे भने अमृतको सुरक्षाका लागि देवगणले एउटा यस्तो यन्त्र बनाएर फिट गरेका रहेछन् जो ठुलो चक्रजस्तो विशालाकार थियो त्यसमा अत्यन्त धारिला छुराहरु जडिएका थिए अनि त्यो चक्र तीव्र गतिमा घुमिरहेको थियो । त्यसभित्र कोही पस्न सक्दैनथ्यो , नजीक गयो कि काटिएर टुक्रा टुक्रा हुन्थ्यो । गरुडले आफ्नो रूपलाई धेरै सानो बनाए र बुद्धिमानी देखाउँदै त्यस चक्रका अराहरुको अन्तरालबाट तीव्र वेगले भित्र छिरे । त्यस चक्रभित्र फेरि अर्को सुरक्षा कवच रहेछ । त्यहाँ दुईवटा भयंकर सर्प नियुक्त गरिएका रहेछन् । ती बिजुली झैँ लपलपाइरहेका जिब्रोले देदीप्यमान, महाक्रोधी, कहिल्यै आँखा नझिम्क्याउने अत्यन्त आक्रामक थिए । गरुडले सहसा तिनीहरुको आँखामा धूलो फयाँकिदिएर उनीहरुलाई अन्धो बनाइदिए अनि तिनीहरुलाई चुच्चा नंग्रा र पखेटाले हानी हानी पहिले त घाइते बनाइदिए, पछि टोकी–टोकिकन तिनीहरुलाई टुक्रा टुक्रा पारिदिए । अब निर्विघ्नतापूर्वक अमृतको पात्र उठाएर तीव्र वेगमा त्यहाँबाट गरुडले उडान भरे ।
….
कस्तो उदात्त स्वभाव ! आफ्ना हातमा अमृतको पूर्ण पात्र भए तापनि गरुडले एक घुड्का पनि पिएनन् । जुन अमृतको एक बूँदका लागि देवता र दानवका बीच टाउको फोडाफोड हुन्थ्यो त्यो सिंगो भाँडो नै लिएर विद्युत्वेगमा उनी मत्र्यलोकतिर उत्रिए । न कुनै थकाई, न कुनै परिश्रम, सबै काम खेल–खेलमा !
बाटामा भगवान् विष्णुसँग जम्काभेट भयो । गरुडको लोलुपतारहित पराक्रम देखेर अभिभूत भएका विष्णुले भन्नुभयो :
बाबू गरुड, तिम्रो पराक्रम र लोभमुक्त उदार स्वभाव देखेर मलाई मलाई महती प्रसन्नता भइरहेछ । म तिमीलाई इच्छाएको वस्तु वर दिन चाहन्छु । भन, के चाहन्छौ ?
गरुडले भने :
प्रभो, मलाई अरु कुनै इच्छा छैन , म सर्वथा पूर्णकाम नै छु । यदि ममाथि अनुग्रह गर्न नै चाहनुहुन्छ भने मलाई आफूभन्दा माथि अन्तरिक्षमा स्थान दिनुहोला । अनि अर्को कुरा, हे प्रभो, म अमृत नपिइकन नै अजर अमर बन्न सकूँ ।
अनि भगवान् विष्णुले तथास्तु भनेर वरदानको स्वीकृति दिइसकेपछि उहाँलाई आश्चर्यचकित तुल्याउँदै गरुडले भने :
प्रभो, म पनि हजुरलाई वर दिन चाहन्छु , माग्नुहोस् !
विष्णुले भन्नुभयो :
तिमी सदा मेरो ध्वजमा बस, यसरी सदा मभन्दा माथि रहनेछौ ।
गरुडले पनि सहर्ष तथास्तु गरे र पुनः वायुवेगले मत्र्यलोकतिर अवतरण गर्न लागे ।
गरुडले यसरी अमृतको भाँडो नै उडाएपछि देवराज इन्द्रलाई रीसले खपिनसक्नुभयो । क्रुद्ध भएर उनले आफ्नो आयुधसर्वस्व परमतेजोमय वज्र उठाएर समस्त जोड लगाएर गड्याम्म! गरुडमाथि प्रहार गरे । पक्षीराज गरुडले त्यो प्रहार लीलाका साथ आफूमाथि झेलेर मुसुमुसु हाँस्दै मधुर वाणीमा इन्द्रलाई भने :
हे शतक्रतु इन्द्र! तिम्रा कुनै शस्त्रास्त्रले पनि मेरो कुनै क्षति गर्ने सामथ्र्य राख्दैनन् । तर, भैगयो । जुन महान् शक्तिशाली महातपस्वी महर्षि दधीचिको दुर्धर्ष हाडले यो तिम्रो वज्र बनेको छ म उहाँलाई सम्मान गर्छु अनि तिमी देवराज भएकाले तिमीलाई र तिम्रो यो वज्रलाई पनि सम्मान गर्छु, त्यसैले यस प्रहारको बदलामा म एउटा प्वाँख त्यागिदिन्छु , जसको आदि र अन्त समेत तिमीले पत्तो लाउन सक्ने छैनौ ।
यति भनेर गरुडले आफनो पखेटाबाट एउटा प्वाँख झारिदिए । त्यो अत्यन्त मनोहर प्वाँख झरेको देखेर सारा प्राणीहरु प्रसन्न भए र भन्न लागे :
आहा , कति राम्रो प्वाँख । यस्तो राम्रो प्वाँख हुने पक्षीलाई त सुपर्ण पो भन्नुपर्छ त ।
यसरी समस्त लोकमा उनी सुपर्ण का नामले विख्यात भए ।
गरुडको अतुलनीय बल र सामथ्र्यको यो चमत्कार देखेर सम्मोहित बनेका इन्द्रको सारा वैरभाव धूलोपीठो भयो, विनम्रतापूर्वक गरुडलाई सोधे :
हे पक्षीराज, मलाई तपाइँको अपरिमित बल कति छ– कृपापूर्वक बताइदिनुहुन्थ्यो कि, अनि मलाई तपाइँसँग मित्रता पनि गर्न मन छ स्वीकार्नुहुन्थ्यो कि?
हे देवराज, तिमीले भनिहाल्यौ, तिमीलाई मसँग मित्रता गर्न मन रहेछ, म त्यो स्वीकार गर्दछु । अनि तिमीले मेरो बलका बारेमा सोध्यौ, त्यो अनन्त छ । हुन त कुनै पनि सज्जनले आफ्नो बलको आफैँ बखान गर्नु, अनि आत्मश्लाघा गर्नु राम्रो मानिँदैन । तैपनि तिमीले मित्रभावले सोधिहाल्यौ, त्यसैले थोरै भन्छु सुन । हे देवराज, यस जगत्को समस्त महावन, चारै महासागरको अगाध जलराशिसहित यो समस्त पृथिवी र यसभन्दा माथि रहने तिमीलाई पनि म सहजै नथाकिकन बोकेर उड्न सक्छु, अथवा यसो भनूँ : यो समग्र चराचर जगत्लाई एकत्र गरेर ममाथि राखियो भने पनि म ती सबैलाई अनायास बोकेर आनन्दले उड्न सक्दछु । अहिलेलाई यति नै भनूँ !
यस्तो कुरा सुनेर देवराज इन्द्रको सातो गयो, उनी अकमक्क अवाक् भए । पछि, होश आएपछि मीठो वाणीमा गरुडलाई यसरी विन्ती बिसाए :
मित्र ! तपाइँले भनेको एकदमै ठीक, मलाई अब पूर्ण विश्वास भयो : तपाइँमा अथाह शक्ति रहेछ । तपाइँले मेरो मित्रता स्वीकारीसक्नुभएकाले म अब के अनुरोध गर्छु भने यदि तपाइँ स्वयंलाई यो अमृतको आवश्यकता छैन भने कृपया यो मलाई नै फिर्ता दिनुहुन्थ्यो कि, किनभने तपार्इँ जसलाई लगेर यो अमृत दिन चाहनुहुन्छ , ती अत्यन्त दुष्ट छन् र तिनले यो पिएर सारा संसारलाई रुवाउनेछन् ।
गरुडले भने :
हे स्वर्गका सम्राट् देवराज इन्द्र ! हो, त्यो त मलाई पनि थाहा छ । तर म कुनै विशेष जरुरी कारणवश यो लिएर जाँदैछु, तर म यो कसैलाई पनि पिउन दिन्न । मैले स्वयं यो जहाँ लगेर राख्छु, त्यहाँबाट तिमीले उठाएर फेरि फिर्ता लगे हुन्छ ।
इन्द्रले भने :
हे पक्षीराज, तपाइँले जे भन्नुभयो त्यो सुनेर म आनन्दित भएँ । यो सर्वोत्तम विकल्प हो । हे खगश्रेष्ठ, म तपाइँसँग प्रसन्न भएँ । तपाइँले जे माग्नुहुन्छ मैले भ्याएसम्म त्यो अवश्य दिनेछु, वर माग्नुहोस् ।
इन्द्रले यति भनेपछि उनलाई आफ्नी सौतेनी आमा कद्रूको दुष्टताको याद आयो, आफ्ना सौतेनी दाइहरुले आफुहरुलाई दुख्ख दिएको पनि सम्झना भयो । अनि उनले भने :
हे देवराज, सबै तपाइँले भनेजस्तै हुनेछ । यो अमृत अरु कसैको हात पर्न म दिनेछैन । तपाइँको वचनअनुसार मलाई के वर दिनुहोस् भने ती महाबली सर्पहरु मेरो अहारा बनून् ।
इन्द्रले तथास्तु भनेर स्वीकार गरे अनि परमात्मा श्रीहरिका छेउमा गएर सबै बेलीविस्तार लगाए । उहाँले पनि इन्द्रको भनाइको अनुमोदन गर्नुभयो । अनि फेरि इन्द्रले गरुडका छेउमा आएर भने :
तपाइँले जहाँ यो अमृतको भाँडो राख्नुहुन्छ, म त्यहीँबाट यो उडाइहाल्नेछु ।
यति भनेर उनी अन्तर्धान भए । गरुड पनि तत्काल आफनी आमाछेउ आइपुगे । अनि समस्त सर्पगणलाई भने :
हेर, तिमीहरुले फरमाइस गरे मुताबिक मैले यो अमृत ल्याइदिएँ । म यसलाई यो लहलहाउँदो कुशको वनमा राखिदिन्छु । तिमीहरु सबै स्नान शौच आदि सबै नित्यकर्म सम्पन्न गरेर चोखो भएर आओ, अनि यो अमृतपान गर । अनि, तिमीहरुले इच्छाएबमोजिमको काम मैले पुरुषार्थ देखाएर पूरा गरिदिएँ । अब त मेरी आमालाई दास्यभावबाट मुक्त गर्छौ होला नि !
सारा सर्पगण अब अमृत पिउन पाइने भइयो भनेर फुरुक्क परेका थिए, तुरन्तै तथास्तु भनेर विनतालाई दासीभावबाट मुक्त भएको घोषणा गरिदिए ।
अनि यता गरुडले त्यो अमृतपात्र कुशवनमा राखिदिए, उता सर्पगण स्नानध्यान गरेर शुद्ध हुन भनेर नदीतिर हानिए । ठीक त्यही बेला इन्द्र प्रकट भए अनि त्यो अमृतपात्र लिएर सुइँकुच्चा ठोकिहाले । भरे सर्पगण चोखा भएर आएर हेर्छन् ता– अमृतको भाँडो नास्ति ! सबै कुरा यथार्थ थाहा पाएर पनि उनीहरुले केही गर्न सकेनन् । हामीले पनि यिनीहरुलाई कपटपूर्ण काम गरेर दुख दिएका थियौं आज त्यसैको बदला पायौं भनेर चित्त बुझाए । अनि यो अमृतको भाँडो राखेका ठाउँमा यसो एकाध थोपो नै भए पनि कतै छचल्किएको त छ होला नि, भन्ने लोभले कुश चाट्न थाले, अमृतको थोपा त त्यहाँ के हुन्थ्यो र, बरु कुशका छुराजस्ता धारिला पातले सबैको जिब्रो च्वाट् च्वाट् काटियो । अनि त्यसैबेलादेखि सर्पहरु दुइजिब्रे भए ।
त्यस पवित्र अमृतको स्पर्श पाएकाले त्यही बेलादेखि कुश पनि पवित्र तृणमा गनियो ।
त्यसदिनदेखि गरुड र उनकी आमा विनताका दुक्खका दिन गए । गरुडका भोजनको व्यवस्था पनि भयो । सर्पका सन्तानलाई अघाउँजी खाएर उनी तृप्त हुन थाले र आमा विनता र भाइ अरुणका साथ आनन्दपूर्वक रहन थाले ।
…
पक्षीराज गरुडको यो पुण्यशाली कथा जसले पढ्दछ अथवा गोष्ठीमा सुनाउँछ उसलाई पक्षीराज गरुडको सदा कृपा रहन्छ, जीवनमा कुनै प्रकारको अभाव र कष्ट रहँदैन । सर्पजातिको भय रहँदैन र आनन्दले यो जीवन बिताएर उसले परत्र पनि सपार्छ ।
जय महात्मा पक्षीराज गरुड !
……………..
महाभारतको आदिपर्वमा आधृत ।
२०८१ साल वैशाख १४ गते शुक्रवार । अक्षरालय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।