अचानक भुस्याहा कुकुरहरूले मेरो तन्द्रा ब्युँझाइदिए । घडी हेरेँ । बिहानको छ बजेको रहेछ । बाइक लिएर गोठमा आएका अपरिचित खेत धनीलाई भेटेँ ।

शिशिर ऋतुको मेरो प्यारो शुक्रवारको दिन । मेरो यात्रामा बा–आमा ,छोरा–छोरी , श्रीमती र अन्य परिवारको सदस्यसँग भन्दा उनीसँगको माया कम छैन होला । उनीलाई नसम्झेको कुनै दिन हुँदैनथ्यो । उनी प्रत्येक रात सपनीमा आउँथिन् र रमाइलो यात्रा गर्थिन् । भर्खर पिँजडाबाट मुक्त चरी आकाशमा उडिरहेजस्तै म यात्रामा हुन्थेँ । विद्यालयमा चार बजे छुट्टीको घण्टी बज्यो । फेरि म यात्रामा अघि बढेँ ।

मनमनै सोचेँ –म जस्ता सिसिफसहरू यात्रामा तल्लीन हुन्छन् । उनीहरू एकपछि अर्को सफलताको चुचुरो चुम्न खोज्छन् । बल्लतल्ल एउटा चुचुरोमा पुगेर सास फेर्छन्, फेरी अर्को चुचुरो देख्छन् । फेरी त्यो चुचुरोमा पुग्छन्,त्यहाँबाट अर्को नयाँ चुचुरो देख्छन् । एवं रितले चुचुरो चुम्ने यात्रामा कहिले सफल हुन्छन् त कहिले असफल । अतः असफल भयो भनेर चिन्तित  हुने र यात्रा रोक्ने काम कहिल्यै गर्नुहुँदैन । जस्तोसुकै परिस्थिति आए तापनि सामना गरेर अघि बढ्नु नै हाम्रो कर्तव्य हुन आउँछ । एकनासले सबै मानिस सधैँ सफल हुन सक्दैन । क्षणिक सफलताले केही खुसी प्राप्त भए पनि जीवनको यात्रामा समय सबैभन्दा बलवान हो । यात्रामा घाउ लगाउने र  त्यस घाउमा खाटा बसाउने पनि समय नै हो । समय अनुकूल भएमा यात्रा पनि अनुकूल र समय प्रतिकुल भएमा यात्रा पनि प्रतिकुल हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि खुसी र सन्तुष्ट मान्न सक्ने व्यक्तिहरूले नै यात्रालाई उपलब्धिमूलक बनाउन सक्छन् ।

बिहान सबेरै उठेर केही समय अध्ययन गर्ने, विद्यालय जाने, विद्यालयको कलिला सहयात्री बालबालिकालाई अध्यापन गराउने, उनीहरूसँग हाँस खेल गर्दै दिन बिताउने गर्थेँ । बेलुका खानापश्चात् दिमागभरि अतीतका पानाहरू पल्टाउने र खुसीमा रम्न खोज्ने मेरो दिनचर्या थियो । सार्वजनिक बिदाका दिनहरू त मेरा लागि चाडपर्व नै हुन्थे । मनमा इमानदारी, काँधमा जिम्मेवारी र दिमागमा समझदारी लिएर अघि बढ्ने व्यक्ति भएको हुँदा विद्यालयको दसदेखि चार बजेसम्ममा समयको कहिल्यै भ्रष्टाचार गरिन । ठूूलो कक्षामा पढाएका अनुभवहरूलाई मैले साना कक्षाहरूमा प्रयोग गर्न सकिन तर पनि कलिला बालबालिकालाई जतिसक्दो ज्ञानको बीउ रोप्ने कार्यमा तल्लीन हुन्थे ।

यात्रा रक्तसञ्चार प्रणाली जस्तै चलायमान छ । कहिले छिटो र कहिले ढिलो भएमा हाम्रो अस्तित्व नरहन सक्छ । त्यसै गरी मेरो यात्रा पनि निरन्तर र स्वाभाविक प्रकारको छ । नत्र मानव जीवनमा एक्कासि उथल–पुथल भएमा रक्त सञ्चार प्रणालीमा आएको परिवर्तनले गर्ने असर जस्तै हुन्थ्यो होला  ।

शुक्रवार आउने बित्तिकै विद्यालयका स्टाफ साथीहरू जिस्क्याउँथे । आज पनि बिहान विद्यालयमा पुग्ने बित्तिकै प्रधानाध्यापकले जिस्किँदै भन्नुभएको थियो –“सर ! आज कुन दिन हो ? म मुसुक्क मुस्कुराएँ मात्र ।

मेरो मिल्ने साथी आगमनले भन्नुभयो– “आज त कोही कोही कति खुसी छन् है ?”

मैले त्यसको उत्तर दिन नभ्याउँदै अर्को मिसले भन्नुभयो –“आज र भोलि सरको रात कसरी बित्छ होला है ?”

श्रीमतीसँग बित्छ रमाइलोसँग भन्ने मन थियो तर सकिन । स्टाफ साथीहरूले यस्तै नाना थरीका कुराहरू भन्दै रमाइलो वातावरण सिर्जना गर्नुहुन्थ्यो । जीवन यात्रा हो भनेर बुझ्न नसकेको म पिडामा जल्थे ।

आज मलाई हल्का ज्ञान भयो कि जीवनलाई  अगाडि बढाउने क्रममा उकाली ओरालीहरू आउँछन् र  होसियारी साथ यात्रा गर्नुपर्छ । मेरो यात्राको क्रममा धेरै व्यक्तिहरू भेटिए । कोहीले यात्रामा सहयोग गरे । उनीहरू आँखामा हाले पनि नबिझाउने भए ,सँगसँगै यात्रा गरिरहूँ जस्तो लाग्यो । कोही बाटोभरि काँडाहरू छर्न तल्लीन भए ।  बाटोमा काँडा टेकेर ऐया… भन्दा हाँस्नेहरू पनि धेरै भए । तैपनि यात्रा निरन्तर गरेँ । नत दिनको थाहा छ न त रातको थाहा छ, कहाँ सम्मको लक्ष्य हो, त्यो पनि थाहा छैन । निरन्तर अगाडी बढ्नुको विकल्प छैन ।

करिब एक घण्टाको डरलाग्दो जङ्गल र भीरको बाटो पार गर्दै म बाइक राखेको ठाउँसम्म पुगे । बाइक स्टार्ट गर्दा लाग्यो कि म घरमा पुगिसकेँ । घरमा भएका सेतै कपाल फुलेका, कन्चट धसिएका, शरीर कुप्रो भएका दमका रोगी मेरो बा–आमा ,जीवन सङ्गिनी, छोराछोरी, प्रेरणाका स्रोत अन्य परिवारजनहरूलाई सम्झँदै अगाडि बढिरहेँ । कहालीलाग्दो शिशिरलाई बिर्सँदै वसन्त ऋतुको सपनामा अघि बढेँ । कति रमाइलो थियो ,त्यो बाइकको यात्रा ! तर दुर्भाग्य !

चार घण्टापछि ठिक रातीको नौ बजे बाइकमा समस्या देखियो । बाइक स्टार्ट भएन । कहाँ समस्या थियो ,मलाई ज्ञान भएन । नजिकैतिर आँखा नचाएँ । घरहरू कतै थिएनन् । त… ल लिखु नदी छङछङ गर्दै निरन्तर बगिरहेकी थिई । चुक घोप्टाएको जस्तो अँधेरी रातमा मेरो सहयात्री बाइकको आँखा गुम्नु मेरै आँखा गुम्नु जस्तै भयो । ऊसँगको साथ टुट्यो । दश  मिनेट अघि खेतको बिचमा एउटा गोठमा बत्ती बलेको देखेको थिएँ । सोही गोठमा फर्कने योजना बनाएँ तर बाइक ? बाइक कहाँ राख्ने ? मनमा धेरै कुराहरूले घर गरे । मनलाई खुसी बनाउन डा. योगी विकाशनन्दको उद्गार सम्झन पुगेँ –“जीवन यात्रा हो,त्यसैले त ठेस लाग्छ तर ठेसमा नै रमाइदिए कसको के लाग्छ ?”बाइकलाई आधा घण्टा डोर्‍याएपछि म गोठ नजिकै पुगे । बाइकलाई कच्ची रोडकै छेउमा डबल लक गरेँ । सरासर गोठमा छिरेँ तर त्यहाँ कोही मानिस पनि थिएनन् । जनावरहरू पनि थिएनन् । मात्र थियो, परालको थुप्रो ।

डरको पुरी म । हठात् मेरो शरीर डरमुक्त भयो । शरीरमा शक्ति पैदा भयो । खै कसले दिएको हो ? जब समस्या हुन्छ , समाधान पनि हुँदो रहेछ । घरमा फोन गरेँ । श्रीमतीले फोन उठाइन्। बाटोमा बारम्बार फोन भइराखेकोले छोटकरीमा भनेँ–“ बाइकमा समस्या आयो । नजिकै ग्यारेज पनि छैन । आज आउन सम्भव भएन । बाइक बनाएर भोलि सबेरै आउँछु । ”

“कहाँ बस्नुहुन्छ, घर छ त वरिपरि ? ”

“छ, बाटो नजिकैको घरमा बसेको छु ।”

परालको थुप्रोमा सुतेर सोच मग्न भएँ । थकाइले लखतरान म झोकाउन पुगेछु । त्यसपछि मैले मेरो गुरुलाई पाएँ ।

उहाँले भन्नु भयो–“बाबु ! जीवन यात्रा हो । जबसम्म हाम्रो सामु मृत्यु आइपुग्दैन, यो जारी रहिरहन्छ । जसरी छायाले हामीलाई छोड्दैन, त्यसै गरी यात्राले हामीलाई कहिल्यै छोड्दैन । यात्रा हिजो पनि थियो, आज पनि भइरहेको छ र भोलि पनि रहिरहन्छ । यात्राको क्रममा प्राणीहरू मध्ये मानिसले साथ चाहन्छन् । बौद्धिक प्राणी हुनाले सहयोगको अपेक्षा राखेका हुन्छन् । आत्मीयताको अनुभूति गर्ने मौका पर्खन्छन् । आत्मीयता मानिसले मानिससँग बढाउनुपर्ने हो तर यसको सट्टा मानिसहरू कुकुरजस्ता प्राणीसँग आत्मीयता बढाएको पाइन्छ । मानिससँगको आत्मीयता भने छोड्दै गएको पाइन्छ । आफ्नो इष्टमित्रहरू, आफन्तजनहरू, अपरिचित अनुहारहरू परिचय हुनु पूर्व शत्रु जस्तै तर परिचय पाउने बित्तिकै मित्र बन्न पुग्छन् । फेरी घनिष्ठ मित्रता पश्चात् शत्रुतामा परिणत भइहाल्छन् । यो  मानिसको स्वभाव हो ।”

“अवश्य गुरु ।” म मुस्कुराएँ मात्र ।

फेरि भन्नुभयो –“ हेर बाबु ! प्रकृतिको नियम पनि अचम्म ! जहाँ पनि द्वन्द्व र प्रतिस्पर्धा भइरहन्छ । यात्राको क्रममा पनि प्रायः सबै ठाउँमा यो हुन्छ । मानिस स्वार्थी प्राणी हुनाले स्वार्थलाई सर्वेसर्वा ठान्छन् । नियमहरू मान्न आवश्यक ठान्दैनन् । नियम कहिल्यै मान्दैनन् तर प्रकृतिले  कहिल्यै पनि नियम छोडेको छैन । सबैले आफ्नो काम बिर्सेका छैनन् र नियमअनुसार अघि बढिरहेका छन् । सूर्य, चन्द्रमा, पृथ्वी, चन्द्रमा, ग्रहहरू, उपग्रहहरू, शिशुग्रहहरु आफ्नो गतिमा घुमिरहेकै छन् । नदीनालाहरू आफ्नै गतिमा बगिरहेकै छन् तर मानिस यात्राको क्रममा नियममा  रहन चाहँदैनन् । किनकि ऊ स्वार्थी छ । कहिल्यै पनि नियम छोड्न नचाहने प्रकृतिलाई पनि नियम छोड्न बाध्य पार्न हरेक हत्याकाण्डहरू अपनाइरहेका छन् । अनि कसरी बन्छ र हुन्छ पृथ्वीका मानिसहरूको उन्नति र प्रगति ? ”

“बाबु ! विश्वमा प्रायः मानिसहरू बढी निरीह छन् । उनीहरू आफैले आफैलाई विश्वास गर्दैनन् । अनि उसले अरूलाई विश्वास गर्ने त कुरा नै भएन । अतः उनीहरू आकासिए पिण्डहरू जस्तै एक्लै दौडिरहेका छन् । आफन्तहरूको भिडमा पनि एक्लै पाउँछन् । साथीहरूको भिडमा पनि एक्लै महसुस गर्छन्, मानिसहरूको भिडमा  पनि एक्लै महसुस गर्छन्, अपरिचितहरूको भिडमा यसै एक्लो महसुस गर्छन् ।”

म उहाँका जीवनका दर्शनहरू र उपदेशहरू मन्त्रमुग्ध भएर सुन्दै थिएँ ।

उहाँले थप्नुभयो –“यात्राको क्रममा दिन र रात आइरहन्छ । जीवन भनेको पनि यही चक्र हो । रातपछि दिन आउँछ ।  दिनपछि रात आउँछ । हामीले त्यसैलाई स्वीकार गरेर पर्खनुको विकल्प छैन । रात हुँदा दिनलाई मात्र सम्झने र दिन हुँदा रात मात्र सम्झने गर्नु मूर्खता हो । असजिलो र सजिलो, दुःख र सुख, मिठो र नमिठो, न्याय र अन्याय, फूल र काँडाको बिचमा एक आपसमा घनिष्ठ सम्बन्ध हुन्छ । एकको अनुपस्थितिले अर्कोको अर्थ सम्भव छैन । दिनले रातलाई सम्झन्छ र बोलाउँछ । त्यस्तै सजिलोले असजिलोलाई, दुःखले सुखलाई परिभाषा दिइरहेको हुन्छ । सबै अन्तर सम्बन्धित हुन्छन् । अनि मिठो मात्र सधैँभरि सम्भव छैन । नमिठो पनि आवश्यक छ किनकि मिठोको जानकारी नमिठोले दिन्छ । जीवन गुलाफको फूल मात्र होइन, त्यसभित्रको काँडा पनि हो । काँडा छ र नै फूलको अस्तित्व रहेको छ ।”

“बाबु ! वास्तवमा यात्रामा धनीहरू पनि चिन्तित हुन्छन् । सबै चीजले सम्पन्न भए तापनि उनीहरू सन्तुष्ट हुँदैनन् । कसरी राम्रो र रोमान्टिक यात्रा गर्न सकिन्छ भन्ने कुरामा दिनरात चिन्तित हुन्छन् र ड्रग्स पनि प्रयोग गर्न पछि पर्दैनन् । अर्कोतर्फ गरिबहरू   यात्रा कसरी धानेर अघि बढ्न सकिएला भन्नेमा चिन्तित हुन्छन् र कठिनाइले आत्महत्या गर्न पनि पछि पर्दैनन् । तर जस्तो भए पनि यात्रा अघि बढाइरहनुपर्छ है ।”

म उहाँका वाणीहरूबाट पुलकित भएँ । माइत जान तयार भएकी स्त्री जस्तै म अत्यधिक रमाएको थिएँ । अचानक भुस्याहा कुकुरहरूले मेरो तन्द्रा ब्युँझाइदियो । घडी हेरेँ । बिहानको छ बजेको रहेछ । बाइक लिएर गोठमा आएका अपरिचित खेत धनीलाई भेटेँ । उनलाई अघि सम्मका सबै घटनाहरू बताएँ । उनले मेरो बाइकमा आएको त्यो सामान्य समस्या हटाइदिए ।

“धन्यवाद ” म मुस्कुराएँ ।

“बाबु ! जीवन यात्रा हो, खुसी बन ” । मुस्कुराउँदै उनी बोले ।

म बाइक स्टार्ट गरेर खुसी हुँदै वसन्तको प्रतीक्षामा अगाडि बढ्न थालेँ । घर त टाढा धेरै टाढा थियो ।